ad ad

म्यागेजिन


अनिल शाह नबिलले बनाइदिएको नाम हो, यो अन्तिम इनिङ स्मरणीय बनाउन चाहन्छु

अनिल शाह नबिलले बनाइदिएको नाम हो, यो अन्तिम इनिङ स्मरणीय बनाउन चाहन्छु

अनिल शाह
पुस १२, २०७७ आइतबार १३:५३,

मैले बैंकिङ क्षेत्रमा काम थालेको झण्डै तीन दशक पुग्यो। त्यसमध्ये १५ वर्ष त म प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै भएँ।

त्यो बेलाको ग्रिनलेज बैंक (स्ट्यान्डर्ड चार्टड)बाट सुरु भएको मेरो बैंकिङ यात्रा नबिल, मेगा हुँदै फेरि नबिलमै आइपुगेको छ। स्ट्यान्डर्ड चार्टडले केही सिकायो, मेगामा थप नयाँ अनुभव भयो। तर मलाई ‘बैंकर अनिल शाह’ बनाएको नबिलले नै हो।

जब मैले दोस्रो पटक नबिल बैंक आउने निर्णय गरें, त्यसबारे धेरै प्रतिक्रिया आए। कतिपय मित्रले मलाई चेताउनुभयो, ‘पहिलो इनिङमा त सेन्चुरी हानेका थियौ, दोस्रो इनिङमा पहिलो बलमै आउट होलाऊ। विचार गर।’

नबिलमा फर्किंदा असफल भएँ भने अघिल्लो पटक नबिललाई पहिलो बैंक बनाउन मैले जति काम गरेको थिएँ, त्यसलाई पनि मानिसहरुले बिर्सिन्छन् भन्ने उहाँहरुको तर्क थियो।

मैले पनि यसबारे विचार गरेँ। १५ वर्ष त म सीईओ नै भइसकेँ। अब यो इनिङलाई स्मरणीय बनाउँछु भनेर अठोट गरेँ। त्यसकारण म घोषणा नै गर्छु– सीईओको रुपमा यो मेरो अन्तिम इनिङ हो।

अन्तिम इनिङ अलि फरक किसिमको होस् भन्ने मेरो चाहना छ। हुन त भर्खरै क्रिकेटको हस्ती भारत अस्ट्रेलियासँग ३६ रनमा अलआउट भयो। अर्थात्, कहिलेकाहीँ हस्तीहरु पनि नराम्ररी चिप्लिन्छन्।

तर, मलाई विश्वास छ, त्यस्तो हुनेछैन। किनभने म नबिलमा दोस्रो इनिङ सम्हाल्न आउनुका मुख्य दुई कारण थिए। पहिलो, यहाँको व्यवस्थापन। व्यवस्थापनमा व्यवसाय कसरी गर्न सकिन्छ भन्ने भिजन छ। बैंक पहिलो नम्बरमा त छ, अब यसलाई कसरी अर्को लेभलमा पुर्‍याउने, अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने भन्ने उहाँहरुको भिजन छ। र, मलाई बोर्डको पूर्ण सहयोग छ। पहिला पनि काम गरिसकेको भएर उहाँहरुको काम गर्ने शैली, क्षमता राम्रोसँग बुझेको छु।

दोस्रो, यहाँको टिम। नबिलको टिम नेपालका बैंकमध्येमा सबैभन्दा सक्षम हो। मैले काम गरिसकेको अनुभवी टिम हो यो। यही टिमलाई ‘रिइनर्जाइज’ गर्ने र आवश्यक नयाँ कर्मचारी थपेर नबिलको यात्रा अगाडि बढाउने व्यवस्थापनको चाहनाले गर्दा म फर्किएँ।

Anil Shah5

त्यसबाहेक मेरो आत्मविश्वास पनि एउटा कारक थियो। स्ट्यान्डर्ड चार्टड, नबिल हुँदै मेगामा काम गर्दा फरकफरक अनुभव बटुलिसकेको थिएँ। त्यो अनुभवले मैले अझै धेरै राम्रो गर्न सक्छु, टिम र बोर्डलाई कन्भिन्स गर्नसक्छु भन्ने आत्मविश्वास दिएको थियो। त्यसैले म पुनः नबिल फर्किएँ। इनिङ जारी छ। आउट भइसकेको छैन। ब्याटिङ राम्रोसँग भइरहेको छ।

नबिलमा आउँदा चुनौती पनि ठूलो छ भन्ने मलाई थाहा थियो। पहिलो त यहाँको टिमको क्षमता वृद्धि गर्नुपर्ने थियो। कतिले प्रश्न गर्नुभयो– नबिलको टिमलाई पनि बलियो बनाउनु पर्छ र? यस्तो प्रश्न गर्नेहरुलाई म फुटबलको उदाहरण दिने गर्छु।

प्रशिक्षक एलेक्स फर्गुसन हुँदासम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अब्बल नतिजा निकाल्थ्यो। तर, अहिले किन क्लबले खराब प्रदर्शन गरिरहेको छ? फर्गुसनको समयमा वेन रुनीलगायत खेलाडी थिए। खेल जितेकै छ भनेर रुनीजस्तै नयाँ खेलाडी थप्न चासो दिइएन। नतिजा जब रुनी हटे, उनको ठाउँ लिने खेलाडी भएन। पहिले नै नयाँ राम्रा खेलाडी थप्दै गएको भए त्यो टिमको प्रदर्शन यसरी खस्किने थिएन।

संस्था पनि त्यस्तै हो। नम्बर वान छ, कप जितिरहेको छ भनेर हुँदैन। तर, नयाँ सदस्य थप्दा किन थप्ने, स्पष्ट हुनुपर्छ। भइरहेको टिमले त्यसलाई कसरी लिन्छ, त्यो पनि हेर्नुपर्छ।

नबिल बैंकमा उपल्लो तहमा पुग्ने कर्मचारी नबिलकै छन्। वर्षौंदेखि हामीले अरु बैंकबाट लिएनौं। यसरी बाहिरबाट नल्याइएको भएर केहीकेही ग्याप थियो। त्यो पुरा गर्न बाहिरबाट कर्मचारी थप गर्‍यौं।

दुई वर्ष भयो टिममा नयाँ मान्छे थपिएका छन्, पुरानो टिम ‘रिइनर्जाइज’ भएको छ। आजको नबिल दुई वर्षअघिको भन्दा धेरै फरक भइसकेको छ। तपाईंले प्रथम त्रैमासिक रिपोर्टमा त्यसको झल्को देख्न सक्नुहुन्छ।

हामीले गर्नुपर्ने अर्को काम थियो– ब्रान्च बिस्तार। हाम्रो ब्रान्चको नेटवर्क पुगेको थिएन। दुई वर्षअगाडि ब्रान्चका आधारमा हेर्ने हो भने नबिल चौथो सानो बैंक थियो। अर्थात् हामीभन्दा पछि तीन वटा मात्रै बैंक थिए। दुई वर्षअगाडि ५९ वटा ब्रान्च भएको नबिललाई अहिले ११९ ब्रान्चमा पुर्‍याएका छौं। अब हामी अधिकांश नेपालमा पुगेका छौं।

Anil Shah7

नबिलले नाम दियो
ग्रिनलेज बैंकमा मैले १३ वर्ष काम गरें। त्यहाँ चिफ अपरेटिङ अफिसर थिएँ। सीईओ विदेशी हुनुहुन्थ्यो। नेपालीमा पहिलो व्यक्ति म नै थिएँ। रिजिनल हेडमा जसपाल बिन्द्रा हुनुहुन्थ्यो। उहाँलाई म बैंकिङ गुरु नै मान्छु।

उहाँले एक दिन भन्नुभयो, ‘तिमी यो बैंकमा बस्ने हो भने अब विदेश जानुपर्छ। तिम्रो करिअर ग्रोथ पनि हुन्छ, बैंकलाई भ्यालु एड पनि हुन्छ।’

‘कति वर्षको लागि?’ मैले सोधें।

‘किन कति वर्ष?’ उहाँले हाँस्दै भन्नुभयो, ‘तिमी यहाँबाट बाहिर गएपछि दुई चिज हुन्छ। एक, असफल। त्यसो भयो भने बैंकबाट निकालिन्छौ। होइन, सफल भयौ भने प्रमोसन खान्छौ। सिनियर हुन्छौ, बाहिरै बसेर डलर कमाउन सक्छौ।’

सबै बैंकिङ क्षमता नेपालमै सिक्ने तर उपलब्धि हासिल गर्ने बेला विदेश जाने कुरा मलाई राम्रो लागेन। नेपालमै बसेर काम गर्ने मेरो दृढता थियो।

‘विचार गर्छु,’ उहाँलाई मैले त्यत्ति मात्र भनेँ। यसको अर्थ थियो– अर्को जागिर खोज्छु।

त्यो बेलाको दोस्रो ठूलो बैंक नबिल थियो। मेरो अगाडिको विकल्प भनेको नबिल नै थियो। सत्येन्द्र प्यारा श्रेष्ठ नबिल बैंकको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ र विनोद चौधरीसँग कुरा राखेँ।

‘तपाईंलाई अहिले नै सीईओ बनाउन सक्दैनौं,’ उहाँहरुले भन्नु भयो, ‘नेपालीलाई सीईओ दिएका छैनौँ। राम्रोसँग काम गर्नुभयो भने अर्कोपाली तपाईं सीईओ भइहाल्नुहुन्छ।’

त्यो बेला भारतका सुरज मेहता नबिलको सीईओ हुनुहुन्थ्यो। म उहाँको सेकेन्डम्यानका रुपमा जीएम भएर आएँ।

नबिलमा दोस्रो व्यक्ति भएर आउँदा पनि साथीहरुले के गरेको भन्नु भयो। ‘स्ट्यान्डर्ड चार्टडमा पनि दोस्रो, यहाँ पनि दोस्रो! बाहिर गएर डलर कमाउने बेलामा नबिलको दोस्रो व्यक्ति भएर किन आएको? पागलपन नगर,’ केही साथीहरुले भन्नुभयो।

तर, मसँग आत्मविश्वास थियो, आफ्नै योजना र भिजन थिए।

मेहताको कार्यकाल सकिएपछि बोर्डले मलाई सीईओ बनायो। यसको अर्थ मैले राम्रो गरेको रहेछु भन्ने बुझेँ। नेपालको पहिलो ज्वाइन्टभेन्चर बैंकको पहिलो नेपाली सीईओ बन्ने मौका पाएँ।

त्यो बेला हाम्रो एउटा मात्र लक्ष्य थियो– एक नम्बरको बैंक बनाउने। त्यही लक्ष्य लिएर पुरा टिम लाग्यौं। ६ वर्ष लाग्यो तर पहिलो नम्बरको बैंक बनेरै छाड्यौँ। त्यसपछि आनन्द आयो। रमाइलो भयो।

नबिल बैंकमात्र पहिलो बैंक बनेको थिएन, मेरो नाम पनि बैंकर अनिल शाहका रुपमा स्थापित भइसकेको थियो। अहिले जसरी बैंकिङ क्षेत्रमा अनिल शाह भन्ने नाम छ, यो नबिल बैंकको पहिलो अध्यायले नै बनाइदिएको हो। त्यसको जस यहाँको बोर्ड र टिमलाई जान्छ।

Anil Shah6

यसकारण गएँ मेगामा
मलाई नयाँ चुनौती लिऊँ भन्ने लागिरहन्छ। एकपछि अर्को उपलब्धि चुम्ने रहर हुन्छ।

जस्तो कि कुनै एक विद्यार्थीले एसईईको जाँचमा ८५ प्रतिशत ल्यायो। उसले अब ९० प्रतिशत ल्याउँछु भनेर फेरि त्यही जाँच दिँदैन। बरु ऊ अगाडि बढेर ११ कक्षाको जाँचमा ९० प्रतिशत ल्याउन प्रयास गर्छ।

नबिललाई त हाम्रो टिमले पहिलो बैंक बनाइसकेको थियो। अब कुनै अर्को च्यालेन्ज लिऊँ भन्ने लाग्यो।

त्यही बेला मेगा बैंक आउने तरखरमा थियो। १ हजार २ सय १९ प्रमोटर भएको, देशभरी फैलिएको, सर्वसाधारणले खोल्न लागेको भनेर प्रमोटरहरुले प्रस्ताव ल्याउनु भयो। उहाँहरुको कुरा मलाई राम्रै लाग्यो। अब थप नयाँ काम गरौं न त भनेर अपरेटिङ लाइसेन्स आउनुभन्दा पहिला नै मेगा बैंकमा जाने टुंगो गरेँ।

मेगामा सबैभन्दा ठूलो डर टिम बनाउन सक्छु कि सक्दिनँ भन्ने थियो। सञ्चालन अनुमतिपत्र समेत नआएको संस्थामा राम्रो मान्छेलाई कसरी ल्याउने त भन्ने चुनौती मेरो अगाडि थियो।

नबिल बैंकले अनिल शाह भन्ने जुन नाम दिएको थियो, त्यसले यहाँनेर धेरै काम गर्‍यो। अनिल शाहसँग काम गरौं न त भनेर सिनियरदेखि तल्लो लेभलमा समेत कर्मचारी आउनुभयो। स्थापित बैंक छोडेर पनि मलाई विश्वास गरेर उहाँहरु मेगामा आउनु भयो।

तलदेखि माथिसम्म नयाँ टिम बनाउनु चानचुने कुरा थिएन। संस्थाभित्र र बाहिरका कतिले त यसले भएको सम्पत्ति पनि डुबाउने भयो समेत भन्नुभयो। २१ जना त म्यानेजर ल्याएको थिएँ। सबैले तलब नै खाएर सिध्याउने भए भन्ने कुरा पनि आए। सँगसँगै खुलेका बैंकले पाँच–छ जना म्यानेजरका भरमा काम गरिरहेका थिए।

मैले उहाँहरुलाई स्पष्ट भनेको थिएँ, ‘हामीले एउटा ब्रान्च खोल्न लागेको होइन। ‘क’ वर्गको बैंक खोल्न लागेको हो। यो आजभोलिको मात्र कुरा होइन। १५–२० वर्षमा कहाँ पुग्छ भन्ने भिजन बोकेर खोल्नुपर्छ यो संस्था।’ भोलिको लागि आज लगानी गर्नुपर्छ भन्ने मेरो तर्क थियो।

धन्न बोर्डले मेरो कुरा सुन्यो र ‘गो अहेड’ भन्यो। त्यही कारणले आज मेगा बैंक यो स्थानमा छ। ‘बैंक अफ दि इयर’ पनि जितेको छ। अहिले साइज ठूलो भइसकेको छ। सँगै खुलेका अन्य संस्था त्यो स्तरमा छैनन्।

मेगा बैंकलाई पनि यहाँसम्म ल्याइपुर्‍याउन व्यवस्थापन र टिमबीचको समन्वयले नै सम्भव भएको हो।

म भाग्यमानी छु। मेगामा हुँदा वा नबिलमा फेरि आउँदा होस्, बोर्ड, टिमसहित सबैको राम्रो संयोजन भएर बैंकलाई युद्धस्तरमा अगाडि बढाउन सकेको छु।

Anil Shah3

मैले नसोचेको प्रगति
मेरो करिअर ग्रोथ हेरेर कहिलेकाहीँ आफैँलाई आश्चर्य लाग्छ। ‘यो सबै कसरी भयो? यो आफ्नो बुद्धिको भरमा मात्र हो त?’ भन्ने प्रश्न मनमा आउँछ।

मैले जोबाट सिक्ने अवसर पाएँ, जसलाई नेतृत्व गर्ने अवसर पाएँ, जसले मलाई साथ दिनुभयो, उहाँहरुकै कारण म यहाँसम्म आइपुगेको हुँ।

बैंकिङ करिअर सुरु गर्दा मैले सीईओ हुन्छु, सबैभन्दा ठूलो बैंक लिड गर्छु भन्ने सोच राखेकै थिइनँ। एमबीए गरेपछि एसिस्टेन्ट लेभलमा ग्रिनलेज बैंकमा भर्ना भएँ। तलब ३ हजार ५ सय रुपैयाँ थियो।

ग्रिनलेज जस्तो ठूलो बैंकमा जागिर पाएँ भन्नेमै म धेरै खुसी थिएँ। काम गरेर देखाउँछु भन्ने विश्वास भने थियो। मैले यो बन्छु भन्ने लक्ष्य राखेको थिइनँ तर राम्रो काम गरेर अगाडि बढ्छु भन्ने आत्मविश्वास थियो। र, जे गर्छु, नेपालमै बसेर गर्छु भन्ने अठोट थियो।

Anil Shah4

कोभिड अनुभवः प्रविधिले एक्लो हुन दिएन
केही हप्ता अगाडिको कुरा हो, एकदिन बिहान सेभिङ गरेर नुहाउँछु भनेर लागेको थिएँ। सेभिङ क्रिमको बास्ना नै आएन। त्यसपछि कोभिड संक्रमण भयो कि भन्ने शंका लाग्यो।

अफिस आएँ। अफिसमा आइसोलेटेड नै बसेँ। त्यसै दिन पीसीआर परीक्षण गरेँ तर नेगेटिभ आयो। मैले डाक्टरलाई भनेँ, ‘स्मेल आएको छैन तर नेगेटिभ आयो। म के गर्ने?’

डाक्टरले भन्नुभयो, ‘आइसोलेसनमै बस्नू। तीन दिनपछि फेरि परीक्षण गर्नुस्।’

तीन दिन घरमै आइसोलेसनमा बसें। फेरि परीक्षण गर्दा पोजिटिभ आयो। कति जनाले होटलमा बस्न सुझाव दिनुभएको थियो। तर होटलभन्दा घरमै राम्रो भन्ने लाग्यो। बैठक कोठाको भुइँमा ओछ्यान लगाएर सुतेँ।

पोजिटिभ आएपछि सबैभन्दा ठूलो कुरा डर हुँदो रहेछ। ज्यान खर्ल्याङखुर्लुङ नै हुने। त्यसले संक्रमित व्यक्तिलाई मात्र होइन, परिवारका मानिसको अनुहार पनि मलिन बनाउँदो रहेछ। मेरो छोरीको अनुहार, श्रीमती, मुमाको अनुहार एकै पटक मलिनो भयो। कोभिड भएपछि अब खत्तमै भएँ भनेजस्तो। एकदुई दिन त्यस्तै डर भयो। दिन बित्दै जाँदा डर कम हुँदै गयो।

त्यसपछि घरबाटै अफिसको काममा लागेँ। प्रविधि कोरोना संक्रमितको लागि निकै ठूलो वरदान भएको छ। कोभिड भएर एक्लै आइसोलेसनमा बसेको भए खत्तमै हुन्थ्यो होला। मनमा अनेक तर्क आउँथ्यो होला। तर, आइसोलेसनमा हुँदा नै बैंकको स्ट्राटेजिक प्लान बनायौं। एआईटीको सेमिनारमा भाग लिएँ। मिटिङहरु पनि गरिरहेँ। यी सबै क्रियाकलापले कोभिडको नकारात्मक प्रभाव कम भयो।

प्रविधिले गर्दा म आइसोलेटेड छु भन्ने अनुभव भएन। अर्को कुरा, कोभिड हुँदा संस्थाले आफ्नो लागि के गर्छ भन्ने पनि महत्वपूर्ण हुन्छ। संस्थाहरुले आफ्ना कर्मचारीलाई कसरी सहयोग गर्ने भन्ने सोच्नुपर्छ।

हामीले कोभिडको लागि टास्कफोर्स बनाएका थियौं। पहिलो लकडाउन हुनेबित्तिकै हामीले ह्यान्डबुक बनाएका थियौं। त्यो ह्यान्डबुकमा बैंकमा के गर्नेदेखि लिएर कर्मचारीले पनि के गर्नुपर्छ भन्ने गाइडलाइन्स थियो। घर छाडेपछि फेरि घर नपुग्दासम्म कसरी सुरक्षित रहने भन्ने निर्देशन थियो।

मैले तीन किसिमले आफूलाई सधैँ सुरक्षित र सक्रिय राखें। पहिलो त हाम्रो त्यही गाइडबुकअनुसार सुरक्षाको उपाय अपनाएँ। दोस्रो, सकारात्मक सोच। संक्रमण भएका बेला सकारात्मक सोच्न सकिएन भने ठूलै असर पर्ने रहेछ। तेस्रो प्रविधिको प्रयोग गर्ने। सिर्जनशील काममा त्यसको प्रयोग गर्ने।

उदाहरणका लागि मैले आफ्नो युट्युब च्यानल सुरु गरेँ– आइक्राफ्टर्स नामको। मेरो ह्याप्पीनेस फर्मुला अथवा अन्य कुनै कुरा पाँच सात मिनेटको भिडियो बनाएर युट्युबमा राख्न पाएँ। कोभिड अनुभव पनि यसमा राखेको छु। धेरै जनाले मलाई प्रतिक्रिया दिनुहुन्छ।

यो सुरु गरेको पहिलो लकडाउनको अवधिमा हो। बाहिर जान नपाउने भएपछि समयको सदुपयोग गरेर च्यानल सुरु गरेको थिएँ।

मलाई के लाग्यो भने यो संक्रमण त एक दिन सिद्धिन्छ र भगवानको कृपाले हामी बाँच्छौं अनि दश वर्षपछि कसैले मलाई सोध्ला, ‘त्यो लामो लकडाउनको अवधिमा तैँले के गरिस्?’

सिनेमा हेरें, सुतेँ, भन्न मात्रै त लाजमर्दो हुन्छ भन्ने लागेर मैले त्यो युट्युब च्यानल सुरु गरेँ।

Anil Shah8

अर्थतन्त्रमा इतिहासकै ठूलो धक्का
इतिहास हेर्ने हो भने दुई किसिमको महामारी देखिन्छन्। एउटा प्राकृतिक, जस्तो कि कोभिड–१९। अर्को मान्छेले निम्त्याएका विश्वयुद्ध।

विश्वयुद्धले विश्व अर्थतन्त्रलाई उथलपुथल बनायो। तर, त्यो मानिसले चाहेको बेला रोक्न सकिन्थ्यो। रोकियो पनि। प्राकृतिक महामारी कहिले साम्य हुन्छ भन्ने कुरा औषधि पत्ता लगाउन सकिन्छ कि सकिँदैन भन्नेमा भर पर्ने भयो।

पहिला पनि स्पेनिस फ्लुलगायत महामारी आएको हो। त्यो बेला र यो बेलाको फरक भनेको संसारको कनेक्टिभिटी हो। त्यो बेला कनेक्टिभिटी थिएन। कुनै रोग एक ठाउँबाट अर्को ठाउँमा पुग्न समय लाग्थ्यो। अहिले त चीनमा फेला परेको भाइरस हवाइजहाज चढेर केही महिनाभित्रै संसारभर फैलियो। आधुनिक विश्वमा यस्तो महामारी कहिले पनि भएको थिए।

तर, राम्रो पक्ष के छ भने महामारीको रोकथाम पनि त्यति नै छिटो भएको छ। इतिहासमै छिटो खोप बनेको छ। यसले महामारी रोकथाम छिटो हुँदैछ भने आर्थिक सुधार पनि छिटो भएको छ।

विश्व अर्थतन्त्र कसरी जोडिएको छ भने अलिकति सुरक्षित महसुस हुनेबित्तिकै अर्थतन्त्रमा ठूलो सुधार हुन्छ। यसलाई म कोकाकोलाको बोतलजस्तो भन्छु। बिर्को खोल्दा ह्वात्तै एकैपटक बाहिर निस्किने। अर्थात्, कोरोनाले गर्दा मान्छेहरु भित्र थुनिएका छन्। अलिकति सुरक्षित भएको महसुस हुनेबित्तिकै उनीहरु एकै पटक बाहिर निस्केर आर्थिक गतिविधिमा सक्रिय हुन्छन्।

नेपालको सन्दर्भमा हेर्ने हो भने अर्थतन्त्रमा यति ठूलो असर यसअघि परेको जस्तो लाग्दैन। १९९० र २०७२ को भूकम्प, सशस्त्र द्वन्द्व भए। तर, ती घटनाले देशको अर्थतन्त्रलाई यसरी पुरै ठप्प पारेका थिएनन्।

अहिले २०७२ को भूकम्पलेभन्दा धेरै गुणा ठूलो प्रभाव पर्‍यो। भूकम्पले केही जिल्लामा प्रभाव परेको थियो र त्यो बेला संसारले नेपाललाई सहयोग गरेको थियो। तर अहिले संसार नै प्रभावित छ।

वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो। मुलुकको अर्थतन्त्रलाई बलियो राख्न जहिले पनि यो मुटुलाई बलियो राख्नु पर्छ। फेरि मुटुमात्र सुरक्षित भएर पनि भएन। अन्य अंगले पनि राम्रोसँग काम गर्नुपर्छ।

अर्थतन्त्र छिटो सुधार हुने निश्चित छ
कोभिड सुरु भएको पहिलो हप्ता पैसा झिक्नेहरु धेरे बढे। तर, जब बैंकिङ क्षेत्रले काम गरिरहेको छ भन्ने थाहा पाए, तब बैंकमा डिपोजिट बढ्दै गयो।

महामारी सुरु भएपछि ऋण लिने क्रम अलिकति कम भएकाले वित्तीय क्षेत्रलाई गाह्रो भएको छ। बाहिर काम गर्न नपाएपछि मान्छेले ऋण लिएर बस्ने कुरा पनि भएन।

मुलुकमा लकडाउन सुरु भएको पहिलो हप्तामा नै ऋणलाई रातो, पहेँलो र निलो भनेर तीन भागमा वर्गीकरण गर्‍यौँ। रातो भनेको अति प्रभावित क्षेत्र। पहेँलो भनेको मध्यम प्रभाव भएका र कम प्रभावित निलो। त्यसपछि ग्राहकसँग पनि छलफल गर्‍यौँ। तपाईंका योजना के छन् भनेर सोध्यौँ।

पहेँलो क्षेत्रमा भएकाले पनि कति जनाले बन्द गर्ने भन्नु भयो। धेरै जनाले अलिकति समय दिनुस्, रिबाउन्स गर्छौं भन्नु भयो। उहाँहरुको आग्रह ब्याज र रिपेमेन्टलाई समय चाहियो भन्ने थियो। हामीले ब्याज र भुक्तानीको पुनर्तालिकीकरण गर्‍यौँ।

रातोमा परेको क्षेत्रसँग पनि घनिभूत छलफल गर्‍यौँ। उहाँहरुले आफ्नो व्यवसायलाई अब कसरी नयाँ तरिकाबाट गर्ने अथवा आगामी योजना के के छन् भनेर छलफल गरेपछि अलि ढुक्क भयौं। नराम्रो हुनसक्ने ऋणको मूल्यांकन गर्‍यौँ। यत्तिको महामारी हुँदा पनि वित्तीय क्षेत्र धरापमा नजानुको कारण यस्ता प्रयास पनि हुन्।

हाम्रो अर्थतन्त्र छिटो रिकभरी हुने निश्चित छ। किनभने एक त हाम्रो अर्थतन्त्र रेमिट्यान्स र पर्यटनमा आधारित छ। रेमिट्यान्स घटेको छैन, पर्यटन छिटो चलायमान हुनसक्छ। अर्को, नेपालको निजी क्षेत्र सहनशील छ। हार मान्ने खालको छैन। हाम्रो निजी क्षेत्रको अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योग हुन्। जुन हरेक गाउँगाउँमा छन्। ठूलो विदेशी लगानी छ, बाहिर जाला कि भन्ने डर हामीलाई छैन।

Anil Shah2

कोभिड–१९ पछिको यात्रा
अब कुनै पनि वित्तीय संस्थाले कोभिड–१९ महामारी अगाडिकै शैलीमा व्यवसाय गर्छ भने त्यो धरापमा पर्छ। कोभिडअघि अर्थतन्त्र जसरी चलेको थियो, त्यो अब फर्किंदैन। त्यसैले व्यवसायको शैलीले पनि छलाङ लिइसकेको छ।

उदाहरणका लागि मोटरगाडी आउनुअघि मान्छेहरु घोडा चढ्थे। गाडी आइसकेपछि घोडा चढिरहेको व्यक्ति स्वतः पछाडि पर्‍यो।

कोभिडसँगै व्यवसाय डिजिटलाइज्ड भइसकेको छ। संस्थामात्र होइन, ग्राहक पनि डिजिटल प्रविधिमा अभ्यस्त हुँदैछन्।

मेरै घरमा श्रीमतीजीले दैनिक काममा प्रविधिको प्रयोग गर्नुहुन्नथ्यो। अहिले तरकारी समेत डिजिटल माध्यमबाट घरमै डेलिभरी भइरहेको छ।

त्यसैले अब वित्तीय क्षेत्र डिजिटल मार्गमा अगाडि बढेको छ। नबिल पनि त्यो बाटोमा धेरै अगाडि बढिसकेको छ। यसैकारण हाम्रो प्रगति राम्रो छ। पहिले आन्तरिक काममा हाम्रो धेरै म्यानुअल थियो। अहिले ती सबै काम डिजिटलाइज गरेका छौं। माइक्रोसफ्ट टिम्समा मिटिङ भइरहेका छन्। कोभिड सुरु भएपछि मैले देशभरका सबै शाखालाई एकै पटक सम्बोधन पनि गरेँ।

अर्कोतिर हामी ग्राहकलाई पनि डिजिटल माध्यमबाट जोडिरहेका छौं। ‘ईएप नबिल’ भन्ने कर्पोरेट एप प्रयोगमा ल्याएका छौं। यसबाट सबै किसिमको पेमेन्ट गर्न सकिन्छ। जेन–एन भन्ने अर्को सेवा सुरु गर्‍यौँ, जसले गर्दा कुनै पनि अकाउन्ट खोल्न बैंकमै धाउनु पर्दैन। यसरी हामीले आन्तरिक काम र ग्राहकलाई एकै पटक डिजिटलाइज गर्दै लगेका छौं।

यो हाम्रो सुरुवात मात्र हो। जुनबेला नेपालको कुनै पनि हाट बजारमा गएर क्यूआर कोड प्रयोग गरेर फलफूल, तरकारी वा खसी किन्न सकिन्छ, डेबिट र क्रेडिटको काम त्यहीँबाट हुन्छ, तब मात्र बल्ल डिजिटाइज भएको मान्नुपर्छ। क्यासलेस नेपाल हुँदैन तर लेस क्यास सोसाइटी हुन्छ।

यसको सुरुवात भइसकेको छ। नक्सालको तरकारी बजारमा क्यूआर कोड प्रयोग गरेर तरकारीको भुक्तानी गर्न सकिने सेवाको सुरुवात भएको छ।

पहिला पनि यो प्रविधि थियो तर ग्राहकमा माग थिएन। अब ग्राहकमा पनि यो माग र प्रयोग हुन थालेको छ। अब पनि कोभिड सकियो भनेर पहिलाको जस्तै गर्ने हो भने कुनै पनि व्यवसाय अगाडि बढ्न सक्दैन भन्ने पक्का छ।

महामारीसँगै प्रविधिले व्यवसायलाई अर्को तहमा पुर्‍याएको छ। अबको बाटो यही हो।

(नबिल बैंकका सीईओ अनिल शाहसँग नेपालखबरका सन्तोष न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .