दैलेखस्थित भैरबी गाउँपालिकामा नेकपा एमालेको गाउँ कमिटी चयन गर्न भएको चुनावमा एक मतका लागि विवाद भएको छ।
गत फागुन २९ गतेदेखि जारी दोस्रो गाउँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि यही चैत ३ गते मतदान गरिएको थियो।
तर एउटा मतका कारण अध्यक्षमा कसलाई निर्वाचित गर्ने भन्ने विवाद भएको हो।
अध्यक्ष पदमा शान्तिप्रसाद रिजाल र जगतप्रसाद आचार्य प्रतिस्पर्धामा छन्।
एमाले पालिका निर्वाचन कमिटीका अधिकृत श्याम थापाका अनुसार निर्वाचनमा ३५६ मत खसेका छन्। जसमा ५ वटा मतपत्र बदर भएका छन्।
तर एउटा मत विवादित भएका कारण अध्यक्ष निर्वाचित घोषणा गर्न रोकिएको छ।
अध्यक्ष पदको मतपेटिका खोलेर गणना गर्दा रिजालले १७५ मत र आचार्यले १७४ मत पाएका थिए। सोही आधारमा रिजाललाई नेता–कार्यकर्ताले फोन तथा सामाजिक सञ्जालबाट बधाई समेत दिइसकेका थिए।
तर खुला सदस्यतर्फको मतपेटिकामा पदाधिकारीलाई मतदान गरेको मतपत्र भेटियो।
निर्वाचन अधिकृत थापाले भने, ‘१७५ र १७४ मा लगभग एक प्रकारको भइसकेको हो। तर, सरकारी कुरा भए फरक हुन्थ्यो। अब पार्टीको आन्तरिक निर्वाचन हो। पछि १७४ मा १७५ हुने मतपत्र सदर भेटियो।’
थापाले आचार्यको मत परिणाम १७५ हुने मतपत्र र विचारधीन रहेको मतपत्र पनि सुरक्षीत राखिएको जानकारी दिए।
उक्त मतपत्र हेर्दा अध्यक्षका उम्मेदवार रिजाललाई टिक लगाएको प्रस्ट देखिन्छ भने आचार्यलाई सानो थोप्ला मात्रै लगाइएको छ।
उक्त मतपत्रले नै अध्यक्षमा निर्वाचित को हुने भन्नेमा ठूलो भूमिका निर्वाह गर्ने देखिन्छ।
मतदाता सबै साक्षर नहुँदा मतदान गर्दा दुइवटै उम्मेदवारलाई संकेत गरेपछि उक्त मतपत्र विवादित हुन पुगेको निर्वाचन अधिकृत थापा बताउँछन्।
उनले भने, ‘अन्य मतपत्रमा एउटा कोठा खाली र एउटामा टीका (थोप्ला) मात्रै लगाएको पनि गणना गरेका थियौँ। यो मत पत्रमा दुवै उम्मेदावरलाई संकेत गरेको देखियो। त्यसैले मत दुवै उम्मेदवारको भयो। यो विषय माथिल्लो स्तरका नेताहरूसम्म पुगेको छ। अब उहाँहरूले सकभर आज नै टुंग्याउनु होला।’
उक्त मतपत्र सदर मान्ने कि बदर मान्ने भन्ने विवादका कारण निर्णय हुन नसकेको हो।
यस्तै निर्वाचन अधिकृत थापाले मुचुल्का बनाएर सबै मतपत्र मत बक्समा राखी भैरबी प्रहरी कार्यालयमा सुरक्षित राखिएको जानकारी दिए।
उनका अनुसार निर्वाचनको अन्तिम मतपरिणामबारे एमाले दैलेख जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, एमाले कर्णाली प्रदेश उपसचिव रवीन्द्रराज शर्मा र अध्यक्ष मण्डलको रोहबरमा निर्णय गरेर सार्वजनिक गर्ने मौखिक सहमति भएको छ।
यस विषयमा एमालेको केन्द्रीय निर्वाचन कमिटीलाई भने जानकारी गराइएको छैन।
निर्वाचित अधिकृत थापाले भने, ‘विवादित मतपत्रबारे पार्टीका नेताहरूले मिलाउनुहुन्छ होला। यदि पार्टीले यो विषय मिलाउन सकेन भने उम्मेदवारलाई चित्त नबुझेको कुरामा अदालत जाने वा अन्य ठाउँमा जाने कुरा व्यक्तिगत कुरा भयो।’
Shares
प्रतिक्रिया