कास्कीका दोहोरी व्यवसायीहरुले प्रशासनको गलत रवैयाका कारण आफूहरु ‘घर न घाट’को भएको गुनासो गरिरहेका छन्। मान्छेको जमघट हुने अन्य व्यवसाय सञ्चालनप्रति नरम बनेको प्रशासन दोहोरी साँझ खुलाउने विषयमा कठोर बन्दा करोडौंको घाटा व्यहोर्नु परेको पनि उनीहरुको जिकिर छ।
उनीहरुले दोहोरी साँझ खुलाउन प्रशासनसँग ३ दिने अल्टिमेटमसहितको माग राख्दै पूरा नभए आन्दोलन गर्ने घोषणा पनि गरेका छन्।
‘सबै सुरक्षाका प्रबन्धसहित व्यवसाय खुलाउने प्रण गर्दै हामीले मुख्यमन्त्रीदेखि मन्त्री अनि प्रशासन र पुलिसकहाँ पनि निवेदन दियौंँ’,पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने,‘ तर, एउटाले अर्कोलाई देखाउने काम मात्रै भयो, समस्या समाधान भएन।’
उनले प्रशासनले आफ्नोजस्तै लाइभ म्यूजिकजस्ता व्यवसाय सञ्चालन हुँदा आँखा चिम्लेर दोहोरी साँझप्रति दोहोरो रवैया अपनाएको गुनासो पनि गरे। उनले मंसिर १५ गते दोहोरी साँझ सञ्चालनको प्रयास गरिए पनि प्रशासनबाट रोकिएको जानकारी गराए। उनका अनुसार संस्कृति तथा पर्यटन मन्त्रालयले स्वास्थ्य प्रबन्धसहित दोहोरी साँझ खुलाउन परिपत्र जारी गरिसकेको छ।
त्यो पत्रले दोहोरी खुलाउने वा बन्द गर्ने भन्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पेको छ। काठमाडौं र अन्य जिल्लाहरुमा त्यही पत्र अनुसार दोहोरी सञ्चालनमा आए पनि पोखरामा भने खुलाउने छाँटकाँट छैन।
‘बाध्य भएर हामीले ३ दिन भित्र निर्णयको माग गरेका छौं’, अध्यक्ष गुरुङले भने,‘ नत्र हामी विरोधमा उत्रन्छौं, हामीसँग भएको मादल र डम्फु नै हो,आन्दोलनमा त्यही बजाउने हो।’
उनका अनुसार लकडाउन सुरु भएदेखि यहाँका २५ वटा दोहोरी साँझ बन्द हुँदा १ हजार ५० जनाले रोजगारी गुमाएका छन्। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार तीमध्ये ४५० जना त गाउने, नाच्ने र बजाउने कलाकार नै छन्। दोहोरी बन्द हुँदा उनीहरुको अवस्था दयनीय बनेको छ। यद्यपि, कलाकारहरु हालसम्म पलायन भने नभएको उनले बताए।
पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका महासचिव चोलेन्द्र पौडेलले रोजगारी गुम्दा कतिपय कलाकार मानसिक समस्यामा परेको जिकिर गरे। उता, सांगीतिक कलाकार संघ, कास्कीका अध्यक्ष सन्तोष बस्यालले लकडाउन, निषेधाज्ञा अनि कोरोना कहरले निरस बनेको मान्छेलाई स्वस्थ बनाउन पनि सुरक्षासहित दोहोरी खुल्नुपर्ने तर्क गरे।
पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघ, कास्की, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी र कास्की तथा सांगीतिक कलाकार संघ, कास्कीको संयुक्त आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो।
प्रतिक्रिया