ad ad

ग्लोबल


पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई  पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल

नेपालखबर
चैत १, २०७९ बुधबार ७:२३, काठमाडौँ

पाकिस्तानी पूर्वप्रधानमन्त्री ईमरान खानलाई पक्राउ गर्ने‍ प्रहरीको तेस्रो प्रयास विफल भएको छ।

मिसन ईमरान 'अरेस्ट' अभियानका साथ मंगलबार तेस्रोपटक खानलाई पक्राउ गर्न पुगेको प्रहरी रित्तो हात फर्किएको हो। तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो। खानका समर्थकहरूको भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेन। 

प्रमुख प्रतिपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए। इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए। 

दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी  घाइते भएका छन्। भीडलाई नियन्त्रण गर्न प्रहरीले मंगलबार लाहोरमा अश्रुग्यास प्रहार समेत गरेको  थियो।

खानविरुद्ध इस्लामावादको जिल्ला र पुनरावेदन अदालतले तोशाखाना मुद्दामा गैरजमानती वारेन्ट जाहेर गरेको छ। तोसाखाना पाकिस्तानी मन्त्रिपरिषद्‌को महत्वपूर्ण अंग हो, नियमअनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिले दिएका उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ। तर गएको अप्रिलमा सत्ताच्यूत भएका खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेर आर्थिक अपचलन गरेको आरोप उनीमाथि छ। 

खानको कार्यकाल सन् २०१८ अगष्टदेखि २०२२ अप्रिलसम्म रहेको  थियो। संसद्‌मा विश्वासको मत नपाएर सत्ताच्यूत भएपछि उनले सेना, प्रहरी र न्यापालिकाको आलोचना गरी निरन्तर घृणा फैलाएको आरोप समेत उनीमाथि छ। संविधानको धारा १९ को उल्लंघन गरेको भन्दै उनको भाषणको प्रत्यक्ष प्रसारणमा रोक लगाइएको छ।

खानलाई आज पनि गिरफ्तार गर्ने प्रयास प्रहरीको छ। पीटीआईका हजारौँ समर्थकहरू खानको बचाउमा उनको घरबाहिर प्रदर्शनमा छन्। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .