हङकङमा अन्तिम चरणमा पुगेका मिर्गौला पीडितको लागि अस्पतालले भिडियो परामर्श सेवा सुरु गरेको छ।
यो कार्यक्रमअनुसार बिरामीले घरमा नै बसेर विशेषज्ञ डाक्टर तथा नर्सहरुसँग भिडियोमार्फत परामर्श लिन सक्छन्।
कोरोना महामारीको समयमा यसले अनावश्यक अस्पतालको आउजाउको अनावश्यक यात्राबाट मानिसहरुलाई राहत दिन सकिने अपेक्षा छ। यद्यपि अहिले भने सीमित संख्यामा मात्र यो सेवा दिन सकिने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
शुक्रबार हङकङको त्सेउङ क्वान ओ अस्पतालले यो योजना गत अप्रिलदेखि नै सुरु गरिएको बताएको छ। जसअनुसार मिर्गौलाले सामान्य मानिसको तुलनामा १० प्रतिशतभन्दा कम काम गरिरहेका बिरामीलाई यो सेवा प्रदान गरिने अस्पतालले बताएको छ।
यस्तो अवस्थामा पुगेका बिरामीको लागि डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी हुन्छ। अस्पतालको आन्तरिक औषधि तथा विशेष स्याहार सेवा विभागका अपरेसन म्यानेजर क्वोङ मान किटका अनुसार अन्तिम चरणमा पुगेका मध्ये ७० प्रतिशत मिर्गौलाका बिरामीले पेरिटोनियल डायलाइसिस गराउँदै आएका छन्। यस्ता बिरामीलाई यो उपाय निकै प्रभावकारी हुन सक्ने उनको भनाइ छ।
अहिले अस्पतालले यो सेवाको लागि २० जना बिरामीलाई छनोट गरिएको छ। उनीहरु २७ देखि ७७ वर्ष उमेर समूहका छन्। अस्पतालले आगामी वर्षको मार्चसम्ममा ८० जना बिरामीलाई भिडियो परामर्श सेवा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।
Shares
प्रतिक्रिया