फिल्म निर्माता छविराज ओझाको चौथो वैवाहिक जीवन पनि धरापमा परेको छ। २०७३ सालमा गुपचुपरुपमा आफैले सिनेमामा भित्र्याएकी नायिका शिल्पा पोखरेलसँग उनले गोप्य रुपमा विवाह गरेका थिए।
लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएको यो जोडीको सम्बन्धमा एकाएक दरार आउनुको कारण छवि आफैँ हुन्। शिल्पाले आफूमाथि कुटपिट भएको बताउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन्। उनले छविको कुटाइबाट आफ्नो कानमा चोट लागेको बताइन्।
यो घटना १५ दिन अगाडि भए पनि बुधबार मात्रै सार्वजनिक भएको हो। शिल्पाले श्रीमाले आफूमाथि घरेलु हिंसा गरेका आरोप लगाएकी छन्।
शिल्पासँग विवाह गर्नुपूर्व छविले तीन विवाह गरेका थिए। यसअधिका तीन श्रीमतीमध्ये रेखा थापा र हेमाले सम्बन्ध बिच्छेद गरे भने गितान्जली सुनुवारले आत्महत्या नै गरिन्। यसरी हेर्दा छविको पारिवारिक जीवन र श्रीमतीसँग सम्बन्ध खासै सुमधुर रहेको पाइँदैन। हामीले यसै सन्दर्भमा उनको विगत केलाउने प्रयास गरेका छौँः
हेमासँग दूरी बढेपछि...
छवि धरानमा जन्मिएका हुन्। उनले कक्षा ९ सम्म धरानको पब्लिक स्कुलमा पढेँ। भारतको बनारसमा गएर एसएलसी दिए। कुरा २०३५ सालको हो। त्यहाँ उनको हेमासँग भेट भयो। हेमा पनि धरानकै थिइन्। उनीहरुबीच निकटता बढ्दै गयो। यसरी चिनजान भएको ३ वर्षपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो। यसबीच २ वर्ष जति उनीहरुको प्रेम पनि बसेको थियो। पहिलो विवाह हुँदा छवि १९ वर्षका थिए।
उनीहरुको वैवाहिक जीवन राम्रैसँग बित्दै थियो। दुई छोरासमेत भइसकेका थिए। तर, विवाह भएको १० वर्षपछि उनीहरु छुट्टिए। उनीहरुको सम्बन्ध किन टुट्यो भन्ने आधिकारीक जानकारी कसैलाई छैन। उनीनिकट ब्यक्तिलाई आधार मान्ने हो भने छवि धरानमा छँदै फिल्म वितरकको रुपमा काम गर्थे। पछि काठमाडौं हानिए। बिहे भएको ४ वर्षपछि त उनी काठमाडौंमै रम्न थाले। फिल्म निर्माण (युगदेखि युगसम्म) निर्माण पनि गरे। हेमा भने धरानमै बस्थिन्। यसबीच उनीहरुको सम्बन्धमा खटपट भयो। काठमाडौंमा बसेर सिने दुनियामा रमाएपछि कतै छवि फेरिएर त उनीहरुको घरबार बिग्रिएको होइन? यो प्रश्न अहिले सान्दर्भिक हुन सक्छ।
त्यसपछि दोस्रो बिहे
२९ वर्षको उमेरमा छवि जीवनमा एक्लो भए। उनको फिल्म यात्रा भने रोकिएन। उनले दोस्रो फिल्म ‘नाता’ बनाउने भए। त्यसका लागि उनी नायिकाको खोजीमा थिए। त्यति नै बेला गीताञ्जली सुनुवारसँग भेट भयो। त्यसअघि गीताञ्जलीले अन्याय फिल्ममा ‘साइड रोल’ गरिसकेकी थिइन् । छवि उनीबाट प्रभावित भएर आफ्नो फिल्ममा नायिका बनाउने भए। विस्तारै छविको निकटता आफ्नै फिल्मकी नायिकासँग बढ्दै गयो। उनीहरु प्रेममा परे। लगत्तै बिहे भयो। अर्थात, हेमासँग सम्बन्धबिच्छेद भएको १ वर्षपछि २०५० सालमा उनले दोस्रो बिहे गरे।
उनीनिकटको भनाईलाई आधार मान्ने हो भने अन्तरजातीय विवाह गरेका कारण छवि र गीताञ्जली दुवै तनाबमा थिए। परिवार, आफन्त र समाजले हेर्ने दृष्टिकोण फरक थियो। जसका कारण गीताञ्जली मानसिक रुपमा कमजोर बनेकी थिइन्। यसैबीच छवि मुम्बईमा बस्न थाले। उनको नेपाल आउजाउ पनि कम हुन थाल्यो। यसैबीच यी दुईबीच सम्बन्ध बिग्रदै गयो। गीताञ्जली डिप्रेसनमा परिन्। छवि गीताञ्जली सम्बन्धबिच्छेद गरेपछि पनि उनको आत्महत्याको प्रयासका कारण केही समयसँगै बसेको बताउँछन्। तर, सम्बन्धबिच्छेद भएको हो वा होइन भन्ने एकिन छैन। बरु उनले विवाह भएको ५ वर्षमा आत्महत्या गरिन्। आत्महत्याको कारण पनि रहस्यमै छ। गीताञ्जलीको तर्फबाट एक छोरा छन्।
रेखा थापाको ‘इन्ट्री’
गीताञ्जलीले आत्महत्या गरेको केही समयपछि छविले केही साथीहरुसँग मिलेर नमस्ते नेपाल नामक कम्पनी दर्ता गरे। कम्पनीले पहिलो फिल्म ‘हिरो’ बनाउने भयो। नायिका चाहियो। छविको आँखा रेखा थापामाथि पर्यो। त्यतिबेला एक दैनिक पत्रिकामा छापिएको फोटो हेरेरै छवि रेखालाई फिल्ममा ल्याउन राजी भए। पुरानो बानेश्वरमा भेट भयो। दुवै पक्षबीच फिल्म खेल्ने सहमति जुट्यो। फिल्मको सुटिङ सकिनासाथ उनीहरुको बिहे भयो। कुरा २०५७ सालको हो। जतिबेला रेखा १६ वर्षकी थिइन्। छवि भने ३७ पुगिसकेका थिए।
रेखासँग बिहेको कुरा छविले आफैँ चलाएका थिए। बानोश्वरको एक बेकरी क्याफेमा भेटेर छवि र रेखाका बुबाबीच बिहेको कुरा चल्यो। घरसल्लाहमा उनीहरुको विवाह भयो। त्यतिबेला छविले अभिभावकीय भूमिका निर्वाह गर्ने शर्तमा रेखाको सिउँदो रंगाएका थिए। तर, उनीहरुको सम्बन्ध पनि धेरै लामो समय टिक्न सकेन। सम्बन्ध नटिक्नुमा दुवैले एकअर्कालाई दोषी देखाए। वास्तवमा गल्ती कसको थियो भन्ने यथार्थ प्रमाण भने दुवैले दिन सकेका छैनन्।
स्रोतका अनुसार आफूसँग बिहे गरेपछि छविको अन्य स्त्रीसँगको निकटता रेखालाई मन पर्दैनथ्यो। यसै विषयलाई लिएर धेरै पटक दुवैको तँ–तँ र म–म समेत चलेको थियो। यसरी उनीहरु जसोतसो १२ वर्षसम्म सँगै रहे। तर, त्यसपछि भने बोलचाल र हेराहेरसमेत बन्द भयो। मिडियामा आपसमै जाइलाग्न थाले। उनी शिल्पा पोखरेलसँग नजिक भएपछि रेखासँग २०७३ असारमा सहमतिमै डिभोर्स भयो।
छवि–शिल्पा कनेक्सन
रेखासँग डिभोर्स नहुँदै छवि शिल्पासँग नजिकिएका थिए। सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘लज्जा’मार्फत छविले शिल्पालाई सिने क्षेत्रमा डेब्यू गराएका थिए। छविले शिल्पालाई लज्जाको सुटिङ सकिएलगत्तै ‘म तिमीलाई मन पराउँछु’ भनेर भनेका थिए। रोचक कुरा त के छ भने छविले गीताञ्जली, रेखा र शिल्पालाई फिल्ममा डेब्यू गराएर सुटिङका क्रममा निकट भई सुटिङ सकिएपछि प्रेम प्रस्ताव राखेका छन्। यसबाट छविको आँचरण बुझ्न सकिन्छ। जबकी शिल्पाले फिल्म रिलिज हुनुअघि उनलाई आफ्ना पिता सम्मान भनेकी थिइन्।
फिल्म रिलिज भएपछि उनीहरु निकट हुँदै गए। छविकै ब्यानरमा शिल्पाले ‘हवल्दार सुन्तली’, ‘आगो’ र ‘मंगलम्’ फिल्म खेलिन्। उनीहरु नजिकिँदै गए। लिभिङ टुगेदरको चर्चा चल्यो। मिडियामा समाचार बने। कैयौँ पटक छविले फिल्मको प्रमोसनका लागि शिल्पासँगको प्रेम र बिहेको प्रसंग निकाल्दै स्टन्ड गरे। यतिबेलासम्म दुवै एकअर्काको गहिरो प्रेममा परिसकेका थिए।
अहिले बन्द भइसकेको एक साप्ताहिकसँग २०७४ फागुनमा कुरा गर्दै दुवैले प्रेम सम्बन्धलाई स्वीकारेका थिए। शिल्पा छविभन्दा ३० वर्ष कान्छी हुन्।
आफूहरुले छिट्टै बिहे गर्ने बताउँदै शिल्पाले छविबारे भनेकी थिइन्, ‘छविजीले अहिलेसम्म ३ वटी श्रीमतीसँग जीवन बिताइसक्नुभएको छ। उहाँले विगतमा के कारणले श्रीमतीसँग छुट्टिएर बस्नुपर्यो, के कारणले मनमुटाव भयो, आफूले के गल्ती गरेँ, के कारणले श्रीमतीबाट टाढा भएँ भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ। यसरी उहाँले नकारात्मक पक्षलाई सोचेर सुधार्नुभयो भने उहाँको र मेरो सम्बन्ध दिगो रहन्छ जस्तो लाग्छ।’
छविले पनि भनेकी थिए, ‘मैले यहाँभन्दा पहिला तीनवटी श्रीमतीसँग जीवन बिताएँ तर, तीनै जनासँग राम्रो घरजम हुन सकेन। अब शिल्पाजी र म विवाह बन्धनमा बाँधिदै छौँ। यसका साथै उहाँले मलाई करिब ५ वर्ष त अध्ययन गरिसक्नुभयो। मैले पनि उहाँलाई राम्रोसँग चिनेको छु। भोलिका दिनमा कुनै कमी–कमजोरी भयो भने सुधारेर अघि बढ्छौँ। तर, शिल्पाजीसँग सम्बन्धविच्छेद भने गर्दिनँ।’
शिल्पासँग सम्बन्धविच्छेद नगर्ने वचन दिएका छविले आखिर किन कुटे शिल्पालाई? के छवि श्रीमती सम्हाल्न सक्दैनन् या उनको कुनै कमजोरी छ। कि उनको श्रीमती बनेर आएकाहरुले नै आफ्नो भूमिका निभाउन सकेनन्। यो कुरा एकदिन पक्कै बाहिर आउनेछ।
प्रतिक्रिया