झापामा बीएण्डसी मेडिकल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि) स्थापना गरेसँगै दुर्गा प्रसाईं अनेक विवाद र चर्चाको केन्द्रमा छन्। एमाले र माओवादी केन्द्र एक हुने बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर काठमाडौंको आफ्नै घरमा बैठक गराएपछि उनी ‘मार्सी’ उपनामले चर्चाको शीखरमा पुगे। प्रचण्ड निकट रहेर व्यवसायिक फाइदा लिएको भन्दै प्रसाईंको चर्को आलोचना भइरहेका बेला उनले फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफ्नो लगानी रहेको ३ सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गराए। टाइगर ब्रुअरीमा लगानी गरेका प्रसाईंले यही ब्रुअरीबाट मार्सी बियर उत्पादन सुरु गर्दैछन् भने माफिया ह्विस्की र डन इनर्जी ड्रिन्क्स उत्पादन गर्न कारखाना बनाइरहेका छन्।
नेपालखबरसँग खुलेर वार्ता गर्ने क्रममा दुर्गा प्रसाईंले फेरि मार्सी चामलको भात खुवाएर ओली र प्रचण्डबीच बैठक गराउने आफ्नो धोको रहेको र त्यसको तयारीमा लागिसकेको सुनाए :
तपाईंले मेडिकल क्षेत्रमै व्यवसाय किन सुरु गर्नुभयो?
मेरो सालो, छोराछोरी सबै डाक्टर पढ्ने थिए। परिवारमा धेरै जना डाक्टरीमै रुचि भएकाहरु छन्। त्यो क्षेत्रमा अघि बढौँ भन्ने पारिवारिक छलफल भयो। त्यसपछि मेरो आफ्नो साधन, स्रोत, जग्गाजमिन बैंकमा राखेर मेडिकल हस्पिटल स्थापनाको प्रक्रिया थालियो।
यो २०६८ को कुरा हो। पछि २०७१ सालमा आएर मैले मेडिकल हस्पिटल निर्माण नै सुरु गरेको थिएँ। त्यसको ४ वर्षपछि मलाई जिब्रोको क्यान्सर भयो। त्यसपछि उपचारको लागि भारत र सिंगापुर गएँ। मेरो धेरै ठूलो अप्रेसन भएको छ। १२ घण्टाको अप्रेसन थियो त्यो। तर मलाई त्यतिखेर के फिल (महशुस) भयो भने मैले त्यति ठूलो हस्पिटल बनाएँ तर उपचारका लागि आफैँ विदेश धाउनुपर्यो। यो त छँदै थियो, भरतपुरको क्यान्सर अस्पतालले पनि राम्रो उपचार गर्न सकिरहेको छैन। त्यसैकारण अप्रेसनको १२औँ दिनमै आएर मैले आफ्नो क्यान्सर अस्पतालको शिलान्यास गरेँ।
अस्पतालमा एकपछि अर्को अर्बौँ लगानी गरिरहनुभएको छ, यसको स्रोतचाहिँ के हो भन्ने प्रश्न कत्तिको सामना गर्नुपरेको छ?
हो, यो प्रश्न सबैलाई हुनसक्छ। म यसलाई ‘क्लियर’ गर्न चाहन्छु। जति पनि पैसा मैले लगानी गरिरहेको छु। त्यो सबै बैंकमार्फत जुटाइएको हो। १३–१४ वटा बैंकमा मेरो ऋण छ। त्यही ऋण १२ देखि १३ सय करोड हाराहारीमा लगानी भइरहेको छ। मेरो हस्पिटल एसियाकैै नमूना रहेको छ।
नेपाललाई यो लेबलको हस्पिटल आवश्यक पनि थियो। नेपालको सुदूरपूर्वमा हस्पिटल बनेको छ। त्यो पनि धेरै सेवा सुविधासहितको। राम्रै सोचौँ, राम्रै गरौँ, लगानी गरेर देशलाई प्रतिफल दिऔँ भन्ने मेरो आशय हो। राम्रै भएको छ, १५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। मेरो अन्य क्षेत्रमा भएको लगानीबाट पनि १५ सय गरी म आफैँले प्रत्यक्ष ३ हजार जनालाई रोजगारी दिएको छु। मेरो लगानी स्वदेशी हो। स्वदेशमा नै रहने पैसा हो। यही हस्पिटलमा मेरो छोराछोरी पनि छन्।
झापामा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउनुभएको छ, भारतीयलाई पनि लक्षित गर्न खोज्नुभएको हो?
कुरा यस्तो छ, उपचार गर्न त नेपालका पनि आउँछन्। नेपाली जाति र नेपालीभाषीहरु त नेपालभन्दा भारतमा धेरै छन्। भारतमा करोडौँ नेपालीभाषी छन्। नेपालको त कुल जनसंख्या नै ३ करोड हो। त्यसमा पनि १ करोड त नेपालबाहिर छन्। नेपालमा केही भारतीय र केही पाकिस्तानी छन्। नेपाली भाषा बोल्ने नेपालीहरु टिस्टासम्म छन्। त्यसो हुँदा विदेशमा रहेका नेपालीहरुलाई पनि लक्षित गर्न अस्पताल बनाइएको भन्दा फरक पर्दैन।
अर्को कुरा, झापाकेन्द्रित रहेर उपचार चाहने नेपालीहरु पनि यो अस्पतालको ‘टार्गेट’ हो। सबैभन्दा महत्वपूर्ण कुराचाहिँ मेडिकल टुरिजम हो यो। यो लेबलको अस्पताल एसियामै विरलै छ। दिल्लीको मेदान्तमा जाने हो भने अफगानिस्तान, साउदी अरेबियादेखि कतारसम्मका मानिसहरु उपचारका लागि आउँछन्। त्यसरी नै विदेशका मान्छे नेपालमा उपचारको लागि आऊन् भन्ने हो।
उपचारको लागि त नेपाल आफैँमा सस्तो छ। नेपालमा बस्ने, खाने र लगाउने कुराहरु सबै सस्तो पनि छ। उनीहरुलाई त्यहीअनुसार कसरी सुविधा प्रदान गर्ने भन्ने हो। मैले यसैलाई लिएर मेडिकल टुरिजममा जोड्ने काम गर्दै छु। सरकारलाई पनि मैले सधैँ नेपाललाई मेडिकल हब बनाऔँ, मेडिकल शिक्षालगायतले नेपाललाई जोडौँ भनिरहेको हुन्छु।
मेडिकल शिक्षा सबैको पहुँचमा भएन भन्ने बहस सधैँजसो भइरहेको छ, यसलाई कसरी चिर्ने?
मेडिकल शिक्षाको लागि ६ वर्षमा ४० लाख रुपैयाँ तिर्नुपर्छ। यो एक वर्षको फि थियो भने म महँगो मान्दथेँ। तपाईंलाई म भन्छु– एलकेजीका विद्यार्थीलाई एक महिनाको ६० हजार रुपैयाँ लिने स्कुल पनि छन्। यहाँ तपाईंको एमबीबीएस त्योभन्दा निकै सस्तो छ।
मेडिकलको ‘फि’ महँगो हुनुमा अरु कारण पनि छन्। जस्तो प्रोफेसरहरु आफैँमा महँगा छन्, अरु सरसामानहरुमा पनि त्यत्तिकै लागत छ। एउटा बोर्डिङ स्कुलको फि र मेडिकल कजेटको फि बराबरीजस्तै छ भने त्यसलाई कसरी महँगो मान्न सकिन्छ? एउटा ‘पेट स्क्यानर’ मेसिनलाई ३६ करोड रुपैयाँ पर्छ, रेडिएसन मेसिनलाई ९० करोड रुपैयाँ पर्छ। यो पैसा लगानी गर्दा ब्याज पनि त्यत्तिकै लाग्छ होला। हाम्रो बारीको मुला हैन नि त त्यो! अहिले मेडिकल शिक्षा महँगो भयो भनेर नचाहिँदो हल्ला मात्रै फैलाइएको हो।
बरु विदेश उपचारमा पठाउने अर्बौँ रुपैयाँ वार्षिक उपचारको लागि मात्रै पठाउने काम भइरहेको छ। म त नेपालमा मेडिकल हब बनाएर विदेशको पैसा भित्र्याउनुपर्छ भन्ने लाइनको मान्छे हो। कोही व्यक्ति त्यसमा केही गर्छु भन्यो भने माफिया, गुण्डा, डन, डाँका र चोर भन्ने गरेको सुनेको छु। तर जसले त्यो भन्छ र लेख्छ त्यसले गरेको केही हुँदैन। ऊसँग त्यो गर्ने क्षमता पनि हुँदैन।
तपाईंलाई नै माफिया, गुण्डा भन्छन् नि! सामाजिक सञ्जालभरि त्यही सुनिन्छ, देखिन्छ...
मैले भनें नि, केही गर्न नसक्नेहरुले अरुले काम गरेको सहन नसकेर यसो भनिरहेका छन्। सुरुमा त मार्सी–मार्सी–मार्सी भनेर जता पनि खेदो खन्नथालेका थिए। अहिले त मेडिकल माफिया, डन के–के हो के–के!
अब तिनै (बद)नामलाई ‘ब्राण्ड’ बनाउने गरी अघि बढ्नुभएको छ क्यारे, हैन?
मैले यसो सम्झिएँ– कर्णालीको त्यो अर्गानिक चामल मार्सीको प्रयोग गरेर बियर बनाएँ भने कर्णालीका दाजुभाइ दिदीबहिनीहरुको राम्रै आर्थिक उन्नति हुन्छ। हेर्नुस् त– अहिले त्यही चामलको छुट्टै ब्राण्ड बनेको छ नि!
मैले प्रचण्ड र केपी शर्मा ओलीलाई त्यो भात खुवाइसकेपछि त्यसको भाउ नै आकाशिएको छ। मलाई जे भनिएको छ– त्यो एकछिनको लागि नराम्रो हो। तर म सही बाटोमै छु। पछि आफैँ राम्रो बन्दै जान्छ। राम्रोको लागि नै नराम्रो हुने हो। जन्म नै मृत्यु हो भनेजस्तै हो यो। ‘नेगेटिभ’मा नै ‘पोजेटिभ’ खोज्नुपर्छ। त्यसकारण मलाई गाली गरेको शब्दलाई नै अघि सारेर मैले बियर उत्पादन गर्नलागेको हुँ।
तर स्वास्थ्यक्षेत्रमा लागिरहेको तपाईं मदिरातर्फ मोडिँदा लगानी मोडल त मिलेन नि!
त्यसो होइन, यसलाई यसरी स्पष्ट गर्न चाहन्छु– अहिले विदेशबाट कति मदिरा आइरहेका छन्, त्यो नेपालमै उत्पादन हुनथाल्यो के बिगार गर्यो त? म एक बोतल बियरबराबर १ सय ७० रुपैयाँ कर तिर्छु। त्यो राम्रो कुरो हो। म त वर्षको १० अर्ब रुपैयाँ कर तिर्न चाहन्छु। त्योबापत राम्रो बाटो बनोस्, पूर्वाधार क्षेत्रमा लगानी होस्। विकास निर्माण अघि बढ्नुपर्छ। कि त मदिरा, चुरोटजस्तो वस्तुमाथि बन्देज हुनुपर्छ। यदि खुलाउने हो भने खपतको लागि त विदेशबाट पनि आयात हुन्छ। विदेशबाट आयात हुनेलाई स्वदेशमै उत्पादन भयो भने धेरै राम्रो कुरा हो नि! हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? त्यसकारण यसलाई गलत रुपमा लिनुहुँदैन।
मदिरामा कति छ लगानी?
टाइगर ब्रुअरीको ७० प्रतिशत हिस्सा मैले लिएर यसमा अहिले साँढे ४ सय करोड लगानी गरिसकेको छु। अहिले यो ब्रुअरीले वार्षिक रुपमा नै ७/८ अर्ब रुपैयाँ कर बुझाउँछ। यसमा जम्मा अहिले ६ सय करोड लगानी भइसकेको छ।
मार्सी बियरपछि अरु उत्पादन के–के थप्दै हुनुहुन्छ?
मलाई मेडिकल माफियाको पनि ठूलो आरोप लगाए। अघि नै भनेँ नि ‘नेगेटिभ’बाट ‘पोजिटिभ’मा आउने हो। त्यो आरोपपछि अब म माफिया ह्विस्की निकाल्दै छु। मलाई ‘डन’ पनि भन्छन्। म ‘डन’ इनर्जी ड्रिंक्स पनि ल्याउँदै छु। यो लगानी भइसकेर त्यसको फ्याक्ट्री बन्दै छ। अब माफिया भन्नेलाई माफिया ह्विस्की खुवाउने हो। मार्सी भन्नेले पनि लुकेर मार्सी बियर खान्छन्। यो सबै भैरहवाबाट उत्पादन हुनेछ।
यसरी ठूलो स्केलमा लगानी गरिरहँदा बैंकसँग समस्या परेको छैन?
छैन। बैंकहरुले त मलाई तपाईंले लगानी गर्नुस् भनेर बोलाइरहेका छन्। मेरो कामलाई उनीहरुले विश्वास गरिरहेका छन्।
धेरै उद्यमीहरुले बैंकको ब्याजदर महँगो भयो भनिरहेका छन्, नयाँ लगानीकर्ताले ऋण पाउनै मुस्किल छ भन्छन्, तपाईंलाई चाहिँ कुनै अप्ठ्यारो परेको छैन?
नेपालमा केही गरौँ भन्नेहरुलाई ठूलो समस्या नै बैंकको ब्याजदर हो। नेपाली युवाहरु अहिले धेरै विदेश गइरहेका छन्। यसो हुनुमा बैंकको ऋण र ब्याजदर नै समस्या देख्छु म त। बैंकको ब्याजदर ६ देखि ७ प्रतिशतसम्म झार्नुपर्छ। त्यसो गरियो भने सबै लगानीमा नै चाहना राख्छन्। यसले देशको मुहार फेरिनेछ। मेरो भनाइ के हो भने नेपालको सेवामूलक र उत्पादनमूलक उद्योगहरुलाई त्यसरी ऋण प्रवाह हुनुपर्छ।
तपाईं बैंकबाट ऋण लिएर लगानी गरेको भन्नुहुन्छ तर नेताहरूले तपाईंलाई लगानी गर्न पैसा जुटाइदिएको भन्ने आरोप पनि छ नि?
भन्छन्। धेरैले प्रचण्डको पैसा चलाएको पनि भन्छन्। मैले प्रचण्डको ४ पैसा लिएको छैन। यो आरोप जसले लगाउँछ, सबैलाई मैले प्रचण्डको ४ पैसा पनि लिएको छैन भनिरहेको छु। यो धेरैपटक भनिसकेँ। तर अझै पनि मलाई आरोप लगाउन छोडेका छैनन्। प्रचण्डसँग भेटघाट नभएको अहिले त धेरै भयो। यदि प्रचण्डको लगानीमा नै मैले अस्पताल खोलेको भए त प्रचण्डलाई नै लगेर म उद्घाटन गराउँथे होला नि? म किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर जान्थेँ होला। तर प्रचण्ड भनेको मेरो आदर्श पुरुष हो। उहाँलाई म सम्मान गर्छु। मैले बरु उहाँलाई दिएको छु, लिएको छैन। होला, कुनै दिन उहाँसँग बसेँ होला, सँगैै खाएँ पनि होला। त्यो फरक कुरा हो। उहाँको मैले ४ पैसा पनि लिएको छैन।
आगामी दिनमा कुन क्षेत्रमा लगानी विस्तार गर्दै हुनुहुन्छ?
म अब झापामा चारधाम निर्माण गर्दै छु। प्रधानमन्त्री केपी शर्मा ओलीले राम ठोरीमा जन्मिएको भन्दै हुनुहुन्छ। भारतको प्रधानमन्त्रीले अयोध्यामा जन्मिएको भन्नुहुन्छ। मचाहिँ अयोध्याबाट पनि माटो ल्याउने, ठोरीबाट पनि माटो ल्याउने, जानकी मन्दिरबाट पनि माटो ल्याउने र झापामै राममन्दिर बनाउने तयारीमा छु। बद्री, केदारनाथ, द्वारिका, हरिद्वार र डोलेश्वर यो चार धामको पनि माटो ल्याउने, पशुपतिको पनि माटो ल्याएर शिवजीको मूर्ति बनाउने र त्यहाँ ५ तारे होटल पनि निर्माण गर्ने मेरो अबको योजना हो। मेरो त्यो कार्य केही समयपछि सुरु हुन्छ। त्यसको शिलान्यास म प्रधामन्त्रीबाट गराउनेछु।
पछिल्लो समय राजनीति एकाएक तरल भयो, तपाईं त प्रचण्ड र केपी शर्मा ओलीलाई फेरि पनि मिलाउँछु भन्दै हुनुहुन्छ रे?
हो त, जुन बेला मैले आफ्नो घरमा ल्याएर उहाँहरुलाई वार्ता गराएको थिएँ। उहाँहरु त्यसपछि मिल्नुभएको थियो। देशले स्थायित्व पनि पाएको थियो। त्यसबेलादेखि नै त हो नि मैले मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि मलाई मार्सी मार्सी भनेर हल्ला गर्न थालिएको।
पछिल्लो अवस्थामा पनि उहाँहरु दुवै जना जसरी पनि मिल्नुपर्छ भन्ने मेरो चाहना हो। त्यसको लागि पहल थालिसकेको छु। पुनः यस्तै मार्सी चामलको भात खाएको फोटो आउने गरी छलफलको तयारीमा लागिसकेको छु। केही दिनअघि मैले प्रधानमन्त्री र सुवास नेम्वाङसँग पनि यही विषयमा छलफल गरेको छु। वास्तवमा प्रचण्ड बिग्रिएको केही नेताहरूको संगतले हो।
एउटा राम्रो मान्छेलाई घेराबन्दीमा हालेर लगे। अहिले सक्याए। प्रचण्डले योभन्दा पहिले एउटा व्यक्तव्य निकाल्दा संसार हल्लिन्थ्यो। अहिले माइतीघर मण्डलामा गएर बस्ने स्थिति बनाए। यसले मेरो चित्त दुःखाएको छ। उहाँलाई नदेखीकन सैनिक हिरासतमा बस्ने, गोली खान तयार हुने हामीहरु टाढा भयौँ। गलत चङ्गुलमा पर्नुभयो। प्रचण्डलाई अब उठ्न धेरै गाह्रो छ। उहाँलाई उठाउन नारायणकाजीहरुले सक्छन्?
राजनीति अस्थिर हुँदा व्यवसायमा थप लगानी गर्न कत्तिको डर लागेको छ?
चिन्ता त छ नि, वाम गठनबन्धन बनेर स्थायी सरकार बन्दा माहोल नै अर्कै भएको थियो। हामी पनि त्यही उत्साहका साथ लाग्यौँ। हामी कुनै सांसद हुनलागेका थिएनौँ। राजदूत बन्ने चाहना पनि हामीजस्ता मान्छेका छैनन्। हामीले चाहेको त केवल लगानी सुनिश्चितता न हो।
Shares
प्रतिक्रिया