द गोटलाइफ अर्थात् एउटा बाख्रो जिन्दगी! बलिको बोको बनेर बाँच्दाको जिन्दगी! भेडाहरूको बथानमा भेडा नै भइदिएर बाँच्दाको जिन्दगी! तीन महिनाअघि सिनेमाहलमा प्रदर्शित यो फिल्म यतिबेला ओटीटी प्लाटफर्ममा उपलब्ध छ। ओटीटीमा आएसँगै फिल्मले एकै किसिमको चर्चा बटुलिरहेको छ। अर्थात् यसका दर्शकहरू बाँडिएका छैनन्। उनीहरू एकै स्वरमा दु:खिरहेका छन्, पीडा पोखिरहेका छन्। साथै, एउटा राम्रो सिनेमा हेरिसकेपछिको सुखानुभूतिले एकसाथ तृप्त पनि छन्।
त्यसो त बेन्यामिन लिखित सत्य घटनामा अधारित उपन्यास 'आडु जिवितम' वा नेपालीमा दिनेश काफ्लेद्वारा अनूदित 'खबुज'माथि बनेको यस फिल्मका दर्शक दुई किसिमका छन्। एकथरी उपन्यास पढिसकेर कथा थाहा पाइसकेका र अर्काथरी फ्रेस अडियन्स जसलाई फिल्मको कथाबारे कुनै ज्ञान छैन। फ्रेस अडियन्सलाई त हरेक कुरा नौलो लाग्नुले पनि बाँध्न सहयोग नै गर्छ।
तर, उपन्यास पढिसकेका दर्शकको चित्त बुझाउनु पुस्तकमा आधारित फिल्मको सबैभन्दा ठूलो चुनौती हो। किनभने, चित्ररहित कथा पढ्दै गर्दा ती हिजोका पाठक, आजका दर्शकले आ-आफ्नै चेतनाले पात्र, पात्रको सेरोफेरो र सम्पूर्ण माहोल-परिस्थितिको दृश्य कल्पिसकेका हुन्छन्। र स्वाभाविक रूपमै पनि कसैको कल्पना कसैसँग मिल्नु दुर्लभ संयोगबाहेक अर्कोथोक हुन सक्दैन।
त्यसो त एकै वाक्यलाई बुझ्ने तरिकामा पनि पाठक-पाठकबीच अन्तर हुन्छ। तर, फिल्म हेरिसकेका अधिकांश दर्शक उस्तै गरी प्रभावित हुनु, एउटै मतमा उभिनु भनेको ती बहुसंख्यक (पाठक) दर्शकका पृथक-पृथक कल्पनाको सार फिल्मले छाम्न सक्नु नै हो। खैर, आधारभूत कथा आफैमा पनि मानवीय संवेदना निचोरिएर आएका कारण पनि फिल्म यति प्रभावशाली बन्न सक्यो कि? आउनुस् बरु फिल्मले महसुस गराएका ती मानवीय संवेदनालाई फेरि एकपटक खोतलखातल गर्ने प्रयास गरौँ।
अजन्मा सन्तानको उज्यालो भविष्यका लागि भएको एउटा घरसमेत बन्धकी राखी आफ्नी आमा, आफ्नी गर्भवती पत्नी, आफ्ना सारा साथीभाइ र आफ्नो माटो छोडेर नजीब, गाउँले भाइ हाकिमको समेत सुरक्षाको जिम्मेवारी लिएर साउदी अरब पुग्छ। नौलो दैनिकी, सुन्दर भविष्यको जिज्ञासा र आशा बोकेर दुई भाइ अरबको एअरपोर्टमा आफ्नो कम्पनीको काफील उर्फ् मालिकलाई पर्खिरहेछन्। एउटालाई टुटफुट अङ्ग्रेजी आउँछ, अर्कोलाई त्यही पनि आउँदैन। पराया देशमा आफ्नो भाषा जान्ने कोही पनि भेटिँदैन। न त अङ्ग्रेजी बोल्ने कोही भेटिन्छ। एकअर्काको भाषा नजानेपछि इसारा इसारामै गफ गरी आफ्नो काफील चिनेर उनीहरू एयरपोर्टबाट निस्किन्छन्। तर, सहर छिचोलेर निर्जन मरूभूमितर्फ मोडिन्छ गाडी।
मान्छेको कुनै चहलपहल देखिन छोडेपछि गाउँमा एक कल फोनसमेत गर्न नपाएका उनीहरूको मनमा चिसो पस्छ। तर, गुडिरहेको गाडीबाट अनकन्टार मरुभूमिमा त्यो पनि रातको अँध्यारोमा उनीहरू फाल हानेर भाग्न पनि सक्दैनन्। त्यसो त अगाडि बस्ती आई पो हाल्छ कि? भाषाको कारण कुरा स्पष्ट बुझिएको पनि त छैन। कतै पुगिएला र त्यहाँ आफूले जानेकै भाषा जान्ने कोही पक्कै भेटिएला। त्यसपछि त सबै कुरा छर्लङ्ग भई पनि त हाल्छ। थाकेका उनीहरू गाडीको धङधङीसँगै यस्तै केही सोचेर निदाउँछन्।
तर, गलत मान्छेसँग गलत ठाउँ पुगिएको उनीहरूलाई तब थाहा लाग्छ, जब मध्यरातको अँध्यारोमा एउटालाई मात्र ओरालेर अनकण्टार भूभागको बीचमा एक्लो पस्रिएको गोठजस्तो टहरोमा जबर्जस्ती पठाइन्छ। उनीहरू त अरबको ठूलो कम्पनीमा हेल्परका रूपमा सँगसँगै काम गर्नेगरी पठाइएका थिए। अब दुवैजना नाइँनास्ती गर्छन्। बिन्तीभाउ गर्छन्। तर, बित्थामा कुटिएर पिटिएर अलग्याइन्छन्। हाकीम त्यतै छुट्छ। नजीबलाई पनि त्यस्तै अर्को गोठमा पुर्याइन्छ।
भाषा नबुझेर एउटा सम्झिएर अर्कोलाई ल्यायौ तिमीहरूले! - असमझदारी भयो सम्झिएर आफ्नै भाषामा भएपनि बुझाउन खोज्छ ऊ। तर, पिटिन्छ मात्रै। चारैतिर खुल्ला रेगिस्तानमा चल्ने आँधीबतासले फुक्को बालुवा आफूसँगै सोहोरेर उडाइरहेछ। यस्तोमा उसको न खाट छ न कोठा। त्रिपालभित्र सुतेको उसलाई लेखेटी बाहिरै पठाइन्छ। तब, त्यही गाडीको क्याबिनमा आफूलाई डल्लो पारेर सुताउँछ ऊ। निद्राको त उठिवास लागिसकेकै थियो, त्यही थकान बिसाउने र आँधी छल्ने मेलो!
'यो त असमझदारी होइन रहेछ!' भन्ने उसले तब चाल पाउँछ, जब तिनले उसको पासपोर्ट च्यातेर मिल्क्याइदिन्छन्। कसैसँग सहयोग माग्न खोज्दा जब उसको छातीमा राइफलको नाल दागिन्छ तब उसले थाहा पाउँछ भाषामा होइन समस्या यी अरबीहरूको नियतमै रहेछ। त्यही भेडीगोठमा पहिल्यैदेखि काम गरिरहेको एउटा बुढो पनि छ, आफ्नै देशको। जसलाई आफ्नो नामसमेत याद छैन। कति वर्षदेखि त्यहाँ छु भन्नेसम्म थाहा छैन। भेडालाई खुवाउने चाम्रो न चाम्रो रोटी खाएर तिनै भेडाजसरी बाँच्नेलाई किन चाहियो समय साल? उज्यालो हुनासाथ उठ्यो भेडाहरूको हेरचाहमा लाग्यो। दिनभरि आकस्मिक र अतिसम्भावित मृत्युहरूसँग लड्यो र रात परेपछि भेडाहरूजस्तै आकाशमुनि पल्टियो। के भेडाहरूलाई नाम चाहिएको छ र?
पात्र र उसको परिस्थितिको यति भूमिका बाँधिसकेपछि अब निर्देशक ब्लेस्सीले दर्शकसम्म पात्रहरूको संवेदना पुर्याउन गरेको मिहेनतलाई नियालौँ।
फ्ल्यासब्याकका दृश्यमार्फत् पटकपटक नजीबकी श्रीमती 'साइनु'लाई देखाइरहनुले कतै साइनुको नजरमा ऊ धोखेबाज ठहरिसक्यो कि भन्ने डर दर्शकको मनमा खेलिबस्छ। किनभने, दर्शकलाई राम्रैसँग थाहा छ साइनुलाई ऊ कति सम्झिन्छ, कति माया गर्छ।
आफ्नो गाउँघरमा हुँदा चटपटा अचार र मटन बिरियानी खानुपर्ने मान्छे आज अर्काको देशमा भेडाहरूसँगै भेडाहरूकै खानकी- त्यो बेस्वादको बाक्लो, चाम्रो रोटी पानीमा डोबी खाएर बाँच्न विवश छ! रोटी डोब्न पानी पनि त सधैँ कहाँ मिल्छ र?
पानीपुरी होस् वा म:म: खान जाँदा होस् मनग्गे झोल खानुपर्ने दर्शक नजीबले पानीसमेत पर्याप्त पिउन-खान नपाएको देख्दा एउटा ग्लानिबोधले दुखिदिन्छन्। पानीकै अभावले कुन्नि कति महिना वा वर्षदेखि नुहाउन नपाएर जिङ्ग्रिएको पात्रलाई देखेर दर्शकको मन दयाभावले भुलुक्क उम्लिन्छ। अझ ऊ त त्यस्तो पात्र जो आफ्नो गाउँमा हुँदा पानीमै खेलेर बाँच्ने गरेको थियो। दिनभर पानीमै डुबेर बालुवा निकाल्ने काम गर्थ्यो। काम नहुँदा समेत रुघाले ग्रस्त बनाउन्जेल पनि पानीमै पौडी बस्न रमाउँथ्यो। मानौँ, ऊ कुनै माछो थियो। यता रेगिस्तानमा दुई घुट्कीबाट तीन घुट्की पानी पिउँदा साहुको निर्मम लात खाइरहेको छ। दर्शक उसलाई पानी नपाएर भट्याकभट्याक भई तड्पिरहेको माछोजस्तै देखिदिन्छन् र आत्तिन्छन्- 'लौ न कसैगरी उसलाई फेरि पनि पोखरीमै फ्यालिदिऊँ!'
नभागौँ, कतिबेला गिद्धले आहारा बनाउने हो र त्यही बुढोजस्तै बालुवामा गाडिएर कंकाल बन्नुपर्ला भन्ने अत्यास। भागौँ भने पनि राइफलको गोलीले पछाडिबाट मुटु छेड्ला भन्ने त्रास! जता फर्किए पनि बालुवा नै बालुवा। जता फर्किए पनि मृत्यु! अब हार मान्नुको कुनै विकल्प छैन। यस्तै विवशताबीच एक दिन भेडा चराउने क्रममा अचानक उसले आफूजस्तै गोठालोलाई भेट्छ। हाकिमलाई भेट्छ। आफ्नो भाइलाई भेट्छ। हिजो गाउँले दाजुभाइ थिए तर यतिबेला उनीहरू साख्यै भाइभाइ हुन्। उनीहरूले भोगेका एकैनासका पीडा र कहरले उनीहरूलाई मानौँ रगतले भन्दा गाढासँग जोडिदिएको छ। जब यो मिलनपछि उनीहरूले भाग्ने हिम्म्त जुटाउँछन् दर्शकहरूको कठ्याङ्ग्रिएको हृदयमा अचानक एउटा न्यानोपन चलपलाइदिन्छ।
खाजा-पानीबिना जता हेर्यो उस्तै देखिने, कहिल्यै नसकिने गरी विस्तृत फैलिएको त्यो मरूभूमिमा भोक, थाकान, पीडा र कष्ट नभनी अथक हिँडिरहेका उनीहरूलाई देखेर दर्शकहरू आफू स्वयं पनि थाक्छन्। भोक र प्यासले ओठ तालु सुकी बहुलाएको हाकीमले ग्वामका ग्वाम बालुवा चपाइरहेको दृश्य देख्दा दर्शकको भित्री छाती पनि मानौँ तिनै बालुवाका तिखा धारिला कणहरूले रगडिएर रगताम्मे हुन्छ। तर, बोल्न बिर्सिसकेको नजीबको जस्तो गला अवरुद्ध पनि त्यहीबेला हुन्छ। अब हाकीमको परिवारलाई नजीबले के जवाफ देला? फिल्मको झण्डै सुरुवात र झण्डै अन्त्यतिर देखाइएका दुई दृश्यहरूबीच ती भिन्नाभिन्नै संवेदनाहरूलाई तुलना गर्छ दर्शक। उत्साह र भरोसाभन्दा आखिर लाचारी र विवशता नै भारी हुँदोरहेछ कि? बालुवाको पहाडले थिचिएको हाकीमजस्तै कुन्नि के ले थिचिइन्छन् दर्शकहरू पनि!
आफूलाई आफ्नै बच्चालाई जस्तै स्नेह गरेर रेगिस्तान पार लगाउने त्यो अपरिचित! बालुवाको सुनामी, असङ्ख्यक सर्पहरूको आक्रमण! र यो सबै त्राहिमाम् पार गरेर सहर पुगिसक्दा समेत घुमिफिरी ठोक्किन आइपुग्ने उही क्रुर मालिक, र त्यो भेटसँगै पत्ता लागेको उस्तै क्रुर नियतिको षड्यन्त्र! घर छोडेको यत्तिका वर्षमा पहिलोपटक साइनुसँग भएको त्यो निर्वाक फोनकल!
खैर, अब ऊ घर फर्किँदै छ। तर साँच्चै, अरब भास्सिनुअघि बन्धकी राखेको घर छ पनि कि कुनै गोठमा बसिरहेका छन् उसका जहान? बुढी आमाको हालत के भयो होला? अनि, छोरो भयो होला कि छोरी? पहिलो मुख हेराइमा आफ्नो सन्तानलाई के देला त यो बाबुले? के अब नजीब कहिल्यै पहिलेको नजीबजस्तै हुन सक्दो हो त? के अब पनि ऊ साइनुलाई बोकेर उसैगरी फ्याँक्दो हो पोखरीमा? नजीबमा अब जीवन बाँकी पनि छ?
हाय! यो पीडा ... नजीबबाट निर्जीव हुनुपर्दाको यो दुखाइ!
Shares
प्रतिक्रिया