हङकङमा पुनः कोभिड–१९ को संक्रमण बढ्न थालेको छ। हङकङमा नयाँ संक्रमितको संख्या गत जुनयताकै उच्च देखिएको छ।
बिहीबार हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या ८ हजार ५७९ देखिएको हो। यो संख्या हङकङको लागि मार्च २७ यताकै धेरै हो। यससँगै सरकारले स्वास्थ्य प्रणालीमा ठूलो भार थपिन सक्ने चेतावनी जारी गरेको छ।
हङकङका स्वास्थ्य विशेषज्ञहरुले पछिल्लो दुईदेखि तीन दिनमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २ हजारले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनीहरुले अब छिटै नै यो संख्या १० हजार नाघ्न सक्ने चेतावनी दिएका छन्। दैनिक संक्रमितको संख्या १० हजार नाघ्दा यसले स्वास्थ्य प्रणालीमा ठूलो भार थप्ने उनीहरुको भनाइ छ।
बिहीबार कोरोना संक्रमणको कारण थप नौ जनाको मृत्यु भएको छ। बिहीबार भेटिएका नयाँ संक्रमितमध्ये २९७ संक्रमित बाहिरबाट आएका थिए।
हङकङमा कोरोनाको छैटौं लहर सुरु हुन लागेको हो? भन्ने प्रश्नमा विशेषज्ञहरुले अझै पनि पाँचौं लहर नसकिएको बताएका छन्। यद्यपि गत अप्रिलमा नयाँ संक्रमितको संख्या केही सयमा झरेको थियो।
अहिलेकै अवस्थामा कोरोना संक्रमण बढे आगामी दिनमा प्रतिबन्ध थप बढ्न सक्ने जानकारहरुले बताएका छन्।
Shares
प्रतिक्रिया