कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने उदेश्यले सुनसरीमा कोदोको रक्सी प्रवर्द्धन समिति गठन भएको छ।
रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दवाव दिन समिति गठन गरिएको हो। समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरि दवाव सिर्जना गर्ने समितिले जनाएको छ।
ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोखाउने गरिएको छ।
प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनु पर्ने समितिले जनाएको छ।
समितिका संयोजकमा नगेन्द्र पारघरिलाई तोकिएको छ। १३ सदस्यीय जिल्ला समितिमा निमा पोङ्स्युवा, रिता खापुङ, लिला राई, सानु लुहागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिना पुमा राई, ऐसा सुनुवार, लक्ष्मी राई रहेका छन्।
त्यसैगरी सात जना सल्लाहकार समिति पनि गठन भएको छ। सल्लाहकार समितिमा हर्ष सुब्बा, डांकमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम, भक्तराज रसाईली, तेन्जिङ शेर्पा, ताजुप लिम्बु रहेका छन्।
प्रदेश १ सरकारले परम्परागत घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिएपछि यसको प्रवर्द्धन गर्न जनस्तरबाट नै दवाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने सुनसरी जिल्ला संयोजक टेकबहादुर खजुमले जानकारी दिए।
संयोजक खजुमले हालसम्म झापा मोरङ र सुनसरी जिल्ला समिति गठन भएको र साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला मै समिति गठन गरिसक्ने बताए।
तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीको ब्रान्डिङ गरी आय आर्जनसँग जोड्ने योजना ल्याएकी थिइन्।
सो योजनालाई राजेन्द्र राई नेतृत्वको सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
प्रतिक्रिया