निर्वाचनका क्रममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै हङकङमा भारी सुरक्षाकर्मी तैनाथ गरिने भएको छ। आइतबार विभिन्न मतदान केन्द्रहरुमा पर्याप्त प्रहरीहरु खट्ने छन्।
यसैहप्ता मात्र हङकङको प्रहरी प्रमुख बनेका क्रिस ताङले त्रसित भएका मतदाताहरुलाई सुरक्षित महसुस गराउन धेरै सुरक्षाकर्मीहरु परिचालन गरिने बताएका हुन्।
ताङले प्रहरीहरु विभिन्न स्थानमा खट्ने भएकाले कसैको डर, धम्की र हस्तक्षेपमा नपरी निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिन शुक्रबार आग्रह गरेका छन्।
ताङले भने,‘हिंसाले मानिसहरूलाई मतदान गर्नबाट बन्चित गर्न सक्छ, तर पर्याप्त प्रहरी परिचालन हुने भएकाले मतदाताहरूको सुरक्षा सुनिश्चित गर्न हामी सक्षम छौं। धेरै सुरक्षाकर्मीहरु परिचालन गरिनु भनेको मतदाता सुरक्षित छन् भन्ने विश्वास दिलाउनु पनि हो।’
कुनै किसिमको हिंसा भड्किए त्यसलाई तुरुन्त समाधान गर्ने पनि ताङले हङकङबासीलाई प्रतिबद्धता व्यक्त गरेका छन्।
आरटीएचकेका अनुसार मतदान केन्द्रहरुमा दंगा पोशाकसहित प्रहरीहरु तैनाथ हुनेछन्।
भोलि आइतबार १८ जिल्लामा निर्वाचन हुँदैछ। ४ सय ५२ सिटका लागि एक हजार ९० जनाले उम्मेदवारी दर्ता गाएका छन्।
६ महिनायता जारी सरकार विरोधी आन्दोलनका बिच हुन लागेको जिल्ला परिषद्को यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ।
आन्दोलनले निर्वाचनलाई प्रभावसमेत पारेको छ। विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरु खुल्ला रुपमा चुनावी अभियानमा जुट्न सकेको छैनन्।
यसपटक आन्दोलनलाई समर्थन गरिरहेका पार्टीले राम्रो नतिजा ल्याउने अनुमान गरिएको छ।
हङकङमा रहेका नेपालीहरु यस चुनावमा सक्रिय छन्। धेरै जसो नेपालीहरुले बेजिङ समर्थक पार्टी डीएबीसँग आवद्ध छन्। उनीहरु डीएबीकै चुनावी लबिङ गरिरहेका छन्।
केही नेपालीहरु भने सामाजिक सन्जालमार्फत आन्दोलनकारी पक्षधरको लागि भोट मागिरहेका छन्।
आन्दोलनकारीलाई जिताउनु हिंसालाई अनुमोदन गर्नु सरह
याउ चिम मोङ जिल्ला अल्पसंख्यक वर्किङ ग्रुपका पूर्व सदस्य तथा हङकङ सरकारको चिफ एक्जिक्युटिभ कन्फेडेरेसन मेडलबाट बिभुषित भएका कुल प्रसाद गुरुङ भन्छन्,‘जिल्ला परिषद्को निर्वाचनले आन्दोलनकारीहरुलाई गलत सावित गरिदिनेछ।’
उनीहरुको हिंसा कसैले रुचाएका छैनन् भनेर यस निर्वाचनले देखाउने गुरुङको भनाइ छ।
उनी भन्छन्,‘हिंसाले समस्याको समाधान हुँदैन। समस्याहरु प्रजातान्त्रिक अभ्यासबाट पाखा लगाउनु पर्छ।’
उनले यस निर्वाचनमा आन्दोलनकारी पक्षधरलाई भोट दिनु भनेको हिंसा गर्न अनुमती दिनुजस्तै भएको पनि बताए। उनी भन्छन्,‘आन्दोलनकारीलाई भोट दिनु ‘साइलेन्ट मेजोरिटी’ हो।’
सरकारको जित सुनिश्चित
हङकङ सरकारद्वारा चिफ एक्जिक्युटिभ कन्फेडेरेसन मेडलबाट बिभुषित भएकी अर्का नेपाली तथा नेपाली महासंघकी पूर्व अध्यक्ष रिता गुरुङका अनुसार चुनाबमा बेजिङ समर्थकहरुको बिजय सुनिश्चित छ।
सरकार समर्थकहरुको नै जित भए पनि यहाँ हिंसा रोकिने कुरामा भने उनी बिश्वस्त छैनन्। उनी भन्छिन्,‘हिंसालाई कसैले पनि प्रश्रय दिन हुँदैन।’
रिता बेजिङ समर्थक पार्टी डीएबीसँग निकट छिन्।
‘आन्दोलनकारीको पक्षमा भोट गर्छौ’
नेपालको राजनीतिक पार्टी नेपाली काँग्रेस निकट संस्था नेपाली जनसम्पर्क समिति हङकङका पूर्व कोषाध्यक्ष ताहिर खानको परिवारले नै आन्दोलनकारी पक्षधरलाई मतदान गर्ने भएको छ।
आफ्नो परिवार नेपाली काँग्रेससँग आवद्ध रहेको बताउँदै आफूले सँधै प्रजातान्त्रिक मूल्य मान्यतालाई पछ्याएको हुनाले हङकङमा पनि प्रजातान्त्रिक पक्षधरहरुलाई मतदान गर्ने उनले नेपालखबरलाई बताए।
चार बर्ष अगाडि उनले एक्लै भोट गरेका थिए। यसपटक भने ताहिरको परिवारबाट १० जनाले निर्वाचनमा भोट गर्दैछन्।
उनले सबै भोट आन्दोलनकारी पक्षधरलाई दिने बताए। नेपालका काँग्रेसीहरु डीएबी पार्टीमा तथा कम्युनिस्टहरु प्रजातान्त्रिक पार्टिमा लागेको देख्दा आफूलाई उदेक लागेको ताहिरको भनाइ छ।
हङकङमा ठूलो संख्याका नेपालीहरु बेजिङ समर्थक डीएबी पार्टी निकट रहेका छन्।
हङकङमा हरेक चार बर्षमा एकपटक जिल्ला परिषद्को चुनाव हुने गर्दछ। सन् २०१५ मा ४ सय ५२ सिटका लागि भएको चुनावमा बेजिङ समर्थक प्रो–इस्टाब्लिसमेन्टले २९८, प्रजातान्त्रिक पक्षधर पान डेमोक्राटले १२६ र स्वतन्त्र उम्मेदवारले ७ सिट जितेका थिए।
यो पटक कुल जनसंख्या ७० लाख ३९ हजारमध्ये ४० लाख १२ हजारले मतदानमा भाग लिँदैछन्। जसमध्ये ३८ लाख ६ हजार नयाँ मतदाताहरु रहेका छन्।
आन्दोलनका कारण मतदाताहरु त्रासबाट मुक्त हुन सकेका छैनन्। निर्वाचन आइतबार बिहान ७ः३० बजेदेखि राति १०ः३० बजेसम्म चल्नेछ।
प्रतिक्रिया