भारतको तमिलनाडुकी एक नर्सले १० हजार बच्चा जन्माउन सघाएकी छन्। ३३ वर्ष लामो सेवापछि हालै उनले अवकाश पाएकी छन्।
‘मैले प्रसूति गराएका १० हजार शिशुमध्ये एक जनाको पनि ज्यान गएन। म गर्व गर्छु,’ ६० वर्षीया खतिजा बिबी भन्छिन्।
सेवा अवधिभर एक जनाको पनि ज्यान नगएकाले खतिजालाई सरकारले हालै सम्मान गरेको तामिलनाडुका स्वास्थ्यमन्त्री मा सुब्रमन्यमले बताए।
दक्षिणी राज्य तमिलनाडुमा उनले सेवा गरेको तीन दशकभन्दा लामो समयमा भारतको मातृशिशु स्वास्थ्यमा ठूलो बदलाव आएको छ। पहिले उच्च मातृ मृत्युदर भएको यो मुलुक अहिले विश्वको औसत मृत्युदरको नजिक छ।
छोरी जन्मिँदा र कम बच्चा जन्माउने विषयमा मानिसहरुको धारणामा ठूलो परिवर्तन आएको खतिजा बताउँछिन्।
१९९० मा नर्सको काम सुरु गर्दा उनी आफैँ गर्भवती थिइन्।
‘म सात महिनाको गर्भवती थिएँ। तैपनि म अरु महिलाहरुलाई सघाइरहेको थिएँ। दुई महिनाको सुत्केरी बिदापछि म काममा फर्किएँ। सुत्केरी व्यथा लाग्दा महिलाहरु कति चिन्तित हुन्छन् मलाई थाहा छ। उनीहरुलाई सहज र आश्वस्त तुल्याउनु मेरो पहिलो प्राथमिकता हुन्छ,’ उनी भन्छिन्।
उनले काम गर्ने स्थान चेन्नईभन्दा डेढ सय किलोमिटर टाढा भिल्लुपुरममा थियो। जहाँ शल्यक्रिया गरेर बच्चा जन्माउने सुविधा थिएन। त्यसैले कुनै जटिलता देखिनासाथ उनी गर्भवतीलाई तुरुन्त जिल्ला अस्पताल पठाउँथिन्।
सामान्यतः एक दिनमा उनले एक वा दुई सुत्केरी गराइन्। तर, ८ मार्च २००० मा एकैदिन १० सुत्केरी स्याहारेको उनको भनाइ छ।
यो क्रममा उनले ५० जुम्ल्याहा जोडी र एक तिम्ल्याहा जन्माउन सघाएकी थिइन्। बीबीसी
Shares
प्रतिक्रिया