नेपालमा सर्वाधिक चलेको फिल्म कबड्डी–४ हङकङमा देखाउने तयारी भएको छ।
एलजी एसोसिएसन हङकङले युनलोङ थिएटरमा २४ जुलाईमा कबड्डी–४ प्रदर्शनको तयारी गरेको हो।
एलजी एसोसिएसन अन्तर्गत चेतन गुरुङ र हिमाल रानाको पहलमा फिल्म देखाउन लागिएको हो। आयोजक चेतन गुरुङले फिल्म प्रदर्शनको समय साँझ साढे ७ बजे तोकिएको बताए।
कोभिडले गर्दा लामो समयपछि मात्र हङकङमा नेपाली फिल्म देखाउन लागिएको र नेपालमा सर्वाधिक चलेको फिल्म भएकाले प्रदर्शनको केही साताअघि नै टिकट ‘सोल्ड आउट’ भएको आयोजकले बताएका छन्।
‘कबड्डी–२, ३ को सफलतापछि हाम्रो एलजी ग्रुपकै सदस्य तथा साथी विशाल गुरुङले कबड्डी–४ निर्माण गरेका हुन्’, चेतनले भने, ‘हङकङमा कबड्डी–२, ३ र साँइली फिल्म पनि देखाइसकेका छौँ।’
नेपालबाट कलाकार ल्याएर हङकङमा हरेक वर्ष ‘एलजी नाइट’ गर्दै आएको एलजी एसोसिएसनले कोभिडले गर्दा २०१९ यता कुनै कार्यक्रम गर्न पाएको छैन।
Shares
प्रतिक्रिया