ad ad

ग्लोबल


यसैसाता अमेरिकामा ‘एसियाली नेटो’ को बैठक, ‘हाइ अलर्ट’ मा चीन

यसैसाता अमेरिकामा  ‘एसियाली नेटो’ को बैठक, ‘हाइ अलर्ट’ मा चीन

नेपालखबर
साउन ३१, २०८० बुधबार २१:५५,

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसैसाता जापान र दक्षिण कोरियाका नेताहरुलाई अमेरिकाको मेरिल्यान्डस्थित क्याम्प डेविडमा स्वागत गर्दैछन्। शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल र जापानी प्रधानमन्त्री फुमियो किसिदा त्यहाँ पुग्दैछन्।

उनीहरुबीच प्रविधिसम्बन्धी सहकार्य र रक्षा सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने जनाइएको छ। यी तीन मुलुकको समूहलाई कतिपयले ‘एसियाली नेटो’को संज्ञा समेत दिने गरेका छन्।

तसर्थ यो समूहको गतिविधिप्रति चीन भने उच्च सतर्कतामा रहेको बताइएको छ।

अमेरिका, जापान र दक्षिण कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, प्रविधि विकासजस्ता विषयमा सहकार्य विस्तारको घोषणा गर्ने अमेरिकी अधिकारीहरुले बताएका छन्।

त्यस्तै संकटकालीन अवस्थाका लागि उनीहरुले त्रिपक्षीय हटलाइन पनि स्थापना गर्ने तथा तीन देशका नेताबीच वार्षिक छलफल आयोजना गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ।

यसबाट बेइजिङ भने सशंकित देखिएको छ। 

‘चीन द्वन्द्वलाई बढावा दिने र अन्य देशहरुको रणनीतिक सुरक्षालाई खतरामा पार्ने अभ्यासको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता वाङ वेनबिनले भने, ‘सम्बन्धित देशहरुले समयको गतिलाई पछ्याएर क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि काम गर्नुपर्छ।’

शुक्रबारको बैठकले त्रिपक्षीय सैन्य गठबन्धन निर्माण हुन सक्ने उत्तरपूर्वी चीनको लिआओनिङ युनिभर्सिटीस्थित इन्स्टिच्युट अफ अमेरिकन एन्ड इस्ट एसियन स्टडिजका डिन लु चाओले बताए।

‘राज्य प्रमुखहरुबीच नियमित बैठक हुने खालको संयन्त्र र सैन्य पक्षमा सहकार्य गर्ने निश्चित व्यवस्था हुनु भनेको त्यो त्रिपक्षीय सैन्य गठबन्धन बराबर हो,’ उनी भन्छन्।

यी तीन मुलुकको मुख्य एजेन्डामा उत्तर कोरिया रहने भए पनि बेइजिङको नजर भने बैठकको अन्त्यमा संयुक्त वक्तव्यमा ताइवानको नाम उल्लेख हुन्छ या हुँदैन भन्नेमा केन्द्रित छ।

‘चीन यो बैठकलाई लिएर उच्च सतर्कतामा छ, खासगरी ताइवानको विषय उल्लेख हुन्छ कि हुँदैन भन्नेबारे,’ लु भन्छन्, ‘यदि सार्वजनिक रुपमै ताइवानको विषय उठाइयो भने त्यसलाई बेइजिङले चीनविरुद्धको ठूलो उक्साहटको रुपमा लिने छ र त्यो एसिया–प्यासिफिकको स्थायित्वका लागि खतरनाक कदम हुनेछ।

चीनको प्रतिकार गर्न एसियाली सैन्य गठबन्धनलाई मजबुत पार्न अमेरिकाले गरेको महिनौँको प्रयासपछि यो बैठक हुन लागेको हो। अमेरिकाले १९५१ मा जापानसँग आपसी सहकार्य तथा सुरक्षा सन्धि गरेको छ भने दक्षिण कोरियासँग १९५३ मा आपसी रक्षा सन्धिमा हस्ताक्षर गरेको छ।

तर, जापान र दक्षिण कोरियाबीच पनि ऐतिहासिक विषयहरुमा मनमुटाव भने अझै कायम छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .