हङकङका पर्यटन व्यवसायी र स्वास्थ्य स्याहार क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरुले कोभिड–१९ नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध थप खुकुलो पार्न माग गरेका छन्।
आन्तरिक पर्यटकहरुलाई संग्रहालय र फुटबल स्टेडियमजस्ता स्थानमा प्रवेशको अनुमति पनि दिइनुपर्ने उनीहरुको माग छ। त्यस्तै वृद्धाश्रम तथा केयर सेन्टरमा बस्ने वृद्धवृद्धाहरुलाई पनि बाहिर भ्रमण तथा अन्य मानिससँग भेट्न अनुमति दिइनुपर्ने प्रतिनिधिहरुले उल्लेख गरेका छन्।
पछिल्लो समय पर्यटन व्यवसायी र वृद्धाश्रम सञ्चालकले कोरोना प्रतिबन्ध हटाउनुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। बायोएनटेकको नयाँ संस्करणको खोप लगाउनेसम्बन्धमा सरकारले घोषणा गरेसँगै हङकङमा कोरोना प्रतिबन्ध पनि हटाउनुपर्ने माग तीव्ररुपमा बढेको हो।
अहिले हङकङले बाहिरबाट आउने मानिसहरुलाई तीन दिन मेडिकल सर्भिलेन्समा बस्नुपर्ने नियम लगाएको छ। खोप पासको रुपमा आन्तरिक पर्यटकलाई पनि पहेँलो स्वास्थ्य कोड दिइन्छ।
जसको आधारमा उनीहरु हङकङमा घुम्न त सक्छन् तर उनीहरुलाई तीन दिनको मेडिकल सर्भिलेन्स अवधिमा सीमित गतिविधिको लागि मात्र अनुमति दिइएको छ।
अहिलेको व्यवस्थाको विषयमा बोल्दै सांसद यिउ पक–लेउङले हङकङ सरकारको कोरोना प्रतिबन्ध हट्नुपर्ने बताएका छन्। उनले खोप पास दिने नियम पुरानो भइसकेको र आन्तरिक पर्यटकलाई संग्रहालय र फुटबल स्टेडियममा अनुमति दिनुपर्ने उनको भनाइ छ।
उनले सरकारलाई बाहिरबाट आउने मानिसलाई अहिले लगाइएको मेडिकल सर्भिलेन्सको नियम पनि हटाउनुपर्ने बताएका छन्। बाहिरबाट आउने मानिसलाई मास्क अनिवार्य गर्दा पनि जोखिम निकै कम हुने उनको तर्क छ।
सांसदले अहिले पनि हङकङको पर्यटन क्षेत्र अझै पनि समस्यामा रहेको बताएका छन्। उनले अहिले केवल १० प्रतिशत पर्यटन क्षेत्र मात्र पहिलाकै अवस्थामा फर्किएको उल्लेख गरेका छन्।
पछिल्लो तीन वर्षको अवधिमा हङकङले पर्यटन क्षेत्रबाट १० खर्ब एचके डलर गुमाएको उनले सुनाए। सन् २०१८ मा हङकङले पर्यटन क्षेत्रबाट ३ खर्ब एचके डलर आम्दानी गरेको थियो।
कार्यकारी परिषद्का सदस्य डा. लाम चिङ–चोइले पनि वृद्धवृद्धाहरु बस्ने स्याहार केन्द्रमा भ्रमण गर्न जाने मानिसहरुमाथि लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्नुपर्ने बताएका छन्।
यसले त्यहाँ बस्ने मानिसहरु र उनीहरुको परिवारबीचको सम्पर्क राम्रो हुने उनको बुझाइ छ। अहिले त्यस्तो स्थानमा जाने मानिसले कोरोनाको तीन डोज खोप लगाएको हुनुपर्नेछ भने पछिल्लो ४८ घण्टामा गरेको पीसीआर रिपोर्ट बुझाउनुपर्ने हुन्छ। अझ केही केयर होमले भने पाहुनाको लागि पनि निश्चित कोटा निर्धारण गरेका छन्।
Shares
प्रतिक्रिया