नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ।
गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए।
उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित गिरिले शान्त रूपमा बस्न र थकाइ मेटाउन गाउँनजिकै खुट्टी खोला किनारमा बनाएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिँदै छ।
कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए।
गिरिको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइने छ।
समाजवादी चिन्तक गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो। रासस
Shares
प्रतिक्रिया