ad ad

कला


राष्ट्रिय लोकनृत्यको उपाधी घर्तीमगर द्वयलाई

राष्ट्रिय लोकनृत्यको उपाधी घर्तीमगर द्वयलाई

वाशुदेव मिश्र
साउन १२, २०७६ आइतबार १५:४३,

पोखरामा आइतबार आयोजित राष्ट्रिय खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधी गण्डकीकी बन्दना घर्तीमगर र कर्णालीका शेखर घर्तीमगरले जितेका छन्।

पुरुष र महिला विधामा भएको प्रतियोगतामा विजेता बनेका दुबैले १ लाख १ हजार १ सय ११ नगदसहित सांस्कतिक संस्थानमा एक वर्षको रोजगारी पनि प्राप्त गरे। उनीहरुले देशभरबाट छानिएका १६ जना प्रतिष्पर्धीलाई पछि पारेका हुन्।

लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औँ जन्म जयन्तीको अवसरमा कल्याण सेरचन स्मृति प्रतिष्ठान र सांस्कृतिक संस्थानले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको लागि सबै प्रदेशबाट २/२ जना कलाकार छानिएको थियो भने गण्डकीबाट ४ जना सहभागि थिए। हरेक प्रदेशका मौलिक लोकभाकामा नाँच्न प्रतियोगीहरु स्वतन्त्र थिए।

दोस्रो राउण्डमा भने उनीहरुलाई गोलाप्रथाद्धारा गीत छान्ने र त्यही गीतमा नाच्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो। त्यो राउण्डमा देशका विभिन्न भागमा गाइने लोकगीतहरु समावेश गरिएको थियो। मात्र ५ सेकेण्ड गीतको धुन सुनेपछि त्यही गीतमा नाच्नुपथ्र्यो। पहाडियालाई मैथिली गीत तथा मैथिलीभाषीलाई पहाडको झर्रा गीतमा नाच्नुपर्ने अवस्था पनि त्यो राउण्डमा देखा परेको थियो।

सोह्र वर्षे उमेरमै मै पनि भिलके हुँदो हुँ जस्ता कालजयी गीतका सर्जक कल्याण सेरचनको जन्मजयन्तीमा आयोजित प्रतियोगितामा महिलातर्फ प्रदेश नं.५ की अंशु कुँवर र पुरुषतर्फ प्रदेश नं.१ का प्रितम सम्बाहाम्फे दोश्रोहुँदै ५० हजार, ५ सय १५ रुपैयाँ, ट्रफी, महिलातर्फ प्रदेश नं. ३ की रबिता मगर र पुरुषतर्फ प्रदेश नं.५का दिलबहादुर सुनार तेश्रो घोषितहुँदै २५ हजार, ५ सय १५ रुपैयाँ र ट्रफी, प्रतियोगितामा महिलातर्फ कर्णाली प्रदेशकी विपना मन्दिर मगर र पुरुषतर्फ गण्डकीका हीराबहादुर गुरुङले सान्त्वना स्थान हासिल गर्दै १५ हजार, ५ सय १५ रुपैया, ट्रफीसहित पुरस्कृत भए।

यस्तैगरी प्रतियोगितामा पहिलो भएकी बन्दना घर्ती मगरका नृत्य निर्देशक सनबहादुर गुरुङ र शेखर घर्ती मगरका निर्देशक अनन्तराज तिमिल्सेनाले उत्कृष्ठ नृत्य निर्देशक घोषित हुँदै जनही २५ हजार, ५१५ रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा मुख्य निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशकद्वय मेनकाजी गुरुङ र रोचक थापा, निर्णायकहरुमा मनकुमार श्रेष्ठ(गण्डकी प्रदेश), नगेन्द्र राई (प्रदेश नं.१), सन्दीप मण्डल(प्रदेश नं.२), शारदा सिलवाल(प्रदेशनं.३),अनु रजक(प्रदेश नं.५),कुलमान नेपाली(कर्णाली प्रदेश) र सुनिल सुवेदी (सुदुर पश्चिम प्रदेश) रहेका थिए।

कार्यक्रममा लोकनृत्यमा विशेष योगदान पु-याएका बिराटनगर कटारी २ का वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियार(सुनाम)लाई सम्मान गरिएको थियो। ५ दशकदेखि लोकनृत्यमा विशेष योगदान पु-याएका सुनामलाई २५ हजार १ रुपैयासहित सहित, ताम्रपत्र, दोसल्लासहित सम्मान गरिएको हो।

यसअघि कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए। झण्डै ५ घण्टा लामो कार्यक्रम अवधीभर दर्शकदीर्घामा बसेर उनले नृत्यको आनन्द उठाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .