ad ad

कला


बक्स अफिसमा तहल्का पिटिरहेको स्त्री २ : विषयवस्तु र प्रस्तुतिमा अब्बल फिल्म

बक्स अफिसमा तहल्का पिटिरहेको स्त्री २ : विषयवस्तु र प्रस्तुतिमा अब्बल फिल्म

श्रीजु सरल
भदौ ३, २०८१ सोमबार १५:५६, काठमाडौँ

गएको बुधबार अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन अमर कौशिक निर्देशित सिनेमा 'स्त्री २' भारतसँगै नेपालमा पनि क्यूएफएक्स लगायत देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आयो। फिल्मले प्रदर्शनमा आएको पहिलो दिन नै बजेटभन्दा माथिको कमाइ गरेको चर्चा त छँदैछ। साथै, प्रदर्शनको पहिलो हप्ता नबित्दै बलिउडका स्टार अनुहार अभिनित फिल्महरूको एकपछि अर्को रेकर्ड तोडिरहेको छ।

तर, कमाइका कारणले मात्र नभएर फिल्म आफ्नो विषयवस्तु र प्रस्तुतिका कारणले पनि यति चर्चामा छ। कमर्सियल फिल्म भइकन पनि यसले समीक्षात्मक तहमा पनि मुक्तप्रशंसा बटुल्न सकिरहेको छ जुन दुर्लभ मानिन्छ।

हरर कमेडी जनरामा बनेको 'स्त्री २' सन् २०१८ को 'स्त्री' को सिक्वेल हो। चाहे नेपालमा होस्, भारतमा होस् या अन्य देशमा नै किन नहोस् अक्सर, सफल फिल्ममाथि सिक्वेल बनाउनुको पहिलो कारण हुन्छ - पैसा! र त्यसपछि मात्र आउँछ कथा। अर्थात्, सिक्वेलको दुनियाँमा 'के बिक्न सक्छ?' भन्ने प्रश्न नै अक्सर अहम् हुन्छ। तर, अमर कौशिक र उनको टिमलाई 'के' बेच्ने भन्ने मानौँ पहिल्यै थाहा छ। तीसँग बेच्नलाई केही चिज छ र अब मात्र 'त्यो चिज कसरी बेच्न सकिन्छ?' भन्ने प्रश्नको जवाफ खोज्न बाँकी रहेको होस्। जसको चित्तबुझ्दो जवाफ भेटियो भन्ने पनि फिल्म हेर्दा थाहा लाग्छ।

यसरी के र कसरी बेच्नेभन्दा पनि अगाडि अर्को एउटा प्रश्न हुन्छ- किन बेच्ने? र लाग्छ यो प्रश्नको जवाफमा कमसेकम यो टिमले 'पैसा' भनेको थिएन। पैसाले पनि पछ्याउने केही कुरा थियो। के थियो? सायद गुदीभित्र भेटिएला। त्यसोभए आउनुस्, फिल्मको बोक्रा ताछौँ र यसको गुदी केलाऔँ।

कथा
स्त्री अर्थात् प्रिक्वेलको कथा, जहाँ स्त्रीको आत्माले पुरुषहरूलाई गायब पार्ने गर्थ्यो र समाजमा सन्त्रास फैलिएको थियो। त्यस परिस्थितिलाई साम्य पार्ने जिम्मेवारी एउटा डरपोक युवकले पाएको थियो। त्यही, डरपोक युवक- विक्की नामको एउटा मामुली दर्जीले यस सिक्वेलमा पनि त्यस्तै एउटा जिम्मेवारी पाएको छ।

यसपटक स्त्रीले पुरुष होइन, पुरुषले स्त्रीहरू गायब पारिरहेको छ। आफूभन्दा दोब्बर अग्लो र चौडा त्यो पनि अलौकिक शक्ति भएको दानवलाई एउटा दीन लौकिक मानवले कसरी मुकाबला गर्न सक्दो हो? यही खुलदुली र हुटहुटीको जवाफ हो स्त्री २ को कथा।

पटकथा
फिल्म यदि पानी हो र फिल्मको स्रोत अर्थात् कथा नदी हो भने स्त्री २ को पटकथा सङ्लो र बिना व्यवधान बगेको खोलो हो। बहावको दौरान केही नदी यसमा मिसिन पनि आउँछन् र त्यस काइदाले पनि जो मैलिएको छैन बरु गहिरिएको छ।

पटकथा यस अर्थमा सङ्लो छ किनभने केपछि के हुन्छ र त्यो किन भइरहेको छ भन्नेबारे फिल्म स्पष्ट छ। कथा अघि बढ्दै जाँदा दर्शकको समझ पनि सँगसँगै दौडिरहेको हुन्छ। दर्शकले कहीँ कतै कुनै पनि दृश्य वा संवाद या फेरि पात्रलाई नबुझेर अलमलिनुपर्ने स्थिति आउने छैन। अर्को संसारबाट आइपुगेका क्यामियो पात्रहरू कथालाई रोचक बनाउन मात्रै ल्याइएका छैनन्। कथाभित्र तिनको भूमिका थोरै छ तर, सार्थक छ।

कथावाचन
त्यसो त फिल्मको कथा वर्तमानको कथा हो। तर, सम्झनाको बाटो गरी भूतलाई पनि चिहाएकै छ। जसकारण फिल्मको कथा भन्ने शैलीलाई शुद्ध लिनियर नै भन्न नसकिए पनि यसलाई नन-लिनियर पनि भन्न मिल्दैन। किनभने, भूतलाई पनि यसले वर्तमानमै बसेर चिहाएको छ। तसर्थ, यसको कथावाचनलाई लिनियर र नन-लिनियरको दसगजामा राख्न सकिन्छ।

फिल्मको पहिलो हाफमा कथावाचकको प्राथमिकता लाग्छ दर्शकलाई शुद्ध मनोरञ्जन दिनुमा छ। तर, दोस्रो हाफमा कथावाचक तार्किक भएर फर्किएको छ। मनोरञ्जन कम भएको छैन तर, बिनातर्कको मनोरञ्जन 'ब्याड न्युज' भन्दा माथि जान सक्दैन भन्नेमा स्त्री २ का लेखक निरेन भटलाई सायद राम्रै थाहा छ।

यही कुरालाई यसरी पनि बुझ्न सकिन्छ भने पहिलो हाफलाई फिल्मले कथालाई स्थापना गर्न खर्चेको छ तर दोस्रो हाफलाई फिल्मले जनचेतना जगाउन प्रयोग गरेको छ।

त्यसो त जनचेतनाका कुरा उत्तिकै रोचक शैलीमा यसअघि 'थ्री इडियट्स'ले पनि भनेकै हो। तर, भुतिया कथा भन्दाभन्दै दर्शकलाई हँसाउने जिम्मेवारी समेत नबिर्सिएरै जनचेतनाका कुरा भन्नु र त्यो पनि यति स्पष्ट र रोचक तवरले? यो दुर्लभ हो र चुनौतीपूर्ण पनि। यसअर्थमा फिल्मको कथावाचन समेत उल्लेखयोग्य छ।

पात्र
फिल्मका पात्रहरू। विक्की, बिट्टु, रुद्र भैया, जना उर्फ जनार्दन र अनाम महिला पात्र! फिल्मका यी मुख्य पात्रहरू हुन्। यिनको चरित्र यसरी लेखिएको छ कि हरेक पात्र उत्तिकै रोचक, सार्थक र भिन्न महसुस हुन्छ। कुनै पनि पात्र एकअर्कासँग कतैबाट पनि मिल्दैन। व्यक्तित्वलाई यदि रङ मानिलिन मिल्छ भने हरेक पात्रसँग आ-आफ्नो एउटा रङ छ र त्यो रङ उनीहरूले फिल्मको अन्त्यसम्म पनि कायम राखेका छन्। अँ, बिट्टु एउटा यस्तो अपवाद पात्र हो जसको रङ कथाको बीचमा बदलिन्छ। तर, त्यो बदलिनुको पछाडि कारण छ र कारण तार्किक छ।

डरपोक दर्जी विक्कीमा त दर्शक आफू स्वयंलाई देखिदिन्छन्। रुद्र भैया त तपाईं-हाम्रै टोलको किताब वा पत्रिका पसलका दाइ हुन् भन्दा फरक नपर्ला। रहस्यमयी पात्र पनि कहिले तपाईंजस्तो त कहिले तपाईंले चिनेको 'त्यो एउटा मान्छेजस्तो' पक्कै देखिनेछ।

विक्कीका बुवा त आम दर्शकका (केही अपवादलाई छोडेर) आम बुवा नै हुन्। अनि त्यो आवारा पात्र नि? ती पनि हाम्रै टोलको गल्लीमा भड्किएर हिँड्ने चिरपरिचित पात्र हुन्। जसलाई हामी पागल भनिदिन्छौँ र बदलामा फेरि जसले हामीलाई पागल देखिरहन्छ।

समाज
समाजभित्र छिर्ने यो उत्तम समय हो। समाजले पागल मान्ने त्यो आवारा पात्र समाजले प्रयोग गर्ने विकृत भाष्यलाई सच्याइदिएर भन्छ, 'चिट्टी कहीँ गएकी होइन बरु लगिएकी हो।' सभ्य समाजका तपाईं-हामीजस्तै आम पात्रहरू पत्याइदिँदैनन् उसलाई। उल्टै गाली गरिदिन्छन्। बेवास्ता गरिदिन्छन्। प्रमाणस्वरूप चिट्टीको 'मोजा' देखाउँदा समेत उसको विश्वास कसैले गरेको छैन। तर, एउटा समय आउँछ जहाँ ऊ सही साबित हुन्छ।

हाम्रो समाज यसै गरी नै चलिरहेको छ। जो उपल्लो सोच राख्छन्, उदार चेतनाले संसारलाई नियाल्छन्, तिनलाई आम मानिसले बहिष्कार गरिदिन्छन्। र ती पनि सङ्कीर्ण चेतना बोकेर कुदिरहेको समाजमा मिसिन सक्दैनन्। अनि, निकम्मा भएर गल्लीमा भड्किन्छन्, भुइँमा मिल्किन्छन्।

साथै, घरी विक्कीलाई भगवान बनाइन्छ त घरी मानसिक रोगीलाई शासक। 'डर' भनिने संवेगले आखिर कसरी भगवान र शासक जन्माउँछ भन्ने बिछट्ट मीठो दार्शनिक बिम्बको प्रयोग गरेर पनि फिल्मले मनोसमाजिक बहसका लागि ठाउँ बनाइदिएको छ।

अनि फिल्ममा सर्रियल अर्थात् अतियथार्थपरक देखिने सरकटा दानव छ। रूपमा अलौकिक देखिए पनि यो अलौकिक भने होइन। यो यही लोकभित्रको लौकिक पात्र नै हो। खाली अमूर्त भएका कारण भौतिक आँखाले यसलाई देख्न सकिँदैन थियो। र त्यो पात्र अरू केही नभएर हाम्रो समाजमा व्याप्त 'पितृसत्ता'को अवधारणा हो, असर हो। यदि पितृसत्ताको पनि रूप वा आकार हुन्थ्यो भने कस्तो हुन्थ्यो होला? लेखक निरेन भटको कल्पनामा त्यो 'सरकटा' बनेर निस्कियो।

समाजको चित्रण फिल्मले अर्को ठाउँमा पनि उस्तै मीठो गरी गरेको छ। चंदेरीमा जबसम्म स्त्रीको डर कायम हुन्छ तबसम्म केटाकेटीहरूको खेलमा एउटी बच्ची कयौँ बच्चोहरूलाई स्त्री बनेर लखेटिरहेकी देखिन्छे। तर, जब सरकटाको डर व्याप्त भएर आउँछ तब चंदेरीका बच्चाहरूको खेल पनि बदलिन्छ। अब बच्चीहरू भाग्छन्। बच्चोहरू खेदाउँछन्।

यथार्थ समाजमा पनि घरी पुरुषले स्त्रीलाई दमन, शोषण गर्ने त घरी शोषित, दमित स्त्रीहरूले पुरुषसँग बदला लिने सिलसिला एकपछि अर्को गर्दै चलिरहेको देखिन्छ। तर, चंदेरीमा होस् या सिङ्गो मानव समाजमा शान्ति र सौहार्दता त यी दुई जातिले एकआपसलाई बुझ्नुमा, कदर र प्रेम गर्नुमै पो हुन्छ कि? यो प्रश्न हरेक दर्शकले आफैले आफैसँग र आफ्नो समाजसँग गरुन्! मानौँ यो अपेक्षा फिल्मले गरेको छ।

अभिनय
फिल्ममा अनाम पात्रको भूमिकामा श्रद्धा कपूरको पात्र जति दिलचस्प विक्कीलाई लाग्छ त्यति नै दिलचस्प भने न त रुद्र भैया वा बिट्टुलाई लाग्छ न त दर्शकलाई नै। यद्यपि उनको कामलाई हेरी 'यो ठाउँमा यसो नगरेर त्यसो गरेको भए…' भनिहाल्न दर्शकलाई हम्मे नै पर्ला।

विक्कीको भूमिकामा राजकुमार राव उत्कृष्ट लाग्छन्। मानौँ, त्यस भूमिकामा रावबाहेक अर्को अभिनेताले न्याय गर्न सक्ने नै छैन। रिसाउँदा, लजाउँदा, खुसीले गदगद हुँदा, डरले थुरथुर हुँदा या फेरि हौसिएर आँटिलो हुन खोज्दा होस्, रावले विक्कीलाई यसरी चित्रित गरेका छन्, मानौँ उनी राजकुमार राव कहिल्यै थिएनन्। उनी विक्की नै हुन् र चंदेरीको गुमनाम गल्लीमा उनी एउटा मामुली दर्जी हुन् जसको सपना केही त छ तर, के हो थाहा छैन।

उता अभिषेक बनर्जीको काम विक्की बन्ने राजकुमारको भन्दा फिक्का लाग्दैन। भूतदेखि डराएर भागेको 'जना'लाई देख्दा (अलि कमजोर हृदयको भए) दर्शक स्वयंको सातो नजाला भन्न सकिँदैन।

रुद्रा भैयाको भूमिकामा पंकज त्रिपाठीको काम यस्तो लाग्छ कतै बाटोमा हिँड्दै गर्दा जम्काभेट पो भइहाल्छ कि भन्ने एउटा भ्रमलाई दर्शक खुसीखुसी सत्य कल्पिदिन्छन्। र भेट भइहालेमा एउटा अङ्कमाल त कसो नगर्दा हुन्?

समाको भूमिकामा तमन्ना भाटियाको काम प्रशंसाको काबिल लाग्छ। उनको नृत्य फिल्म प्रदर्शन नहुँदै जति विवादित भएको थियो कथाको बीचमा देखिँदा उत्तिकै सार्थक र सुन्दर लागिदिन्छ। यद्यपि, गीतकै कुरा गर्ने हो भने चाहिँ 'स्त्री २' का कुनै पनि गीतले 'स्त्री'का गीतलाई टक्कर दिन भने सकेका छैनन्।

त्यसो त यो एउटा चक्र पो हो कि? घरी पुरुषको नियन्त्रण, घरी स्त्रीको दबदबा, फेरि पुरुषको अत्याचार, अनि स्त्रीको बदला। बदलाका कारण बदला र त्यसपछि शृङ्खलाबद्ध बदलाहरूकै अनन्त सिलसिला?

जाँदाजाँदै, स्त्री र स्त्री २ का घटनाहरूलाई आजको जीवित युग, यथार्थ समाज र घटनाहरूको समयरेखाको साँचोमा राखेर हेर्ने हो भने सिक्वेलको रूपमा आए पनि स्त्री २ को कथा वर्तमानको भन्दा ज्यादा भूतको कथा हो। अर्थात् सरकटा (पितृसत्ता)ले हिजो स्त्रीहरूमाथि विभेद र अत्याचार गर्‍यो। त्यसपछि त्यस अत्याचारको बदला लिन 'स्त्री' पुरुषहरूमाथि निर्मम रूपमा प्रस्तुत हुन थाली। अनि यो अत्याचार र बदलाको चक्रबाट पार/मुक्ति पाउने एउटा मात्र उपाय हो- अर्धनारेश्वरको अवधारणा। अथवा भनौँ, स्त्री २ को मध्यान्तरअघिको पहिलो हाफ र मध्यान्तरपछिको दोस्रो हाफको बीचमा यसको प्रिक्वेल अर्थात् 'स्त्री'लाई राख्न सकिन्छ।

यसअर्थमा, 'स्त्री २' भूत अर्थात् विगत (सरकटा) र भविष्य अर्थात् कल्पना (अर्धनारेश्वर) सम्मको रुमानी यात्राको कहानी हो। खैर, हामीले बाँचिरहेको युग त्यस्तो सङ्क्रमणकालीन युग हो जहाँ भूत, वर्तमान र भविष्य तीनै आयाम खिचडीमा दाल, चामल र पानी जसरी घोलिएका छन्। जहाँ हामीले सायद विक्की र अनाम स्त्रीले जस्तै भूतलाई बिर्सिएर, वर्तमानभन्दा माथि उठेर भविष्यको नाममा गरिएको कल्पनालाई साँचो तुल्याउन लाग्नुपर्छ। होइन भने बदलाको शृङ्खला यसैगरी चलिरहनेछ। तपाईं नै भन्नुस् दर्शक, यो चक्रलाई कहिलेसम्म चलिरहन दिने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .