गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका छन्।
आज बसेको कांग्रेस क्षेत्री समितिको बैठकले प्रत्यक्षतर्फ खाँणसहित ५ जनाको सिफारिस गरेर पठाउने निर्णय गरेको हो।
रुपन्देही–२ विष्णु पौडेलले लगातार ३ पटक चुनाव जितेको क्षेत्र हो।
सिफारिस अनुसार टिकट पाएमा बुटवल र आसपासको क्षेत्र पर्ने रुपन्देही २ मा बालकृष्ण खाँण र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुनेछ।
२०४८ सालमा भने खाण बुटवल क्षेत्रबाट सांसद बनेका थिए।
क्षेत्र नम्बर २ बाट सिफारिस भएपनि गृहमन्त्री खाण क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने निश्चित जस्तै छ।
रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव लेखनाथ भट्राईले क्षेत्रीय समितिबाट खाणको नाम एकल रुपमा सिफारिस गर्ने बताए।
‘उहाँ भैरहवा क्षेत्रबाटै उम्मेद्वार बन्ने निश्चित छ। एक दुई दिनमा हामीले उहाँको नाम मात्र एकल रुपमा सिफारिस गरेर पठाउँछौं।’ उनले भने।
क्षेत्र नम्बर २ मा खाँण सहित युवराज गिरि, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको हो।
युवराज अघिल्लो चुनावमा पौडेलसँग प्रतिस्प्रर्धा गरेका थिए, चुन्नु महाधिवेसन प्रतिनिधि तथा व्यवसायी हुन्।
गोकर्ण विगतमा गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिव थिए।
कृष्णप्रसाद पोखरेल अधिवक्ता हुन्।
रुपन्देही २ बाट समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस भएको छ। तर गठबन्धन भएमा रुपन्देही दुई एकिकृत समाजवादीलाई दिने चर्चा पनि छ।
एकिकृत समाजवादीले यो क्षेत्रबाट राजु गुरुङको नाम सर्वसम्मत सिफारिस गरिरहेको छ। उनले ‘गठबन्धनको साझा उम्मेद्वार’ भन्दै सामाजिक सञ्जालबाट प्रचार थालिसकेका छन्।
तर केन्द्रमा गठबन्धनको सिट बाँडफाँड टुंगिसकेको छैन।
Shares
प्रतिक्रिया