सप्तकोसी नदीले निरन्तर पश्चिमतर्फ कटान गर्दा उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टप्पु जोखिममा परेको छ।
नदीले दुई वर्षदेखि पश्चिमतर्फ कटान गरिरहेको छ। निरन्तरको कटानका कारण २ वर्ष यता श्रीलङ्का टप्पुको २ हजार ५ सय बिघा खेतीयोग्य जमिन नदीले बगाएको छ।
कटानका कारण सुनसरीको बराहक्षेत्र श्रीलङ्का टप्पुका १ सय बढी परिवार बिस्थापित भएका छन् भने एउटा विद्यालय पनि नदीले बगाएपछि अन्यत्र सारिएको छ।
सप्तकोशी नदीले अहिले उदयपुरको बेलका नगरपालिका वडा नं ८ डुम्री बोटे (लाहुरे खोज) मा तीब्र कटान सुरु गरेको छ। नदीले दैनिक १० मिटरसम्म कटान गरिरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयकुमार राईले बताए। डुम्रीबोटे लाहुेरे खोचमा नदीले एक सय मिटर कटान गरेको जयकुमार राई बताउँछन्।
सो स्थानमा भइरहेको नदी कटान रोक्न नसकिए बेलका नगरपालिकाको वडा नम्बर ८, ९, ३ र २ नम्वर वडा जोखिममा पर्ने राईले बताए।
डुम्री बोटेमा कोसी कटान सुरु भएपछि उदयपुरको बेलका, चौदण्डी, सप्तरीको सप्तकोसी, कञ्चनरुप लगायत सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु समेत जोखिममा परेको राईले बताए।
कटान नियन्त्रणका लागि बोरामा बालुवा हालेर बाँध बनाउने काम भइरहेको छ। तर नदीको कटान भने नरोकिएको स्थानीयले बताएका छन्।
२ वर्षदेखि पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ सर्दै कटान गरिररहेको छ।
प्रतिक्रिया