यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा नयाँ बलिउड सिनेमा 'ब्याड न्युज' प्रदर्शनरत छ। बिलकुलै अनौठो विषयलाई लिएर बनाइएको यो रोमान्टिक कमेडी फिल्मका लागि विक्की कौशलको डान्स नम्बर 'तोबा तोबा' ले दर्शकहरूको माहोल तताउने काम गरेको त स्पष्ट छँदैछ। तर, गीतले जस्तै फिल्मले पनि दर्शकको माहोल उत्तिकै तताउन सक्ला त? प्रश्न यहाँनेर छ।
साथै, ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई एडल्ट कमेडी ड्रामाको रूपमा पूर्मानुमान गर्ने दर्शकको अपेक्षालाई समेत फिल्मले कति पोषित गर्छ? या गर्दैन? त्यसको हिसाबकिताब पनि हुने नै छ। अहिलेलाई भने, आनन्द तिवारी निर्देशित यही फिल्मका आधारभूत पक्षहरूको चर्चा गरौँ।
कथा
विवाहयोग्य उमेर भइसकेपछि विवाहको प्रेसर आउनु कुनै नौलो कुरा होइन। मिराकी अवार्ड पाउने सपनामा दत्तचित्त 'सेफ' सलोनी बग्गालाई पनि उसकी आमा हरेक समय सम्भावित ज्वाइँ खोजिदिएर दिक्क पार्छिन्। तर, एउटा विवाहको माहौलमा सलोनीले अचानक अखिल चड्डालाई भेट्छे। यो चुलबुला र चटपटा केटो, चड्डाको स्वाएग देख्दा सलोनीलाई पनि 'विवाह त्यति धेरै पनि दिक्कलाग्दो कुरा होइन कि?' जस्तो लागिदिन्छ। हतारमा माया बस्छ, हतार हतारमै विवाह हुन्छ। हतार हतारमै हनिमुन रवाना पनि हुन्छन्।
तर, हनिमुनबाट फर्किँदा सलोनी पुन: दिक्क भएर फर्किन्छे। खैर, भर्खर भर्खर जोडिएको वैवाहिक बन्धनलाई उसले समय दिएर हेर्न खोज्छे- कतै ठीक भई पो हाल्छ कि? तर, ठीक हुनुको बाबजुद अचानक सलोनीको दिक्दारीले चरम रूप लिइदिन्छ। दुईबीच दुईको परिधि नाघ्नेगरी नै, चर्कै झगडा पनि पर्छ। र फेरि पनि हतार हतारमै उसले 'डिभोर्स' लिने फैसला गर्छे। चड्डा पनि हतार हतारमै 'डिभोर्स' दिन तयार भइदिन्छ।
तर, सबै सम्बन्ध सजिला हुँदैनन्। कति अटेरी सम्बन्ध सकिइसकेर पनि सकिन मान्दैनन्। यी दुईको सम्बन्ध पनि अटेरी भएर निस्किदिन्छ। कागजमा सक्दैमा सकिन किन मान्दो हो? फेरि पनि, हतार हतारमा जे नहुनु थियो त्यो त भइसकिहाल्छ। बुझिहाल्नुभयो होला। अब सलोनीको पेटमा जम्ल्याहा सन्तान हुर्किरहेका छन् जसको आमा त पक्का नै सलोनी हो तर, बाबु? चड्डा होइन र? हो, चड्डा अवश्य नै हो तर चड्डा मात्रै होइन! यसपछि आउने जटिलतालाई सलोनी, चड्डा र 'द थर्ड पर्सन' ले कसरी सामना गर्छन्? यही प्रश्नको जवाफ नै फिल्मको कथा हो।
पटकथा
फिल्म भाँडो हो र कथा त्यसमा पाक्ने खानेकुरा हो भने पटकथा त्यही खानेकुरा पस्किने कला हो। कहाँ, कति मात्रामा के कुरा पस्किने र कसरी पस्किने? कुन पात्रले के खान हुन्छ, हुँदैन भन्ने ख्याल राखी कसलाई के दिने नदिने, कति र कसरी दिने लगायतका कुरा समेत पस्किने अर्थात् भान्छेकै हातमा हुन्छ। यति भन्दै आउनुस्, पटकथाभित्र चिहाऔँ।
खाना पकाउनुलाई सौख मात्र नभएर आफ्नो सपना सम्झिने पात्रमाथि लेखिएको यस फिल्ममा 'मिराकी अवार्ड'लाई कथाको मेरुदण्ड बनाइएको छ। त्यही अवार्ड प्राप्तिमा बाधा पुग्छ कि भनेरै कथाको सुरुवाततिर मुख्य पात्र सलोनी विवाह भन्नासाथ पाँच बित्ता पर उफ्रिन्छे। त्यही अवार्ड प्राप्तिमा बाधा ल्याएकै कारण नै उसले विवाह तोड्नेजस्तो ठूलो निर्णय गर्छे। त्यसो त, सलोनी मात्र होइन, उसँग जोडिएका दुवै मुख्य कलाकार खानासँग समेत अति गहिरोगरी जोडिएका छन्। तर, यस्तो बलियो जड अर्थात् मेरुदण्ड उर्फ् 'खाना'लाई पटकथा लेख्दा कमजोर पारिएको छ। किनभने, 'खाना'ले पाउनुपर्ने पोषण पटकथाले 'फिल्म'को भागमा पस्किदिएको छ।
फिल्मलाई कमेडी जनरामा फिट गराउन अन्य फिल्मका प्रसङ्गलाई बडो रोचक तरिकाले प्रयोग गरिएको छ। जसले मज्जा त दिन्छ तर, सोचौँ त त्यही मज्जा पटकथाकारले 'खाना' लाई प्रयोग गरेर दिन सकेको भए? सेफले पाउने सबैभन्दा ठूलो अवार्ड मिराकीको लागि मुख्य पात्रले सपना देखिरहेको भनिएको अवस्थामा कतै त्यसका लागि उसले गरेको संघर्ष, उसले दिएको समर्पण पनि पर्याप्त मात्रामा देखिन्थ्यो कि? जब कि, त्यसो नगरेर फिल्मी प्रसङ्गलाई हँसीमजाकको स्रोत बनाउँदा हाँसोकै बीचमा समेत पटकथामा केही खड्किएको महसुस दर्शकलाई सुरुदेखि अन्तिमसम्मै हुन्छ।
कतै पटकथा लेख्न बस्दा लेखकलाई पनि हतार त थिएन? जे होस्, हतारमा हुने लतारको गन्ध पटकथामा भेटिन्छ।
कथावाचन
खाना र पस्किने कलाको कुरा त भयो अब स्वाद र सुवासको पनि कुरा गरौँ। अर्थात् कथावाचनको।
कथावाचनलाई रोचक बनाउन फ्लासब्याकको प्रयोग गरिएको छ। त्यस हिसाबले फिल्म नन-लिनियर फ्लेवरमा बनेको छ। तर, खाँटी कथा जहाँबाट सुरु हुन्छ र जहाँ पुगेर खतम हुन्छ त्यो असली यात्रालाई मेनकोर्स मान्ने हो भने फिल्मको स्वाद एकदम लिनियर लाग्छ।
खैर, फिल्मलाई नन-लिनियर स्वाद दिनकै लागि जब अनन्या पाण्डे र फिल्मलाई मसालेदार तड्का दिनकै लागि नेहा धुपियाजस्तो रोडिज अनुहारलाई क्यामियोमा राखिएको छ भने तिनको भूमिकालाई क्यामिओ नै रहन दिएरै समेत अझै यथेष्ट र उत्कृष्ट प्रयोग गर्न सकिन्थ्यो कि?
मुख्य पात्र सलोनी आफैले आफ्नो कहानी सुनाउनुको साटो मुख्य पात्रको अति करिब भनेर बयान गरिएकी पात्र आन्टी मा करोनाले पो उक्त कथा सुनाएको भए? फिल्ममा भनिएजस्तो पात्र-पात्रबीचको घनिष्ठता दृश्यमा अझै निखारिएर आउँथ्यो कि?
मा करोना- जो सुरुवातदेखि अन्त्यसम्म पनि सलोनीको साथमा हरहमेसा थिई, सलोनी होसमा हुँदा उसलाई हिम्मत दिने, सल्लाह दिने र सलोनी बेहोसिँदा पनि माहोल नियाल्ने उही थिई। तर, (यदि ऊ नेहा धुपियाकै फ्यान होइन भने) दर्शकले यस पात्रको उपस्थितिलाई फिल्मको अन्त्यसम्म आइपुग्दा बिर्सिसक्नेछ।
सलोनीले नै आफ्नो कथा सुनाउँदै गर्दा कति किस्सा यस्तो पनि सुनाइरहेकी छ जुन आफ्नै आँखाले देख्नका लागि ऊ होसमै पनि थिइन। र यस्तो परिस्थितिमा उसकी साथीजस्ती 'मोडर्न आन्टी' मा करोनालाई नै कथावाचनको जिम्मेवारी दिइनु विश्वसनीयताको हिसाबले पनि पक्कै एउटा राम्रो विकल्प हुनसक्थ्यो।
र जब मुख्य पात्र सलोनीमाथि फिल्म बन्ने भइसकेको नै छ र सिनोप्सिस सुनाइँदै पनि छ, तब कमेडीको साथसाथै विचार पक्षलाई पनि उत्तिकै बलियो बनाउन बीचबीचमा मिसेज चड्डाले नवविवाहित जोडीलाई दस्तक दिएजस्तै फ्लासब्याक स्टोरीटेलिङलाई पनि अनन्या पाण्डेले वर्तमानको दस्तक दिँदै गर्नुपर्थ्यो कि? पाण्डेले कथावाचक उर्फ सलोनीलाई त्यस्ता प्रश्न सोध्न सक्थिन् जुन दर्शक वा समाजले त्यस्तो विशेष पात्रलाई पर्दापछाडि सोध्छन्। पाण्डेले आम मानिस या समाजलाई प्रतिनिधित्व गर्न सक्थिन् तर, पटकथाकारले उनलाई खाली एउटा विज्ञापनको उपाय मात्र बनाएर उभ्याइदिएको छ।
र त्यसो गरेको भए, लिनियर र नन-लिनियरको द्विविधाग्रस्त सीमामा फिल्म आधा काँचो र आधा पाकेको अवस्थामा नभएर बरु पूर्ण रूपमै पाकेको हुनेथियो। अर्थात्, निर्धक्क नन-लिनियर!
पात्र
फिल्मको केन्द्रीय पात्र सलोनी बग्गा आफ्नो सपनाको लागि विवाह गर्न हिचकिचाउँछे र विवाह भइसकेपछि समेत त्यही सपनाका लागि विवाह तोड्छे। तर, उसको सपना उसका लागि कति महत्त्वपूर्ण छ यो उसका संवादले मात्र बताउँछन्। दृश्यमा उसका कुनै पनि क्रियाकलापले उसको सपनाको महत्ता र घनत्त्व महसुस गराउँदैनन्। पात्र र उसको सपनाबीचको यात्रा फिल्मले देखाउन नसक्दा बलिया संवाद र कुशल अभिनयका बाबजुद समग्र पात्र नै अधुरो महसुस हुन्छ।
खैर, विवाह या घरजम बसाउनुसँग डराउने यस पात्र फिल्मको अन्त्यसम्म त्यसका लागि पूर्णरूपमा तयार हुनुले पात्रलाई एउटा सकारात्मक वृत्त भने दिएको देखिन्छ।
केन्द्रीय पात्रपछिको मुख्य पात्र अखिल चड्डा जो आफूलाई 'सब दो बड्डा' ठान्छ अर्थात् आफ्नो कमजोरी देख्न सक्दैन, फिल्मको अन्त्यसम्म आइपुग्दा उसलाई आफू 'सब दो बड्डा' होइन रहेछु भन्ने महसुस हुन्छ र कमजोरी सुधार्नतर्फ लाग्छ। यसरी हेर्दा यस पात्र पनि एउटा स्पष्ट र सकारात्मक पात्रवृत्त बोकेर उभिएको छ।
यो पात्रको सार्थकता कहाँनेर भेटिन्छ भने पात्रवृत्तले उसको त्यस्तो बानीलाई यस्तो बानीमा बदल्दै गर्दा समेत उसको स्वभाव भने फेरिँदैन। अल्लारेबाट जिम्मेवार बन्दै गर्दा पनि जसरी उसले आफ्नो मजाकिया मिजासलाई उत्तिकै कायम राख्न सकेको छ, त्यसले चड्डा एउटा सार्थक र स्पष्ट लेखिएको पात्र भएको बुझ्न सकिन्छ।
अब कुरा गरौँ 'कबाबमा हड्डी' उर्फ् गुरवीर पन्नुको। पात्रको परिचय दिँदा यसरी दिइन्छ कि ऊ चड्डाजस्तो कुनै अल्लारे केटो होइन। ऊ एउटा समझदार युवक हो जो हरेक कुरालाई सोचेर-सम्झेर परिपक्वतासाथ पूरा गर्छ। एउटा भव्य र स्तरीय होटेलको संस्थापक परिपक्व त हुने नै भइहाल्यो। तर, जसै कहानी अघि बढ्छ उसको परिपक्वता मानौँ गुच्चा खेल्न जान्छ र चड्डाको भन्दा ठूलो हिस्सामा उसको बचपना बाहिर निस्किन्छ। यसले फिल्मलाई जनरामा फिट गराउन कमेडी उत्पादन त राम्रैसँग गर्छ तर पात्रको चरित्रलाई स्पष्ट बन्न भने दिँदैन।
र आफ्नो बच्चाको लागि रोईकराई हानाथाप गरिहिँडेको यो पात्र परिस्थितिमा आउने एउटा सानो परिवर्तनले आफू कसैको बाबु हुँ भन्ने पनि बिर्सिदिन्छ। त्यसो त पन्नुजस्ता अवसरवादी मान्छे समाजमा नभेटिने होइनन्। तर, पन्नुले त्यो निर्णय यति हतारमा गरेकै हो त? आँखा झिमिक्क गर्दा कसरी कोही आफ्नो सन्तानलाई बिर्सिनसक्छ।
अनि, पन्नुसँगै देखिने नयाँ (कि पुरानो?) पात्रको हकमा कोही आँखा झिमिक्क गरिसक्दा कसैको सन्तानलाई आफ्नो बनाउने निर्णय कसरी गर्नसक्छ? अति नै हतार भएन र?
अभिनय
अभिनयको कुरा गर्नुपर्दा अन्विता दत्तको 'बुलबुल' मा रहस्यमयी र 'कला' मा गम्भीर भूमिकामा देखिएकी तृप्ति डिम्रीले यस कमेडी ड्रामामा एउटी चुलबुली पात्रको चरित्र निभाएर आफ्नो भर्सटायल अभिनय क्षमता प्रमाणित गरेकी छन्। 'बुलबुल चौधरी' र 'कला मन्जुश्री'को मात्र नभएर झण्डैझण्डै नजिक ठानिएको 'एनिमल'की 'भावी टु' उर्फ 'जोया रियाज'को समेत 'ब्याडन्युज' कि सलोनीमा कत्ति पनि छायाँ भेटिँदैन। सलोनीमा त्यसो त तृप्ति आफै पनि छैन तर, तृप्तिकै कारण सलोनीको चरित्र यादगार भने पक्कै बनेको छ।
अनुराग कश्यपको 'मसान' देखि मेघना गुलजारको 'सामबहादुर'सम्म अभिनयको अद्भुत कौशल देखाइसकेका विक्की कौशलले पनि अखिल चड्डाको चरित्रमा प्राण भरेका छन्। अथवा भनौँ कौशलले आफूलाई बिलकुलै खाली गरेर त्यसभित्र अखिल चड्डाको प्राण हुलिदिएका छन्। खुसीले उफ्रिँदै 'बच्चा मेरा ही है और किसका होना है?' भनिसकेर जसरी र जुन गतिमा चड्डाको अनुहारको रङ फेरिन्छ त्यस बदलावमा महसुस हुने प्राकृतिकता वा स्वाभाविकताले विक्कीको कार्यकौशलको परिचय दिन्छ।
गुरवीर पन्नुको भूमिकामा एमी बर्कले पनि प्रसंशनीय काम गरेका छन्।
क्यामिओमा अनन्या पाण्डे, नेहा धुपिया लगायतका कलाकारको अभिनय पनि सन्तोषजनक नै लाग्छ।
कला पक्ष
त्यसो त कमेडी फिल्मले संवादलाई विशेष प्राथमिकतामा त राख्ने नै भयो। यस फिल्मले पनि जनरामा फिट हुनका लागि संवादमा भरपूर ह्युमर त हालेको छ नै। ह्युमर आफैमा पनि एउटा कला त हुँदै हो तर, अतिरिक्त मेहनत गरेर संवादमा पनि इलिइज्मको प्रयोग हुनु फिल्मको कलात्मक पक्ष हो। जस्तो कि, कतै 'ज्यादा पर्सनल न हो' जस्ता संवाद त कतै 'कट्रिना कैफ'लाई 'भाउजू' भनेर सम्बोधन गर्नुले फिल्मको ह्युमरमा कलात्मकता थप्ने काम गरेको छ।
त्यसो त आमा चड्डाले घरीघरी नवविवाहितलाई सुविधा टक्र्याउने निहुँमा दिएका चिजबिजले दृश्य वा संवादमार्फत् भन्न नसकेको कुरा बिम्बात्मक रूपमा भन्ने काम गरिदिएको छ।
साथै, फिल्ममा सबैभन्दा कलात्मक प्रयोग पोसाक चयन र त्यसको रङ संयोजनमा भएको देखिन्छ। फिल्मको सुरुवातमा रङ्गीन वस्त्रमा देखाइने पात्रहरूलाई कहानी गम्भीर हुँदै जाँदा अन्तिमसम्ममा सादा र तटस्थ रङका वस्त्रमा देखाइएको छ। त्यस्तै, हनिमुनका दृश्यमा पनि अखिल र सलोनीले एउटा विन्दुसम्म रङ मिलाएर लुगा लगाएका छन्। तर, जब उनीहरूबीच मनमुटाव हुन सुरु हुन्छ तब उनीहरूले लगाउने लुगाको रङ पनि एकअर्कासँग मानौँ बाझिरहेका हुन्छन्।
विचार पक्ष
जाँदाजाँदै, पुरुषले बहुविवाह गर्नुलाई सामान्य मानिने पितृसत्तात्मक समाजमा एकै समय दुई पुरुषका सन्तानलाई आफ्नो गर्भमा हुर्काइरहेकी नारी पात्रलाई केन्द्रमा राखी कथा भन्नु नैतिक-सामाजिक रूपमा एउटा चुनौतीपूर्ण काम हो। तर, त्यस चुनौतीलाई फिल्मले चतुर्याइँपूर्वक सामना गर्न सकेको छ। पक्कै पनि, चरित्र वा नियत खराब भएकै कारण यस नारी पात्र त्यस परिस्थितिसम्म पुगेकी त होइन। यद्यपि, चरित्र खराब नहुँदानहुँदै पनि त्यस वा त्यस किसिमका परिस्थितिमा पुग्नु उचित हो कि होइन त? वा कसरी पुगिन्छ? नपुग्न के गर्न सकिन्छ? भन्ने विषयमा भने चर्चा गर्न वा बहस छेड्न सकेको छैन।
जाँदाजाँदै, हतारमै सुरु भएर हतारमै सकिएको यस फिल्म हँसीमजाक गर्ने क्रममा विचारको खाडलमा खस्न पुगेको छ। सायद, नयाँ कुरा पस्किने उत्साहमा फिल्मका लेखकद्वय इशिता मोइत्रा र तरुण दुडेजाले विषयको उठान हतारहतारमा गरे र फलस्वरूप विषयको बैठान हुन सकेन। बरु विषय कतै विचारको खाडलमा उस्तै हतारले खस्न पुग्यो।
Shares
प्रतिक्रिया