पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि चौबीसे राज्य अन्तर्गत तत्कालीन पर्वत राज्यको राजधानी थियो– बेनी। अहिले बेनीमा रहेको कुरिलाखर्क देवीको मन्दिर निर्माण उतिबेलै गरिएको जनविश्वास छ। सो क्षेत्रमा यी देवीलाई ‘महारानी’का नामले चिनिन्छ।
ती देवीलाई किन पूजा गरिन्छ? उनलाई किन महारानी भनिन्छ? ती महारानी को थिइन्? इतिहासमा उनको भूमिका के थियो? उपन्यासकार चन्द्रप्रकाश बानियाँले ‘महारानी’बाट यिनै प्रश्नको जवाफ दिएका छन्।
यही उपन्यासले यसवर्षको मदन पुरस्कार जितेको छ। ७० वर्षीय बानियाँ महारानीसँगै तत्कालीन पर्वत क्षेत्रको इतिहास किताबमा उल्लेख भएको बताउँछन्।
‘चौबीसे राज्यमा पाल्पाबाहेक अन्यको इतिहास लेखिएको छैन। यो पर्वत राज्यको नलेखिएको इतिहासको एउटा पाटो हो,’ बानियाँले नेपालखबरसँग भने, ‘मुख्य पात्र महारानीसँगै तत्कालीन राज्य व्यवस्था, न्याय व्यवस्था कसरी चल्थ्यो, समाजको रिवाज, जीवनशैली कस्तो थियोलगायतका विषय पुस्तकमा उल्लेख छन्।’
२०६५ मा बानियाँको पहिलो पुस्तक प्रकाशित भयो, जसको नाम थियो ‘पर्वत राज्यको इतिहास।’ त्यस पुस्तकमा महारानीको विषय उल्लेख भएपछि यसबारे विस्तृतमा लेख्नुपर्ने हुटहुटी बानियाँलाई लागेको थियो। तर तथ्यको खोजी र समय व्यवस्थापन नहँुदा लेखन अघि बढाउन सकेका थिएनन्।
अघिल्लो वर्ष भने प्रकाशक शिखा बुक्सले नै छिटो लेख्न आग्रह गरेपछि बानियाँले जाँगर चलाए। २०७६ वैशाखमा लेख्न थालेको पुस्तक सिध्याउन पाँच महिना लागेको उनी बताउँछन्।
‘मैले यस क्षेत्रको लोक कथनमा प्रमाण बटुलेर इतिहासको पुनर्लेखन गरेको हुँ। इतिहासकारसँग सल्लाह गरिकन इतिहाससँग सकभर नबाझिनेगरी लेखेको थिएँ,’ उनले भने, ‘तर पहिलो संस्करण लेख्दा केही नाता सम्बन्धमा त्रुटि भएका थिए। अहिले तेस्रो संस्करणमा आइपुग्दा ती सबै सच्याइसकिएको छ।’
उपन्यासमा प्रेम सम्बन्ध, षडयन्त्र, हिंसालगायत सामाजिक जीवनका पाटोहरुलाई समेटिएकाले इतिहासमा रुचि नहुनेहरुलाई उपन्यास पठनीय लाग्ने बानियाँले बताए।
२००७ सालमा म्याग्दीमै जन्मिएका बानियाँले २०३० सालबाट बाबियाचौरको मंगला माध्यमिक विद्यालयमा पढाउन थालेका थिए। यसबेलासम्म पनि लेखनमा उनको खासै रुचि थिएन। कसैले कुनै पत्रपत्रिकाका लागि लेखिदिनुस् नभनेसम्म उनको कलम खासै चल्दैनथ्यो।
२०३७ सालमा भएको शिक्षक आन्दोलनमा उनी सहभागी भए। बदलामा पञ्चायतले उनलाई अवकाश दियो। त्यसपछि उनी पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत राजनीतिमा सक्रिय भए।
बहुदलीय व्यवस्था आएपछि उनको शिक्षक पद पनि पुनर्बहाली भयो। समेत भयो। तर तीन महिना पढाउन नपाउँदै उनलाई पार्टीले चुनाव लड्न प्रस्ताव ग¥यो। चुनाव लड्ने प्रस्ताव आउँदासम्म आफूले पार्टीको सदस्यता नलिएको उनी बताउँछन्।
‘२०४८ को वैशाखमा चुनाव भयो। २०४७ को माघमा मात्रै पार्टीको सदस्यता लिएँ,’ म्याग्दी २ बाट चुनाव जितेका बानियाँले भने, ‘कति भोट आएको थियो ठ्याक्कै थाहा छैन तर पाँच सय हाराहारी मतले मात्रै उनले जितेका थिए।’
२०५१ सालमा मध्यावधि चुनाव हुने भएपछि उनको सांसद पद पनि गयो। त्यसपछि भने उनले राजनीतिबाट सन्न्यास नै लिने घोषणा गरे। त्यसको मुख्य दुई कारण थिए– एक त उनलाई ब्रेन ट्युमर देखिएको थियो, अर्को उनी छोराछोरीको लालनपालन, पढाइलेखाइमा व्यस्त हुन चाहन्थे।
‘२०५१ मा पनि पार्टीले टिकट दिन्छौं पुनः लड भनेको हो। तर, मैले स्वेच्छाले नै छाडेको हुँ,’ उनी भन्छन्, ‘ स्वास्थ्यले पनि साथ दिएको छैन। छोराछोरी पढाउने मेलो पनि जुटाउनु छ। मसँग पैसा पनि छैन भन्दै राजनीतिबाट अलग्गिँदै गएँ।’
त्यसपछिका दश वर्ष बानियाँले म्याग्दीमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भएर बिताए। यसैक्रममा उनले लेखनलाई अघि बढाएका हुन्। साहित्यमै लाग्ने सोच नभएपनि उनी विभिन्न पत्रपत्रिकामा लेख्ने, खोज अनुसन्धानको कार्यमा संग्लन भए।
२०६० सालमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा भएका कारण बानियाँ त्यहाँबाट विस्थापित भएर काठमाडौं आए। त्यसपछि उनको लेखनले गति लिए। २०६५ मा उनले पहिलो पुस्तक प्रकाशित गरे।
त्यसपछि पनि उनले ‘मृत्यु संस्कार मन्थन’ र ‘खस राज्य र कुल पुजा’ पुस्तक पनि लेखे। सात वर्ष यता पोखरामा बस्दै आएका बानियाँको यसै हप्ता ‘भौज्याहा’ नामको अर्को पुस्तक पनि प्रकाशित हुँदैछ।
Shares
प्रतिक्रिया