सप्तकोसी नदी ७० वर्षपछि पुरानै धारमा फर्किएको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट नदी पुरानै धारमा फर्किंदा उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका जोखिममा परेका छन्।
नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गर्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय घरपरिवार संकटमा परेका हुन्।
सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बर १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन्।
याे पनि : सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित, ५ हजारको उद्धार (तस्बिरहरू)
सप्तकोसी नदीका पश्चिम सोझिँदा सुनसरी र उदयपुरका ३० हजारभन्दा बढी जोखिममा पर्ने बराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनालले बताए।
नदी बस्तीतर्फ सोझिएपछि स्थानीय राती नै सामान बोकेर सुरक्षित स्थानतर्फ जान सुरु गरेका छन्। नदीले धार परिवर्तन गर्दा जोखिममा परेकाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने क्रम चलिरहेको छ।
बाढीबाट प्रभावितलाई ट्याक्टरमा स्थानीय विद्यालयमा ओसार्ने क्रम चलिरहेको ८ नम्बरका वडाध्यक्ष जयकुमार राईले बताए।
सशस्त्र प्रहरीका डीआईजी कमल गिरीले विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्न जनपद, शसस्त्र प्रहरी र नेपाली सेना खटिएको जानकारी दिए। उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए। उनले नदीले धार परिवर्तन गर्दा हुन सक्ने क्षति कम गर्न आफूहरू लागेको बताए।
सप्तकोसी नदीले बुधबार बिहान ३ बजे धार परिवर्तन गरेको हो। नदीले धार परिवर्तन गर्दा सप्तरीका सप्तकोसी नगरपालिका, कञ्चनरुप र कंकालनी, सुनसरीको बरहक्षेत्र नगरपालिकाका २ वटा वडा र बेलका नगरपालिकाका ४ वटा वडाका बासिन्दा खतरामा परेका छन्।
सप्तकोसी नदीले २ महिनायता निरन्तर डुम्रीबोटेमा पश्चिमतर्फ कटान गरिरहेको थियो। कटान रोक्न काम भएको भए पनि रोक्न नसकिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए।
७० वर्षपछि सप्तकोसी पुरानै बाटोमा
७० वर्षअघिसम्म सप्तकोसी नदीको मूल भंगालो सोही बाटोबाट बग्ने गरेको थियो। नदी पूर्वतर्फबाट बग्न थालेपछि नदी उकास जमिनमा मानिस बस्न थाले। अहिले नदी त्यही पुरोनो बाटोबाट बग्दा उदयपुरस्थित बेलका नगरपालिकाका ४ वटा वडा र सुनसरीको बरहक्षेत्र नगरपालिकाका २ वटा वडा टापुमा परिणत भएका छन्।
नदीमा पानीको सतह धेरै हुँदा टापुमा मानिसहरु अड्किएको बेलाका मेयर कार्कीले बताए। उनका अनुसार डुंगाको सहायताले नदी तारी सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।
पश्चिमतर्फ धार पविर्तन गरेको सप्तकोसी नदी भागलपुरमा पुगेर मिसिएको छ।
याे पनि : सप्तकोसीको बाढीले विस्थापितलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया