२०७१ साल असार ६ गते साँझ पोखरा १५,शिवशक्ति टोल नजिकको क्रान्तिकारी टोल नजिकै ४२ वर्षीया महिलालाई ४ पुरुषले बाटो छेके।
धाक–धम्की दिए, घेराबन्दीमा पारे र सामूहिक बलात्कार गरे।
पीडत महिलाको जाहेरीको आधारमा मुद्दा अगाडि बढ्यो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार कास्की जिल्ला अदालतले २०७९ सालको असोज २३ गते ती चारै जनाविरुद्ध ११ वर्ष कैद, २५ हजार जरिवाना र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्ने फैसला गर्यो। पीडकहरू फरार भए।
फैसला कार्यान्वयनको क्रममा कास्की प्रहरीले अपराधीहरूमध्ये एकजनालाई आइतबार बिहान पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ७ स्थायी घर भइ हाल पोखरा महानगरपालिका १५, क्रान्तिटोल बस्ने ३७ वर्षीय पूर्णबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।
बाँकी तीनजना भने अझै फरार नै छन्।
Shares
प्रतिक्रिया