प्रदेश सभा सदस्य सर्वध्वज साँवाले विराटनगर प्रदेश १ को नामकरणको विषयमा गोप्य मतदान गर्न वा जनमत संग्रहमा जान माग गरेका छन्।
प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद साँवाले नामकरणको विषयमा गोप्य मतदानको व्यवस्था गर्न माग गरेका हुन्।
प्रदेश सभा सदस्य सर्वध्वज साँवाले गुहार भन्दै बलिको बोका, पाठा पाठी बनाउन लागिएको बताए।
उनले कहिले मुख्यमन्त्री त कहिले सांसदहरु घर घरमा र चोक चोकमा घेराबन्दीमा परेको बताए। उनले अहिलेसम्म घेराबन्दीमा परेको र घेराबन्दी तोड्नमा समय व्यतित गरेको बताए।
उनले प्रदेशको नामका विषयलाई लिएर सडकमा आन्दोलन भइरहेको भन्दै यो खतराबाट बचाउन आग्रह गरे।
उनले भने, ‘पार्टीले भनेको नमाने कोर्रा हान्छौँ भनेको र अर्कोतिर कोसी नामकरण नगरे आउने चुनावमा अर्कै नतिजा दिने भनेका छन्।
कसैले कोर्रा हान्ने कसैले कोसीमा बगाउने भनेकाले आफूहरु अप्ठेरोमा परेको बताए।
उनले प्रदेश सभा नियमावली संशोधन गरेर गोप्य मतदान गर्ने व्यवस्था वा जनमत संग्रहको व्यवस्था गर्न माग गरे।
प्रदेश सभा नियमावलीमा लाइन लगाएर हस्ताक्षर गर्न लगाउने व्यवस्था भएकाले जनताले कसले कता मत हाल्यो भनेर थाहा पाउने भएकाले ‘बलिको बोका’ बनाइएको सांसद साँवाले गुनासो गरे।
उनले भने, ‘गोप्य मतदान गर्ने व्यवस्थाका लागि यो मेरो गुहार हो। मेरो गुहार सुनियोस्।’
प्रतिक्रिया