वरिष्ठ गायिका ज्ञानु राणा। उनको परिचय उनैले गाएका सयौँ कालजयी गीतहरु हुन्। २०१६ सालबाट सुरु भएको उनको सांगीतिक यात्रा आजसम्म रोकिएको छैन। हुन त ज्ञानुको रगतमै संगीत थियो। जनकविकेशरी धर्मराज थापाकी जेठी सन्तान राणाको सांगीतिक यात्राले ६ दशकको यात्रा पार गरिसकेको छ।
लोकगीतका अग्रज संकलक धर्मराज थापाकी छोरी हुनु, घरको वातावरण सांगीतिक भइरहनु, घरमा रहेको रेडियोले ठूलो आवाजमा गीत सुनाइरहनुले ज्ञानुको मनलाई गीत संगीतमा रमाउन सघाइरह्यो। रेडियोमा हिन्दी गीत पनि निकै बज्थे। एकदिन रेडियोमा लता मंगेशकरको स्वर गुञ्जदै थियो। ज्ञानुकी आमा सावित्रीले भनिन्, ‘यस्तो मिठो गाउने छोरीकी आमा कति भाग्यमानी होलिन्!’ ज्ञानुको मनमा गहिरोसँग गढेर बस्यो, ‘मिठो स्वरमा गीत गाउने छोरीका आमा भाग्यमानी हुँदा रहेछन्!’
त्यसपछि रेडियोबाट बज्ने हरेक गीत ज्ञानुले सुन्दै सँगसँगै गुनगुनाउन थालिन्। त्यतिबेलासम्म उनका बुबा धर्मराजका ‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’, ‘नेपालीले माया मार्यो बरिलै’, ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ लगायतका गीत चर्चित भइसकेका थिए। उनी आफ्नै बुबाका गीत पनि गुनगुनाउँथिन्। न त ज्ञानुले गायनप्रतिको यो झुकाव आमाबुबालाई सुनाइन्, न त आमाबुबाले नै थाहा पाए।
धर्मराज घरमा संगीत सिकाउँथे। घरभित्र हर्मोनियममा अलापेको राग बाहिरसम्मै गुञ्जिन्थ्यो। ज्ञानु बाहिर चुपचाप बसेर त्यो राग टिप्ने कोसिस गर्थिन्। त्यही धुन समातेर एकान्तमा गाउँथिन्। यही एकान्तको गुन्गुनाहट एक दिन धर्मराजले सुने। जुन गीत धर्मराजले रेडियोमा गाउन अरु कसैलाई सिकाइरहेका थिए। अचम्म मान्दै धर्मराजले छोरीलाई पुनः गीत गाउन लगाए। रेडियो नेपालका लोकगीत प्रबन्धक समेत रहेका धर्मराजले आफ्नो निर्णय परिवर्तन गरे। अरुकै लागि सिकाइरहेको त्यो गीत छोरीलाई नै रेडियोमा गाउन लगाउने।
त्यसबेला अहिलेजस्तो बसको सुविधा थिएन। धर्मराजले भरिया खोजे, डोकोमा छोरी बोकेर काठमाडौँ आए। चार दिनको यात्रापछि काठमाडौं आएकी ज्ञानुले भव्य सिंहदरबारको एउटा कुनामा रहेको रेडियो नेपालमा पहिलो पटक गीत गाइन्। पहिलो पटक उनले गाएको गीत हो ‘जाने कहाँ हो राजै, बाटो देखाइदेऊ।’ त्यसबेला गीत गाएबापत रेडियोले उनलाई २० रुपैयाँ पारिश्रमिक दिएको थियो। उनले त्यो पैसा लामो समयसम्म बट्टामा बन्द गरेर राखिन्। त्यसपछि गीत÷संगीतमा लागेर ज्ञानुले कति कमाइन्, हिसाब राखिनन्।
काठमाडौं आएपछि ज्ञानु डिल्लीबजारमा डेरा गरेर बसिन्। पद्मकन्या स्कूलमा पढ्न थालिन्। एसएलसी सकियो। धर्मराज नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य भएर काम गर्न थाले।
अनि विवाह
ज्ञानु पढ्नका लागि बंगलादेश पुगिन्। त्यहीँ भेटिए इन्जिनियरिङ पढ्दै गरेका प्रकाशजंग राणा। ज्ञानुले यतिबेलासम्म जीवनको आफ्नै खाका बनाइसकेकी थिइन्। गायनमा राम्रै जमिसकेकी ज्ञानुलाई देखेपछि प्रकाशले उनलाई मनमा सजाए। नेपाल फर्किएपछि प्रकाश ज्ञानुको हात माग्न धर्मराजकहाँ पुगे।
२२ वर्षकी ज्ञानुले विवाह नगर्ने सोच बनाएकी थिइन्। संगीतमा लागेकी लता मंगेशकरको जीवनीबाट प्रभावित ज्ञानु आफ्नो सम्पूर्ण जीवन संगीतमा समपर्ण गर्न चाहन्थिन्। उनले बुबा धर्मराजलाई भनेकी थिइन्, ‘बुबा म विवाह गर्दिनँ। मेरो यो जीवन संगीतमै समपर्ण गर्छु।’ धर्मराज–सावित्री दम्पती ज्ञानुलाई सम्झाइरहन्थे, ‘हामी मरेको दिन तिमीलाई हेर्ने कोही हुँदैन।’
गायनमा लागेर जीवन धानिन्छ भनेर सोच्ने समय नै आएको थिएन। प्रकाश ज्ञानुसँग विवाहको प्रस्ताव लिएर गएपछि धर्मराजले अडान लिएर भने, ‘विवाह त गर्नै पर्छ छोरी।’ बुबाको अडानका अगाडि ज्ञानुको केही लागेन, उनले २०२८ सालमा विवाह गरिन्।
त्यसताका ज्ञानुको सांगीतिक करिअर उत्कर्षमा पुगेको थियो। तर, विवाहपछि सांगीतिक यात्रा सहज भएन। विवाहपछि गायनलाई निरन्तरता दिन ज्ञानुले ठूलो संघर्ष गर्नु पर्यो। भन्छिन्, ‘म अन्तै कतैको काम देखाएर सुटुक्क रेडियो नेपाल पस्थेँ र गाउँथे।’
नरमाइलो गर्भावस्था
विवाह भएको छोटो समयमा ज्ञानु गर्भवती भइन्। समय अहिलेजस्तो थिएन। पेटको बच्चा लाजको विषय बन्थ्यो। ज्ञानुलाई पनि गर्भवती भएपछि लाज लाग्यो। आफ्नाहरुलाई पनि ज्ञानुले आफू दुईजिउकी भएको कुरा सुनाउन सकिनन्।
गर्भावस्थाको समयमा खान मन लागेन। खाएको पेटमा अडिएन। सोचाइ अनेक आउँथे। मन कमजोर हुन्थ्यो। उनलाई त्यसबेला लाग्थ्यो, ‘मलाई मात्रै किन यस्तो भइरहेको छ? म अर्कै दुनियाँमा पुगेछु कि क्या हो?’ उनी हाँसखेल गर्न सक्दिनथिन्। नरमाइलो लाग्थ्यो। ज्ञानुलाई आफू आमा बन्ने तयारीमा रहेको त्यो क्षण राम्रो लागेन।
दैनिकजसो पर्ने रेकर्डिङ, भारी ज्यान, कमजोर मन बोकेर हिँड्न गाह्रो हुन्थ्यो। आमा र सासू काठमाडौँमा थिएनन्। श्रीमानसँग खासै कुरा हुँदैनथ्यो। साथीसँग भन्न पनि लाज लाग्थ्यो। तैपनि ज्ञानुले गाउन छोडिनन्। गर्भावस्थाको त्यही समयमा गाएको गीत हो, ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो।’ जुन गीत आज पनि उस्तै लोकप्रिय छ। बिस्तारै नरमाइलोपन हराउँदै गायो। बानी पर्न थाल्यो।
ज्ञानुलाई त्यो समय मिठाइ खान मन पथ्र्यो। गुलिया परिकार खान मन लाग्थ्यो। श्रीमानलाई ल्याइदिनु भन्न सक्दिनथिन्। श्रीमानले पनि जानेर कहिल्यै ल्याइदिएनन्। मिठाइको तिर्सना मेट्न उनी आफैँ पसल चहार्थिन्।
त्यतिबेला फोन थिएन। ज्ञानुकी आमा पोखरामा थिइन्। उनले आफ्नी आमालाई आमा बन्दै गरेको खबर पठाएकै थिइनन्। उनी आमा भेट्न पोखरा पुगिन्। माघ महिना थियो, उनका आमाहरु स्वस्थानीको व्रत बसेका थिए। ज्ञानु पनि व्रत बसिन्। आमाले हुँदैन भनेकी थिइन्। तर ज्ञानुले आफ्नो अडान छोडिनन्। त्यसबेला ज्ञानु ५ महिनाकी गर्भवती थिइन्। नियमित सेती गण्डकीमा नुहाउन जानु, श्रीस्वास्थानीको कथा सुन्नु ज्ञानुको दैनिकी थियो।
एक दिन नुहाउन हिँडेकी ज्ञानु भिरालो बाटोमा लडिन् र कयौँ बल्ड्याङ खाएर नदीमा पुगिन्। उनलाई याद छ, पेट जोगाउन उनले लड्दा पनि बस्दै उठ्दै गरेकी थिइन। त्यो पछि भने ज्ञानुलाई निकै डर लाग्यो। उनले सोचिन्, ‘अब मेरो बच्चा खेर गयो।’ तर दुर्घटना केही भएन। उनको गर्भ सुरक्षित रह्यो। उनी व्रत सकेर काठमाडौं फर्किन्।
बच्चा पेटमा हुँदादेखि नै ज्ञानुले बच्चाको भविष्यको बारेमा धेरै सोच्न थालिन्। उनको दिमागमा श्रृंखलाबद्ध रुपमा ‘मेरो बच्चा कस्तो जन्मन्छ, यसलाई कसरी हुर्काउने, मेरो बच्चाको भविष्य कस्तो हुने हो’ भन्ने सोचाइ दौडिरहन्थ्यो। त्यस्तो सोचले गाह्रो पार्थ्यो। अहिले ज्ञानु अरुलाई सुझाव दिन्छिन्, ‘सबै कुरा भगवानको हातमा छोडिदिनु पर्ने रहेछ। धेरै सोचाइले आफैँलाई गाह्रो बनाउँछ।’
३ दिनको व्यथापछि जन्मिएको छोरो
सुत्केरी समय नजिकिदै गर्दा ज्ञानुलाई एकदिन घरमै व्यथाले च्याप्यो। उनी शान्त भवन (अहिलेको पाटन अस्पताल) अस्पताल भर्ना भइन। तीन दिनसम्म ज्ञानुलाई व्यथा लाग्ने–छोड्ने भइरह्यो। बच्चा जन्मिएन। अहिले जस्तो अप्रेसनको प्रचलन पनि थिएन। ज्ञानु भन्छिन, ‘सुत्केरी व्यथाको जस्तो दुखाइ जीवनमा अरु बेला कहिल्यै महसुस हुँदैन।’ तीन दिनको लामो व्यथापछि ज्ञानुले छोरो जन्माइन्।
अस्पतालको बेडमा आफ्नै जीवनको माया मारेर संघर्ष गरिरहेकी ज्ञानुले नयाँ जीवन पाइन्। घुक्लुक्क परेको छोरो देखेपछि शरीरका सबै नसा चुडिएझैँ भएर दुखेको शरीरको दुखाइ बिर्सिन्। उनी अत्यन्त खुसी भइन्। टाँका लगाउनु परेका कारण उनी सात दिनसम्म अस्पताल बस्नुपर्यो।
हुर्काउन गाह्रो
काठमाडौँमा ज्ञानु दम्पती मात्रै थिए। डेराको बसाइ। छोरो जन्मिएपछि संगीतलाई निरन्तरता दिन ज्ञानुलाई कठिन भयो। ‘घर हेर्ने कि बच्चा हेर्ने कि संगीत!’ ज्ञानु भन्छिन्, ‘घरमा सहयोग गरिदिने पनि अरु कोही नभएको बेला मैले कसरी गरेँ भन्ने भगवानलाई नै थाहा होला।’
छोरा एक वर्षको हुँदासम्म त ज्ञानुले गीत पनि गाइनन्। एक वर्षपछि भने उनी पुनः गायनमा फर्किन्। गीत गाउन जाने बेलामा छोरालाई कहिले घरबेटीकहाँ छोडेर जान्थिन्। कहिले नजिकै बस्ने अरु कसैकहाँ। बाटोभरि पिरोलिन्थिन्। जब गीत गाउन थाल्थिन् ज्ञानु आफ्नो छोरो छ भन्ने पनि बिर्सिन्थिन्।
भन्छिन्, ‘गीत गाउन थालेपछि मेरो घरमा छोरो छ भन्ने बिर्सिहाल्थेँ, गीत गाइसकेपछि झसङ्ग हुन्थेँ– मेरो त घरमा छोरो छ, भोकाइसक्यो होला। अनि हस्याङफस्यांग गर्दै घर आउँथे।’
छोरो जन्मिएपछि नै ज्ञानुले जागिर सुरु गरिन्। त्यसपछि झन् व्यस्त भइन्। छोरो हुर्काउने समयमा उनले राम्रोसँग समय दिन पाइनन्। ज्ञानुले छोरो जन्मिएपछि गाएका ‘कसैले बुझेन मेरो मनको बहलाई, चौतारीमा मै बसेँ होला कि’ लगायतका गीत लोकप्रिय भए।
दोस्रो गर्भावस्थामा संगीतको छात्रवृत्ति
छोरो हुर्कंदै गर्दा ज्ञानुलाई छोरीको रहर थियो। फेरि एउटै सन्तानमा चित्त बुझाऊँ भनेर बेलाबेला श्रीमानश्रीमतीको सल्लाह भइरहन्थ्यो। एक दिन ज्ञानुकी नजिककी दिदीले भनिन्, ‘एउटा छोरा त राम्रो हुँदैन ज्ञानु, दुई वटा बच्चा चाहिन्छ।’ जेठो छोरा ६ वर्षको भएपछि ज्ञानु दोस्रो पटक गर्भवती भइन्। त्यही समय भारतको गुजरातस्ति वडोदरा सहरमा संगीतका लागि ज्ञानुले छात्रावृत्ति पाइन्। सबैले गर्भावस्थाको समयमा पढ्न सक्दिनौ, नजाऊ भनेका थिए। ज्ञानुलाई छोड्न मन लागेन। उनी भारत गइन्।
भारत गएपछि बिस्तारै पेट बढ्न थाल्यो। उठ्नबस्न गाह्रो हुन्थ्यो। खान मन लाग्दैनथ्यो। कक्षा कोठामा जानै डर लाग्थ्यो। त्यसपछि ज्ञानुले श्रीमानलाई खबर पठाइन, ‘म पढ्न सक्दिनँ।’ त्यसपछि नेपाल आएकी उनी सासूससुरासँग नेपालगञ्ज बसिन्। गर्भावस्थाको समय आफूले भोगेको अप्ठ्यारोले गर्दा उनी अहिले पनि कोही गर्भवति महिला देख्दा डराउँछिन्। भन्छिन्, ‘पेटमा बच्चा लिएर हिँड्न जस्तो गाह्रो केही गर्दा हुँदैन।’
दोस्रो पटक उनले नेपालगञ्जकै अस्पतालमा छोरो जन्माइन। बच्चा जन्मिएपछि ज्ञानुले नर्सलाई सोधिन्, ‘मेरो के भयो?’
नर्सले भनिन्, ‘छोरा।’ ज्ञानुको मन खिन्न भयो। अनुहार अँध्यारो भयो। मन दुखेपनि देखेपछि भने माया लागिहाल्ने रहेछ। तीन महिनाको छोरो बोकेर ज्ञानु काठमाडौं फर्किन्।
करिअरको चिन्ता
एक त पाएको छात्रावृत्ति गुम्यो। एउटा स्कुले छोरा, अर्को सानो बच्चा छोडेर गायनमा समय दिन मुस्किल भयो। संगीत साधना टुट्ने हो कि भन्ने चिन्ताले उनी ग्रस्त हुन्थिन्। उनलाई बारम्बार लाग्थ्यो, ‘मेरो सांगीतिक करिअर यहीँ सकियो।’ तैपनि मनको पीडा अरुलाई सुनाउने ज्ञानुको बानी थिएन।
सानामा छोराहरु पनि निकै बद्मास थिए। कहिले सानो छोरा कता लडेर रुदै आउँने, कहिले अर्को छोरा टोलको कुकुरले टोकेर रुँदै आउने। छोरो बोकेर सुई लगाउन वीर अस्पताल धाउनु पर्ने। पालैपालो छोरा बिरामी परेर अस्पताल धाइरहनु पर्ने। ज्ञानुको मन आत्तिन्थ्यो।
कान्छो छोरा ३ वर्षको भएपछि ज्ञानु पुनः गायनमा फर्किन्। त्यसपछि ज्ञानुले गायनमा विश्राम लिनु परेको छैन। अहिले ज्ञानुका दुवै छोराको विवाह भइसक्यो। जेठो छोराका दुई छोरा छन्। ज्ञानुलाई छोराको भन्दा नातिको माया धेरै लाग्छ। ज्ञानुका कान्छा छोरा पनि गीत गाउँछन्। ज्ञानुलाई खुसी लाग्छ।
ज्ञानुको पुरा नभएको एउटा रहर हो छोरीको। छोरा हुर्किएपछिका थुप्रै वर्ष तिहारमा उनीहरुको निधार खाली भयो। केही वर्ष सानीमाको छोरीसँग भाइटीका लगाए। उनी विवाह गरेर अमेरिका गइन्। त्यसपछि काकाकी छोरीसँग टीका लगाए। उनी पनि अमेरिका गइन्। त्यसपछि भने ज्ञानुका छोराहरुले भाइटीका लगाएका छैनन्। छोराहरुको निधार खाली देख्दा ज्ञानुको मन अमिलो हुन्छ। छोरो नभएकाले हरेक चाड पर्वमा ज्ञानुलाई घर अँध्यारो लाग्छ। यो रहर नातिनातिनामा गएर पनि पुरा भएको छैन। ज्ञानुलाई नातिनीको रहर छँदैछ। भन्छिन्, ‘मनमा छोरीको खड्को अझै छ।’
छोराहरुले उनलाई दिएको माया र स्याहारबाट ज्ञानु सन्तुष्ट छिन्। हिजोआज ज्ञानुका आफ्नै सपना छैनन्। भन्छिन्, ‘आमाबाबुलाई बच्चाबाट मायाबाहेक केही अपेक्षा हुँदैन रहेछ।’
Shares
प्रतिक्रिया