रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धको लागि आंशिक परिचालनको घोषणा गरेका छन्।
यसको अर्थ युक्रेन युद्धमा रुसले थप संसाधन र सेना परिचालन गर्नेछ।
राष्ट्रिय टेलिभिजनमा प्रसारण भइरहेको राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा उनले यो रुसको क्षेत्रीय अखण्डता कायम राख्नको लागि आवश्यक कदम रहेको बताएका छन्।
उनले भने, ‘पश्चिमा मुुलुक रुसको त्यस्तै पतन चाहन्थे जसरी उनीहरुले सोभियत संघको पतन गरेका थिए।’
आंशिक परिचालनको घोषणासँगै अब रुसको सेनाबाट अवकाश पाएका मानिसलाई पनि रुसले युक्रेन युद्धका लागि परिचालन गर्न सक्नेछ। त्यस्ता सैनिकको परिचालन बुधबारबाटै सुरु भएको पुटिनले बताएका छन्।
पुटिनले पश्चिमा मुलुकले परमाणु हतियारका नाममा ब्ल्याकमेल गरेको आरोपसमेत लगाएका छन्। पुटिनले पश्चिमा मुलुकको धम्कीको जवाफ दिन आफूहरुसँग पर्याप्त हतियार भएको बताएका छन्।
उनले डोनबासमा आफ्नो सुरक्षाको लागि हरसम्भव स्रोत जुटाइने बताएका छन्। उनले रुसमा हतियार उत्पादन बढाउन कोषको व्यवस्था गर्न पनि आदेश दिएका छन्।
Shares
प्रतिक्रिया