लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विपक्षमा रहेको नेपाली कांग्रेस, समर्थन फिर्ता लिएका दलहरुले मुख्यमन्त्री लिला गिरिको राजीनामाको माग गरेका छन्।
उनीहरुले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै मार्ग प्रसस्त गर्न आग्रह गरेका हुन्। नेपाली कांग्रेसका सांसद सुधाकर पाण्डेले अल्पमतको मुख्यमन्त्रले सरकार सञ्चालन गर्न नसक्ने बताए।
‘मुख्यमन्त्री अल्पमतमा परिसक्नुभएको छ। काम चलाउ मात्र हुन्छ। सरकार सञ्चालन गर्न विधेयक ल्याउन अन्य कुरा गर्न सक्नुहुन्न’ उनले भने ‘बजेट र नीति कार्यक्रमका लागि मुख्यमन्त्रीज्यूले सहज गर्नुपर्छ।’
कांग्रेसकै सांसद प्रचण्डविक्रम न्यौपानेले ५३ सांसदले सरकारको समर्थन फिर्ता लिएको अवस्थामा नैतिकताका आधारमा मुख्यमन्त्री गिरीले मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरे।
‘तपाईंहरुको सरकार रहने सम्भावना छ भने लाग्नुहोस्’ उनले भने, ‘केही दिनको मात्र सरकार हो भने आजै मार्ग प्रशस्त गरेर नैतिकता देखाउनुस्।’
जसपाका सांसद भण्डारीलाल अहिरले अल्पमतको सरकारले विकास निर्माणका काम गर्न नसक्ने भएकाले नैतिकताको पनि ख्याल गरेर छिटो निकास दिनुपर्ने बताए।
नागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले अल्पमतको सरकार लम्बिए अस्थिरता सिर्जना हुने भनाइ राखे।
नेकपा एकीकृत समाजवादीकी भगवती घिमिरे अधिकारी र लोसपाका सांसद सन्तोषकुमार पाण्डेयले पनि नैतिकता माथि प्रश्न उठेको भन्दै मुख्यमन्त्री सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुनुपर्ने धारणा राखे।
केही दिनअघि माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए। अहिले राप्रपाले मात्र मुख्यमन्त्रीलाई दिएको समर्थन कायम राखेको छ।
समर्थन फिर्ता लिएका दलले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई यसअघि नै पत्र दिइसकेका छन्।
आजको प्रदेश सभा बैठकमा स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले लुम्बिनी प्रशिक्षण प्रतिष्ठान स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक पेश गरे।
प्रदेशसभाको अर्को बैठक मंगलबार ११ बजेका लागि बोलाइएको छ।
यसैबीच मुख्यमन्त्री लिला गिरिले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन्। सोमबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलन्यास पछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफ्ना विरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेको उल्लेख गरे।
‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने, ‘प्रमाणित भइ सकेपछि हामी एक मिनेट पनि सत्तामा रहने छैनौं।’
मुख्यमन्त्री गिरीले आफू अल्पमतमा परेको प्रमाणित भइ सकेपछि पनि धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठन हुनुपर्छ भन्ने एमालेको दाबी रहने बताएका थिए।
Shares
प्रतिक्रिया