प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सर्वसाधारण बचतकर्ताको अर्बौं ठगेर फरार भएपछि उनकै साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनै पर्ने कांग्रेसको अडान छ।
मलेसियामा लुकेका जीबीलाई नेपाल ल्याउन गृहमन्त्री रवि तयार नभएको कांग्रेसको आरोप छ। तर, संसदीय समिति बनाउन सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाका नेता तयार छैनन्। यही सन्दर्भमा नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :
संसदीय छानबिन समिति नबनाउने भन्दै सत्तारुढ तीन दल एकै ठाउँमा उभिए। अब कांग्रेसले के गर्छ?
हाम्रो माग, हाम्रो पोजिसन र भनाइ यथावत छ। हाम्रो सिधा कुरा के छ भने, सरकार संसद् फेस गर्न नसकेर भागेको हो। हाम्रो माग यथावत छ। अब सरकारलाई अर्काे सदनमा भेटौँला भनेका छौँ, सी यु अगेन भनेका छौँ हामीले।
भनेको बजेट अधिवेशनमा पनि संसद् चल्न नदिने?
संसदीय छानबिन समिति बनेन भने बीचको बाटो हेर्ने कि नहेर्ने त?
हेरौँ, त्यो बेला सरकार कसरी प्रस्तुत हुन्छ? हाम्रो अडान, कुरा एउटै छ, त्यो बेला सरकारले कुन बाटो ल्याउँछ? वा संसद् खोल्ने विषयमा के प्रस्ताव ल्याउँछ त्यसमा भरपर्छ।
तर, रास्वपा नेताहरु रवि जोडिएको प्रमाण नै छैन, जबर्जस्ती र आधारहीन आरोप लगाएको भन्छन् त।
रवि लामिछानेको प्रत्यक्ष संलग्नताको प्रमाण छ होइन र? गोर्खा मिडियाका रवि लामिछाने प्रबन्ध सञ्चालक हो कि होइन? त्यसमा सहकारीको पैसा प्रयोग भएको हो कि होइन? त्यो कम्पनी बन्द भएको हो कि होइन र त्यो पैसा कहाँ गयो? यति प्रमाणबाहेक अरु के चाहिएको हो?
कि रविजीले भन्नुपर्यो– उहाँ मिडियाको प्रबन्ध सञ्चालक भएका बेला त्यसमा सहकारीको पैसा आएको थाहै छैन। अनि त्यत्रो सहकारीको पैसा गयो चाहिँ कहाँ? त्यसबारे उहाँले नै जवाफ दिने होला होइन र?
यदि रविजीलाई कुनै आपत्ति छैन भने संसदीय समितिको मागसँग किन आत्तिएको? संसदीय समितिले गर्छ चैँ के?
तर, अहिलेसम्म एमाले, माओवादी र रास्वपाले छानबिन समिति बन्दैन भनेका छन्। संसदको ठूलो दल पनि भएकोले जिम्मेवार बन्ने दायित्व कांग्रेसकै होला नि?
हामीले त निर्णय गरेका छौँ। अहिले नयाँनयाँ राजनीतिक घटनाक्रम विकास भइराखेको छ। हेरौँ अब। हाम्रो मागबाट हामी पछि हट्ने कुरै छैन।
नयाँ घटनाक्रम विकास भनेर के कुरा भन्न खोज्नुभएको?
अहिलेको गठबन्धनका बीचमा दरार देखा पर्यो। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ। अहिलेको गठबन्धन कुनै समझदारीमा कुनै सुझबुझ र परिपक्क ढंगले बनेको होइन भन्ने कुरा प्रमाणित भयो।
त्यसकारण यो गठबन्धनले आफ्नै कारणले पनि धेरै काम गर्न अघि बढ्छजस्तो लाग्दैन। अझै केहीदिन हेरौँ, के हुन्छ।
कांग्रेसका नेताहरुले एमाले–कांग्रेस मिल्नुपर्ने बताइरहेका थिए, फेरि सुदूरपश्चिममा त पुरानै गठबन्धन ब्युँतने खालको संकेत देखिएको हो?
अहिले पूरै त्यो भनिहाल्ने स्थिति छैन। अहिलेको तत्कालीन अवस्था भनेको सरकार बनाउनको लागि बनेको गठबन्धन जुन छ, त्यो गठबन्धन अस्थायी प्रकृतिको रहेछ भन्ने देखियो र अहिले यो गठबन्धनभित्र समस्या सुरु भइसक्यो। अब त्यो समस्याले के गर्छ त्यो हेर्ने कुरा हो।
पुरानै गठबन्धन ब्युँताउने कोसिस हुँदैछ भन्नुभएको हो?
होइन, मैले त्यसो भनिनँ। उहाँहरुको बीचमा अविश्वास पैदा भएको देखिहालियो नि। उहाँहरुसँगै रहनुभएका माधव नेपालजीले आफूलाई धोका पाएको हिसाबले लिनुभएको जस्तो लाग्छ। माधवजीको पार्टीले धोका खाएको निष्कर्ष निकालेको जस्तो लाग्छ। राष्ट्रिय सभा उपाध्यक्ष दिन्छु भन्थ्यो त्यो पनि दिएन, बागमतीको मुख्यमन्त्री दिन्छु भनेर त्यो पनि दिएन। सुदूरपश्चिमको मुख्यमन्त्री दिन्छु भनेर त्यो पनि दिएन भन्ने उहाँलाई परिराखेको छ। यसले गठबन्धनभित्र एक खालको दरार चाहिँ त आयो। अब हेरौँ अगाडि के हुन्छ?
संसदको समितिमा अड्किएको टीआरसी विधेयक अब के हुन्छ?
अहिले अरु नै महत्वपूर्ण मुद्दाहरु छन्। टीआरसीका विषयमा पछि मात्र छलफल हुन्छ। हामीले रोक्ने भन्ने केही छैन।
Shares
प्रतिक्रिया