गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर समूहको वार्षिक साधारणसभा काठमाडौँमा सकिएको छ। ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा आइतबार साँझ सम्पन्न भएको हो।
४२ देशका प्रतिनिधि सहभागी साधारणसभाको उद्घाटन संघका संरक्षक डा. शेष घलेले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको र त्यसका लागि सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्ने बताए। केही समस्या देखिएपनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दत्तचित्तले लागेको भन्दै उनले नागरिकतालगायतका विषयमा अझै संघर्ष जारी रहेको बताए।
‘हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ। लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ। सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन,’ उनले भने।
उनले नागरिकतालाई कागजको खोस्टोमा सिमित बनाउन नहुनेमा जोड दिए।
संघका आईसीसी अध्यक्ष विनोद कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनुपर्ने बताए। उनले १० औं महाधिवेशनमा विधिलाई धोती लगाउनेहरुकै कारण संघमा विवाद उत्पन्न भएको तर्क गरे।
‘हामीले संस्थालाई विधिमा लैजाउ भनेका थियौं, केही साथीहरुले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो। हामी अझैपनि विधिवत रुपमा संघलाई अगाडि बढाऔं भनिरहेका छौँ,’ कुँवरले भने। त्यसैको लागि आफूहरुले महाधिवेशन रोकेर वार्षिक साधारणसभा गरेको उनको भनाई थियो।
आफूहरुले आवाज उठाएको २० बर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा सिमित अधिकार तोकिएकोले समस्या समाधान नभएको उनको भनाई थियो।
अझै लगानीको वातावरण नबनेको भन्दै कुँवरले भने, ‘हामीहरुलाई स्वागत चाहिँदैन, देशको समृद्धिको लागि विदेशमा कमाएका पैसा नेपालमै लगानी गर्ने वातावरण बनाइदिनुुस् भनेका छौं। दिनदिनै युवा पलायन भइरहेका छन्। त्यसलाई रोक्न पनि हामी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्छौं, त्यसको लागि वातावरण चाहिएको हो।’
कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए। उनले आफूहरुले संघको विधान र विधि मानेकोले मुलधार भएको दाबी गरे।
अर्का उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिए।
साधारणसभाको बन्दशत्रमा एनसीसी, आरसी, महासचिव, कोषाध्यक्षको रिपोर्ट प्रस्तुत गरिएको थियो।
साधारणसभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ।
त्यसैगरी साधारणसभामा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता समेत भएका छन् । काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन्।
पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत संगिता कार्कीले हस्ताक्षर गरेका छन्।
संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियान नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन्।
त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ।
कार्यक्रममा भूकम्पमा खट्ने र सहयोग गर्ने संघका प्रतिनिधि तथा एनसीसीलाई सम्मान समेत गरिएको थियो।
Shares
प्रतिक्रिया