ad ad

कला


किल : एक जवानको रक्त स्नान

किल : एक जवानको रक्त स्नान

श्रीजु सरल
असार २२, २०८१ शनिबार १७:१६, काठमाडौँ

शुक्रबारबाट क्यूएफएक्स लगायत देशभरका हलहरूमा 'किल' प्रदर्शनरत छ। उता नाग आश्विनको कल्की अलौकिक एक्सनको मज्जासहित दोस्रो साताको प्रदर्शनमा रहँदै गर्दा यता निखिल नागेश भटले अर्गानिक एक्सनको स्वादसहित सिनेबजारमा 'किल' ल्याएका हुन्।

त्यसो त फिल्ममा 'एक्सन हुनु' बाहेक यी दुई फिल्मबीच सायदै कुनै समानता होला। तर, नागको कल्की र नागेशको किलबीच कुन हेर्ने? अथवा पहिलाचाहिँ कुन हेर्ने? हिजोदेखि दर्शकहरूले आफैसँग यस्ता प्रश्न पक्कै नै सोध्न थालेका छन्। दुई भिन्न लोकका यी फिल्महरूको यस दसगजामा दर्शकले उभिनु त छँदैछ, अहिलेलाई भने ताजा विषयमै चर्चा गरौँ।

आखिर 'किल' भारतको आजसम्मकै सबसे निर्मम एक्सन थ्रिलर हो त? के एक्सन थ्रिलर जनरामा 'किल'ले उत्कृष्टताको हद पार गरेकै हो त?

कथा
फिल्म यदि गणित हुन्थ्यो त यसको कथालाई आँखा चिम्लिएरै कक्षा १ को हिसाब हो भन्न सकिन्थ्यो। एउटा कमान्डो जवान अरू कसैसँग विवाह तय भएकी प्रेमिकालाई जसैगरी आफ्नी बनाउन भनी प्रेमिकाकै इसारा पछ्याउँदै ट्रेन समात्छ तर, अपेक्षाविपरीत ऊ नरसंहारको सबैभन्दा ठूलो र मुख्य हिस्सा बन्न पुगिदिन्छ।

कसरी? यसको नालीबेली बेलिबिस्तारमा सुन्न मन लाग्यो कि? तर, निखिल नागेशलाई यसको बेलिबिस्तार लगाई बस्नु छैन। उनी झटपटसँग सर्टकटमा भूमिका बाँध्छन् र सिधै मुद्दामा अर्थात् फिल्मको जनरामा छिर्छन्- एक्सन! थ्रिलर! एक्सन! थ्रिलर! एक्सन? कति? थ्रिलर? कति?

खैर, एक्सन र थ्रिलरको हिसाबकिताब पनि गर्दै गरौँला। अहिलेलाई अर्को पाना पल्टाऔँ?

पटकथा
कुनै पनि फिल्मका लागि सबैभन्दा महत्त्वपूर्ण पाना हो- पटकथाको! फिल्म कुनै प्राणी हो भने कथा त्यसको शारीरिक बान्की हो। अनि पटकथा त्यसको पाटपुर्जीय संरचना! अथवा भनौँ त्यसको कारिगरी! कता कलेजो राख्ने? कहाँ मुटु वा फोक्सो? कतिवटा करङ, हड्डी? कति नसा कता जोड्ने र केका लागि? र यो खाली कक्षा १ को हिसाब होइन। एउटा हिसाब सुझाउन अनेक आयाम केलाउनपर्यो, अनेक सुत्र लगाउनपर्यो! र कुनै एउटा सूत्र गडबड भए आँखा टेढिन सक्छ। गोडा छोटिन सक्छ। या फेरि शरीर कुँजिन समेत सक्छ!

'किल'को पटकथालाई मिहीन केलाएर हेर्ने हो भने लाग्छ कसैले (सम्पादनको समय बिग्रिएको होइन भने पक्कै पनि पटकथाकारले) यसको खोपडीमै खन्जर घोपेको होस्! र त्यो खोपडीमा खन्जरले पारेको खत मानौँ छोपिएको होस् गाढा कालो कपालले! त्यो खन्जर घोपिएर पनि चलिरहेको यो पटकथाको खोपडी हो- प्रतिक्रिया! लाग्छ, एक्सनमाथि तल्लीन हुँदै गर्दा पटकथाकारले रिएक्सनलाई दिनुपर्ने जति स्थान दिन सकेनन्। या फेरि चाहेनन्?

शौचालय गएकी छोरी-बहिनी घण्टौंसम्म फर्किएर नआउँदा... शौचालयमा नभेटिँदा... र त्यो पनि खन्जर लिएर डाकुहरूले रक्तपात मच्चाइरहेका समयमा! दुई फौजी, जो आफ्नै आँखा अघिल्तिर नमज्जासँग पिटिइसकेका छन्- तिनले खोजिदिन्छन् र सकुशल फर्काएर ल्याइदिन्छन् भन्ने कल्पना नै पहिला त कुनै बाबुको मनमा कसरी आउनसक्छ? एक झमट पिटाइ खाएँ, त्यसैले ढुक्कै बसेँ? त्यो त्राहिमाम् अवस्थामा छोरी हराउँदा समेत? ठीक छ, जान नसकुन् तर प्रयास त गरून्! कुनै प्रतिक्रिया त देखाउन्!

राँचीदेखि अलाहवाद पुग्दासम्म (झण्डै १२ घण्टाको यात्रामा) केहीछिन पनि नरोकिएरै नरसंहार चलिरहन्छ। रक्तपात मच्चिरहन्छ। तर, सुरुवाती समयतिरै एकाध यात्रुको अपवाद मृत्युबाहेक अन्य यात्रु यति निर्धक्क लाग्छन् मानौँ उनीहरूको लागि यथार्थमा कुनै दंगा मच्चिएकै छैन। उनीहरू न जीवनमोहले भागाभाग गर्छन्। न त मृत्युभयले असिनपसिन नै हुन्छन्। न त अप्रत्याशित निर्ममताले जड भएरै टोलाउँछन्। उनीहरू छन् पनि कहाँ? कतिजना? के गर्दै? १२ घण्टा लामो रक्तपातमाथिको प्रतिक्रियास्वरूप बेलामौकामा देखिने उनीहरूका आँखामा केवल त्यो हेराइ छ जुन पधेँरामा दिनहुँजसो हुने घम्साघम्सीका रमितेका आँखामा हुनेगर्छ! मानौँ त्यस ट्रेनभित्र दुई पक्ष 'कसले पानी पहिला भर्न पाउने?' भन्ने शीर्षकमा लडिरहेका हुन्।

आइज्याक न्युटनको तेस्रो नियमलाई यसरी नजरअन्दाज गरेर हिँड्नु पटकथाको खोपडीमाथि खन्जर घोप्नुबाहेक अरू के हुनसक्छ? तर, नआत्तिनुस्। खन्जर घोपिएर पनि खोपडी चल्दो नै छ। सक्रिय छ। यसको अर्थ, पटकथाको प्रतिरोधात्मक शक्ति भने बलियो नै रहेछ कि? त्यसै हो भने कहाँनेर होला यसको प्रतिरोधात्मक शक्ति? यसको कथावाचनमा?

कथावाचन
कति-कतिबेला फ्लासब्याकमा पात्रलाई नलगिन्थ्यो त फिल्मको कथावाचनलाई 'लिनियर' भन्न सकिन्थ्यो। कथावाचनको यो ननलिनियर फ्रेमभित्र कथाको आवाजचित्र कसरी बुनिएको छ त? कथावाचक मानौँ क्यामरा हो। फिल्मभित्रकै कुनै पात्रलाई नै रोज्ने हो भने यो कथा पक्कै आहानाका बाबुछोरीको आवाजमा बुनिएको हो। लभस्टोरीको भाग आहानाको जिम्मा। र रक्तपातको कथा- मिलिजुली?

हराएकी, आत्तिएकी आहानाले आफ्नो बेचैनी देखी, आफ्नै छटपटी देखी। बाँकी यात्रु को हुन् उसले चिनिन। को आम यात्रु हो र को हत्यारा? कसलाई विश्वास गर्ने? पहिलो कुरा त यी खन्जरधारी को हुन्? स्मरण रहोस्, डकैतीको दृश्य सुरु हुनु अगावै ऊ दृश्यबाट अलप भएकी थिई, शौच गर्न। बेलाबेला यी खन्जरधारी केको शोक मनाइरहेछन्? केको तनाव ओकलिरहेछन्? आफ्नो बाबुलाई किन खोज्दैछन्?

उता छोरीको औँलामा अनपेक्षित फेरिएको औँठी देखेको बाबु छोरीको सम्भावित प्रेमी र उसको आँट, बल र लड्ने-भिड्ने कलालाई देखेर आश्चर्यचकित छ। साथमा भर्खर मगनी सकेर विवाह छिनिएकी छोरी छ। उता कुनै डाँकु आफ्नी छोरीसँग जानपहिचान भएको कुरा गर्छ। यता अर्को एउटा फौजी केटो पनि छोरीसँग एकान्तमा समातिन्छ। डाँकु आफ्नो अपहरणको योजना बनाउँछ। फौजी आफ्नो बचाउको लागि ज्यान दाउमा लगाउँछ।

दुवै अपरिचित! मानौँ ज्यानको पर्वाहभन्दा ठूलो कुरा त उसलाई यो रहस्य सुल्झाउनु हो। आफ्नो लागि ज्यान दिन तयार फौजी देखेर मानौँ सम्मोहित भइदिनु हो। कस्ताकस्ता डकैतलाई उसले कसरी मार्छ? आफू कसरी र कति मार खान्छ? कतिबेला हार मान्छ? या मान्दैन?  कसरी सेलाउँछ? कसरी फेरि दन्किन्छ हुरहुरी? कसरी जोस्सिन्छ र ओस्सिन्छ? कसरी एक्लो एउटा कमान्डोले त्यत्रा सारा डाकुहरूको सातो लिइदिन्छ?

र यस्तै सम्मोहनमा परेर हुनसक्छ ऊ डराइरहेका, चिच्याइरहेका, भाग्दै र बेहोसिँदै गरेका ती बाँकी तमाम यात्रुहरूलाई त्यस फौजीका अघिल्तिर नगण्य देखेर नजरअन्दाज गरिदिन्छ!

यसरी पटकथामा चुकेको फिल्मलाई कथावाचनले धेरैथोरै भरथेग दिएको छ। प्राणीहरूमा हुने प्रतिरोधात्मक प्रणालीले रोगव्याधविरुद्ध लडिदिएजस्तै।

अब भने त्यो गाढा कालो बाक्लो कपालको कुरा गरौँ जुन पटकथाको त्यही खन्जर घोपिएको खोपडीमा छ। जसले त्यही खत लुकाउने काम मात्र गरेको नहोस् बरु समग्र फिल्मकै व्यक्तित्वलाई मानौँ एउटा शोभा दिएको होस्। र त्यस्तो शोभा दिने कपाल हो पटकथामा पाइने रोमाञ्चकता अर्थात् थ्रिल! जसरी कपालले शरीरमा आवश्यक तापक्रम बनाइराख्न सहयोग गर्छ त्यसरी नै सिनेमामा थ्रिलले दर्शकमा संवेदना जगाइराख्न सहयोग गर्छ।

फिल्मको पटकथा यसरी लेखिएको छ कि जसले दर्शकलाई चरणबद्द रूपमा खलपात्रहरूको संसार देखाउँछ। तिनको एकअर्कासँगको सम्बन्ध नजानिँदो गरी खुल्दै जान्छ। तिनीहरूबीचको प्रेम, वियोग र त्यस वियोगले निम्त्याएको शोक! आम दर्शक आफ्नाहरू गुमाउँदा जसरी दुख्छन् ती खलपात्रहरू पनि त्यसैगरी दुखिदिन्छन्। ती खन्जरधारी पात्रहरूमा दर्शक कहीँकतै आफैलाई भेट्टाइदिन्छन्।

त्यसो त, यो नरसंहार सुरु गर्ने त उनीहरू नै हुन्। र ख्यालख्यालमै यो रक्तपात यति अघि बढिसक्छ कि अब जति संवेदनाले एकाकार भए पनि उनीहरूलाई छोड्न मिल्दैन। खलपात्रप्रति संवेदनशील हुँदाहुँदै पनि दर्शक अब उनीहरूको मृत्यु चाहन्छन्। हृदयमा प्रेम टिलपिल हुँदाहुँदै वियोग रोज्नुपर्दाको तनावमा संचार हुनेजस्तै एउटा तरंग जसले दर्शकमा एउटा रोमाञ्चकता पैदा गरिदिन्छ। एक किसिमको गिल्टी प्लेजर!

बदलामा नायक देख्दादेख्दै खलनायकतुल्य लाग्दै जाने त्यो अनौठो पात्र जसलाई असल र खराबको तुलोमा राखेर जोख्न खोज्दा मानौँ यन्त्रले नै काम गर्न छोडिदिन्छ। र उसको विजयमा सिट्टी बजाउँदै दर्शक आफूभित्रको आक्रमक प्राणी वा जनावरलाई आफैभित्र लुकाउने कोसिस गर्दै मुस्कुराउँछ! कस्तो ग्लानीपूर्ण सुख!

पात्र
पछिल्लो समय सिनेपात्रहरू यस्ता लेखिन थालेका छन् जसको चरित्रवृत्त तटस्थ होस्। एउटा आस्था वा विश्वासमै ऊ कथाको सुरुवातदेखि अन्तसम्मै टिकिरहोस्! यस फिल्ममा पनि निखिल नागेशका पात्रहरू आफ्नो आस्था वा विश्वासलाई लिएर त्यस्तै अटल छन्। यद्यपि, पात्रहरूबारे उल्लेख्य केही कुरा अवश्य केलाउन सकिन्छ।

फणी: ट्रेन पकड्ने हतारमा बाइकमै बसेर कमिज फेर्दै कुदिरहेको यस पात्र फिल्मकी नायिकालाई ट्रेनभित्र देखेर फोनको पल्लोछेउमा बोलिरहेको बाबुलाई ऊ बिर्सिदिन्छ। स्थितिको मर्मबाट क्षणभरलाई मानौँ विच्छेद भइदिन्छ ऊ। एकै नजरमा प्रेम? यस्तो लाग्दै मात्र हुन्छ अचानक कहानीले अर्कै धार समाउँछ।

उसलाई सानोतिनो लुटपाटमा खुम्चिएर रहनुछैन। जसलाई ठूलो केही गर्नु छ। उसलाई ठूलो परिवर्तन चाहिएको छ। जहाँको त्यहाँ भइरहन, सधैँको उस्तै भइरहन उसलाई कत्ति मन छैन। र यति नै बेला त्यो फड्को मार्ने अवसर उसको आँखैअघिल्तिर छ।

उसँग तर्क गर्ने मनोवृत्ति छ तर प्रवृत्तिमा अनुशासन रत्तिभर छैन। अनुशासनहीनको विवेक के कामको? होइन? अनुशासन अर्थात् आफैमाथिको शासन। आत्मनियन्त्रण! त्यही ऐनमौकामा आत्मनियन्त्रण गुमाउँदा उसको तार्किक शक्ति पानीमाथिको चित्र बनिदिएको छ।

तर्कमा दम त छ तर, व्यवहारमा लगाम छैन। विवेकले जे अह्राउँछ, बेकाबु मनले ठ्याक्कै उल्टो गरिदिन्छ। तपाईं-हजुर भन्दाभन्दै कसैको हत्या कसले गर्नसक्दो हो? यस्तै मनोरोगीले?

अमृत: फणीभन्दा बिलकुल उल्टो। विवेकभन्दा जो बल प्रयोग गर्छ। दिमागभन्दा चौगुणा छिटो उसका हातपाउ चल्छन्। मगनी पार्टीमा ऊ केही नसोची पुगिदिन्छ- पर्सिकी बेहुली भगाउन! मुखले कम र कर्मले ज्यादा बोल्छ ऊ। तर्कशक्ति जोसँग छैन। जसका क्रियाकलाप भावनाले निर्दिष्ट हुन्छन्।

तार्किक मनोवृत्ति उसमा हुन्थ्यो त उही परिबन्दमा कुनै कूटनीतिक समाधान ऊ खोज्थ्यो होला। तर, सामान्य फौजी मात्र पनि होइन, बरु ऊ त कमान्डोको क्याप्टेन। गुरिल्ला आदतको एउटा दास! एउटा अभ्यस्त जनावर! मानौँ, मिसन पूरा नहुन्जेल अब उसले न दायाँ देख्छ न बायाँ।

जनरा
भारतीय एक्सन थ्रिलर जनरामा यस फिल्मले नयाँपन भित्र्याएको चर्चा यतिबेला जताततै छँदैछ। हामी त्यही कुरा नदोहोर्याऊँ। बरु त्यो भित्र्याएको नयाँपन के हो? त्यसबारे कुरा गरौँ।

त्यसो त एक्सन जनरामा अनुराग कश्यप, विकास भल, सन्दीप रेड्डी भाङ्गा, लगायतका फिल्ममेकरहरूले डार्क पात्रहरूको कथा यसअघि नभनेका होइनन्। तर, ती र योबीचको फरक के छ भने ती मानवीय गुणदोषसहितका डार्क पात्रहरू स्वयं नै फिल्मका खलनायक हुन्थे र स्वयं नै नायक पनि! अथवा दुईपक्ष भए एकका पक्षमा फिल्मले संवेदना सोहरेको देखिन्थ्यो। 'किल'ले गरेको नयाँ के हो भने यहाँ मुख्य कथा सुरु भएदेखि नायकको भन्दा ज्यादा खलनायकको कथा खोतलिन्छ। खलनायकको पीडालाई पनि उत्तिकै महत्त्वका साथ देखाइन्छ। र तथाकथित नायक स्वयंलाई लगेर कठघरामा उभ्याइन्छ। यथार्थमा सबैभन्दा भयानक खलनायक कतै उही त होइन? कथावाचनमा यसप्रकारले विकेन्द्रीकरण र विनिर्माणको सुत्र प्रयोग हुनु नै फिल्मले भारतीय एक्सन थ्रिलर सिनेमामा भित्र्याएको नयाँपन हो।

अर्को नयाँपन यसको एक्सनको प्राविधिक पक्षमा भेटाइन्छ। बन्दुक या बमको प्रयोग नगण्य या शून्य रहेको यस फिल्ममा प्रयोग गरिएका हतियारहरू वास्तवमै हतियार हुन्। अर्थात् सम्पूर्णतया हातले चलाउनपर्ने! कति त उतिखेरै बनाइनपर्ने!

त्यसो त कतै कोरा मुक्काबाजी मात्रै पनि देख्न सकिन्छ। जसले यसको एक्सनलाई बिलकुलै अर्गानिक स्वाद दिएको छ। टाउको भाँच्चिदा घुच्चुक पहाडिनु, खोपडीभित्र फेसो धस्सिनु, टाउको किचिपिची हुँदा बग्ने बाक्लो गाढा खुन, छाती चिरिँदा बग्ने पातलो खुन! हरेक प्रहारैपिच्छे अपनाइएको होसियारी र गरिएको अध्ययन दर्शकलाई बाँध्ने नौलो शैली बनेर फिल्ममा देखिन्छ।

यस्तै, फिल्ममा ऐना र सिसाको प्रयोग पनि कलात्मक लाग्छ। साँघुरो एउटा ट्रेनभित्र भेटिने अगडमबगडम अर्थात् जस्ता पनि चिजवस्तुलाई हतियार बनाएर प्रयोग गरिएको कमान्डो कलाले एक्सनमा अर्को ताजगी महसुस गराउँछन्।

अभिनय
अर्को गर्न छुटाउनै नहुने कुरा हो अभिनयको। सुरुमा नायकलाई नै लिऊँ। मुख्य पात्र अमृतको भूमिकामा लक्ष्य ललवानीको काम प्रशंसालायक छ। एउटै फिल्ममा कतै प्रेमी, कतै रक्षक त कतै राक्षसको भूमिका निर्वाह गरेका उनी अमृतको चरित्रका लागि साट्न नसकिने अनुहार हुन्। लिड रोलमा उनको यो पहिलो दस्तखतले उनको करियरको ढोकामा एकैचोटि मानौँ सयौं/हजारौं दस्तक दिन सकेको छ।

अर्को उत्तिकै मुख्य पात्र फणीको भूमिकामा राघव जोयलले भक्षक काम गरेका छन्। भारतीय सिनेमामा कुनै पनि डार्क चरित्र लेखिँदै गर्दा सोचिने सीमित नामहरूबीच उनको पनि एउटा हुने पक्का छ। फणीको चरित्र यस्तो छ कि फिल्मको सुरुवातदेखि अन्तिमसम्मै हरेक दर्शकलाई उसलाई मार्न मन भएर आइदिन्छ। लागिदिन्छ- यसलाई चाहिँ मार्नैपर्छ! तर, त्यो चरित्रलाई राघवले यसरी निर्वाह गरेका छन् कि जब वास्तवमै मर्दै हुन्छ तब दर्शकलाई कताकता नमरोस् लागिदिन्छ। सायद, अझै अर्को डार्क रोलमा हेर्ने लोभ?

तुलिकाको भूमिकामा तान्या मानिकतालाको काम सन्तोषजनक नै लाग्छ। कमान्डो विरेशको भूमिकामा अभिषेक चौहानको काम पनि जीवन्त लाग्छ।

अर्को तारिफ गर्नैपर्ने काम आशिष विद्यार्थीले बेणीको चरित्रमा गरेका छन्। मुख्य पात्रहरू जति नै दृश्यमा उनी देखिँदैनन्। एक्सन फिल्ममा उनले एक्सनमा कम र इमोसनमा ज्यादा काम गरेका छन्। यसका बाबजुद, हरेकपटक 'किल'को चर्चा हुँदा दर्शकले उनलाई निश्चितै सम्झिनेछन्।

जाँदाजाँदै, वाचा पूरा गर्ने बहानामा वा रक्षा गर्ने निहुँमा कतै अमृतले आफूभित्रको राक्षस वा जनावरको भोकको आगो त निभाइरहेको छैन? अनि, तिनै दृश्य हेरेर रमाउने हामी दर्शक पनि आफैभित्रको दैत्यपोषण त गरिरहेका छैनौँ? दैनिक भागदौडका बीच चाहेर नचाहेर पालिएका इख, राग, द्वेष र बदलाको भावलाई कतै हामी अमृतको नाम गरेर पिइरहेका त छैनौँ?

तर भनिन्छ, अमृत पनि ज्यादा भयो भने बिख बनिदिन्छ। सायद, फणी (कोब्रा)को बिखभन्दा ज्यादा विषाक्त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .