क्यूएफएक्स लगायत देशभरका हलहरूमा यतिबेला निर्देशक अनिल बुढा मगरको नयाँ नेपाली चलचित्र 'घरज्वाइँ' प्रदर्शन भइरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्ममा निर्देशक मगरले मगर संस्कृतिकै वरिपरि रहेर एउटा निश्चित संस्कृति र सीमित भूगोलको सीमा नाघेर परसम्म (विश्वव्यापी) फैलिएको विषयवस्तुमाथि कथा भनेका छन्। त्यस्तो विस्तृत विषयवस्तु आखिर के होला त?
आउनुस्, यही विषयवस्तुको चर्चा गर्दै फिल्मका अनेक पत्रहरू पल्टाऔँ।
कथा
सहर बसेर पढी उतै बैँस बिताइबसेको सोरो बुढा मगर- जो अति नै सोझो छ। आफूले केटी जिस्क्याउनु त परको कुरा आफूसँग जिस्किन आउने केटीसँग 'लहै लहै' गर्न पनि ऊ जान्दैन। यस्तो सोझो सोरो बाबु-आमाको केस र सास दुवै फुल्न थालेपछि दाङबाट रुकुमको तक्सार गाउँ पुगेको छ।
भद्र भान्जोलाई ज्वाइँ बनाउँला भनी मख्ख परेका मामाले उसका लागि शिक्षकको जागिर पनि मिलाइदिन्छन्। तर, स्कुलको मैदानमा अर्कै गाउँले मामाकी छोरीसँग सोरोको आँखा जुध्छ। बिस्तारै, प्रेम पनि बस्न भ्याउँछ। तर, आफ्नो प्रेमलाई धार दिन सोरोले आफ्नो स्वाभिमान दाउमा राख्नुपर्ने दिन आउँछ। प्रेमलाई विवाहमा बदल्न उसले अब एक महिना घरज्वाइँ बसी ससुरा रिझाउनु छ।
पटकथा
यस दौरान फिल्म सांस्कृतिक स्वादमा सांगीतिक बन्न पुगेको छ। यो मीठो कुरा हो। तर, जसरी एकोहोरो गोरेटो बाटोमा मोडैपिच्छे भेटिने पीपल र खरी बोटका चौताराहरूले यात्रुलाई उत्तिकै दूरीको बाटो पनि कहिल्यै नसकिएलाझैँ लामो महसुस गराइदिन्छ, त्यसरी नै एउटा गीतको पछि लागेर अर्को गीत झट्टै आइहाल्नुले पहिलो हाफमा दर्शकलाई अधैर्य बनाउन सक्छ। कतै कथा भन्ने बहानामा गीतै गीतमा फिल्म सक्किने त होइन!
तर, दोस्रो हाफमा दर्शकको धैर्य फर्किन्छ। किनभने, यतिबेला गीतको रफ्तारलाई कथाकै रफ्तारले उछिन्छ। त्यसो त अन्दाज लगाउन नसकिने घटना घटेका होइनन्। घरज्वाइँको नदेखे पनि बुहारीहरूको कथा नौलो होइन। र त्यो ज्ञानले पनि घरज्वाइँको कथालाई अनौठो बन्न दिँदैन। यद्यपि, पटकथाको बलियो हतियार अर्थात् द्वन्द्वको बुनाइले दर्शकलाई बाँधेरै राखिरहनेछ।
कथावाचन
भनिहालियो, यस फिल्मको कथा बाटो हो भने पटकथा गोरेटो हो। र यो गोरेटोबाट गाडी अघि बढ्छ तर पछाडि फर्किएर जाँदैन। अर्थात् फिल्मले भुइँको अर्गानिक कथालाई अग्रगामी (लिनियर) शैलीमा उत्तरोत्तर वाचन गरिरहेको छ।
सामाजिक यथार्थलाई त्यसो त अतियथार्थवादको ऐनामार्फत् पनि देखाउन सकिन्छ। तर, वृत्तचित्र बनाउँदै आएका निर्देशक मगरले यथार्थलाई यथार्थवादकै ऐनामार्फत् देखाएका छन्। कथावाचनमा कतै कलात्मकताको आवाज पनि भेटिन्छ। तर, त्यसको आवाज पनि अर्गानिक नै लाग्छ।
त्यसो त व्यङ्ग्य (सटायर) र विडम्बना (आइरनी)बीचको अन्तर निकै मिहीन हुन्छ। तर, कतैकतै खप्टिँदै देखिए पनि पटकथाका अधिकांश ठाउँहरूमा व्यङ्ग्यभन्दा विडम्बना नै ज्यादा देखिन्छ। र यही कारणले पनि फिल्मलाई यथार्थवादी हुन यथेष्ट स्थान मिलेको देखिन्छ। यसैकारण पनि निर्देशकले दर्शकलाई हँसाउनभन्दा पात्रहरूले आ-आफ्नो स्थानमा गरेको संघर्षलाई महसुस गराउन गरेको मिहेनत टड्कारो देखिन्छ।
पात्र
पात्रको पत्र पल्टियो। सोरोबाटै सुरु गरौँ। घरज्वाइँ उर्फ कथाको शीर्ष पात्र! तक्सारको ढुङ्ग्यान ओरालीमा पढेलेखेको सोरो तल फाँटतिर गाईवस्तु ओराल्दैछ। सहरको आदत उसमा अवश्य होला तर, गाउँप्रति वितृष्णा उसमा देखिँदैन। आफ्नो अवस्थासँग उसलाई न असन्तुष्टि छ न विरोध। आफ्नो जीवनलाई लिएर सायद ऊ निस्सार छ। र त उसकी साली उर्फ मामाकी छोरीले उसलाई टोलाइरहेको भेट्छे। निस्सार यस पात्रले जीवनको सार त्यही गाउँमै भेट्छ। यसका बाबजुद, प्रतिक्रिया समेत दुर्लभ जनाउने उसमा विरोध कहिल्यै भेटिँदैन।
सुरुदेखि अन्त्यसम्मै नम्र सोरोको पारिस्थितिक पात्रवृत्तिलाई सकारात्मक मान्न सकिन्छ तर, उसको चरित्र भने सधैँ तटस्थ देखिन्छ।
सोरोको सार अर्थात् बिन्जुरी कथाको मियो पात्र हो। अन्य पात्रहरू उसकै वरिपरि घुमिरहेका भेटिन्छन्। जसरी स्वेटर बुन्न धागो र सुइरोपछि पहिलो घर चाहिन्छ- बिन्जुरी घरबुना स्वेटरको त्यही आधारभूत घर हो। दर्शकका लागि एउटी सशक्त नारी पात्र र फिल्मका लागि केन्द्रीय पात्र।
त्यस्तै, फिल्मलाई सांस्कृतिक धार दिने पात्र हुन्- सम्झना र चैते। मगर समुदायमा मामा चेली (साली) र फुपू चेला (भेना)बीच विवाहको हक लाग्ने संस्कृति देखाउन र बुझाउन यी पात्रहरूको उपस्थितिले तिक्खर (चखिलो) भूमिका खेलेको छ। चौकोणात्मक प्रेम सम्बन्ध पकाइँदै गर्दा यी पात्रले मसालेदार काम गरेका छन्। जुन रोचक र सान्दर्भिक पनि लाग्छ।
साथै, फिल्मको अन्त्यसम्मै एकनासले देखिइरहने चैतेको भूमिकालाई त अर्को तरिकाले पनि तिक्खर (धारिलो) मान्न सकिन्छ। उसैका कारण सोरो र बिन्जुरीको सम्बन्धले जटिल मोड लिइदिन्छ र कथाले एउटा द्वन्द्व भेटाउँछ। यस हिसाबले हेर्दा सम्झना र चैते कुनै धारिलो चक्कुका दुई धार हुन्। एकापट्टिको भुत्ते धार सम्झना हो भने अर्कापट्टिको छुरा धार हो चैते!
अब कुरा गरौँ ससुरा उर्फ दानबहादुर पुन मगरको। पात्रको धेरैथोरै चरित्र त उसको नाम स्वयंले पनि भनिदिएकै छ। सम्पत्तिको लोभ लालच उसलाई छैन। यति दानी छ कि एक्ली छोरीको बाबू ऊ घरज्वाइँ बस्न तयार हुनेलाई आफ्नो सम्पत्ति सर्लक्कै दिन पनि तयार छ। तर, त्यसमा पनि उसको अर्को एउटा सर्त छ- केटो आफूजस्तै बहादुर हुनुपर्यो! बलियो-बाङ्गो हुनुपर्यो। पर्यो भने गोरुझैँ जोतिएर पनि नथाक्न सक्नुपर्यो। बँदेलको सिकार गर्न सक्नुपर्यो। आँटिलो-ठाँटिलो-रवाफिलो चाहियो!
कमेसकम छोरो मान्छे अर्थात् पुरुषको 'मर्दाङ्गी' उसलाई बहादुर र बलियो-बाङ्गो हुनुमा छझैँ लाग्छ। जो पुरुष सिकार खेल्न जान्दैन, मुढो उचाल्न सक्दैन, गोरु जोत्दा थाकेर लखतरान हुन्छ त्यो नामर्द हो- यो मानसिकता बोकेर समाजसँगसँगै हिँड्छ दानबहादुर।
र पात्रवृत्तिका आधारमा हेर्ने हो भने 'घरज्वाइँ'को प्रमुख पात्र नै 'ससुरा' उर्फ दानबहादुर हो। जसले पुरुषको मर्दाङ्गीलाई पुन: परिभाषित गरिदिएको छ। परिष्कृत गरिदिएको छ। अथवा भनौँ, उसको चरित्रले एउटा सकारात्मक कोल्टे फेरेको छ।
प्रविधि
फिल्ममा क्यामराको काम सुन्दर लाग्छ। पहाडका चट्टानजस्तो (दृश्यमा) एकठ्ठिएर र (अन्तर्यमा) एकअर्कालाई भर दिएर बसेको ढुङ्ग्यान मगर बस्ती अनि टाढाटाढासम्म फैलिएको फाँट र भञ्ज्याङका दृश्यले मगर समुदायको भूगोल र जीवनशैलीको विशेषतालाई चित्रमार्फत् देखाइएको काम प्रशंसनीय लाग्छ।
वाइड एङ्गल र क्लोजअप सटहरू घटनाको महत्ता र पात्रको मनोदशा हेरी लिइएको देखिन्छ। क्लाइमेक्समा बाबु पात्रको अनुहारमा देखिएको छटपटी र अन्तर्द्वन्द्वलाई क्यामराले नजिकबाट लिएको दृश्य उदाहरणीयमध्ये एक हो।
मगर समुदायको मर्दा र पर्दा सिङ्गो गाउँ भेला हुने संस्कृतिलाई समेत क्यामराले विभिन्न फ्रेमभित्र अटाउनु उल्लेखयोग्य काम हो। फिल्मको यथार्थवादी धारलाई प्राकृतिक रंङ संयोजनले अझै निखार्न सहयोग गरेको प्रतीत हुन्छ। यस्तै, अतिरिक्त ध्वनि नहुनु र भएका ध्वनी सन्तुलित र घटनाहरूसँग लयबद्द लाग्नुले फिल्ममा सौन्दर्य थप्ने काम गरेको छ।
अभिनय
सोरोको भूमिकामा दयाहाङ राईको काम जीवन्त लाग्छ। अन्य फिल्ममा भन्दा यस फिल्ममा मिरुना मगरको संवाद सम्प्रेषण प्राकृतिक महसुस हुन्छ।
दानबहादुरको भूमिकामा शिशिर वाङ्देल पर्फेक्ट कास्टझैं लाग्छन्। सदाझैं कडक लवजमा बोल्ने पात्रकै भूमिका निभाइरहँदा पनि यसपटक उनको अभिनयले गहिराइको अर्को एउटा पत्र छिचोलेको हो कि? यसो भन्न सकिन्छ, लेयर्ड चरित्रको अन्तर्द्वन्द्वलाई आँखाको भाव र गलाको रोहअवरोहमार्फत् पस्किएर वाङ्देलले अभिनय क्षमताको प्रदर्शनका लागि चरित्रको जटिलताले समेत महत्त्वपूर्ण भूमिका खेल्ने कुरा स्मरण गराएका छन्।
सधैँजस्तै व्यङ्ग्यविनोदमै देखिए पनि डम्मरेको भूमिकामा बुद्धि तामाङ यसपटक पृथक लाग्छन्। दुवै नै हँसाउने पात्र भएता पनि डम्मरेमा उनको चिरपरिचित पात्र 'हैट' मिहेनत गरेरै खोज्दा पनि फेला पर्दैन।
सम्झनाको भूमिकामा अनु थापाको काम थोरैमा नै पर्याप्त लाग्छ। ठिक्क, ट्वाक्क! भेनाको रगत पुछिदिँदै फ्याँकेको त्यो कर्के नजरले 'सम्झना' बनेकी अनुलाई सम्झाइरहनेछ।
निर्देशकीय पक्ष
सन् २०२१ मा वृत्तचित्र 'आग्रे' बनाएर पाउ दरिलो पारेका भए पनि निर्देशक मगरले त्यसो त सिनेमा क्षेत्रमा आख्यानमार्फत् नै प्रवेश गरेका हुन्। सन् २०१२ को 'लोम्बा' नामक सर्ट फिल्म उनको पहिलो फिक्सन सिनेमा थियो। र यो बाह्र वर्षको अन्तरालमा वृत्तचित्र निर्देशनको राम्रो अनुभव सम्हालेका उनको यस फिक्सन फिल्ममा आख्यानको काल्पनिकता र वृत्तचित्रको स्पष्टता मिसिएर आएको देखिन्छ।
गाउँले परिवेशमा सहरिया पात्रको अस्पष्ट मनस्थितिलाई मगरले धुवाँले प्रतिबिम्बित गर्न खोजेका छन्। तर, धुवाँको स्रोत धुमिल छैन। अगेनोबाट धुवाँ आइरहेको देखिन्छ। र अगेनो धुवाँ निकाल्नैका लागि मात्र बलेको छैन।
चरी भरङ्ग हुँदा सोरो झसङ्ग भएको छ। तर, त्यो चरी संयोगवश आकाशमा उड्दाउड्दै उसको घरको झ्यालमा बस्न आइपुगेको छैन। चरीको गुँड छ घरमा। अर्थात् हरेक कुराको स्रोत छ, कारण छ, धरातल छ, पृष्ठभूमि छ।
फिल्ममा बन्दुक छ, त्यसको प्रयोग छ। तर, त्यसको प्रयोग द्वन्द्व चर्काउनका लागि मात्र भएको छैन। 'बन्दुक' लाई 'मर्दाङ्गी' को बिम्बका रूपमा पात्रले एउटा समयसम्म बुझ्ने गरेको छ। यसरी सतहभित्र अन्तर्यसमेत छ।
क्लाइमेक्सको कुरा गरौँ। त्यो एउटा चुनौतीमा त सोरोले बाजी मारेको देखाउन पनि त सकिन्थ्यो। त्यसो गर्दा अधिकांश दर्शक त निस्सन्देह नै खुसी हुने थिए। र बाँकीलाई पनि नेपाली सिनेमामा नाटकीयता स्वाभाविक नै लाग्ने थियो कि? तर, निर्देशक मगर स्टार अनुहारलाई नै 'हिरो' देखाउने होडमा देखिँदैनन्। पात्रले आफ्नो चरित्र छोड्दैन भन्नेमा उनी निर्धक्क भेटिन्छन्। बाबु र छोरीबीच भएको अन्तिम संवादलाई पनि क्लाइमेक्सको त्यही ट्विस्टले सार्थक तुल्याएको छ।
जाँदाजाँदै, हरेक छोरो मान्छे बलियो-बाङ्गो र बहादुर नै हुनुपर्छ भन्ने दानबहादुरको रुढी मान्यता परिवर्तन भएको छ। के पुरुषले तथाकथित 'मर्द' हुनैपर्छ? हात र हतियार उठाउन जानेकै हुनुपर्छ? के सबै र सधैँ पुरुषले चड्केरै बोल्नुपर्छ? के पुरुष मृदुभाषी हुन सक्दैनन्? या पाउँदैनन्? प्रेम, करुणा, समर्पणजस्ता नम्र स्वभाव बोकेर एउटा पुरुष, पुरुष भइरहन सक्दैन?
भलिबल खेल्ने, फुटबल खेल्ने महिलालाई आजको हाम्रो समाजले स्वीकार्न थालिसकेको छ। महिलाले केस छोटो राख्ने पछिल्लो समयको व्यापकताले सौन्दर्यको परिभाषालाई पुनर्व्याख्या गर्न घच्घच्याइसकेको छ। तर, आज पनि केस पाल्ने पुरुषले समाजले लफङ्गा र झल्लु देख्न छोडेको छैन। दाह्री-जुङ्गा कारणवश नपलाएका वा स्वेच्छावश नपालेका छोरा मान्छेलाई आज पनि कटाक्षपूर्ण नजरले हेर्छ समाज। स्वाभाविक रूपमै मीठो मधुर बोल्ने पुरुषको लैङ्गिकतामाथि प्रश्नचिह्न झुण्ड्याइन्छ। समाजले र पुरुष स्वयंले पुरुषमाथि 'मर्द' बन्ने नाममा थोपरेको अनावश्यक बोझ र समस्याग्रस्त मानसिकतामाथिको व्यङ्ग्यविरोध हो 'घरज्वाइँ'!
पुरुषले तथाकथित 'मर्द' र महिलाले तथाकथित 'सुशील' नै भइदिनुपर्ने समस्याग्रस्त सामाजिक मनोविज्ञानविरुद्ध सम्भवतः आजसम्म नेपाली सिनेक्षेत्र र अन्य कुनै पनि क्षेत्रले खुलेर उठाउन नसकिरहेको वा नचाहिरहेको विषयलाई 'घरज्वाइँ'ले उठाएर बहसको टेबलमा राखिदिएको छ।
अब यसलाई केलाउने जिम्मेवारी कसको हो? दर्शक, तपाईं भन्नुस्, आखिर पुरुष कस्तो हुनुपर्छ?
Shares
प्रतिक्रिया