वर्तिका एम राईको न्युयोर्क सहरमा एक युवकसँग भेट भयो। पहिलो भेटमै ती युवकले उनका आँखा मन पराए। अर्थात् पहिलो भेटमै उनले वर्तिकालाई मन पराए। एकतर्फी प्रेम सुरु भयो। यो सन् २०१५ को जाडो यामको कुरा हो।
युवक उमेरले १९ पुगेका थिए। ती युवक नेपाली थिएनन्, अमेरिकी थिए। वर्तिका २४ वर्षकी थिइन्।
युवकले वर्तिकालाई देख्नासाथ मन पराएका थिए। नामसमेत थाहा नपाई। त्यतिबेला उनले त्यो अञ्जान प्रेमलाई नजरअन्दाज गरिदिन सक्थिन् किन कि उनमा उप्रति कुनै इमोसन नै थिएन।
साथीहरु वर्तिकाको कसैप्रति पनि कुनै इमोसन छैन भन्थे। उनको व्यवहार पनि त्यस्तै हुन्थ्यो। न उनलाई कोही मन पर्थ्यो न कसैले आकर्षित गर्न सक्थ्यो।
ती युवकको सवालमा पनि त्यस्तै भयो। वर्तिकाले उसलाई प्रेम गर्न सकिनन्। उप्रति कुनै भावना पलाएन। तर केही फरक भयो। ती युवकले वर्तिकालाई पछ्याउन छोडेनन्। देख्नासाथ भन्थे, ‘तिम्रा आँखा निकै सुन्दर छन्।’
उमेरमा कान्छो भएको थाहा पाएर उनले ‘मेरा भाइहरु नै १७–१८ वर्षका छन्’ भन्दै पन्छिइन्। वर्तिकाले उसको प्रेम अस्वीकार गरे पनि यो कुराले उनको मनमा सोच्न बाध्य बनायो।
‘मैले बेवास्ता गर्दा पनि ऊ किन यसरी मेरो पछि लाग्छ?’ वर्तिकाको मनमा कुराहरु खेल्न थाले। त्यसपछि उनले ती भावनालाई शब्दमा उतार्न थालिन्। उसको लागि होइन, उसका कारण केही शब्दहरु लेखिन्। जसमा पछि वर्तिकाले आवाज दिइन्ः
रात धेरै पर्यो धेरै–धेरै
मायाका कुरा नगर न ऐ
भोलिबारे केही थाहा नभई जीवनभरिका
दिनहरु मेरै नाम नगर न ऐ
सागरमा होस् कि आकाशमा
जहीँकहीँ मैसँग डुल्ने
मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो
बेकम्फुसे गफ नगर न ऐ...। (गीतको एक अंश)
गीतले निकै चर्चा पायो। ती युवकले वर्तिकाले उनका कारण गीत लेखिन् भनेर थाहा पनि पाएनन्। ऊ कता छ भन्ने पनि वर्तिकालाई हेक्का छैन। ऊ आफ्नै दुनियाँमा कता पुग्यो। वर्तिका आफ्नै संसारमा रमाइरहेकी छिन्।
***
वर्तिकाकी आमा देविका चाम्लिङ नेपाली विषयकी शिक्षिका हुन्। उनको भाषा निकै अब्बल छ। उनी छन्दमा कविता बाचन गरेजस्तै गरी बोल्छिन्।
उनी सानो छँदा आमाले हरेक जन्मदिनमा उनलाई किताब उपहार दिन्थिन्। अलि ठूलो भएपछि उनलाई लुगा दिए हुन्थ्यो भन्ने लाग्थ्यो तर आमाले किताब दिन छाडिनन्।
त्यतिबेला इन्टरनेट थिएन। त्यसैले वर्तिका खाली समय आमाले दिएका ती पुस्तकका पानासँग साक्षात्कार गरेर बिताउँथिन्। यसरी उनी नेपाली भाषा, साहित्य र शब्दहरुसँग नजिक भइन्। घरमा मिनी लाइब्रेरी नै थियो। आमाबुबा उपन्यास र कविताहरु निकै पढ्थे। त्यसैले पनि वर्तिकासँग पढ्नुबाहेक अर्को विकल्प थिएन।
उनकी आमाले किताबमात्र होइन उनलाई चिठ्ठी पनि लेख्थिन्। बुढानिलकण्ठ स्कुल पढ्दा आमा गेटसम्म आएर पाले दाइको हातमा उनका लागि चिठ्ठी छाड्थिन्। चिठ्ठीमा शब्दहरु मात्र कोरिएका हुँदैनथे, भाव समावेश हुन्थ्यो। शब्दको गहनता हुन्थ्यो। कतिपय शब्दहरु त उनले जीवनमा कहिल्यै सुनेकी समेत हुँदैनथिन्।
पाँच–छ कक्षामा पढ्दा वर्तिकाका लागि आमाले पठाएका तिनै उपहार अहिले जीवनको अर्थ बनिदिएका छन्।
उनी आफ्ना गीतमा मुटु निचोरिएर लेखिएकाजस्ता शब्दहरुको मिश्रण गर्छिन्। अनि त्यसलाई कवितात्मक शैलीमा गुनगुनाउँछिन्।
त्यतिबेला वर्तिकाले ती चिठ्ठीको महत्व र अर्थ बुझेकी थिइनन्। साथीका अभिभावकले मीठा–मीठा खानेकुरा ल्याइदिँदा आफ्नी आमाले छाडेको चिठ्ठीले उनको मन धेरै पटक अमिलो पनि पारेको थियो।
उनले अहिले महसुस गरिसकेकी छन्, ती चिठ्ठीकै कारण उनी आफ्नो जीवनको सार्थकता पहिल्याउन सक्ने भएकी हुन्। जीवनको अर्थ बुझ्न सक्ने भएकी हुन्।
त्यही भएर गीतमा मार्मिक, हृदयस्पर्शी र गहन शब्दहरु मिसाउन सक्ने भएकी हुन्ः
लेख्छु चिठ्ठीमा चिठ्ठी तिमीलाई
आरामै होलाउ, आरामै होलाउ
भन्छु मेरै एकोहोरो
दैनिकी– आकाशको रंगसँगैै
तिमी उडि गयौँ स्वप्नसरि
नहेरी नफर्की कहिल्यै पनि
बाटै बाटो लाग्यौँ
सोध्न भने केही सकिनँ
भन्न पनि केही सकिनँ
आज खै को भयौँ तिमी?
आज खै को भएँ म? (उमेर शीर्षकको गीतको एक अंश)
यस्ता मीठा शब्दलाई उनको स्वरले न्याय गर्छ। र, बनिदिन्छ, एउटा मीठो धुन।
****
वर्तिकाको स्वभाव शान्त छ। उनी आफैँमा बढी रमाउँछिन्, हराउँछिन्। अँध्यारो कोठामा बसेर लेख्छिन्। आज यस्तो लेख्छु, भोलि यस्तो भनेर कहिल्यै योजना बनाउँदिनन्। हरेक दिन पनि लेख्दिनन्।
उनी जीवनसँग प्रतिक्रिया जनाउँछिन्। त्यसैले जीवनमा जे घटना सामना गर्छिन् ती कुरालाई शब्दमा उतार्छिन्। वर्तिकालाई लाग्छ उनका गीतहरु नितान्त ब्यक्तिगत हुन्।
देखेका–भेटेका मानिस, उनको जीवनसँग जोडिएका–छोडिएका मानिस, ठाउँ–स्थानका अनुभव आदिआदिको अनुभव उनको सिर्जनाका स्रोत हुन्। उनी यसलाई नितान्त व्यक्तिगत अनुभव भन्न रुचाउँछिन्।
उनको ‘घर’ बोलको गीत पनि यसैगरी जन्मिएको हो। उनले यो गीत लेख्दा दुई महिनासम्म कसैसँग बोलिनन्। बन्द कोठामा बसेर उनले घरको यादमा बहेको आफ्ना भावनालाई शब्दमा उतारिन्।
उनलाई लाग्छ उनले कोरेका शब्दहरुलाई अरुले भन्दा उनी आफैँ बढी महसुस गर्छिन्। त्यसैले समय मिलाएर आफ्ना शब्दमा संगीत भर्छिन्, स्वर दिन्छिन्ः
शायद कथा यसरी नै
अघि बढ्दो हो
तर मनलाई कसरी
झुटो बोल्छौ?
आँखामा त आखिर
दिखिन्छन् प्रष्ट
देहमुनिको तिम्रा
सारा वास्तविकता
अपरिचित छायाहरु
बगेका छन्
तिमी पहिला
हुने ठाउँमा
खोक्रा कालहरु
धुम्मिएर बतासिँदै छन्
हाम्रो विद्याता। (वर्तिकाको गीत होलाको एक अंश)
***
आजभन्दा ८ वर्षअघिको कुरा हो। जतिबेला वर्तिका २१ वर्षकी थिइन्। त्यतिबेला उनी स्नातक पढ्न अमेरिका पुगिन्। वेस्लेन कलेजमा अकाउन्ट विषय लिएर पढ्न थालिन्।
नेपालमा हुँदा आत्मविश्वासी वर्तिकालाई अमेरिकाको परिवेशले सुरुवाती दिनहरुमा गलाउन थाल्यो। चिन्ता, खिन्नता र आत्मविश्वासको कमी महसुस भयो। पानीको बोतल किन्नसमेत अरुको सहायता लिनुपर्ने अवस्थाले वर्तिकालाई घरको याद दिलाउन थाल्यो।
उनले घरको याद र सो क्रममा आएका भावनालाई शब्दमा उतार्न थालिन्। र, तिनै शब्दले गीतको रुप लियो। साँच्चै भन्ने हो भने उनलाई अमेरिकाले लेखक बनायो।
अमेरिका नगएको भए सायद उनी गीत लेख्ने थिइनन्। सायद अरु कसैको गीत गाइरहेकी हुनेथिन्। यो कुरा उनी स्वयं पनि स्वीकार्छिन्। आमाको साहित्य र संगीत प्रेमले गद्य विद्यासँग अभ्यस्त भएकी वर्तिकाले गद्यमै आफ्ना भावना लेख्न थालिन् र त्यसलाई कलात्मक ढंगले गाइन् पनि।
जसले गर्दा वर्तिका अमेरिकाका नेपाली समुदायबीच लोकप्रिय हुँदै गइन्। फिरोज स्याङ्देन, प्रज्जवल बज्राचार्य, राजेन्द्र कर्णलगायतका सँग न्युयोर्कको हिमालयन याक रेष्टुराँमा गीत गाउने अवसर पाइन्।
विस्तारै उनको क्रेज विश्वका अन्य देशमा पनि फैलियो। नेपालमा पनि उनको चर्चा चुलियो। अमेरिकाका विभिन्न सहरमा कन्सर्टहरु गर्न थालिन्।
उनका जति शुभचिन्तक छन्, सबैले वर्तिकाको संगीतलाई सम्मान गर्छन्, प्रेम गर्छन् र आदर गर्छन्।
उनको आफ्नै युट्युब च्यानल छ। जसलाई ६७ हजारले सस्क्राइब गरेका छन्। वर्तिकालाई लाग्छ यो दर्शक स्रोताको यो प्रेम नै सबैभन्दा ठूलो सम्पत्ति हो।
***
वर्तिका बुढानिलकण्ठ स्कुलमा पढ्थिन्। त्यतिबेला उनले स्कुलमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिन्थिन्। अरुको गीतमा आफ्नो आवाज दिएर। त्यतिबेला १०–११ वर्षकी मात्र थिइन्।
उनको संगीतसँगको साइनो भने पारिवारिक छ। उनको परिवार सांगीतिक हो। यतिसम्म कि उनकी आमाले रेडियोमा बजिरहेको गीतको शब्द वर्तिकालाई सार्न लगाउँथिन् र पछि गुनगुनाउँथिन्।
उनकी आमा र काकी, माइजुहरु अन्ताक्षरी खेल्थे। जुन निकै प्रतिस्पर्धात्मक हुन्थ्यो। वर्तिका पनि सामेल हुन्थिन्। जहाँबाट उनले धेरै कुरा सिक्न पाइन्।
सांगीतक क्षेत्रमा मोह बढ्दै जान थालेपछि ललितपुर निवासी उनी पश्चिमा आवाज (संगीत) सिक्न बागबजारसम्म आउन थालिन्। गुरुदेव कामतसँग दुई महिना संगीत सिकिन्।
केही महिना गिटार, किबोर्ड बजाउन समेत सिकिन्। लामो समय सिक्न उनीसँग त्यति पैसा हुँदैनथ्यो। उनी सानैदेखि आफ्ना लागि आफैँ कमाउँथिन्। कहिले स्कुलमा पढाएर त कहिले म्यागेजिनमा आलेखहरु छापेर।
***
वर्तिकाले आफ्नो पहिलो गीत ‘खै’ सन् २०१६ मा रिलिज गरेकी हुन्। सांगीतिक क्षेत्रमा आफ्नो आवाजमार्फत शुभचिन्तक कमाइसकेपछि सांगीतिक क्षेत्रमा देखिएकी उनको पहिलो गीत हाल युट्युबमा ३७ लाख पटक हेरिएको छ।
त्यसपछि उनको सांगीतिक यात्रा सधैँ उकालो लाग्दो छ। उनी आफू सधैँ सिकारु भएको बताउँछिन्। भन्छिन्, ‘म राम्रो गाउन जान्दिनँ। मैले अझ धेरै सिक्नुछ।’
वर्तिका अमेरिकामा संगीतबाहेक जागिर पनि गर्छिन्। पेशाले उनी अकाउन्टेन्ट हुन्। दिनभर काममा बिताउने उनी रात र फुर्सदको समय संगीतलाई दिन्छिन्। त्यसो त जागिरले उनलाई लेखनमा पनि सहयोग पुर्याएको छ। किन कि उनी हरेक दिन नयाँ अनुहारसँग भलाकुसारी गर्छिन् र बुझ्न खोज्छिन् उनीहरुका भावना। अर्कोतर्फ, जागिर उनका लागि बाध्यता पनि हो। नत्र अमेरिकामा पढ्नु, पालिनु कसरी?
उनको वास्तविक नाम रक्षा हो। वर्तिका उनका आफन्तले राखिदिएको नाम हो र पछि यही पहिचान बन्न पुग्यो। ‘एम’ भने उनको आफ्नो बुबाको नाम हो। बुबाप्रतिको कृतज्ञताका लागि आफूले नामको पछाडि एम राखेको उनी बताउँछिन्।
वर्तिका नेपालमा बस्दिनन् तर नेपाली गीत गाउँछिन्। अर्थात्, उनले आफ्नो संस्कार र संस्कृति बिर्सिएकी छैनन्। अमेरिका गएपछि नै आफूलाई नेपाली स्रोताले चिन्न थालेकाले उनलाई पहिचानबारे कहिले कही चिन्ता पनि लाग्छ। नेपाली शुभचिन्तकको प्रेमले त्यो चिन्ता धेरैबेर रहँदैन। त्यसैले त उनी कहिल्यै थाक्दिनन्। लेख्छिन्, लेखिरहन्छिन्। आफ्नै अँध्यारो कोठामा बसेर। उनलाई त्यही कोठा प्यारो छ। जहाँ उनी कहिले एक्लै हाँस्छिन् त कहिले रुन्छिन्। चर्चाको लालसाबिना, पहिचानको चिन्ता बिना।
प्रतिक्रिया