हङकङको एक बाल स्याहार केन्द्रका ३ कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
समाजका कम्तीमा १८ बालबालिकामाथि दुर्व्यवहारको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कर्मचारीहरुले बालबालिकामाथि कपाल भुत्ल्याउने, चड्कन मार्ने र कुटपिट गर्नेजस्ता कार्य गर्दै आएका थिए।
शुक्रबार प्रहरीले सार्वजनिक गरेका कर्मचारीमा २३ देखि ४४ वर्ष उमेर समूहका तीन महिला छन्।
उनीहरुलाई बालबालिकाको विषयमा लापरबाही गरेको र दुर्व्यवहारको मामिलामा पक्राउ गरिएको हो। यो मुद्दामा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ। उनीहरु हङकङ सोसाइटी फर प्रोटेक्सन अफ चिल्ड्रेन (एचकेएसपीसी)मा काम गर्दै आएका थिए।
एचकेएसपीसीकमा राखिएको सीसी क्यामेराबाट बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धान गरिएको हो। क्यामेराबाट प्राङ्गणमा ११ बालबालिकामाथि दुर्व्यवहार भएको देखिएको थियो। प्रहरीका अनुसार थप सात पीडितको पनि पहिचान भएको छ।
एक सयभन्दा धेरै बालबालिका रहेको उक्त केन्द्रमा अन्य बालबालिकामाथि पनि दुर्व्यवहार भएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया