नेपाली सुगम संगीतको विकास तीन धारमा भएको पाइन्छ। एउटा धार अम्बर गुरुङले डोर्याए। पश्चिमी शास्त्रीय संगीतसँग नेपाली लोक संगीतलाई फ्युजन गरिदियो भने सुगम संगीतको निर्माण गर्न सकिन्छ भन्ने अम्बर गुरुङको सिद्धान्त थियो। यसरी निर्माण भएको सुगम संगीतलाई अम्बर गुरुङ घरानाको संगीत मानिन्थ्यो।
अम्बर गुरुङको संगीतले धेरै गायक/गायिकालाई स्थापित गरायो। अम्बर गुरुङका शब्द, संगीत र स्वरले नेपाली संगीतमा एउटा इतिहास निर्माण गर्यो। राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएका अम्बर गुरुङले २०२६ सालमा दार्जिलिङबाट बिदा लिए। त्यसपछि नेपालमै बसेर आफ्नो सम्पूर्ण समय नेपाली संगीतमा खर्चिए। उनको संगीत यात्रा लोकप्रिय भयो। नेपाली सुगम संगीतको एक धार निर्माण गरेका अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भयो।
संगीतको गोपाल योञ्जन घराना
नेपाली सुगम संगीतको अर्को खम्बाको रुपमा गोपाल योञ्जनलाई लिने गरिन्छ। उनको पनि संगीतको आफ्नै घराना थियो। नर्थिस्ट शास्त्रीय संगीतलाई नेपाली लोक संगीतसँग फ्युजन गर्न सकिन्छ भनेर उनले देखाए।
नेपाली संगीत इतिहासमा गोपाल योञ्जनको आफ्नै विशेषता थियो। गोपाल योञ्जन रचना, संगीत र स्वर तिनै विधामा अब्बल थिए। उनले सिर्जना गरेका कालजयी सिर्जनाहरू त्यसका ज्वलन्त उदाहरण हुन्। नेपाली आधुनिक संगीत भारतीय संगीतको प्रभाव र नक्कलबाट बाहिर निस्कन खोजिरहेका बेला गोपाल योञ्जनले प्रवेश गरेको प्रकाश सायमी बताउँछन्। त्यो समय उनका गुरु अम्बर गुरुङसहित नातिकाजी र शिवशंकर अनि नारायणगोपाल, प्रेमध्वज प्रधान र माणिकरत्नले नयाँ बाटो बनाइसकेका थिए।
उनले संगीतमा आफ्नो धार स्थापित गर्न नेपाली संगीतमा थुप्रै मेहनत गरेका थिए। त्यो समयका प्रायः स्रष्टासँग गोपाल योञ्जनले सहकार्य गरेका छन्। सबैभन्दा धेरै नारायणगोपाल र गोपाल योञ्जनको सहकार्यबाट कालजयी गीत सिर्जना भएका छन्। यी दुईले मितेरी साइनो समेत जोडेका थिए। गोपाल योञ्जन र नारायणगोपालले मिलेर सिर्जना गरेका थुप्रै गीत रेडियो नेपालको प्रतियोगितामा पुरस्कृत पनि भए।
गोपाल योञ्जनलाई राष्ट्रिय स्वाभिमानका गायक भनिन्थ्यो। उनका देशले रगत मागे मलाई बलि चढाऊ, बनेको छ पहराले यो छाती मेरो, नेपालीलाई नेपालको माया छ कि छैन लगायतका थुप्रै स्वेदशगान लोकप्रिय भए। नेपाली सुगम संगीतको एउटा खम्बाका रुपमा लिइने गोपाल योञ्जनको सन् १९९७ मे २० मा निधन भयो।
नातिकाजीको मौलिक धार
नेपाली शास्त्रीय संगीतसँग नेपाली मौलिक लोक संगीतको फ्युजन गराई निर्माण भएको अर्को धार सुगम संगीतमा लोकप्रिय भयो। यो धारको प्रतिनिधित्व नातिकाजीले गरे। सुगम संगीतको नेपाली मौलिक धारका रुपमा नातिकाजीको संगीतलाई हेर्ने गरिन्छ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’, ‘आज र राति के देखेँ सपना मै मरिगएको’ ‘सपना भुलाई सारा आँसु पिएर जाऊ’, ‘एउटा तारा झर्दा पनि आकाश सिंगै रित्तो लाग्छ’, तिम्लाई हाँसेर बिदा मात्र दिइसकेथेँ’, ‘यस्तो पनि हुँदोरैछ जिन्दगीमा कैले कैले’ ‘पर लैजाऊ फूलहरू’, ‘उकाली ओरालीहरूमा’ ‘फूलको थुँगा बगेर गयो गंगाको पानीमा’ लगायतका कालजयी गीत नातिकाजीकै संगीत सिर्जना हुन्।
नातिकाजी संगीतकार मात्रै होइनन्, उनी एक कुशल गायक पनि थिए। उनले रेडियो नेपालमा झन्डै ४ दर्जन गीत आफ्नै स्वर र आफ्नै संगीतमा लाइभ रेकर्ड गराएको संगीतकार टीका भण्डारी बताउँछन्। सुरुवाती चरणमा उनले गाएका आधुनिक गीत मविवि शाह, मोतीराम भट्ट, रवीन्द्र शाह, पुष्प नेपाली, किरण खरेल, माधव घिमिरे लगायतका रचना थिए। ती गीत उनी आफैँले नै संगीतसमेत गरेका छन्। गायक संगीतकार दीपक जंगमले पछि गुलाम अलीका लागि संगीत गरेको मविवि शाहले रचना लेखेको ‘के छ र दिऊँ तिमीलाई मैले उपहार भनेर’बोलको गीत पनि नातिकाजीले पहिले नै आफ्नै संगीत र स्वरमा रेकर्ड गरएका थिए।
नातिकाजी र तारादेवीबीच अति आत्मीय सम्बन्ध थियो। त्यो समय नातिकाजीले संगीत गरेका अधिकांश गीत तारादेवीले नै गाएकी छन्। सुरुआती चरणमै नातिकाजीको संगीतमा तारादेवीले गाएका गीतहरू कालीपारि दाइ कति राम्रो, टाढाबाट बोलाएको तिमीलाई नै हो मैले, आकाशको तिर्मिरे तारा म गन्न सक्दिनँ, ढल्के टोपी नलाउनु दाजु, उकाली ओरालीहरूमा, जताततै खोजेँ मेरो मुटुभित्रलगायतका दर्जनौँ गीत लोकप्रिय भए।
तारादेवीले गाएका बहुचर्चित गीतहरू उकाली ओरालीहरूमा, शुभकामना भरि, आऊ नआऊ तिम्रो खुसी, तिम्रा पाउहरूमा, तिमीलाई हाँसेर बिदा मात्र, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा लगायतमा नातीकाजीले नै संगीत गरेका थिए। उनको संगीतमा सबैभन्दा बढी गाउने गायिका तारादेवी नै हुन्। नेपाली सुगम संगीतको स्वर्ण युग हाँक्ने यी दुवै स्रष्टाको अवसान भैसकेको छ।
मेलोडीको राजा उपमा पाएका नातिकाजीको सन् २००३ नोभेम्बर ३ मा निधन भयो। आफ्नो जीवनकालमा ४ हजारभन्दा धेरै गीत गाएकी तारादेवीको वि.सं. २०६२ साल माघ ८ गते निधन भयो।
विसं २०२० को दशकलाई नेपाली संगीतको स्वर्ण युगका रूपमा लिइन्छ। अहिले पनि कालजयी रुपमा बज्ने गीत त्यही दशकमा रेकर्ड भएका हुन्। नातिकाजी, तारादेवी, गोपाल योञ्जन, अम्बर गुरुङ मात्रै होइन्, शिवशंकर, नारायणगोपाल, बच्चुकैलाश, अरुणा लामा, फत्तेमान, मास्टर रत्नदास प्रकाश, भक्तराज आचार्य लगायतले यो समयको बागडोर सम्हाले।
दार्जिलिङमा गोपाल योञ्जन गुञ्जिरहेका बेला यता नेपालको सुगम संगीतमा नारायणगोपालको छाप गहिरोसँग बसिरहेको थियो। ‘स्वर्गकी रानी’, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’, ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’ लगायत गीतले संगीतको एउटा गोरेटो निर्माण गरिरहेको थियो। यो यात्रामा गोपाल योञ्जन मिसिएपछि संगीतको चम्किलो मार्ग निर्माण भएको संगीतकार सुरेश अधिकारी बताउँछन्।
यो समय ‘तिम्रोजस्तै मुटु मेरो पनि’, ‘मेरो गीत मेरै प्रतिबिम्ब हैन’, ‘जीवनदेखि धेरै धेरै नै थाकेर’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘गल्ती हजार हुन्छन्’ लगायतका गीतको सिर्जना भयो। जुन गीतले नेपाली सुगम संगीतको विकासक्रममा टेवा दियो। तत्कालीन समयमा सबै गीत नेपालमा रेकर्ड हुने सम्भावना थिएन। केही गीत रेडियो नेपालमा रेकर्ड गरिए, केही कलकत्तामा।
नारायणगोपाल : सांगीतिक क्षेत्रमा त्यो उचाइ
नेपाली सुगम संगीतका सबैभन्दा लोकप्रिय गायक तथा संगीतकार नारायणगोपाल हुन्। उनी आफ्नो सुमधुर स्वर र अर्थपूर्ण गीतका कारण लोकप्रिय भए। उनका गीतहरू उनको जीवनकालमा मात्रै लोकप्रिय भएनन्, आज पनि उत्तिकै सुनिने गीतमा पर्छन्। नेपाली संगीत प्रेमीलाई आफ्नो मनपर्ने गायकको नाम सोधियो भने सबैभन्दा बढी सुनिने नाम नारायणगोपालकै हुन्छ।
वास्तवमा नेपाली सांगीतिक क्षेत्रमा त्यो उचाइ र लोकप्रियता आजसम्म कसैले पनि हासिल गर्न सकेको छैन। मृत्युको करिब ४ दशक बितिसक्दा पनि नारायणगोपाल स्रोताका उस्तै प्रिय गायक छन्। नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ र दिव्य खालिङजस्ता लोकप्रिय संगीतकारसँग उनले सांगीतिक सहकार्य गरे। यो सहकार्यले नेपाली सुगम संगीतलाई एउटा उचाइ दियो। नारायणगोपाललाई धेरैले गायकका रूपमा चिन्छन् तर उनी प्रतिभाशाली संगीतकार पनि थिए। उनका केही गीत आफ्नै रचनाका छन्। तारा देवी र फत्तेमान राजभण्डारीजस्ता अन्य गायकहरूले पनि उनका गीत गाएका छन्।
नारायणगोपालले आफ्नो जीवनकालमा त्यति धेरै गीत गाएका छैनन्। उनको स्वरमा रेकर्ड भएका गीतको संख्या १ सय ३७ मात्रै छन्। तर, अधिकांश गीत उस्तै लोकप्रिय छन्। २०२८ सालमा पोखरामा भएको एउटा कार्यक्रममा कवि भुपी शेरचनले नारायणगोपाललाई पहिलो पटक ‘स्वरसम्राट’को उपाधि दिएका थिए। पछि गोरखा दक्षिणबाहु दिँदा राजाले पनि स्वर सम्राट नै भनेर सम्बोधन गरिदिएपछि उनलाई जनस्तरबाटै स्वरसम्राटको नामले पुकारिन थालियो। त्यो क्रम अहिले पनि छँदैछ।
नारायणगोपालको प्रवेशअघि नेपाली संगीतमा रोमान्टिक गीतको उभार थियो। उनले प्रेममा पनि सेन्टिमेन्टल गीत गाएर स्रोताको मन जिते। ‘पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो’, ‘म त लालीगुराँस भएछु’, ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’ जस्ता वैराग्य रसले भरिएका गीत गाएर उनले लोकप्रियता हासिल गरे।
सन् १९६० को दशकको उत्तराद्र्धमा त्यतिबेला युरोपेली र पश्चिमी संगीतको प्रभावबाट निर्माण भएका संगीतको दबदबा थियो। त्यो समय नारायणगोपालले गोपाल योञ्जनसँग मिलेर बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रोजस्तै मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीत सिर्जना गरे। यी गीतहरुले स्रोतामा नेपालीपनको गीत सुन्ने बानी बसाल्यो।
नारायणगोपालको २०४७ साल मंसिर १९ गते अल्पायुमै स्वर्गारोहण भयो। उनको निधन भएको ४ दशक बितिसक्दा पनि उनका गीत पुराना भएका छैनन्। नयाँ पुस्ताका स्रोता पनि उनको गीत सुन्छन्।
तारादेवी : हिमालको काखमा छ सानो मेरो गाउँ
नेपाली सुगम संगीतमा सबैभन्दा धेरै सुनिने गायिकामध्येमा एक हुन् तारादेवी। उनले आफ्नो जीवनकालमा ४ हजारभन्दा बढी नेपाली गीत गाएकी छन्। उनले विसं. २०५६ फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर अन्तिम पटक गीत गाएकी थिइन्।
तारादेवीका अधिकांश गीत चर्चित छन्। ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘आऊ नआऊ तिम्रै खुसी’, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘साँघुरी बारी नि हो त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘फूलको थुँगा बगेर गयो’, ‘बिदा हुने भैगयो बेला’ लगायतका तारादेवीले गाएका गीत आज पनि उसैगरी स्रोताको रोजाइमा बज्ने गरेका छन्। स्वर किन्नरी उपनामबाट समेत परिचित तारादेवीको २०६२ साल माघ १२ गते निधन भयो।
सबैभन्दा अलग गायक भक्तराज आचार्य
नेपाली सुगम संगीतको स्वर्ण युगलाई प्रतिनिधित्व गर्ने भजन शिरोमणि भक्तराज आचार्यको सोमबार निधन भयो। उनलाई सबैभन्दा अलग गायकका रुपमा हेरिन्थ्यो। आचार्यले डेढ दशक समय नेपाली संगीतमा सक्रिय रुपमा बिताए। गायनमा उत्कर्षमा रहेका बेला आचार्यमाथि २०४६ साल मंसिरमा संघातिक हमला भयो। त्यसपछि उनी संगीतबाट पूर्णरुपमा टाढिए।
२०५० सालमा जिब्रोको क्यान्सर भयो। जसका कारण उनी राम्रोसँग बोल्न समेत सक्दैनथे। उनले गीत गाउन छाडेको ३० वर्ष भयो। तर, उनको लोकप्रियता भने रत्तिभर कम भएन। १६ वर्ष संगीतमा सक्रिय जीवन बिताएका आचार्यले ४ सयभन्दा धेरै गीतमा आवाज भरे। थुप्रै भजन गाए। भजन शिरोमणिको उपाधि पाएका आचार्यका ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘आँसुजस्तो हो जीवन’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘जीवन भनुँ त घात छ’, ‘सबै बेहोसी नसा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मायालु’, ‘भुल्नै सकिनँ त्यो क्षण’, ‘कोही नगरोस् प्रेम अमर’ लगायतका गीत लोकप्रिय छन्।
नेपाली संगीतको स्वर्णिम युगको सम्झना गर्दा गायक तथा संगीतकार सेतुराम प्रधान, गजलकार मोतीराम भट्ट, नेपालकी प्रथम गायिका मेलवादेवी, संगीतकार शिवशंकर, संगीतकार दिव्य खालिङ, कर्म योञ्जन, रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल, गायक फत्तेमान राजभण्डारी, गायक योगेश वैद्य, संगीतकार चन्द्रराज शर्मा, राष्ट्रकवि माधव घिमिरे, गीतकार सिद्धिचरण श्रेष्ठ, गीतकार भैरवनाथ रिमाल, शिव अधिकारी, क्षेत्रप्रताप अधिकारी, मविवि शाह, चाँदनी शाह लगायतका स्रष्टालाई बिर्सने हो भने अधुरो रहन्छ।
जो अझै संगीतमा सक्रिय छन्
यो समयको प्रतिनिधित्व गर्ने गायक, गायिका तथा संगीतकारहरु बच्चु कैलास, दीप श्रेष्ठ, मीरा राणा, ज्ञानु राणा, किरण प्रधान, उदितनारायण, दीपक खरेल, तीर्थकुमारी थापा, संगीता थापा शाक्य, तारा थापा लगायतका स्रष्टा आज पनि नेपाली संगीतमा सक्रिय छन्।
यो कालखण्डमा संगीत व्यापार मात्र थिएन। रुचिले संगीतमा लाग्ने र आत्मसन्तुष्टिका लागि गाउने स्रष्टाहरुले रेडियो नेपाल भरिन्थ्यो। गीत गाएर जीवन चलाउन सहज थिएन। असहजतासँग जुधेरै यो समयका स्रष्टाले संगीतमा जीवन बिताए।
(स्रोत व्यक्तिहरु : सुरेश अधिकारी, टीका भण्डारी, दिनेश अधिकारी, सन्तोष श्रेष्ठ र प्रकाश सायमी)
Shares
प्रतिक्रिया