ad ad

ग्लोबल


चौथो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने सँघारमा नवाज सरिफ

कुनै बेला सेनाका कट्टर आलोचक, यसपटक सेनाकै सहयोगमा सत्ता
चौथो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने सँघारमा नवाज सरिफ

नेपालखबर
माघ २२, २०८० सोमबार २०:१६, काठमाडौँ

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भइसकेको नवाज सरिफ गत वर्ष मात्रै स्वघोषित निर्वासनबाट फिर्ता आएका थिए। तर, फेब्रुअरी ८ मा हुने चुनावमा उनी सबैभन्दा अगाडि देखिएका छन्।

पाकिस्तानी राजनीतिमा गएको ३० वर्षमा अधिकांश समय उनको प्रभाव देखिए पनि उनको यसखालको ‘कमब्याक’ को अपेक्षा कसैले गरेका थिएनन्।

लामो समयदेखि पाकिस्तानको शक्तिशाली सेनाको विपक्षीका रुपमा हेरिएका यी नेता नाटकीय कमब्याकको संघारमा छन्।

‘अबको प्रधानमन्त्रीको प्रमुख उम्मेदवार उनै हुन्। उनी ज्यादा लोकप्रिय भएकाले होइन। पक्कै होइन। तर, उनले सही दाउ खेलेका कारण,’ विल्सन सेन्टर थिंक ट्यांकका दक्षिण एसिया निर्देशक माइकल कुगलम्यान भन्छन्।

सरिफका विपक्षी तथा पूर्वप्रधानमन्त्री इमरान खान अहिले जेलमा थुनिएका छन्। उनको लोकप्रिय पार्टीमाथि प्रतिबन्ध छ। 

सरिफलाई पुनरागमनको राजा पनि भन्न सकिन्छ। 

उनी दोस्रो पटक प्रधानमन्त्री थिए। १९९९ मा उनलाई सैन्य कूमार्फत हटाइयो। तर, २०१३ को संसदीय चुनावमा सानदार विजय हासिल गर्दै उनी कीर्तिमानी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने।

त्यो क्षण आफैँमा ऐतिहासिक थियो। किनकि १९४७ पछि पहिलो पटक एक निर्वाचित सरकारबाट अर्को निर्वाचित सरकारमा सत्ता हस्तान्तरण हुँदै थियो।

तर, उनको तेस्रो कार्यकाल उथलपुथलकारी बन्यो। विपक्षीले राजधानी इस्लामावादमा ६ महिना लामो नाकाबन्दी लगाए। उनीमाथि भ्रष्टाचार आरोप लाग्यो। २०१७ को जुलाईमा सर्वोच्च अदालतले उनलाई पदमा रहन अयोग्य ठहर गर्‍यो। उनले राजीनामा दिए।

जुलाई २०१८ मा उनलाई अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्दै १० वर्षको कैद सजाय सुनायो। तर, अन्तिम निर्णय नआउन्जेलका लागि उनको सजाय निलम्बन भएपछि उनी दुई महिना जेलमा बसेर छुटे।

डिसेम्बर २०१८ मा फेरि उनलाई भ्रष्टाचारमा जेल हालियो, यसपटक सात वर्षका लागि। साउदी अरबमा उनको परिवारको कारखाना रहेको विषयमा।

त्यसपछि आफूलाई बेलायतमा उपचार आवश्यक रहेको भन्दै उनले धरौटीमा रिहाइका लागि प्रयास थाले। २०१९ मा उनको माग पूरा भयो। उनी लन्डन उडे।

जहाँ उनी चार वर्षसम्म आफ्नो लक्जरी फ्ल्याटमा बसे। गत अक्टोबरमा मात्र उनी स्वदेश फर्किएका हुन्।

तर, स्वदेश नहुँदा पनि गएको ३५ वर्षमा उनी पाकिस्तानको प्रमुख राजनीतिज्ञ रहँदै आएका छन्।

सुरुवाती वर्ष
सरिफ १९४९ मा लाहौरको एक प्रमुख उद्योगी परिवारमा जन्मेका थिए। 

१९७७ देखि १९८८ सम्म पाकिस्तानमा शासन गरेका जर्नेल जिया उल हकका शिष्य रहेका उनी १९८५ मा पञ्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए। उनले त्यसअघि सो प्रान्तको अर्थमन्त्रीको पद पनि सम्हालेका थिए। 

विश्लेषकहरु उनलाई प्रभावशाली राजनीतिक नेताका रुपमा याद गर्दैनन्। बरु, उनले आफूलाई कुशल प्रशासक साबित गरेको तिनको भनाइ छ।

१९९० मा उनी प्रधानमन्त्री भए। तर, १९९३ मा उनलाई पदच्यूत गरियो। जसले तत्कालीन विपक्षी नेता बेनजिर भुट्टोलाई सरकार गठनको मौका दियो।

पाकिस्तानको सबैभन्दा धनी उद्योगी समूहमध्ये एक इत्तफाक ग्रुपका मालिक हुन् उनी।

सैन्य कू
सहज बहुमतका साथ १९९७ मा फेरि प्रधानमन्त्री बनेका उनी निकै शक्तिशाली देखिए। उनले सेनाबाहेक मुलुकका सबै संस्थामा आफ्नो पकड बलियो बनाए।

१९९८ मा उनले पहिलो पटक आणविक हतियार परीक्षणको आदेश दिए। जसले उनलाई विश्वभर चर्चित बनायो।

संसदमा विपक्षीको अवरोधबाट दिक्क भएर उनले सरिया कानुन लगाउन सक्नेगरी संविधान संशोधन गर्न खोजे। उनले अन्य शक्तिकेन्द्रलाई पनि टक्कर दिए। उनका समर्थकहरुको समूहले सर्वोच्च अदालतमा आक्रमण गर्‍यो। उनले सेनालाई पनि चलाउन खोजे।

तर, त्यो खतरनाक कदम थियो। १९९९ मा सेनापति परवेज मुसर्रफले उनलाई सत्ताच्यूत गरिदिए।

सरिफलाई समातियो, थुनियो र अपहरण तथा आतंकवादको आरोपमा जन्मकैदको सजाय सुनाइयो। उनलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै राजनीतिक गतिविधिबाट जीवनभर प्रतिबन्ध लगाइयो।

तर, साउदी अरबको मध्यस्थतामा भएको एउटा सम्झौताले उनलाई र उनका परिवारका सदस्यलाई जेल जानबाट बचायो। सरिफ र उनको परिवारका ४० जना १० वर्षका लागि साउदी अरबमा निर्वासित भए।

बीबीसीका तत्कालीन इस्लामाबाद संवाददाता अवेन बेनेट जोन्सका अनुसार सरिफ सत्ताबाट हट्दा थुप्रै पाकिस्तानीले राहतको सास फेरेका थिए। जो उनलाई भ्रष्ट, असक्षम र शक्तिको भोको मान्दथे।

भ्रष्टाचार आरोप
२००७ मा सेनासँग सम्झौता गरेर सरिफ पाकिस्तान फर्किए। विपक्षमा बसेर उनले धैर्यपूर्वक आफ्नो पालो पर्खिए।

२००८ को चुनावमा उनको पीएमएल–एन पार्टीले झण्डै एक चौथाई सिट जित्यो।

२०१३ को चुनावमा उनको जित अपेक्षित नै थियो। तर, उनको विजयको अन्तरले भने धेरैलाई चकित तुल्यायो। उनलाई पूर्वक्रिकेटर इमरान खानको पार्टीले टक्कर दिएको थियो।

तर, २०१३ मा सत्ता सम्हालेलगत्तै उनका कठिनाइ सुरु भए। इमरान खानको पीटीआईले चुनावमा धाँधली गरेको भन्दै ६ महिना राजधानीमा नाकाबन्दी लगायो।

सेनाको कुख्यात इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) ले सो नाकाबन्दीमा भूमिका खेलेको आरोप पनि छ। सेनाले सरिफलाई दबाबमा राख्न चाहेको र भारतसँग हुन थालेको व्यापार सम्बन्ध विस्तार रोक्न चाहेको विश्लेषकहरुको भनाइ छ।

सरिफले तेस्रो कार्यकालमा पाकिस्तानलाई ‘एसियाली बाघ’ बनाउने र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने वाचा गरेका थिए।

तर, उनको कार्यकालको प्रमुख आर्थिक उपलब्धि बन्न सक्ने ५६ अर्ब डलरको योजना चाइना पाकिस्तान इकोनोमिक करिडोर अलपत्र पर्‍यो। अहिलेसम्म पनि केही परियोजना मात्र पूरा भएका छन्।

२०१६ मा पानामा पेपर्स सार्वजनिक भएपछि उनमाथि सर्वोच्च अदालतले उनीमाथि छानबिन सुरु गर्‍यो। लन्डनमा उनको परिवारको अपार्टमेन्ट र त्यसको खरिदमा अनियमितताको आरोप थियो।

सरिफले आरोप अस्वीकार गरे। सबै आरोप राजनीतिप्रेरित रहेको उनले बताए।

६ जुलाई २०१८ मा अदालतले उनलाई दोषी ठहर गरेर सजाय सुनाउँदा उनी सिकिस्त पत्नीको उपचारका लागि लन्डनमा थिए।

उनका छोरी र ज्वाइँलाई पनि दोषी ठहर गरियो।

फर्केर आएको अवसर
आफ्नो प्रतिद्वन्द्वी इमरान खानले शासन चलाउन्जेल लन्डनमै बसिराख्नु उपयुक्त ठाने सरिफले।

सत्तामा खानको कार्यकाल पनि सहज भएन। पहिले सेनाको प्रिय रहेका उनको सम्बन्ध बिग्रिँदै गयो। 

२०२२ मा अविश्वासको प्रस्तावमा मतदान हुँदा उनी अपदस्थ भए। 

त्यसपछि सरिफको पार्टी सत्तामा फर्कियो। उनका फाइ सहबाजले प्रधानमन्त्री पद सम्हाले।

इमरान खानको पतनदेखि नै सरिफ सत्तामा आउन खुट्टा उचालिरहेका छन्। उनले सबैखाले राजनीतिक संलग्नता बढाएका छन्।

अक्टोबर २०२३ मा उनी स्वदेश फर्किए। त्यसयता उनीविरुद्धका मुद्दामामिला सबै खारेज भएका छन्। जुन सैन्य संस्थापनले उनलाई अपदस्थ गरेको थियो, उसैले उनलाई स्वागत गरेको छ।

आउँदो चुनावमा पार्टीले जित हात पारे सत्तामा जान उनलाई कुनै अवरोध छैन।

तर, उनी र उनको पार्टीविरुद्ध पाकिस्तानमा धेरै आक्रोश छ। पाकिस्तानको आर्थिक कठिनाइका लागि मानिसहरु उनीहरुलाई जिम्मेवार मान्छन्। भ्रष्टाचार आरोपले उनलाई निकै कमजोर पारेको छ। त्यसैले बहुमत पुर्‍याउन कठिन हुने आकलन छ।

‘सबै संकेत हेर्दा प्रधानमन्त्री वा सबैभन्दा ठूलो पार्टीको नेता उनी नै बन्ने देखिन्छ,’ च्याटम हाउसकी अध्येता डा. फरजाना शेख भन्छिन्।

चौथो पटक प्रधानमन्त्री बन्लान्?
पाकिस्तानी राजनीतिमा अहिले उथलपुथल चलिरहेको छ। सरिफले आफूलाई तीन पटक प्रधानमन्त्री भइसकेको अनुभवी नेताका रुपमा पेस गरेका छन्।

उनले पाकिस्तानको अर्थतन्त्रलाई स्थिर पार्ने वाचा गरेका छन्।

‘सरिफका समर्थकहरु स्थायित्व, अनुभव र ढुक्क हुन सकिन्छ भन्ने उनको नाराबाट मत पाइन्छ भन्ने आशामा हुनेछन्। साथै सेनालाई पनि उनीसँग अथवा उनको पार्टीसँग सहज बनाउने तिनको आशा छ,’ कुगलम्यान भन्छन्।

तर, चिन्ता सर्वत्र छ। उनका मुख्य प्रतिस्पर्धी थुनिएका छन्। यस्तोमा चुनाव निष्पक्ष नहुने विश्लेषकहरुको चिन्ता छ।

‘उनी कठिनाइमा छन्। किनभने उनको भाइको नेतृत्वमा उनको पार्टी यसअघिको गठबन्धन सरकारको प्रुमख साझेदार थियो। जसले विधिन्न आर्थिक नीति कार्यान्वयन गर्नुपर्ने थियो। जसले उनीहरुलाई अलोकप्रिय बनाएको छ,’ डा. शेख भन्छिन्, ‘सरिफ र उनको पार्टीलाई मुलुकको आर्थिक दुष्चक्रको कारक मानिन्छ।’

त्यसमाथि सेना छ। पाकिस्तान कसरी चलाउने, सेनाको भनाइ महत्वपूर्ण हुन्छ।

विदेशमा रहँदा सरिफले बेलाबखत सेनाको चर्को आलोचना गरेका थिए। उनले आईएसआई र सेनाका पूर्व प्रमुखलाई अस्थिरताको आरोप लगाएका थिए। उनले न्यायपालिकाको पनि चर्को आलोचना गरेका थिए। न्यायाधीशहरुले मिलेमतोमा आफूविरुद्ध झुटा मुद्दामा सजाय सुनाएको उनको आरोप थियो।

फलस्वरुप लोकतन्त्र अपांग भएको र पाकिस्तानका कुनै पनि प्रधानमन्त्रीले कार्यकाल पूरा गर्न नपाएको उनको भनाइ थियो।

सेनाले चाहिँ कहिल्यै पनि मुख खोलेको छैन। सेनाले औपचारिक रुपमा राजनीतिमा चासो नभएको बताउने गरेको छ।

तर, विश्लेषकहरुका अनुसार सरिफले अहिले सेनासँग सम्झौता गरेका छन्। 

‘घर फर्केपछि उनले यतिधेरै कानुनी राहत पाएका छन्। यसले साबित गर्छ, उनले शक्तिशाली सेनाको आशीर्वाद पाएका छन् र न्यायपालिकामा पनि उनको प्रभाव छ,’ कुगलम्यान भन्छन्।

‘पाकिस्तानमा तपाईंलाई सेनाको समर्थन छ भने चुनावमा तपाईंले सफलता हात पार्ने सम्भावना उच्च हुन्छ,’ उनले थपे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .