नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ मा चौथो स्थानमा छ। एमालेका २१ सांसदमध्ये १३ जना नवगठित एकीकृत समाजवादी पार्टीमा सामेल भइसकेका छन्। एमाले पाँचौ स्थानमा पुगेको छ। स्थानीय तहमा कमजोर देखिए पनि प्रदेश संसदीय दल, जिल्ला कमिटी, प्रदेश कमिटीमा सो दल राम्रो अवस्थामा छ।
प्रदेश २ सरकारमा सहभागी हुने गृहकार्य गरिरहेको सो दलका प्रदेश सभा संसदीय दलका नेता शत्रुघन महतोसँग नेपालखबरले गरेको कुराकानीः
विभाजनपछि प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको अवस्था एमालेभन्दा बलियो छ। समग्र भूगोलमा तपाईंहरुको अवस्था कस्तो छ?
संसदीय दलमा हामी पहिले नै २१ जना थियौं एमालेमा हुँदा। विद्रोह गरेर हामीले नयाँ पार्टी एकीकृत समाजवादी खोलिसकेपछि १३ जना संसदीय दलमा छौँ। एकीकृत समाजवादीको अवस्था समग्रमा प्रदेश २ मा सांगठनिक हिसाबले पनि बलियो छ। किनभने हामी एमालेमै हुँदा ६ वटा जिल्लामा अधिवेशनबाट हाम्रो पक्षका अध्यक्ष निर्वाचित भएका थिए।
८ जिल्लामध्ये कुनकुन जिल्लामा तपाईंहरु बलियो हुनुहुन्छ?
प्रदेश २ मा स्थानीय जनप्रतिनिधिहरुले चाहिँ तपाईंहरुलाई नपत्याएका हुन्?
हामी तपाईंलाई के स्पष्ट पार्न चाहन्छौँ भने त्यतिखेरै स्थानीय तहको निर्वाचनकै समयदेखि यो प्रदेशमा एकलौटी रुपमा केपी ओलीले टिकट वितरण गर्नुभएको थियो। हामी त त्यही बेलादेखि विद्रोह गर्दै आइरहेका छौँ। जसले पाउनु पथ्र्यो टिकट, उसलाई दिइएन। राम्रोलाई होइन हाम्रोलाई टिकट दिने काम त्यतिखेर गरिएको थियो। त्यस कारण थुप्रै ठाउँमा पराजय पनि बेहोर्नु पर्यो। तर अहिले हामी समग्रमा जनप्रतिनिधिले सनाखतको कुरा गर्नु हुन्छ भने धेरै जिल्लामा पालिका प्रमुख उपप्रमुख एकीकृत समाजवादीमा सनाखत गर्नु भएको छ। र, जनप्रतिनिधिको हिसाबले हामी त्यति कमजोर छैनौँ। तर जसरी हामीले अपेक्षा राखेका थियौँ, त्योभन्दा कम सनाखत चाहिँ भएको हो।
तर, पहिले तपाईंहरुको पक्षमा भएका थुप्रै प्रभावशाली नेताहरुले साथ छाड्नुभयो। त्यो क्षति कसरी पूर्ति गर्नुहुन्छ?
माधव नेपाल पक्षका भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका केही नेताहरु हामीलाई छाडेर जानु भएको छ। पछिल्लो पटक संविधानको मर्म विपरीत केपी शर्मा ओलीले दुईदुई पटक प्रतिगमन गर्दा रावल लगायतका मध्यमार्गी नेताहरु विरोधमा उत्रिनुभयो। आज के प्रतिगमन फर्केको हो?
त्यसकारण जनताले बुझेका छन् माधव नेपालको बुइ चढेर यताउता जानेहरुलाई। उता जानेमा मलाई लाग्छ १० जना होलान्। कुनैकुनै ठाउँमा उहाँहरुको पक्षमा जनमत होला। तर, यसले हाम्रो पार्टीलाई फरक पर्दैन। अहिले अलिकति प्रचारबाजी गर्दैछन्। हाम्रो पार्टीमाथि प्रहार गराउने काम हुँदैछ। तर, जनता कार्यकर्ताले बुझेका छन्। उहाँहरु सँगै आएको भए पार्टीमा प्रभावकारिता हुन्थ्यो। तर, उहाँहहरुले हामीलाई छाडेर जानु भएको छ। सांगठनिक हिसाबले त्यति असर पर्दैन जस्तो मलाई लाग्दैन। संगठन एमालेभन्दा अलि कमजोर देखिए पनि सशक्त हुन्छ। हामी त्यतातिर गम्भीर रुपले अघि बढिरहेका छौँ।
तीमध्ये केही नेताहरु माधव नेपाललाई एमालेमै फर्काउँछौँ भन्दैछन्। त्यो सम्भावना कत्तिको छ?
यो उहाँहरुले भन्ने कुरा हो। १० बुँदे कार्यान्वयन गराउने कुरा गर्दै हुनुहुन्थ्यो। त्यो नहुने भयो। त्यसैले उहाँहरुले लाज पचाएर हामी माधव समूहलाई ल्याउँछौँ, फर्काउँछौँ भन्दै हुनुहुन्छ। तर, त्यस्तो अवस्था छैन। कम्युनिस्ट पार्टीमा एकताको सम्भावना हुन्छ। हामीले सबै मिल्नुपर्छ हामी भन्दै आइरहेका छौँ। तर, केपी ओलीको प्रवृत्ति समाप्त नहुन्जेल त्यो पार्टीमा फर्किने वा मिल्ने कुनै सम्भावना छैन।
तपाईंहरुको आगामी कार्यक्रम के छ?
असोज ५ गतेदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ। हामी अहिले वडा तहदेखि लिएर प्रदेश कमिटीसम्मको संगठन विस्तारमा लागेका छौं। हामी वडा भेला गरिरहेका छौँ। पालिकास्तरीय भेला, क्षेत्रीय भेला गरिरहेका छौँ। अब ठूलो स्केलमा हामी प्रदेश स्तरको भेला गर्ने छौँ। अर्थात् एकदम सूक्ष्म ढंगले संगठन निर्माण अगाडि बढाइरहेका छौं। हाम्रो संगठन ७७ वटै जिल्लामा छ। संगठनको समानान्तर कमिटी पहिले नै बनाइसकेका छौँ। अब मात्र रुपान्तरण गर्ने काम छ। धेरै जिल्लाहरुमा रुपान्तरण पनि भइसक्यो। धेरै जिल्लामा जिल्ला अध्यक्षसहित कमिटीमा हामी आफैँ बलियो थियौँ। त्यसैले ७७ वटै जिल्लामा पार्टी संगठन र जनसंगठन तल्लो तहसम्म व्यवस्थित गर्दैछौँ।
आगामी चुनावमा प्रदेशमा तपाईंहरुको पोजिसन के हुन्छ?
एकीकृत समाजवादी, माओवादी र जसपा तीन वटै पार्टी मिलेर मोर्चा बनाएर चुनावमा जानेगरी गृहकार्य गर्दैछौँ। जसरी एमाले त्यतिबेला माओवादीसँग गठबन्धन गरेर चुनावमा गयो, त्यही हिसाबले हामी वर्तमान गठबन्धनमध्येका तीन दल मोर्चा बनाएर आगामी चुनावमा जान्छौँ। मलाई लाग्छ, मोर्चालाई अधिकतम बहुमत प्राप्त हुन्छ।
प्रदेश सरकारमा तपाईंहरुको दल कहिले सहभागी हुन्छ?
पाँच दलीय गठबन्धनबीच सातवटै प्रदेशमा संयुक्त रुपमा जाने सहमति भएको छ। प्रदेश २ मा पनि हामी सहभागी हुन्छौँ। यो अध्यादेश निष्क्रिय गर्ने कुरामा अड्किएको छ। यो टुंगो लागिसकेपछि मन्त्रालय बाँडफाँट हुन्छ। हामी सरकारमा जान्छौँ।
मन्त्रालयको लागि बार्गेनिङ भइरहेको सुनिन्छ। तपाईंहरुले कुनकुन लिनुहुन्छ?
अहिले टुंगो लागिसकेको छैन।
प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोप लाग्ने गरेको छ। अनियमितता छ। सुशासन, पारदर्शिता छैन। सरकारको कामकारबाहीबाट जनता असन्तुष्ट छन्। तपाईंहरु बदनाम हुनु होला नि?
त्यो आरोप वास्तवमा जनताले लगाइरहेकै छन्। बुद्धिजिवीहरुले प्रदेश २ मा भ्रष्टाचार बढ्यो भनेर उठाउँदै आइरहेका छन्। सरकार पनि चुकेकै अवस्था हो। पहिले प्रदेश २ मा भ्रष्टाचार शून्य पार्छौँ भनिएको थियो, त्यो भाषण मात्रै भयो। अहिले प्रदेश २ मा सबभन्दा बढी पालिकाहरुमा भ्रष्टाचार देखिएको छ। प्रदेश सरकारमा भइरहेको भ्रष्टाचारविरुद्ध हामीले विरोध गरिरहेका छौँ, सदनमा आवाज पनि उठायौँ। तर, प्रदेश सरकार यो मानेमा चुकेकै छ। अहिले हामी सरकारमा गएपछि यो कुरालाई कम्तीमा गम्भीर भएर अगाडि बढौँ भनेर आवाज उठाउँछौँ।
सरकारमा तपाईंहरुको एजेन्डा के हुन्छ?
प्रदेश २ को प्रमुख समस्या भ्रष्टाचार नै हो। यो भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने हो। समय त ६ महिना मात्रै बाँकी छ। तर यो ६ महिनाभित्र पनि कम्तीमा पालिकाहरुमा जुन भ्रष्टाचार बढेको छ, अनियमितता मौलाउँदै छ, त्यसलाई रोक्ने प्रयास गर्छौँ। अर्को कुरा अहिलेसम्म नाम र राजधानीको टुंगो लागेको छैन। यसलाई पनि हामी गम्भीरताका साथ टुंगो लगाउनेतिर अगाडि बढ्छौँ। त्यस्तै, संघीयता मजबुत बनाउने काम हाम्रो प्राथमिकतामा पर्छ।
Shares
प्रतिक्रिया