२०५० सालको सेरोफेरो। पोखराको मालेपाटनस्थित बाराही स्कुलको कक्षाकोठामा गुन्गुनाउँदै गरेको एउटा किशोर, अनि डेस्क ठटाएर उनलाई साथ दिँदै गरेका साथी- अहिले कता होलान्, के गर्दै होलान् र कस्ता भए होलान्?
उनीहरु हुन्- विवेक श्रेष्ठ र सुनिल थापा। उमेरले ४० कटे। अहिले पनि उस्तै गरी गुन्गुनाउँछन्, टेबुल ठोक्छन् र जीवनलाई उत्सवमय बनाउन तल्लीन छन्।
चर्चित ‘हङकङ-पोखरा’ गीतका गायक र संगीतकार अहिले पनि उही पुरानो कन्दरा ब्यान्डका तारसँगै जोडिएका छन्।
२०५० को दशकमा जन्मिएको पोखरेली ब्यान्ड हो- कन्दरा। लोकगीतमा आधुनिक बाजाहरु ‘फ्युजन’ गरी उनीहरुले २०५३ सालतिर ‘चञ्चले कान्छी’ नामक एल्बम बजारमा ल्याए। लाहुरेको सहर पोखराले मात्र नभएर देशविदेशमा रुचाइयो- चञ्चले कान्छी। कन्दरा स्थापित भयो।
‘रहरले गाएको हो त्यो बेला, गीत चल्यो, हामीजस्ता फुच्चेहरु एकाएक स्टार भइयो, उमेर पनि त्यस्तै थियो, आफैँलाई केही गरेछु भन्ने लाग्थ्यो’, विवेकले ती दिन सम्झँदै भने, ‘सफलताले हामीलाई गीत-संगीतकै बाटोमा डोहोर्यायो।’
कन्दराले २०५३ सालमा हङकङ पोखरा एल्बम पस्क्यो। हङकङसँग पोखरेलीको पुरानो साइनो। गीतका गेडागेडामा यहाँका तरुना तन्नेरीले आफ्नो कथा भेटे। निर्मोहीलाई सम्झिए। देशदेशावरको भ्रणण गरे। तर, सेलिब्रेटी हुन सजिलो, व्यवस्थापनचाहिँ साह्रै कठिन।
कन्दराका खम्बा अर्थात् विवेक स्वयं विदेश भासिए। कर्मले उनलाई हङकङ पुर्यायो। व्यक्तिगत जीवनको आरोहअवरोहलाई छाड्ने हो भने उनी मनमा गीतको माया बोकेर भौतारिइरहे।
४० कटेका विवेकलाई जीवनका भोगाइले निखार्दै लग्यो। संगीतमै केही गरौँ न भन्ने भावना फेरि बल्झेर आयो। जीवनमा के गरियो त भन्ने प्रश्न मनमा गढ्न थाल्यो।
कन्दरा किशोरवयको जोसमा जन्मिएको कन्दराले नेपाली गीत-संगीत र मनोरञ्जन उद्योगलाई के दियो भन्नेबारे यसो गम खाँदा ‘केही त गरिएको रैछ’ भन्ने भयो रे।
अनि सुस्ताएको ब्यान्डलाई पुनर्जीवन दिने निर्णय भयो। संगीतमै जमेका सुनिल तयार भइहाले।
‘हामीले चञ्चले कान्छी गाउँदादेखि नै मौलिकतालाई अंगालेका रहेछौँ, पहाडी भाकाको मिठासलाई आफ्नै शब्दमा उनेर मौलितकता वा फरकपनको बाटोमा हिँडेका रैछौँ भन्ने महसुस भयो’, विवेक व्याख्यात्मक बने, ‘मान्छेको भावनालाई रैथाने शैलीमा सुनाइएको रैछ।’
‘विदेशिएर गइन् उनी’को मेलोडी, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले गीतले बोकेको मौलिक गुरुङ संस्कृति, हङकङ पोखरामा प्रयुक्त अमिलो अंगुर, फाप्रेको डंगुरजस्ता बिम्बहरु हेर्दा र सुन्दा विवेक सही लाग्छन्।
अहिले विवेक नेपाल फर्केका छन्। केही गरौँ भन्ने भावना दह्रो भएर आएको छ। उनी २० वर्षपछि कन्सर्ट दिन शुक्रबार साँझ ५ बजे गृहनगर पोखराको मैदानमा झर्दैछन्। पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमार्फत उनी मनोरञ्जन क्षेत्रमा व्यावसायिकता खोज्दै छन्। पोखरा पर्यटन परिषद्सहित विभिन्न संघसंस्थाले यो अभियानमा साथ दिएका छन्।
गीत-संगीतको बजारसँगै चुनौती पनि बढेको छ। हिजोजस्तो जे गाइदिए पनि चल्छ भन्ने मान्यताहरु भत्केका छन्। भाइरल हुने रोग एकातिर छ भने अर्कातिर उत्कृष्ट मौलिक सिर्जनाहरुको खडेरी छ। ठूला कन्सर्ट गर्न सजिलो छैन। दर्शकले अन्तर्राष्ट्रियस्तरको साउन्ड सिस्टम र लाइट खोज्न थालेका छन्।
‘ब्रायन एडम्स, अरिजित सिंहका कन्सर्टमा झुम्ने स्रोताहरुले हामीमा पनि परिमार्जन खोजेका छन्, हामीले झुक्किएर ‘जी’बाट सुरु गर्नुपर्ने गीत ‘बी’ माइनरबाट सुरु गर्नासाथ बिग्रियो भन्ने पुस्ता तयार भइसकेको छ, हाम्रो कन्सर्टले त्यो पुस्तालाई पनि जोड्ने प्रयत्न हुनेछ।’
कन्दराका पुराना गीत चलेकै छन्। कन्दरा स्टेजमा झुल्किनु र हङकङ-पोखरा गीत नगाउनु! यो हुनै सक्दैन। रैथाने भाका पस्कने लक्ष्य ब्यान्डको ज्यामिङबाट हुने कन्सर्टमा विवेकले चलेका आफ्ना सबैजसो गीत दर्शकसँगै गाउने छन्। त्यसो त पछिल्लो समय कन्दराले सिर्जनालाई पनि उत्तिकै जोड दिएको छ।
हालै एक टेकमा गाइएको ‘विचरा म’ सार्वजनिक गरेको यो समूहले कवि तीर्थ श्रेष्ठका गीतमा पनि स्वर भरिसकेको छ। पहिला घरदेश र त्यसपछि परदेश। स्पष्ट छ- कन्दरा लामो यात्रामा निस्कने तरखरमा छ।
पोखरामा आज हुने कन्सर्टले त्यसको रुपरेखा कोरिने छ।
‘नढाँटी भनौँ- चुनौती छ, गीत-संगीतमै केही गरौँ भनेर म नेपाल आएको छु। मेरी श्रीमती यो पागलपनलाई नजिकबाट नियालिरहेकी छन्। नढाँटी भनौँ- उनी मेरो यो अभियानलाई नजिकबाट नियाल्दै छन् र असफल होला अनि पोको पुन्तुरो बोकेर उतै (विदेश) जाने दिन आउला भन्ने सोच्दै छन्।’
किन त?
संगीत उद्योगको अवस्था र छोरीको भविष्य!
विवेक भावुक सुनिए। उनलाई असफल हुने छुट छैन। र, विवेकले त्यसो गर्ने छैनन्। त्यसैले त कुराकानीको अन्त्यमा उनी सम्हालिए।
उत्सवमा साथ दिन सबैसँग आग्रह गरे। हामीले उनलाई हौस्यायौँ। र, उनकै चर्चित अनि दार्शनिक भाव बोकेको गीत सम्झायौँ।
...जिन्दगी यो उत्सव हो
वरदान ईश्वरको
सृष्टिका सिर्जना आफ्नै
बुझौँ न मूल्य यस्को...
युद्धले होइन बुद्धले, भोलिको दिन हाँक्नु छ
सन्ततिको शान्तिले, अनन्त सम्मन बाँच्नु छ...
Shares
प्रतिक्रिया