टाढा भैगयौ फेरि
सारा बन्धन तोडी...
प्रेमध्वज प्रधानले चलचित्र मायालुका लागि यो गीत गाएका थिए। समयले यही गीत उनको जीवनसँग मेल खाने बनाइदियो। रञ्जीत गजमेरको संगीत र कुसुम गजमेरको शब्दले भनेजस्तै प्रधान बिहीबार हामीबाट सदाका लागि टाढा भए।
जतिबेला प्रधान नेपाली संगीतमा प्रवेश गरे, त्यतिबेला नेपाली गीतको गोरेटो पनि राम्रोसँग कोरिएको थिएन। मेलवादेवीहरुले एकाध गीत त गाएका थिए तर हिन्दी संगीत प्रभाव बढिरहेको थियो।
२००७ सालमा रेडियो नेपालको स्थापना भएपछि बल्ल नेपाली गीतसंगीतले आफ्नै बाटो समात्यो। रेडियोमा गीत बज्न थाले पनि बजाउने नेपाली गीत थिएनन् त्यो समय। ग्रामोफोनमा आउने एकाध गीत नै त्यहाँ बज्ने गर्थे।
नेपाली गीतसंगीतलाई अगाडि बढाउनै पर्ने समयमा यो क्षेत्रमा प्रेमध्वजको प्रवेश भएको बताउँछन् वरिष्ठ गीतकार राजेन्द्र थापा।
प्रधानले पनि हिन्दी गीत गाएर नै स्वर परीक्षा पास गरेका थिए। प्रधान मात्र होइन त्यस बेलाका गायक नातीकाजी, हरिप्रसाद रिमाल, पन्नाकाजी, कोइलीदेवी, तारादेवी, शिव शंकर, मणिकरत्न लगायतले पनि सुरुवाती दिनमा ‘हिन्दी लवजमा’ नेपाली गीत गाएको प्रधानले बताउने गरेको थापा सम्झिन्छन्।
प्रधानले २००९ सालतिरै रेडियो नेपालमा गाउन सुरु गरेका थिए। त्यो समय रेडियो नेपालमा स्वर परीक्षा पास गरेका उनले सुरुवाती दिनमा प्रत्यक्ष गीत गाए।
प्रधानको परिवार नै गीतसंगीतप्रेमी थियो। उनका हजुरबुबा शास्त्रीय संगीतमा दखल राख्थे भने आमा गायनमा। यसरी उनले संगीतको पहिलो कक्षा परिवारबाटै पाए। जसलाई प्रधानले जीवनको अन्त्यसम्म पनि छाडेनन्।
स्वर परीक्षा पास गरेर उनी गाउँदै पनि थिए। तर त्यतिले मात्र उनको संगीतको प्यास मेटिनेवाला थिएन।
२०१४ साल तिर किरण खरेलहरुको प्रवेशपछि गीत संगीतमा फेरि नयाँ आयाम थपियो। २०१६ साल वरपर नारायण गोपालले रेडियो नेपालमा स्वर परीक्षा पास गरे। उनले नेपाली संगीतलाई एउटा शिखरमा पु¥याए।
यस्तै २०२० वरपर दार्जिलिङतिरबाट अनेक हस्ती नेपाली संगीतमा आए। यसको प्रभाव लामै समय रहिरह्यो। प्रेमध्वज आफ्नै लयमा हिँडिरहे र संगीतकर्म गरिरहे।
उनले यो बीचमा ३३ वर्ष जागिरे जीवन बिताए। अमेरिकी पुस्तकालयमा जागिर खाए। अमेरिकी दूतावासले रेडियो नेपाललाई दिएको रेकर्डमा उनले पहिलो पटक गीत रेकर्ड गरेका थिए। त्यो गीत आजपर्यन्त चर्चित छ।
यो नेपाली शिर उचाली
संसारमा लम्किन्छ
जुनकिरीझैँ ज्योती बाली
अन्धकारमा चम्किन्छ
भूपी शेरचनले रचेको यो गीमा प्रधानलाई तारादेवीले साथ दिएकी छन्।
सिन्धुपाल्चोकको चौतारामा जन्मिएका उनले आफ्नो जीवनमा एकैथरी गीत गाएनन्। प्रधानले स्वदेशगान, आधुनिक र भजनसमेत गाए। सात सय भन्दा बढी गीतमा स्वर दिएका उनको स्वभाव भने समकालिन अन्य गायकको भन्दा फरक रहेको बताउँछन् गीतकार थापा।
‘प्रेम दाइले गीत लिएर आउनेलाई कहिल्यै निराश पार्नु भएन’ थापाले भने, ‘रेकर्डिङको समय मिलाएर दाइ आउनु प¥यो भन्नेहरुका गीत गाइदिनु भयो।’
आफूले गीत नगाइदिँदा मित्रहरु रिसाउने हुन् कि भन्ने चिन्ता प्रधानलाई पर्ने थापाको भनाइ छ।
‘त्यसैले प्रेम दाइले हिट गीत मात्र होइन, नामै नसुनेका गीतमा पनि गाउनुभयो,’ थापाले भने।
पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जून
बन्द गर गीतहरू तिम्रो याद आउने चीजहरू
२०३४ सालमा रेकर्ड भएको यो उनको अर्को कालजयी गीत हो। सबैले सुन्ने स्वरका धनी हुन् प्रधान। यो गीत राजेन्द्र थापाले लेखेका थिए।
उनको समयमा दार्जिलिङबाट नेपाली गीतसंगीत गर्नेहरु र यहाँका संगीतकर्मीहरुको सहकार्य कमै थियो। तर २०३६ सालमा तारा खसेछ‘ बोलको गीतमा उनी र अम्बर गुरुङ सँगै झुल्किए। उनीहरुको मित्रता पछिसम्मै रह्यो।
प्रधान, गुरुङ र नातीकाजीले नेपाली सेनाका लागि गण गीत पनि गाए। एक दर्जनभन्दा बढी सेनाका गण र कवाज गीतमा उनीहरुको सहकार्य रह्यो।
माइतीघरका संगीतकार जयदेवले प्रधानलाई गोल्डेन भ्वाइस अफ एसिया नै भने। माइतीघरका लागि प्रधानले उषा मंगेशकरसँग ‘नमान लाज यस्तरी’ गाए। नोट बदलेर गाउन सक्ने उनको कलाको प्रसंशक भारतीय संगीतकारहरु पनि भए।
जीवनको अन्तिमसम्म पनि उनले आफ्नो नियमित कर्म छाडेनन्। दैनिक व्यायम र रियाज उनले गरिरहे। ८० वर्षको उमेरमा ‘प्रेमगीत’ एल्बम ल्याएर उनले संगीतकर्ममा आफूलाई सक्रिय राखे।
उनी संगीत साधक मात्र थिएनन्। नेपाली गीत संगीतको एउटा सिंगो इतिहास थिए। जो अब हामीबाट सदाका लागि विदा भएका छन्। हार्दिक श्रद्धाञ्जली!
प्रतिक्रिया