नेपाली सिनेमाले उद्योगको स्वरुप लिएकै छैन। कहिले जग्गा, कहिले होटल र कहिले म्यानपावर कम्पनी संचालक सिनेमाको निर्माता बन्छन्। वर्षेनी बन्ने फिल्ममध्ये करिब ९० प्रतिशतले लगानी नै उठाउन सक्दैनन्। लगानी नउठेपछि रहरले लगानी गर्नेहरु अर्कैतिर लाग्छन्। यो नेपाली फिल्मको वास्तविकता हो।
‘नेपाली सिनेमामा फुल टाइमर इन्भेष्टर छैन, कहिले होटलवाला, कहिले म्यानपावर कम्पनीले लगानी गर्नुपर्ने’, पोखरा साहित्य महोत्सवको छेकोमा मंगलबार सराङकोटको ओसिलो ठाउँमा कहिले साँच्चिकै चिसो मान्दै निर्देशक मीन भामले भने,‘ कोरोनाले हामीलाई पनि सिकाएको छ, अब यो क्षेत्रमा स्थायी लगानी गर्ने मान्छे चाहिन्छ भन्ने भएको छ।’
प्रस्तोता तथा पत्रकार यज्ञशको ‘कोरोनाकालमा आर्थिक हिसाबले सिनेमा उद्योगलाई कति घाटा लाग्यो होला?’ भन्ने प्रश्नबाट सुरु भएको अन्तरक्रियामा भामले कोभिडको संक्रमणले प्राविधिकदेखि व्यवसायीसम्म असर पारेको स्वीकारे। तर, आफू स्वयंले भने यो समयलाई घुम्न र आउँदो सिनेमाको पटकथा पुनर्लेखनमा खर्चेर राम्रै गरेको प्रतिक्रिया दिए।
कालो पोथीबाट चर्चा कमाएका निर्देशक मीन भाम आफ्नो आगामी सिनेमा चिसो वर्ष (अ इयर अफ कोल्ड) को तयारीमा छन्। चिसो वर्षको पटकथाले ७५ हजार युरा (करिब १ करोड ३ लाख रुपैयाँ) बराबरको पुरस्कार जितिसकेको छ। उक्त पुरस्कार टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले प्रदान गरेको हो।
महोत्सवको यो सत्रमा प्रियंकाको मीनले जस्तै अप्ठ्यारो परिस्थितिलाई सिर्जनात्मक अवसरका रुपमा उपयोग गर्ने प्रयास गरेको बताइन्।
कोभिड–१९ महामारीपछि नेपाली सिनेमा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ। विश्व सिनेमा बजारले यो अवधिमा ६० प्रतिशतभन्दा बढी आर्थिक घाटा भएको देखाउँछ।
अभिनेतृ प्रियंका कार्कीले पनि यो समय आफू खाली नबसेको बताइन्। तर, निर्देशक भाष्कर ढुंगानाले चाहिँ कोरोना कालमा भएको क्षतिले नेपाली सिनेमाको गति नै ढिला बनाउने धारणा राखे। झन्डै नौ महिना छायांकन र हल सञ्चालनलगायत प्रायः काम ठप्प भएको आधारमा भाष्करले नेपाली सिनेमा उद्योगको ९५ प्रतिशत काम बन्द भएको जिकिर गरे।
यति हुँदाहुँदै पनि सरकारले यसलाई अतिप्रभावित क्षेत्रको सूचीमा नराखेको गुनासो पनि उनले गरे। उनले सिनेमा उद्योग चल्न व्यावसायिक र कलात्मक सबैखालका सिनेमा चाहिने बताए।
‘हिन्दी फिल्म चलेपछि यहाँ नेपाली फिल्म पनि चल्छ भन्ने बुझ्नुपर्छ’, उनले भने।
यता, भीमले बजार र कलात्मक सौन्दर्यका हिसाबले नेपाली फिल्म दयनीय अवस्थामा रहेको बताउँदै क्राफ्ट, कथावाचन शैली, अभिनय र बजार बिस्तार सबै पक्षबारे गम्भीर भएर सोच्ने बेला आएको टिप्पणी गरे।
हलमा फिल्म प्रदर्शन नसकिएका बेला केही नेपाली सिनेमा ओटिटी (ओभर द टप) माध्यमबाट प्रदर्शन गर्ने प्रयास भएको प्रसंगमा चाहिँ मीनले यो प्रयासले सिनेमाको लगानी धान्न नसक्ने जिकिर गरे।
भाष्करले विश्वयुद्ध, गृहयुद्ध, स्पेनिस फ्लु, प्रविधिको विकास, टेलिभिजनको आविष्कारले पनि हलमा दर्शक आउन नरोकेको बताउँदै भने, ‘हल साथीभाइ, परिवारको ह्युमन सेन्टिमेन्ट जोड्ने ठाउँ हो। त्यसैले कोरोना आउँदैमा सिनेमा हलमा दर्शक आउन रोकिँदैन।’
Shares
प्रतिक्रिया