पोल्यान्ड यात्रा नजिकिँदै थियो। मनमा उत्सुकता थियो भने मष्तिस्क रोमाञ्चक बन्दै थियो। यात्रका बारेमा केही त लेख्नुपर्छ भन्ने योजना बनाएको थिएँ। यात्राको रोमाञ्चकताका बारेमा नलेखे कसरी लेखकको जमातमा परिन्छ र भन्ने पनि लागेको थियो।
१४ जनाको टोली नेतृत्वकर्ताको भारले एकदमै थिचेको थियो मलाई। याात्रामा जाने धेरैजसोको पाईला पहिलो पटक युरोपतिर लम्किँदै थिए। यात्राको मेरुदण्ड थिए ११ जना विभिन्न उमेरका बालबालिका।
टर्किस एयरको टिकट काट्दा हामीले हिन्दू खाना भनेर अर्डर गरेका थियौं। तर, उपलब्ध भएन। कमसेकम त्यसको त इज्जत राख्नु पथ्र्याे एयरलायन्सले। के भात लेखनको विषय बन्ला?
युरोपमा पहिलो पाइला टेक्यौं सबैले। यात्रा थालेको करिब १४ घण्टापछि बर्लिन पुग्यौँ। राति पनि उज्यालो नै थियो। वाइफाई, शौचालयको सुविधासहितको बस चढ्यौँ। गुड्दै गरेको बसमा नेपालमा मस्तनिन्द्रामा भएका बुबाआमासँग कुरा ग¥यौँ। के यहाँको विकासको विषयले लेखमा स्थान पाउला? प्रश्न थियो आफैँलाई।
बर्लिनबाट करिब चार घण्टाको बस यात्रापछि पोल्यान्ड पुग्यौँ। आयोजकमध्येकी क्यारोलिना हामीलाई लिन आइन्। उनले रेलमा ग्लोनियोसम्म पु¥याइन्। त्यसपछि भेटिए प्रोफेसर ओलिभर। प्रोफेसरले आफ्नो गाडीमा होटल पु¥याए। के, कसरी, कुन समयमा खाने तरिकाबारे सिकाए। तर, खाना दिएनन्।
रातको करिब दुई बजेको थियो। हामी भोकै सुत्यौँ।
बिहान अलि ढिला घुम्न निस्कियौँ। खाजा खाइसकेको हुनाले थकान र भोक दुबै हराएको थिए। आयोजकले ‘तिमीहरुको खाना केही विषेश छ?’ जानुअघि सोधेर मख्ख पारेका थिए। सोधाईको नजिता शून्य। जे उपलब्ध छ, त्यही खानु पर्ने भयो। दुई छाकसम्म पनि केटाकेटीहरुले छादे। त्यसपछि हामीले भात खोजीको रफ्तार बढायौं।
बिहानै हामी कौफल्यान्ड (सपिङ सेन्टर)मा किनमेलका लागि निस्कँदा एक हुल नेपालीहरु भेटिए। उनीहरुको सुझाब थियो, ‘किचेन छ भने आफैं पकाएर खानुस्।’ बुटवलका उनीहरु पनि आफैं भात पकाएर खाँदा रहेछन्।
हामी सबैलाई भातको तलतल थियो। ‘सर आज भात पकाइस्यो न, हस्?’ बिहानै फकाउन थाले बच्चाबच्चीहरुले। हामी केहीलाई पोलिस स्वाद मिठै लाग्यो। तर, भात भने बिर्सन सकिएन।
प्रकेश सिन्धुलीय, आस्ना शाक्यले भात पकाउन गरेको संघर्ष रमाइलो थियो। तेलले दाल झान्दा होटलको साइरन बज्यो। एकैछिनमा पुलिस आयो। पुलिस फर्केर गएपछि घटना रोचक भयो। मनमनै भातबारे लेख्ने अठोट गरेँ। त्यसपछि फेसबुकमा एउटा स्टाटस लेखेँ पहिला–‘भात के हो?’ पत्रकार सावित्री ढकालले लेखेको कमेन्टपछि भातबारे मैले जति लेखेपनि कमै हुन्थ्यो। लेख्ने हुटहुटी सेलायो। लेखकको जमातमा म नपर्ने भएँ।
समय बग्दै थियो। हामी युरोप यात्राको अर्काे तयारीमा जुट्यौँ। पहिलो युरोप यात्राका सम्झनाहरु एकाएक ताजा हुँदै गए। बाछिटाहरु सुकेका रहेनछन्।
थिएटर ब्रामाले आयोजना गरेको ‘ह्युमन मजाइक नाटक महोत्सव’को उद्घाटन राति थियो। हामी दुई दिन अगाडि पुगेका थियौं। आयोजकले चोक—चोक, थिएटर–थिएटर अगाडिको खाली ठाउँ मज्जाले सजाएका थिए। एक ठाउँमा परालको भारीले चारैतिर घेरेर हाम्रो शिल्पी थिएटरभन्दा ठूलो हल बनाएछन्! मेसिनले मिलाएर कसेको परालको भारीबाट बास्ना आएको थियो।
उद्घाटन स्थलबाट होटल टाढै थियो। केही बच्चाबच्ची निदाई पनि सके। त्यसकारण हामी उद्घाटनमा नजाने भयौं। करिब १९ वटा देशबाट प्रोफेसनल कलाकारहरु आएका थिए। बच्चाबच्ची लिएर जाने हामीमात्र थियौँ। हामीलाई विषेश सुविधा हुनुपथ्र्याे भन्ने मेरो सोचाई थियो। उनीहरुले बोलाएनन्। हामी गएनौँ। नबोलाई त कुकुर पनि जाँदैन भन्ने उखान उनीहरुकातिर लागू हुँदैनथ्यो कि?
सबैजना हामीलाई बाहिरबाट बन्द गरेर उद्घाटनमा गए। हामी होटलभित्रै आफ्नै रहरले थुनियौँ। बाहिर निस्कन नपाउने कुरा पक्का गराएका थिए जानुअघि। हामीलाई राखेको होटल नोरपोलमा अरु देशका सहभागी पनि बसेका थिए। आयोजकमध्ये एक जनाकी आमाले होटलको रेखदेख गर्ने रहिछन्।
होटलको तिनतिर घना जंगल थियो अनि एकतिर ठूलो लामो पर्खाल। पर्खालभित्रको कारागार हो भन्थे कसैले।
केही बेरदेखि बाहिर कहिले साइकलको घन्टीको त कहिले ढोकामा हानेको मधुरो आवाज आइरहेको थियो।
बाहिर फलामको ढोका, सानो कम्पाउन्ड, त्यसपछि केही सिँढीहरु चढेपछि सिसाको ढोका, सिसाको ढोका खोलेपछि होटलभित्र पस्ने अर्काे सिसाको ढोका थियो। दोस्रो सिसाको ढोकाभित्रबाट चिहाउँदा बाहिर मान्छेजस्तो मात्रै लाग्यो। पक्का नगरी त्यसै फर्किएँ।
साइकलको घन्टी र फलामे ढोकामा हानेको आवाज रोकिएन। भित्रैबाट हेर्दा दुई जना महिला साइकलको साथमा उभिएका थिए। उनीहरु परको फलामे ढोकाको अगाडि थिए। नियालेर हेरेँ तैपनि रुखहरुले छेलेको, होटलभित्रको उज्यालोले प्रस्ट हुन दिएको थिएन उनीहरुको रुपलाई। हातले ढोका खोल्न ईशारा गरिरहेको जस्तो लाग्यो। मैले पनि ईशाराले हामी खोल्न सक्दैनौं भने। बुझे कि बुझेनन् थाहा भएन।
मनले मानेन। एकछिनपछि फेरि आएर नियालेँ। उनीहरु पहिलेकै स्थानमा उभिइरहेका थिए। अग्लो कदकी एउटीको भाव पढ्दा रिस पाएँ। म फर्केर कोठाभित्र गएँ।
गोरी केटीहरु, साइकल, होटल अगाडिका ठूला–ठूला रुखहरु, फलामे ढोकामा झ्याम्मिएको फूलको झाङ, कुनै चलचित्रको दृश्यभन्दा कम थिएन। कथा अनेक कल्पिने समय पनि थियो।
‘होटलमा बस्न आएका होलान्, कहाँबाट आएका हुन्’ प्रकेशले भने।
‘यति राति किन आएका हुन्। साइकल छ फेरि’ मेरो प्रतिक्रिया थियो।
अर्काे पटक अवस्था जाँच्न आउँदा उनीहरु फलामे ढोका अगाडि थिएनन्। कता गए? थाहा भएन।
कोठाभित्रै फर्किन लाग्दा नजिकैबाट आएको महिलाको आवाज कानमा ठोक्कियो– ढोका खोल न।
फर्किएर सिसाको ढोकाभित्रबाट नियालेँ। अगाडि कोही थिएन। देब्रे छेउतिर अग्ली, बच्चादानीमा बच्चा बोकेकी महिला उभिएकी रहिछन्। देखिन भ्याएको शरीर चामल जस्तो, खैरो कपाल, कैला आँखा, कालो पहिरन देखेर म झस्किएँ। कुनै भय रसमा बुनिएको कथाकी पात्रजस्तै देखिन्थिन उनी।
म हतार–हतार कोठामा पसेर मभन्दा अलि बढी अंग्रेजी जान्ने प्रकेशजीलाई तानेर ल्याएँ।
होटल कम्पाउन्डमा प्रवेश गर्ने देब्रेतिर सानो ढोका थियो। त्यो खुल्ला रहेछ भन्ने कुरा उनीहरु भित्र आएपछि थाहा भयो। अर्की महिला अलि पर रुखमा साइकल बाँध्दै थिइन्। दुईवटा ढोका भित्रबाट गरेका कुराकानी सुन्न त्यति सहज थिएन। बच्चा बोक्ने महिला निकै रिसाएकी थिइन्। उसको रिस कोसँग होला?
‘हामीलाई बाहिरबाट बन्द गरेर गए। हामीले ढोका खोल्न मिल्दैन’ प्रकेशले प्रस्ट पारे।
‘फक’ बच्चादानीमा बच्चा बेकिरहेकी महिला निकै रिसाइन्। नजिकैको सोफामा थ्याच्च बसिन्। पक्का भयो उनीहरु निकै थाकेका रहेछन्। बच्चा निदाइरहेको थियो। सहयोग गर्न नसकेकोमा दुःखी भयौँ।
अर्काे दिन दिउँसो हामी थिएटर घुम्न गयौँ। राति आएका महिलाहरु त्यहीँ थिए। अग्ली गोरी महिला सानो दुधदानीबाट बच्चालाई दुध पिलाउँदै थिइन्। बच्चा बच्चादानीमै रमाइरहेको थियो।
‘हिजो तिमीहरु भित्र थुनियौँ, कसरी बाहिर निकाल्ने भनेर पो डराएका’ दुध पिलाउँदै गरेकी महिलाले भनिन्।
महोत्सव समापनको दिन हाम्रो नाटक मञ्चन राखिएको थियो। पोल्यान्डका लागि नौ दिन अझै बाँकी थियो हाम्रो।
एकदिन बिहान ती महिला होटल बाहिरको सोफामा बसेर चुरोट तान्दै थिइन्। हामीले सामान्य परिचय आदानप्रदान गर्याैं। ‘महोत्सवमा मेरो पनि प्रस्तुति छ। उसलाई छोरी हेर्नलाई साथी लिएर आएकी’ महिलाले भनिन्।
अलि पर छोरीलाई सुसारेले खेलाइरहेकी थिइन्। उनीहरु जर्मनीबाटै साइकलमा आएका रहेछन्। त्यत्तिकैमा उनीहरुलाई लिन एउटा गाडी आयो।
हामीले होटलमै नाटकको अभ्यास गर्याैं।
दुधेछोरी लिएर महोत्सवमा आउने महिला, साँझ पर्ने बित्तिकै हातमा बियरको बोत्तल बोक्ने आयोजकहरु, पार्कमा किस गर्दै बस्ने तन्नेरीहरु, जेब्रा क्रसमा टाढै देखिएको बटुवाका लागि गाडी रोकिदिने चालक हामीलाई नौलो लाग्दै थिए। गन्थनको विषय त कति हो, कति।
एकदिन साँझतिर डिनरका लागि हामी सबै थिएटर पुग्यौँ। बाहिर मीठो धुन बजिरहेको थियो। धेरै त्यही धुनमा झुमिरहेका भेटिए। फरक–फरक ठाउँमा फरक–फरक कलासम्बन्धी क्रियाकलाप भइरहेका थिए।
त्यहाँ ती महिला पनि नाचिरहेकी थिइन्। महिलाको हातमा रक्सीको गिलास थियो। आमासँगै छोरी पनि नाचिरहेकी थिइन्। आमा छोरीलाई नाच्न उक्साइरहेकी थिइन्। बच्चकी सुसारे पर चुरोट तानिरहेकी थिइन्।
‘सर, हेरिस्यो त कस्तो क्युट’ प्रेक्षाले भनिन्।
हामी एउटा पालमुनि बस्यौं। चिटिक्कको ट्रेकिङ जाने बेलाको जस्तो पाल, बस्नलाई पराल ओछ्याएको थियो। मज्जा आउँथ्यो त्यहाँ बस्न। त्यहाँ बस्नु हाम्रो परिचय बन्यो। नेपालीलाई खोज्न पर्दा त्यहीँ आउन थाले मानिसहरु।
मुरल आर्टको कार्यक्रम थियो। बच्चीको दिसा सफा गर्दै थिइन् सुसारे। धेरै बच्चाहरु आर्ट गर्न लागेका थिए। एकछिनपछि छोरी पनि रंगहरु खेल्न थालिन्। भर्खरैको उज्यालो लुगा रंगीचंगी बनाइन्। उसले रंग खेलेको देखेर आमा र सुसारे रमाए।
सुसारेसँग हाम्रो राम्रै हिमचिम बढेको थियो। आमा चाहिँको भने कम बोल्ने स्वाभाव रहेछ। कता जान्थिन् कुन्नी होटलमा धेरै देखिँदैनथिन्। देखिएको बेला उनको हातमा कि त रक्सी, कि त चुरोट हुन्थ्यो। कहिलेकाहीँ छोरी असाध्यै रुन्थिन्। कहिले बच्चादानीमा घिस्रिरहेकी, कहिले टुकुटुकु हिँडिरहेकी हुन्थिन्। महोत्सवमा आउने धेरैको ध्यान छोरीमा नगई छाड्दैनथ्यो।
बाहिर घाममा एउटा समूहले संगीतको अभ्यास गर्दै थियो। छोरी मज्जाले संगीतको तालमा नाचिरहेकी थिइन्।
सुसारे र हामी कुरा गर्न थाल्यौं। आमाको शोको दिन थियो त्यो।
‘यस्ती सानी छोरीलाई किन लिएर आएको?’ मैले जिज्ञासा राखेँ।
‘उसकी आमा एउटा केटासँग बस्थी बर्लिनमा। त्यसलाई छोडी। छोरी जन्माई। अहिले उसको ब्वाइफ्रेन्ड छ पोल्यान्डमा। त्यसैलाई भेट्न र कार्यक्रममा भाग लिन आएकी हो। म उसकी साथी हुँ। मलाई छोरी हेर्न ल्याएकी’, सुसारे हाँसिन्।
‘उसको ब्वाइफ्रेन्डलाई बच्चा भएको थाहा छ?’ मैले एउटा सस्तो प्रश्न सोधेँ ।
उनले सजिलै उत्तर दिइन्, ‘थाहा छ। यसकी आमा अब उसँगै बस्छे।’
छोरीको बिजोग हुँदैन? उसले आमाछोरी दुवैलाई स्वीकार्छ? अर्काकी छोरीलाई माया गर्छ? उनीहरुले एकअर्कालाई साच्चिकै माया गर्छन्? भनेर प्रश्न गर्न मन थियो। तर, गरिनँ। मात्र भनेँ, ‘हाम्रोतिर यस्तो हुँदैन। हाम्रो संस्कार फरक छ।’ उसले पनि कस्तो छ तिमीहरुको संस्कार भनेर सोधिन।
सुसारेको भनाई मलाई अनौठो नै भने लागेको थिएन। कतै न कतै यस्ता सम्बन्धहरुबारे हामीले पढेका, हेरेका र सुनेका छौँ।
यिनीहरुसँग सम्बन्धको रेखा कति सजिलो छ! हाम्रोमा किन जटिल र बांगोटिंगो छ? हामी कहाँ बाउको साथबिना आमा र बच्चाको अस्तित्व धरापमा पर्छ। बाउको संरक्षण चाहिन्छ। बाउबाट चिनिनु पर्छ। जन्मदिने आमा हो तर बच्चाले परिचय बाउको लिन्छ!
केही दिनको बसाईले हामीलाई परिचित गरायो। उसकी छोरीलाई हाम्रा केटाकेटीले बोक्न थाले। ऊ हामीसँग खुलेर कुरा गर्थी पनि। हामी साँझ आ–आफ्ना संस्कृति, संस्कारका कुरा गथ्र्याैं। उसले आफ्नो बारेमा नलुकाई बताई।
मैले उसलाई सोधेको थिएँ, ‘तिम्री छोरीलाई बुबा चाहिँदैन?’
‘मलाई बच्चाको रहर लाग्यो। ऊ पहिला मेरो प्रेमी थियो। उसँग केही समय बिताएँ। जब हाम्रो कुरा मिल्न छोड्यो, हामी स्वतन्त्र भयौं। ऊ आफ्नी गर्लफ्रेन्डसँग छ। म आफ्नो व्वाईफ्रेन्डसँग छु। जीवन बिताउन श्रीमान श्रीमती नै हुनुपर्छ भन्ने छैन। छोरी मेरो परिचयबाट चिनिन्छे। उसकी आमा छे! उसलाई बुबा चाहिदैन!’
प्रतिक्रिया