धेरै भयो
तिमीबाट बेखबर भएको
के सुन्नु तिम्रो खबर?
सुनेर पनि के गर्नु?
बुझे पो यो रनभुल्ल मस्तिष्कले
परदेशिएपछि कम सुन्ने, कम सुनाउने भइँदो रहेछ
धेरैपछि निद्रालाई थोरै पछाडि धकेलेरै
सुन्न मन लागेको छ
तिम्रो आँसुको खबर
उहिल्यै बडेमान काँडाले घोचेका डोब केही बिसेक भए कि झन् थपिए?
बल्झिरहने मनको घाउ निको भयो कि झन् बढेको छ?
उहिले तिमीसँगै हुँदा आफ्नै आँखाले देखेथेँ
थामिनसक्नु पीडाको भारी
अहिले त सुन्दिनँ
घाँस काट्दा हँसियाले औँला रेटिएको
भारीसँगै चिप्लिएर लडेको
जुकाले कति रगत पियो तिम्रो सुकेको शरीराबाट
पानी पधेँरो गर्दा ढाड दुख्दैन र पहिलाजस्तो
दुईको जिम्मेवारी एक्लैले बोकी हिँडेकी छौ
लाग्दैन अब त बिसाऊँ जस्तो
के ले बनेको छ त्यो शरीर
जसलाई थकाइ लाग्दैन
किन तिम्रो शरीर गल्दैन
किन तिमीलाई विश्राम आवश्यक लाग्दैन
मलाई जस्तो
किन तिमीलाई आफ्नै खुसी खोज्ने रहर जाग्दैन
तिम्रा विवशताका कथा सुनाउन
केले बाँधेको छ यसरी?
तिम्रा ओठहरुलाई
जो हाँस्न डराइरहेछन् बन्धक जसरी
म परदेश पसेपछि सुनाउनै छाड्यौ
शरीरको दुःखसास्ती
मनको दुःखपीर
आज त सुनाउन आमा
छानो बदल्ने अभिलाषा अझै छ कि ढलिसक्यो
दिनहुँ बढेको मेरो व्यस्तताले
तिमीसँग बोल्न नपाउँदा दुखेको चित्त
तिम्रो ओठमा देखिएको सानो खुसीको धर्साभित्रको
विशाल पीरको पोको
गहिरो समुन्द्रको तालजसरी आँखाभरि भरिएको आँसु
खसाल न मेरै अघिल्तिर
अँ अब त
मलाई पनि सिकाइदेऊ न
निस्सासिएर कसरी जोगाउने अस्तित्व
Shares
प्रतिक्रिया