यतिबेला तमिल सिनेमा 'महाराजा'ले ओटीटी सिनेबजारमा व्यापक चर्चा बटुलिरहेको छ। तमिल फिल्म निर्देशक निथिलन स्वामीनाथनको यस फिल्मले यत्तिको चर्चा पाउनुको मुख्य कारण हो- यसको स्टोरीटेलिङ!
खैर, एक्सन-थ्रिलर भनेर प्रचार गरिएको भए पनि फिल्म हेरिसकेपछि दर्शकले यसलाई सस्पेन्स-थ्रिलर जनरामा देख्न रुचाउनेछन्। एक्सनका केही दृश्यहरूले दर्शकभित्रको बीभत्स रस पक्कै उम्लिन खोज्ला तर फिल्मको सुरुवातदेखि अन्तिमसम्म बराबर कायम रहन सकेको फिल्मको सस्पेन्स नै हो।
त्यसो त फिल्ममा एउटा मात्रै सस्पेन्स छैन। स-साना छन् तर धेरै सस्पेन्स छन् जसलाई फिल्मले आरामसँग एकपछि अर्को गर्दै खोल्दै जान्छ। कथावाचनको यही काइदाले दर्शकमा थ्रिल पैदा गर्छ। साथै, अन्तिमसम्म बाँधेर राख्ने काम पनि यसैले गर्छ। तसर्थ, यो एक्सन-थ्रिलर भन्दा पनि सस्पेन्स थ्रिलर सिनेमा हो।
दक्षिण भारतीय अभिनेता विजय सेथुपतिको पात्र 'महाराजा' घरबाट 'लक्ष्मी' हराएको उजुरी लेखाउन प्रहरी चौकी पुग्छ। लक्ष्मी अर्थात् फोहोर फ्याँक्ने बाल्टी, जो आफै पनि कुच्चिएर झण्डै फोहोर भइसकेको छ! छैन त हास्यास्पद? प्रहरीहरूलाई उसले आखिर के सम्झिएको छ? यस्तै, व्यङ्ग्यबाट सुरु भएर फिल्म एउटा विडम्बनामा पुगेर अन्त्य भएको छ। फिल्मको अन्त्य त फिल्म हेर्न सुरु गरे पक्कै थाहा लाग्ला। जे होस्, यसरी दर्शक हँसाउँदै सुरु भएको कथावाचनले आफ्नो आवाज, लवजलाई गम्भीर बनाउँदै लैजान्छ। दर्शकलाई तब हाँसोपछि शंका, वितृष्णा, डर हुँदै घिन लागिदिन्छ।
तर, यो बसाइमा हामी कथावाचनको भन्दा पनि पात्रहरूको कुरा गर्नेछौँ। निर्देशक निथिलनले पात्रको चरित्र निर्माण गर्न प्रयोग गरेका केही हिंस्रक जीव-जन्तुहरूका कुरा गर्नेछौँ।
चिल
फिल्मको मुख्य पात्र 'महाराजा' एउटा मामुली हजाम हो। यसका बाबजुद ऊ फिल्मको नायक हो- राजा हो।
त्यसैले, निथिलनले यस पात्रलाई राजाजस्तै बनाउन उसलाई चराहरूको राजा अर्थात् 'चिल'को चरित्र दिएका छन्। उसको हेराइ! ऊ आफ्नो सामुन्नेकै मान्छेलाई पनि यसरी हेर्छ मानौँ ऊ परसम्म देखिरहेको छ। मानौँ, आम मान्छेले ५ फिटको दूरीबाट देख्ने कुरा ऊ २० फिटको दूरीबाटै देख्नसक्छ। कार पार्किङको बिल हेरेर ऊ कारको मालिकसम्म पुगिदिन्छ।
चिलको अर्को एउटा खासियत के हो भने यो सामान्य चराहरूजस्तो निरन्तर पखेटा फटफटाउँदैन। थोरै फटफटाहटपछि ऊ चुपचाप हावामा तैरिरहन्छ। शक्ति सञ्चय गरेर राख्न चिल सिपालु हुन्छ। फिल्ममा महाराजाको चरित्र पनि यस्तै छ। प्रहरीहरू उसको खिसी गर्छन्, मजाक उडाउँछन्, हात उठाउँछन्, नोकर समेत बनाउँछन्। तर, हावामा सित्तैमा तैरिन सकुन्जेल ऊ पखेटा फटफटाउनेवाला छैन। शक्ति खर्चिनेछैन।
साँच्चै, अर्को सामान्य तर महत्त्वपूर्ण गुण के हो भने चिलहरू सिकारमा एक्लै निस्किन्छन्, जसरी महाराजा निस्किएको छ। चिलको कुरा सकिएको छैन तर, अहिले लागौँ ब्वाँसाहरूतर्फ।
ग्याङ्स अफ उल्भ्स
ग्याङ्स अफ उल्भ्स अर्थात् सेल्बम र उसको टोली। हो, अनुराग कश्यपको पात्र सेल्बमलाई निथिलनले ब्वाँसोको चरित्र दिएका छन्। ब्वाँसो- त्यस्तो जंगली जन्तु जो सिकार गर्न सधैँ आफ्नो एउटा झुण्डमा निस्किन्छ। जसरी सेल्बम पहिला निस्किन्थ्यो सबरी र धनासँग। र अचेल निस्किन्छ नल्ला र धनासँग।
तर, फिल्ममा खलनायक देखिएको सेल्बमले ब्वाँसोबाट एउटा अनुकरणीय चरित्र पनि पाएको छ। त्यो हो उसको परिवारप्रतिको स्नेह र प्रेम। बाहिरी दुनियाँलाई जंगली पारामा लुछ्ने, लछार्ने ब्वाँसोले आफ्नो परिवारलाई भने अथाह माया गर्छ। सेल्बम पनि आफ्ना छोरी र पत्नीलाई अथाह प्रेम गर्छ।
अनि, सेल्बम र उसको टोलीजस्तै ब्वाँसाहरू पनि सधैँ रातको अँध्यारोमै त सिकार हिँड्ने गर्छन्।
साँप
महाराजा चिल र सेल्बम ब्वाँसो हो भने साँपहरू को हुन् त? साँपहरू पनि तिनै हुन्- सेल्बम र उसका टोली। त्यसो त फिल्ममै पनि त सर्पलाई दुईपटक, दुई स्थानमा महत्त्वका साथ देखाइएकै छ। तर, चिललाई सिकार गर्न सहज होस् भनेर मात्रै भर्खरैसम्म ब्वाँसो बनाइएका सेल्बम र उसको टोलीलाई सर्प बनाइएको भने होइन।
खासमा सेल्बम केबल आफ्नो नजरमा ब्वाँसो हो। सेल्बमलाई लाग्थ्यो ऊ र उसका चोर साथीहरू आफ्नो परिवारका लागि चोरी, डकैती गर्छन्। तर, महाराजाले सेल्बमलाई ब्वाँसो देख्दैन। महाराजाको नजरमा ऊ केवल एउटा विषालु निर्मम सर्प हो जसलाई आफ्नै सन्तानप्रति समेत ममता पलाउँदैन। हुन पनि, बेस्सरी भोकाउँदा आफ्नै अण्डा खाइदिन्छु कि भनेर सर्प आमाहरू अण्डा पार्नासाथ छोडेर हिँड्ने गर्छन्। महाराजाको नजरमा सेल्बम त्यही निर्मम सर्प हो।
एउटा सर्प जो महाराजाको घरभित्र देखिन्छ तर, उसलाई केही पनि गर्दैन। उसलाई केही नगरे पनि उसको निद्रा बिथोल्ने केही काम त पक्कै गरेको थियो। त्यो सर्प हो
सेल्बम! अर्को चाखलाग्दो कुरा के पनि छ भने, जसरी चिलले सर्पको सिकार कहिल्यै पनि जमिनमा बसेर गर्दैन, महाराजाले पनि सेल्बमलाई निकै माथि पुर्याएर मात्रै पिटेको छ। भवनको सायद सबैभन्दा माथिल्लो तल्ला? जे होस्, टेक्ने भुइँ नपाएपछि सर्पसँग चिलको अघि घुँडा टेक्नुको विकल्प रहन्न।
अर्को सर्प जो प्रहरी चौकीभित्र भेटिएको थियो, त्योचाहिँ को हो? यत्ति भनौँ, ऊ महाराजाले सुरुदेखि खोजिहिँडेको पिठ्युँमा कान भएको चोर हो! सायद, सेल्बमभन्दा पनि बिखालु?
कोइली
फिल्ममा चिल मात्र होइन, कोइली पनि छ। कोइली अर्थात् त्यस्तो चरा जसले सर्पको डरले आफ्ना अण्डा कागको गुँडमा लगेर लुकाइदिन्छ!
तर, कोइली चिन्ने जिम्मा भने दर्शकहरूकै!
Shares
प्रतिक्रिया