राजनीतिक विश्लेषक एवं नागरिक अभियन्ता युग पाठक स्थानीय चुनावअघि मधेशका कुना कुनामा देश दौडाहामा थिए। अहिले मतगण्ना जारी रहँदा जुनखालको नतिजा आइरहेको छ, यसको पूर्वाभास आफूलाई वैशाख ३० अघि नै भइसकेको पाठक बताउँछन्।
नेकपा एमालेले पहिलो दलको हैसियत गुमाउने संकेत देखिए पनि उसले आफ्नो जनमत जोगाएको र राम्रै नतिजा ल्याएको पाठकको विश्लेषण छ।
‘फुट्दाखेरि संगठनमा जुन पहिरो जानुपथ्र्यो, त्यति गएको देखिएन। जनमत पनि जोगाएकै देखियो। धेरै सिट जोगाइराखेको छ,’ एमालेको नतिजाबारे पाठक भन्छन्, ‘एमालेका लागि आइरहेको रिजल्ट राम्रै हो, यत्तिलाई नराम्रो भन्न मिल्दैन।’
पाठकको विचारमा कांग्रेसभित्र अन्तरविरोध हुँदैनथ्यो र कांग्रेसका सबै नेताले सुरुदेखि नै दिल खोलेर गठबन्धन ठिक भनेर काम गरेका हुन्थे भने कांग्रेसका मतदातामा राम्रो प्रभाव पर्ने थियो। तर, अहिले कांग्रेसमा भोट ‘ट्रान्सफर’ कमजोर देखिएको उनको विश्लेषण छ।
चुनावको प्रारम्भिक नतिजा अनि काठमाडौँमा बालेन शाहको उदयको समाजशास्त्रीय अर्थलगायतका विषयमा नेपालखबरका निर्वाचन सम्वादक जेवी पुन मगरले गरेको पाठकसँग गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचनका बेला देशका विभिन्न स्थानमा के देख्नुभयो? देखेको कुरा मत परिणाममा आएको छ छैन?
देखेजस्तो लाग्छ मलाई। किनभने सामान्यतया म हिँड्नुअघि नै मैले भनिआएको कुरा के हो भने ठूलो पार्टी फुटेर टुक्राटुक्रा भैसकेपछि त्यसको रिजल्ट मतगणनामा मात्रै होइन, कार्यकर्तामा, मान्छेको मनोविज्ञानमा, अनि भोट हाल्ने ठाउँ सबैमा प्रभाव पर्छ। त्यसकारण अहिले जे रिजल्ट आइरहेको छ, यो मेरा लागि आश्चर्यजनक छैन। यो सामान्य हो। हुने नै यस्तै–यस्तै नै हो।
देशभरि समग्र हिसाव गर्ने हो भने गठबन्धनले राम्रो परिणाम ल्याउँछ र एमाले पहिलाको भन्दा धेरै कमजोर हुन्छ भन्ने कुरा पहिलाबाटै देखिएको थियो। खाली यो कुरा एमालेका नेताहरुलाई स्वीकार गर्न गाह्रो भएको मात्रै हो। थाहा नभएको होइन।
उहाँहरुलाई स्वीकार गर्न किन गाह्रो भयो भने, उहाँहरुलाई लागिरह्यो, हामी त जित्छौँ नि। हामी पहिलाकै जति शक्तिशाली छौँ भन्ने एकप्रकारको दम्भभित्र भैरहेको हुनाले हार स्वीकार गर्न गाह्रो भएको हो।
वस्तुगत विश्लेषण गरेको भए देखिन्थ्यो, मनोगतरुपमा विश्लेषण गर्दा देख्न गाह्रो परेको मात्रै हो। तर, यो एमालेका लागि राम्रै परिणाम हो जस्तो लाग्छ मलाई। अहिलेसम्म एमालेले ल्याएको परिणाम राम्रो हो।
कसरी?
फुट्दाखेरि संगठनमा जुन पहिरो जानुपथ्र्यो, त्यति गएको देखिएन। जनमत पनि जोगाएकै देखियो। धेरै सिट जोगाइराखेको छ। पाँचदलीय गठबन्धन भनेर त्यसरी बनाइएको छ। यो फेरि अघिल्लो प्रतिगमन विरोधी आन्दोलनदेखि सुरु छ।
यदि कांग्रेसभित्र अन्तरविरोध हुँदैनथ्यो र कांग्रेसका सबै नेताले सुरुदेखि नै दिल खोलेर गठबन्धन ठीक भनेर काम गरेका हुन्थे भने कांग्रेसका मतदातामा राम्रो प्रभाव पथ्र्यो। अहिले कांग्रेसमा भोट ‘ट्रान्सफर’ कमजोर देखिन्छ। अन्यथा, गठबन्धनले अझै धेरै जित्थ्यो। एमालेका लागि आइरहेको रिजल्ट राम्रै हो। यत्तिलाई नराम्रो भन्न मिल्दैन।
चुनावी परिणामलाई हेर्दा अहिले स्वतन्त्र उम्मेदवारले मुख्य राजनीतिक दललाई च्यालेन्ज दिरहेका छन्। चुनावको माहोलमा सहभागी हुँदा र जनतासँग कुरा गर्दा योखालको संकेत देख्नुभएको थियो?
बिल्कुल थियो। म जनकपुर जाँदा सरप्राइज पनि भएको थिएँ। पहिले ख्याल गरेको रहेनछु। त्यहाँ ५० उम्मेदवार रहेछन्। यत्रो धेरै उम्मेदवारी कसले दिइरहेको छ, पार्टी त त्यही ५/६ वटा छन् भन्ने भयो। बाँकी सबै स्वतन्त्र उम्मेदवार रहेछन्।
एउटा कुरा के हो भने पछिल्लो पाँच वर्ष यो स्थानीय निकाय शक्तिशाली, काम गर्न पाइने, बजेट प्रयोग गर्न पाइने निकाय हो भन्ने मनोविज्ञान नेताहरुमा बनेको देखियो। तर, जनतामा त्यो लेभलको सोचाइ छैन। धेरै मानिसहरुले चुनावप्रति खासै उत्साह जनाएको पाइएन। धेरै ठाउँका मतदाता मौन छन्, यसै भन्न सक्ने अवस्था छैन भन्ने नै थियो। तर, केही नेताहरुलाई अलमल चाहिँ थियो। कुनै ठाउँमा फेरि फलानोले जित्छ भन्ने पूर्वघोषणा गर्थे। अहिले ‘ट्रेन्ड’ पनि त्यस्तै देखिन्छ।
देशका धेरै ठाउँका मतदाताको मनोविज्ञान हेर्दा एक त राप्रपामा चासो बढेको देखिन्थ्यो, अर्को नयाँलाई हेरौं भन्ने थियो। काठमाडौं महानगरमा भने बालेन शाहको उदयलाई लिएर त्यत्ति प्रक्षेपण भएको पाइँदैनथ्यो। यसलाई कसरी हेर्नुभएको छ?
एउटा त अघिल्लोपटकको मतपरिणामले पनि के देखाएको थियो भने रञ्जु दर्शना लगायत नयाँ अनुहारले राम्रो मत ल्याउनुभएको थियो। उहाँहरुले ल्याएको मतलाई नराम्रो भन्न मिलेन। उहाँहरुले जित्नुभएन तर त्यसले के काम गर्यो भने विद्यासुन्दर जस्तो असफल हुनसक्ने मेयरलाई जिताइदियो।
अहिले पनि अनुमान के थियो भने बालेन शाह अथवा अन्य कोही उहाँहरुका कारणले पनि कोही राम्रो मान्छेले जित्ने भन्दा पनि नराम्रो मान्छे चाहिँ जिताएर ल्याइदिने हुन् कि भन्नेखालको अनुमान थियो। तर, अहिले बालेन शाहको मत हेर्दा एकदम उभारमा देखिन्छ।
ठ्याक्कै बालेन शाहका बारेमा भन्न नसके पनि त्यो उभारको अर्थ मान्छेहरुले चुनावप्रति चासो नदेखाएको हो। बालेनको उभारले राजनीतिक पार्टीहरुले विगत पाँच वर्षमा गरेका गतिविधिहरु, अनि नेताहरुले गरेको काम, उनीहरु हरेक दिन परिदृश्यमा देख्छन्, पार्टीका मान्छेहरु जनतातिर फर्किएकै छैनन्। एक–अर्कातिर फर्किएर झगडा गरिरहे। आफूतिर नफर्किने, अरुसँगै झगडा गरिरहने पार्टीका मान्छेसँग जनतालाई चित्त बुझ्दैन। पार्टीप्रति अपनत्व महसुस हुँदैन, आफ्नो होइन भन्ने भयो। यसले गर्दा पार्टीप्रति एकखालको वितृष्णा जन्मायो, जसलाई स्वतन्त्र उम्मेदवारी दिने युवाको लहरले पुष्टि गर्यो।
पोखराबाट अटेरी गर्ने भनेर गणेश पौडेल आए, त्यहाँ त वडा नै पिच्छे नयाँ उम्मेदवार आए। देशका अन्य भागमा पनि यो लहर देखियो। काठमाडौंमा बालेन्द्र शाह देखिए। उनीहरुमा पार्टीबाट आजित भएका, पार्टीबाट भएन भन्ने भएका, पार्टीभन्दा बाहिरबाट हुन्छ भन्ने भावना व्याप्त भएको पाइयो बितेको पाँच वर्षमा।
यस्तो किन भयो, कसरी भयो, यो विश्लेषणको छुट्टै पाटो होला। तर, त्यो भावना भएकै हुनाले बालेन अथवा अन्य कोही अगाडि आउने सम्भावना थियो। बालेन नआएका भए अन्य कोही आउने सम्भावना थियो।
देशव्यापी ‘ट्रेन्ड’ हेर्दा स्वतन्त्र उम्मेदवार कतिपय ठाउँमा जितिरहेका छन्, कतिपय ठाउँमा अगाडि छन्। उनीहरुले भनिरहेका छन्, हामी दलको संरचनाभन्दा बाहिरबाट काम गर्छौैँ, दलको एकाधिकार तोड्छौँ भनिरहेका छन्। त्यो आफैंमा आइडोलोजी हो कि होइन?
विनाआइडोलोजी केही हुँदैहुँदैन। यो आइडोलोजी हो। त्यो आइडोलोजी भनेको के हो भने भएका पार्टीहरुको आइडोलोजी फ्रेमवर्कले हाम्रो देशमा ठीकसँग काम गरिरहेको छैन भन्ने निष्कर्ष निकाल्दै एकथरि मान्छेहरुले अर्को बाटो बनाउन खोजेको देखिन्छ।
रवीन्द्र मिश्रलाई हेर्दा नै त्यो बुझ्न सकिन्छ। उहाँले विचारभन्दा माथि देश भन्नुको कारण छ। यो पनि एउटा विचार हो। तर, त्यो विचारले के भनेको भने भएका पार्टीहरुको जुन विचार छ, फरक–फरक विचारको लडाइँ, सहकार्य सबै छ, त्यो विचारले हुँदैन, अब विचारभन्दा माथि देश राख्नुपर्छ भनेर अर्को विचारलाई रिफ्रेम गर्नुपर्छ भन्न खोजेको हो। त्यो कुराले काम गरेको छ।
तर, उहाँको प्रयासमा जब त्यसलाई पार्टी बनाएर लैजान खोजियो, त्यसपछि त्यो विचार पनि सफल हुन सकेन। तर, प्रतिक्रियाका रुपमा सफल भएको देखिन्छ।
पहिला पनि विवेकशीलका उम्मेदवारहरुले प्रतिक्रियाका रुपमा भोट पाउन सफल भएका थिए। प्रदेशसभामा राम्रो मत ल्याउनुभएकी विवेकशीलकी समीक्षा बास्कोटाले अहिले मेयरमा कहीँबाट भोट पाएको अवस्था छैन। उहाँहरुसँग त पार्टी थियो नि। यत्रो समयदेखिको गतिविधि थियो। रवीन्द्र मिश्रको त दस्तावेजमाथि कयौं छलफल भयो। राम्रो लगानी भयो, देशव्यापी बहस भयो। कार्यकर्ताहरु छन्। संगठन छ। त्यति हुँदा पनि उहाँहरुले केही पनि गर्न नसक्ने, तर बालेनजस्तो स्वतन्त्र उम्मेदवारले गर्न सक्ने भन्ने कुराको व्याख्या कसरी गर्न सकिन्छ भने जुन विचार होइन भनिन्छ, त्यही विचारलाई स्पष्ट पार्न थालेपछि काम लागेन। तर ‘रियाक्सन’ मात्रै।
रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्नुभयो, जसका पछाडि उहाँको एउटा आफ्नै विचार थियो। जब त्यसलाई उहाँले आकारको रुपमा बनाउनुभयो। त्यहाँ उहाँको विचार स्पष्ट देखिन्थ्यो, जुन देखेपछि मान्छेले यो पनि घुमाई फिराई त्यही त रहेछ भनेर तर्किए का हुन्?
एकदम सही हो। किनभने, जब प्रष्ट पार्नुभयो, उहाँलाई जनताले चिन्ने अवसर पाए। विचार भनेको त्यही हो। अब बालेनका बारेमा मान्छेहरुले चिन्न बाँकी छ। अहिले देखिएको त रियाक्सन मात्रै हो। बालेनले पाएको मत राजनीतिक पार्टीप्रतिको रियाक्सन हो।
यहाँ पनि एमाले–कांग्रेसले अहिले दिएको भन्दा अब्बल उम्मेदवार दिएको भए त्यो रियाक्सन फरक पर्न सक्थ्यो। तर, बालेनले प्राप्त गरिरहेको भोट पक्कासँग भन्न सकिन्छ त्यो रियाक्सनको भोट हो। दलहरुले गर्दैनन्, यी सबै फटाहाहरु हुन्, भ्रष्टाचार मात्रै गर्छन् भन्ने एउटा न्यारेटिभ छ। जबर्जस्त न्यारेटिभ स्थापित छ। त्यो न्यारेटिभले काम गरेको हो। त्यसप्रतिको रियाक्सन हो।
अब बालेनले के गर्छन् भन्ने त मान्छेलाई थाहा छैन। रवीन्द्र मिश्रको जस्तो बालेनको आइिडया के हो?
बालेनकै भाषामा भन्नु पर्दा मेयर भनेको म्यानेजर मात्रै हो। बैंकको सिइयो जस्तो हो भन्ने गरेको देखिन्छ। त्यस हिसावले हेर्दा उनले टेक्निकलरुपमा लिएको देखिन्छ। अब टेक्निकल रुपमा लिएको हो भने पनि त्यसका पछाडि विचार हुन्छ। त्यो विचार भनेको चाहिँ तपाईले विकास गर्न चाहानुहुन्छ भने विकास कसरी गर्ने, विकास गर्दा जनताका विभिन्न संस्कृतिको सम्मान कसरी गर्ने भन्ने हो।
काठमाडौंमा केशव स्थापित र बाबुराम भट्टराईले गरेको सडक विस्तार र विकासका कारण यहाँका रैथानेहरु बिच्किएका थिए। विकासका नाममा यहाँको परम्परागत संरचनाहरुलाई ध्वस्त बनाइयो, उनीहरुलाई विस्थापित गराइयो भन्ने छ नि?
त्यसभित्र त विचार छ। ठेकदारले फोहर उठाउनेखालको होइन मेयरको काम। मेयरको काम एकदम धैरे हुन्छ। राजनीतिकरुपमा गर्नुपर्ने काम पनि उत्तिकै हुन्छ। प्राविधिकरुपमा गर्नुपर्ने कामको नेतृत्व लिनुपर्ने हुन्छ। त्यसमा कुन विचार अन्र्तगत विकास गर्ने भन्ने हुन्छ।
कुन विचारअन्र्तगत रहेर त्यो विचार अनुसारको विकासको डिजाइन बनाउने त भन्ने हुन्छ। त्यो कुरा हेरिएन भने, जस्तो– हामी ठट्टाका रुपमा भन्थ्यौँ संघीयता किन चाहियो? तर त्यो ठाउँको समुदायको भाषा, संस्कृतिको सम्मान गर्नेगरी, निर्वाचन क्षेत्र अनुसार मिलाउने गरी संघीयता खोजेका थियौँ नि त हामीले।
यो सँगसँगै हामी भन्ने गथ्र्याैं, काठमाडौंमा जुन ढंगको प्रेसर छ, जनसंख्याको प्रेसर, शक्तिको प्रेसर, यो त विष्फोट हुन लागेको गोला जस्तो हो काठमाडौं। सानो खाल्डो छ। सबै शक्ति यहीँ थुप्रिएको छ। सबै सम्पत्ति यहीँ थुप्रिएको छ। शक्ति र सम्पत्ति जहाँ छ, मान्छेलाई त्यहीँ आकर्षित गर्ने भयो। अब यो सत्तालाई भत्काउने र विभाजन गर्ने, धेरै केन्द्रहरु बनाउने। त्यहीअनुसार संघीयता आएको हो।
कम्तिमा काठमाडौंको प्रदूषण र जनसंख्याको चाप संघीयताले घटाउँछ है भन्ने गथ्र्यौं ठट्टामा। तर, त्यो कुरा कुरासँग काठमाडौंले कसरी काम गर्छ भन्ने कुरा जोडिन्छ। काठमाडौंका नगरप्रमुखले कसरी काम गर्ने, कसरी योजना बनाउने भन्ने धेरै कुरा जोडिन्छ। त्यसमा सिधा राजनीति छ।
विकासको कुरा पनि सिधा राजनीतिक कुरा हो। कोसँग तपाई डोनेसन लिनुहुन्छ? कोसँग ऋण लिनुहुन्छ? कोसँग मिलेर सहकार्य गर्नुहुन्छ? कार्यक्रमहरु कसरी चलाउने? अहिलेसम्मको हेर्दा ठूला आइएनजीओहरुले त्यहाँ कार्यक्रम चलाइरहेका हुन्छन्। त्यहाँ आइएनजीओहरुको कार्यक्रम चलिरहेको हुन्छ। त्योसँग कसरी ट्याकल गर्नुहुन्छ, यो त वैचारिक कुरा हो।
नेपालमा नमिलिरहेको कुराचाहिँ राजनीतिक पार्टीका मान्छे फटाहा भएर होइन, नमिलिरहेको चाहिँ विचार हो। हाम्रो समाजसँग कसरी हामीले ट्याकल गर्ने भन्ने विचार हामीसँग कमजोर भयो। त्यो कुरा खुट्याउन नसक्दा गरेको काम फरक देखिँदैन।
बालेनजीले जितेको खण्डमा दुईचार कुरा सजिलै गर्न सकिन्छ। फोहोर व्यवस्थापनको कुरा गर्न सकिएला। तर, त्यो काम त काम नै होइन हाम्रा लागि। एक समय हाम्रोमा राम्रा–राम्रा बिल्डिङ छैनन्, राम्रा सिनेमा हल छैनन्, फराकिलो बाटो छैन, यस्तो पनि काठमाडौं हुन्छ ? भन्थे। अहिले त्यो सबै भयो। त्यतिले मात्रै भएन। पर्यटक आकर्षित गर्न भन्दै सिन्धुलीमा रुख काटियो, मूर्ति बनाइयो। रुख काटेर मूर्ति बनाइन्छ त? त्यो विचार हो नि। विचारले रुख चिनेन। त्यो विचारले विकास भनेको रुख काटेर मूर्ति बनाउनु हो भन्यो।
यस्तै विकासको कुरा गरेर आउने हो र यस्तै किसिमको विकास गर्ने हो भने बालेन र अन्य मेयरमा फरक भेटिँदैन। त्यसकारण बालेनको विचार केहो भन्ने कुरा आउनै बाँकी छ। त्यो विचार घुस्ने वित्तिकै फेरि रवीन्द्र मिश्रको पारा हुन्छ।
चुनावको मुखमा बालेनले गरेका केही कुरा स्मरणयोग्य छन्। उनले गरेका कतिपय चिजहरु रणनीतिक देखिन्छन्। यो सबै कुरालाई हेर्दा उनी पनि कुनै एउटा विचारबाट निर्देशित हुन् कि भन्न सकिन्छ? यसलाई तपाईंले आइडोलोजीको फ्रेमभित्र राख्नुभएको हो?
त्यो एकदम आइडोलोजी हो। त्यो उनको लक्षण हो। अहिले कति देखाउन चाहेका छन्, अहिले काठमाडौंका मान्छेलाई म बाटो सफा गरिदिन्छु भन्दिए पुग्छ। योभन्दा अगाडिको पार्टीले त्यति पनि नगर्दिएको हुनाले त्यति भने पुग्छ भनेर बाहिर त्यति नै कुरा गर्दिने। तर, त्यो भन्दाभन्दै व्यवहारबाट देखिन थाल्छ। विल्कुल वैचारिक कुरा चाहिँ यही हो, जुन तपाईले उठाउनु भयो।
ज्योतिषशास्त्र वैज्ञानिक हो भन्नुपर्ने, राजनीतिचाहिँ पश्चिमा डोमिनेसनको प्रतिकृया दिएको हो। तर, उनीहरुको वैज्ञानिकवाला विचारधारालाई फेरि स्वीकार गरेर नतमष्तक भएको कुरा हो। यो कुरा धेरै मान्छेले बुझ्दैनन्। यसको संकट के हो भने यसले न आफैंलाई बन्न दिन्छ, न उनीहरु जस्तो बन्न दिन्छ। न आफ्नो संस्कृति अनुसारको केही बन्न दिन्छ, न उनीहरुजस्तो वैज्ञानिक बन्न दिन्छ।
ज्योतिषशास्त्रलाई सबै ग्रहहरुका हिसाव गणना गर्ने तरिकाले हेर्नुभयो भने त्यो कुनै अन्धविश्वास होइन। तर, भविष्य हेर्ने, साइत हेर्ने यो चाहिँ अन्धविश्वास हो। ज्योतिषशास्त्रलाई जब साइत हेर्ने, भविष्य हेर्ने ठाउँमा लगेर टुङ्गाइयो, त्यसपछि यसको वैज्ञानिक विकास नै अवरुद्ध भयो।
पश्चिमाहरुले त्यसलाई कहाँ पुर्याइदिए ? उनीहरुले विकास गरे। हाम्रोचाहिँ मान्छेको हस्तरेखा हेर्नेतिर लगेर ज्योतिषशास्त्रलाई खत्तम बनाइदिए। अब यो कुरालाई जुन मानिसले यो वैज्ञानिक हो, तपाईले मानेपनि नमाने पनि भनेर साइत हेर्ने कुरालाई भन्छ नि, त्यो विचारचाहिँ गडबढ विचार हो। त्यो विचारले समाजलाई पनि अगाडि लाँदैन।
हाम्रो दक्षिण छिमेकी देशमा सांगठिकरुपमा हामी जुन कुरा गरिरहेका छौँ, खास त्यो विचारधाराबाट राज्य सञ्चालन भैरहेको छ। समाज सञ्चालन गर्ने प्रयत्न गरिएको छ। विविधतालाई एउटा खास फ्रेममा हालेर एकात्मक वैचारिकरुपमा थिच्ने प्रयत्न गरिएको छ। जसले समाजमा ठूलो खल्बल आएको देखिन्छ। त्यो राजनीतिको हावा हाम्रोमा आउन थालेको हो कि भन्ने कताकता छनक आएको हो?
आयो। एउटा चाहिँ के हुन्छ भने छिमेकी देशमात्रै होइन, व्यवहारका हिसावले भारतले ‘बढे भैया’ कै व्यवहार गर्छ हामीलाई। र हाम्रो संस्कृति पनि जोडिएकोे, भाषा पनि उस्तै उस्तै, धेरै कुरा मिल्ने, अनि हजारौंको संख्यामा नेपालीहरु भारतमा काम गर्ने, भारतीयहरु नेपालमा आएर काम गर्ने, खुल्ला सीमा, यी सबैले त्यहाँको प्रभाव यहाँ र यहाँको प्रभाव त्यहाँ पर्ने हुन्छ। त्यैपनि त्यो ठूलो देश भएको हुनाले त्यहाँको प्रभाव यहाँ बढी पर्छ। यो कुरा सत्य हो।
अर्को के हो भने पछिल्लो समय नेपालमा जब यो विभिन्न पहिचानको आन्दोलन, भाषाको आन्दोलन। सांस्कृतिक अधिकारको कुराहरु आयो, त्यसको प्रतिक्रियामा परम्परा नै ठीक थियो भन्नेहरुले एकखालको राजनीतिक चलखेल गर्न खोजे। त्यसको प्रभाव राजनीतिक पार्टीभित्र पर्यो। नयाँ राजनीतिक गर्छु भन्नेहरुले पनि त्यसकै प्रभाव लिएर आए।
अनि एउटा राम्रो चलखेल धर्मका नाममा भैरहेको छ। थुप्रो पैसा लगानी भएको छ र धर्मको नाममा चलखेल भैरहको छ। साना–साना संस्थाहरुको नाममा, विभिन्न गतिविधिहरु चलिरहने, मन्दिरको संख्या दिनानुदिन थप्नुपर्ने, हामीलाई पुस्तकालय नचाहिने। भन्नचाहिँ हामीलाई सबै कुरा आफैंले बनाएको भन्नु परेको छ।
हवाईजहाजको टुक्रा बनाउन सक्ने क्षमता दक्षिण एसियामै छैन, तर भन्नलाई चाहिँ पुष्पक विमान नै हामीले बनाएका थियौँ भन्नुपरेको छ। यो दुःख हो। यही दुःखका बीचबाट मान्छेलाई ‘क्यास’ गरेर हिन्दुत्वको राजनीति भारतमा बनाए बीजेपीले। तर त्यो यति खतरनाक ढंगले बनाए कि त्यो राजनीतिले चाहिँ अहिले भारतको समाज व्यवस्था, अर्थ व्यवस्था, भारतको राज्य, सञ्चालनको तरिका, सम्पूर्ण चिज अवरुद्ध भयो। भारत त बर्बादीतिर गैरहेको छ नि आजको दिनमा। चीनसँग टक्कर गर्छु भन्थ्यो, तर चीन आफ्नो गतिमा छ। भारत त पुरै अवरुद्ध भयो।
भारतको कामको गति कसरी अवरुद्ध भयो त भनेर हेर्दा के देखिन्छ भने हिन्दुत्वको सांस्कृतिक राजनीतिलाई प्रयोग गर्ने, अनि हाम्रो संस्कृति सबैभन्दा महान हो भन्नुपर्ने, त्यो अर्को प्रकारको साम्राज्यवादीहरुले सिकाएको विचार त हो। हाम्रो संस्कृति महान, हिन्दु नै सबैभन्दा ठूलो, उनीहरुले हामी गोराहरु नै सबैभन्दा जान्ने भन्थे, सिकेको त्यही हो। अनि हामी नै ठूलो भनेर बाँकी सबैलाई दवाबमा राख्ने अथवा दानवीकरण गर्ने, अथवा अन्य समुदायलाई दानव जस्तै हुन् भनेर ब्राण्डिङ गर्ने। यति खतरनाक जञ्जालमा भारत फस्यो। पछिल्लो १० वर्ष भयो, अझै फस्दै जाने देखिन्छ।
किनभने, यसबाट उम्कने कसरी भनेर त्यहाँ कुनै रचनात्मक काम हुन सकेको छैन। त्यसकारण यस्तो चिजले के गर्छ भन्दा चुनाव त जिताउँछ हेर्नुहोस्, बाँकी केही पनि गर्दैन। बाँकी समाजलाई ध्वस्त पार्दै लैजान्छ।
Shares
प्रतिक्रिया