हार्वर्ड युनिभर्सिटीका अध्येताहरुले गरेको एउटा ठूलो नयाँ अध्ययनले प्रतिहप्ता दुई पटक (जम्मा करिब १७० ग्राम) रातो मासु खाँदा पनि पछि डायबिटिज लाग्ने सम्भावना ज्यादा हुने देखाएको छ। रातो मासुको उपभोग जति बढी भयो टाइप टु डायबिटिज लाग्ने सम्भावना पनि उति बढ्नै हालै अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित सो अध्ययनको निष्कर्ष छ।
‘रातो मासु र टाइप टु डायबिटिजबीचको सम्बन्ध विश्वभरका फरकफरक जनसंख्यामा देखिएको छ,’ अध्ययनका प्रमुख लेखक तथा हार्वर्ड टीएस चान स्कुल अफ पब्लिक हेल्थका अध्येता स्याओ कुले बताए, ‘आशा छ, स्वास्थ्यको विषयलाई लिएर रातो मासु खाना सीमित गर्ने कि नगर्ने भन्न बहसलाई हाम्रो अध्ययनले टुंगो लगाउनेछ।’
विश्वमा ४६ करोडभन्दा ज्यादालाई टाइप टु डायबिटिज छ। र, यो रोग लाग्ने दर बढिरहेको अध्येताहरुको भनाइ छ।
‘डायबिटिजको रोकथाम महत्वपूर्ण छ। किनभने यो रोग आफैँ गम्भीर बोझ हो। त्यसमाथि यो मुटु, किड्नी, क्यान्सर र डिमेन्सिया रोगको पनि प्रमुख जोखिम हो,’ कु भन्छन्।
विगतका अध्ययनहरुमा पनि रातो मासु र डायबिटिजबीच सम्बन्ध देखिएका थिए। तर, पछिल्लो अध्ययनमा अध्येताहरुले लामो अवधिमा रातो मासुले कसरी असर गर्छ भनेर पनि अध्ययन गरेका थिए।
अध्ययनका लेखकहरुले १९७६ देखि १९८९ सम्म दुई वटा अध्ययनमा सहभागी २ लाख १६ हजार मानिसको विषयमा अध्ययन गरेका थिए। ती सबैलाई २०१७ सम्ममा फलोअप गरिएको थियो। हरेक दुई वर्षमा सहभागीहरुले अध्येताहरुको प्रश्नको जवाफ दिएका थिए। उनीहरुको खानपानको निगरानी समेत राखिएको थियो।
फलोअपको अन्त्यमा २२ हजार ८ सय जनामा टाइप टु डायबिटिज देखियो। र, जसले ज्यादा रातो मासु खान्थे उनीहरुलाई यो रोग लाग्ने जोखिम कम खानेको तुलनामा ६२ प्रतिशत बढी देखियो।
त्यसतै ससेज, हट डग, स्यान्डविचजस्ता प्रशोधित मासु खानेहरुमा त्यो जोखिम ५१ प्रतिशत र अप्रशोधित रातो मासु खानेहरुमा ४० प्रतिशत ज्यादा जोखिम देखियो।
मासुको सट्टा गेडागुडी खाँदा टाइप टु डायबिटिजको जोखिम ३० प्रतिशतले कम हुने देखियो भने डेरी उत्पादन खाँदा सो जोखिम २२ प्रतिशतले घट्ने देखियो।
यो अध्ययनले रातो मासु कम खाने अहिलेको निर्देशिका सही भएको पोषण विज्ञहरुले बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया