२०७४ सालमा झण्डै १४ हजारको मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै संसद् छिरेका खगराज अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएनन् ।
स्वास्थ्यमन्त्री भइसकेका अधिकारी एमाले संसदीय दलको प्रमुख सचेतकमा चित्त बुझाउन बाध्य बने। तर, प्रधानमन्त्री ओलीले दोस्रोपटकको संसद् विघटनपछि २०७८ जेठ २७ गते ‘प्यारा’ अधिकारीलाई गृहमन्त्री बनाए।
ओलीसँगै जेल जीवन बिताएका अधिकारी सर्वोच्चको आदेशपछि १३ दिनमै पदबाट हट्न बाध्य भए। उनका शुभेच्छुकहरुले धक फुकाएर ‘पूर्वगृहमन्त्री’को सम्बोधन गर्न पाएनन्।पूर्वस्वास्थ्यमन्त्रीमै चित्त बुझाउन बाध्य बने।
खासमा, खगराज २०७४ सालमा संघीय संसद् हैन, गण्डकी प्रदेशसभा झर्न चाहन्थे। उनले पत्रकार सम्मेलनमार्फत आफू गण्डकीको मुख्यमन्त्री बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए। तर, उनको चाहना पूरा भएन।
उनलाई कास्की क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवार बनाइयो। २०७९ को चुनावमा भने उनले सोचेजस्तै भयो। प्रदेशको मुख्यमन्त्री हुने लक्ष्यसहित लमजुङको ‘ख’ बाट उम्मेदवारी दिन चाहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संघतर्फ पठाइयो।
यता, खगराज कास्की क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेदवार बने। खगराजले प्रतिस्पर्धी माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९९६ को फराकिलो मतान्तरले पराजित गर्दै प्रदेशसभाको यात्रा तय गरेका छन्।
खगराजले १५ हजार ६२३ मत ल्याउँदा दीपकले ११ हजार ६२७ मत ल्याएका छन् ।
अधिकारी गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता बन्ने पक्कापक्की छ । तर, मुख्यमन्त्री नै बन्ने उनको ‘धोको’मा संसदीय अंकगणित बाधक देखिएको छ।
६० सदस्यीय गण्डकी संसदको लागि हालसम्म सार्वजनिक भएको परिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेसले १६ सिट जितेको छ।
एमालेको भागमा ११, माओवादी ४ र नेपाल समाजवादी पार्टी अनि स्वतन्त्रले १–१ सिट जितेका छन्। स्याङ्जा २ मा मतगणना हुनसकेको छैन।
समानुपातिकमा एमाले अगाडि छ तर एक्लै सरकार बनाउन सम्भव छैन। अहिलेको ५ दलीय गठबन्धन टुटेमामात्र उनी मुख्यमन्त्री बन्ने ढोका खुल्नेछ।
तर, २०४८ सालको निर्वाचनदेखि हालसम्म ३ पटक जित र त्यति नै पटक हार व्यहोरेका एमाले संगठन विभाग प्रमुख खगराज गण्डकी प्रदेशसभाको आकर्षणको केन्द्र बन्नेमा भने द्विविधा छैन। २०७० सालमा भने उनले टिकट नै पाएका थिएनन्।
Shares
प्रतिक्रिया