विश्वव्यापी रूपमै यतिबेला नाग आश्विन रेड्डी उर्फ् नागी को तेस्रो फिल्म 'कल्की २८९८ एडी'को चर्चा चलिरहेको छ। नेपालमा पनि क्यूएफएक्स लगायत देशभरका हलहरूमा यस तेलुगु फिल्मको हिन्दी भर्सन उत्साहजनक माहोलमा प्रदर्शनरत छ।
फिल्ममा बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनदेखि तमिल सिनेमाका क्लासिक हस्ती कमल हसन र दक्षिण भारतीय सिनेमाका चर्चित युवा अनुहारहरू देख्न सकिन्छ। बाहुबली स्टार प्रभासको अभिनय र त्यसमाथि अर्जुन रेड्डी स्टार विजय देवराकोन्डा, सीतारामम जोडी मृणल ठाकुर र दुलकर सलमानको क्यामियो प्रिजेन्स, महानती अभिनेत्री कृति सुरेशको नटखट आवाज! निर्देशक नागीको 'प्रोजेक्ट के' अर्थात् कल्कीले दर्शकको हृदयमा सानोतिनो नभएर एउटा व्यापक खुलदुली बीजारोपण गरेका छन्।
आजभन्दा झण्डै ९ शताब्दी परको भावी समयलाई आजभन्दा ५ हजार वर्ष पुरानो महाभारतकालीन मिथकसँग जोडेर आजका वर्तमान दर्शकलाई माइथो-साइ-फाइ डिस्टोपियन कथा सुनाउने नागीको यो प्रयास कस्तो रहन गयो त? आउनुस्, अब फिल्मको दुनियाँभित्र छिरौँ।
कथा
विभिन्न हिन्दु ग्रन्थहरूमा भगवान् विष्णुका अवतार मानिने श्री कृष्णले कलियुगको अन्तिम चरणमा धर्तीमा पापले सीमा नाघ्ने भविष्यवाणी गर्दै त्यसबेला धर्तीबाट पाप हटाउन र पुन: सत्य युगको स्थापना गर्न कल्की अवतारका रूपमा आफूले नयाँ जन्म लिने उल्लेख गरेको पाइन्छ। कल्की पुराणका आधारमा विष्णुको दसौँ अर्थात् अन्तिम अवतारका रूपमा कल्कीको जन्म सुमतीको कोखबाट हिमालयको काखमा अवस्थित एउटा गाउँ- 'शाम्बाला'मा हुनेछ।
यिनै मिथकका आधारमा फिल्मको कथामा 'कल्की' सुमतीको गर्भमा आइसकेको छ र जसलाई महाभारतकालीन समयदेखि बाँचिरहेका अष्ट चिरञ्जीवीमध्येका एक- अस्वत्थामाले पापमोचनका लागि बचाउन संघर्ष गरिरहेका छन्। किनभने, कल्की र गर्भिणी आमा सुमतीलाई 'सुप्रिम यास्किन' नामको एक तानाशाही शासकदेखि खतरा छ।
पटकथा
कथाका अनुसार त सुमतीको कोखमा हुर्किँदै गरेका भगवान् विष्णुको अन्तिम अवतार 'कल्की'लाई द्रोणपुत्र चिरञ्जीवी अश्वत्थामाले बचाउनुपर्नेछ। तर, पटकथाले अरू स-साना कथा र ठूलाठूला पात्रहरूको पनि परिचय गराउँछ। र यही सिलसिलामा पटकथा फिल्मको पहिलो हाफमा भड्किएको हो कि जस्तो महसुस भइदिन्छ।
कलियुगमा पापले चरम सीमा नाघ्नु भनेको के हो? कलि भनेको को हो? कल्कीले लड्ने कलि आखिर आफूचाहिँ कति शक्तिशाली छ? महाभारतमा परास्त अश्वत्थामा अब पनि परास्त हुन नसक्ला भन्न सकिँदैन। कल्कीको रक्षाको दौरान उसलाई कसको साथ कसरी मिल्नेछ? साथ दिने पात्रहरूलाई कथामा ल्याउनका लागि कस्तो संकेत, बिम्ब तथा प्रतीकको प्रयोग गर्ने? कलि युगको अन्त्य हुन लाग्दै गरेको कुरा कसरी देखाउने?
यी तमाम प्रश्नहरूको जवाफ दिन खोज्दा वा दिनै पर्दा पटकथा फिल्म पहिलो हाफमा सिधै एक्सन जनरामा छिर्न सक्दैन। जसकारण युद्ध हुन्छ भन्ने विश्वास बोकेर हल पुगेका दर्शकलाई फिल्मको पहिलो भाग सुस्त बगेको वा भड्किएको महसुस अवश्य हुनसक्छ।
विशेषगरी, रक्सीसँग भैरवाले गरेको मस्तीका दृश्यहरूले दर्शकलाई झिँजो लगाउन सक्छ। किनभने, भैरवा र अश्वत्थामाबीच युद्ध कतिबेला हुन्छ? कलि र कल्कीबीचको लडाइँ कस्तो हुन्छ? देख्न आतुर दर्शकहरूलाई बाउन्टी हन्टिङ र कम्प्लेक्सभित्रको मस्तीमा नाग आश्विन भुलाइरहन्छन्। सायद, निर्देशक नागी चाहन्छन् अश्वत्थामाले ६ हजार वर्षदेखि बाँचेर गरेको लामोभन्दा लामो प्रतीक्षा दर्शकले पनि महसुस गरून्। श्रापबाट मुक्त हुन युगौंदेखि प्रतीक्षारत यस बूढो पात्रको संवेदनासँग दर्शकलाई समेत एकाकार गराउन नागीले सायद दर्शक स्वयंलाई पर्खाएका हुन् कि?
खैर, कम्प्लेक्स र कम्प्लेक्सकालीन कलियुगी (डिस्टोपियन) दुनियाँको दर्शनपछि कल्कीको जन्म कति आवश्यक छ भन्ने कुराको अनुमान लगाउन पनि सायद दर्शकलाई सजिलो हुनसक्छ।
त्यसो त, भगवान् शिवको एक अवतार मानिने 'काल भैरव'को चरित्रसँग फिल्मको पात्र बाउन्टी हन्टर 'भैरवा'लाई एकाकार गराउन खोजिएको छ। जसरी उता हिन्दु ग्रन्थहरूमा शिवावतार भैरवलाई भयमुक्त मानिन्छ यता कथाको पात्र भैरवालाई पनि त्यस्तै भयमुक्त देखाउन कम्प्लेक्सभित्रको मस्तीको दृश्य आवश्यक परेको हुनसक्छ। काशीमा हरकोही कम्प्लेक्सका मालिक सुप्रिम यास्किनसँग डराइरहँदा ऊ भने बिनाकुनै हिचकिचाहट नाच्ने, डुल्ने, खाने, गाउने गरिरहेको छ। ऊ डराउनेवाला छैन। चाहे त्यस दौरान त्यहाँको भौतिक सम्पत्तिको क्षति नै किन नहोस्, सुरक्षा अलार्म नै किन नबजोस्, हतियारधारीहरूबाट किन नघेरियोस्!
मरियम, शम्बाला, विरन, कायरा, अज्जु र बुज्जीहरूको कथा फिल्मको पटकथाले क्रमैसँग यसरी खोलेको छ जुन दर्शकहरूलाई अनपेक्षित तर, आवश्यक एकसाथ महसुस हुनेछ।
कथावाचन
फिल्मको कथावाचन नन-लिनियर शैलीमा छ। पुरानो गाथा र भविष्यको कथालाई सँगसँगै भन्न फिल्मले बिम्बहरूको व्यापक प्रयोग गरेको छ। फ्ल्यासब्याकको प्रयोग भएको छ। कथावाचनको सुन्दर पक्ष के हो भने समयरेखा (टाइमलाइन) र अवधारणा दुवै हकमा यस्तो जटिल विषयवस्तुमाथि कथा भन्न नागीले भोइस ओभरको सहारा लिएनन्। न त उनका पात्रहरूले नै लामो लामो डायलग बोलेर कथा सुनाउँछन्। पात्रहरूले बोल्ने छोटा-छरिता संवादले नै हिजो भइसकेका र अब भोलि हुनेवाला घटनाको इसारा गरिदिन्छन्।
पात्रहरू
त्यसो त पात्रहरूको नाम, हुलिया र उनीहरूको प्रतीकात्मक प्रस्तुतिकरणमार्फत् पनि नागीले कथा भनेका छन्। संवादबाट नभनिएका वा नबुझिएका कथा पात्र र तिनको चरित्र चित्रणमार्फत् बुझ्न सकिन्छ। त्यसो हो भने बुझिहालौँ न त।
भैरवा : कालभैरव भर्सेस कर्ण
प्रभासले खेलेको पात्र भैरवालाई शाम्बालाबाट काशी आएको कसैले भनिदिन्छ, 'तँ काल भैरव होस्! संसारमा जे भइरहेको छ यसलाई तैँले नै रोक्न सक्छस्।' तर, आमाबाबुको समेत अत्तोपत्तो नभएको टुहुरो भैरवालाई यो सब कुरामा कुनै दिलचस्पी छैन। उसको एक मात्र लक्ष्य छ- जुनै हालमा १ अर्ब युनिट कमाउने र कम्प्लेक्सको स्थायी बासिन्दा भएर बाँकी जीवन आरामले बिताउने! जंगल डुल्ने, सुन्तला, स्याउलगायतमा अनौठा फल खाने। प्यास लाग्दा पर्याप्त पानी पिउन नपाउने काशीका गरीबहरूको खण्डहर बस्तीमा आखिर ऊ कहिलेसम्म गल्लीको भुसिया कुकुरजस्तो डुलिरहन चाहोस्?
अँ साच्चै, कुकुर भन्दै गर्दा याद आइहाल्यो। बुज्जी अर्थात् भैरवाको एआई प्रविधियुक्त बोल्ने गाडीले कुकुरको आकार लिनुले पनि भैरवालाई शिवको अवतार काल भैरवसँग जोड्न सकिन्छ। त्यसो त काल भैरवले पापी, अधर्मीहरूलाई दण्ड दिनका लागि एउटा हातमा डण्डा बोक्ने गरेको पनि हिन्दु धार्मिक चित्रकलाहरूमा देखाइने गरेको छ। हिन्दु ग्रन्थका अनुसार तसर्थ काल भैरवलाई 'दण्डपाणि' समेत भनिन्छ। र फिल्मको उपान्त्यतिर वृद्ध अश्वत्थामाले लौरो बनाउँदै आएको कर्णको महाभारतकालीन विजय धनुषलाई भैरवाले डण्डाको रूपमा खलपात्रहरूविरुद्ध प्रयोग गरेको छ। द्वन्द्वको यो दृश्य देख्दा अश्वत्थामालाई बल्ल याद आउँछ भैरवा त महाभारतकालीन जन्ममा कर्ण थियो। डण्डा सम्झेर चलाइरहेको हतियार त उसैको अघिल्लो जन्मको विजय धनुष पो हो। त्यही विजय धनुषले उसले अर्जुनको गाण्डिवलाई टक्कर दिएको थियो र अश्वत्थामाको ज्यान बचाएको थियो।
खैर, महाभारतकालीन कर्ण नै यतिबेला शिवावतार काल भैरवको रूपमा जन्मिएको संकेत फिल्मले गरेको छ। तर, हाम्रो पात्र भैरवा यस्तो छ कि उसलाई न आफू हिजो कर्ण थिएँ भन्ने याद छ न त आफू शिवावतार काल भैरव हुँ भन्नेमा नै विश्वास छ।
बुज्जी
कल्की निर्माण टिमका अनुसार बुज्जीमाथि गहिरो इन्जिनियरिङको प्रयोग गरिएको छ। बुज्जीलाई कसरी एउटा सग्लो र सक्रिय पात्रका रूपमा देखाउन सकिन्छ भनेर नागी र उनको टिमले गरेको मिहेनतले सार्थक फल दिन सकेको दर्शकलाई निश्चय नै महसुस हुनेछ। महानती कृति सुरेशको आवाजमा बुज्जी अति जीवन्त सुनिएको छ। यस्तै, बुज्जीको पात्र निर्माणको लागि प्रविधिमा गरिएको कामले फिल्मको अन्त्यसम्म उसलाई बिर्सन नसकिने र अलग्गै पनि सम्झिन सकिने पात्रको रूपमा देख्न सकिन्छ।
भैरवाको एआई गाडी उर्फ काल भैरवको वाहन 'कुकुर'को रूपमा उसको चरित्र मिहीन रूपमा केलाइएर निर्मित भएझैँ लाग्छ। मालिक भैरवासँग साथीसँग जस्तो नोकझोक गर्नु, खतराको महसुस हुँदा सतर्क गराउनुजस्ता दृश्यहरू हेर्दा बुज्जीलाई कुकुरको आकार मात्र नभएर गुण वा चरित्र पनि दिइएको महसुस हुन्छ।
प्रश्न रह्यो नागीले भैरव र कर्णलाई किन जोडे त? किनभने, भैरव र कर्णको चरित्रबीच केही समानता पाइन्छ। त्यो हो बफादारी!
यास्किन
कमल हसनले निर्वाह गरेको रहस्यमयी पात्र सुप्रिम यास्किनलाई कलिको प्रतीकात्मक रूपमा चित्रण गरेको भए पनि नागीले भैरवालाई सिधै काल भैरवसँग मिल्दो नाम दिएजसरी यास्किनलाई दिएका छैनन्। किन? यही प्रश्नको जवाफ नभेटिँदा पनि कमल हसनको पात्र सुप्रिम यास्किन रहस्यमयी लागिदिन्छ। खैर, हामी यसको जवाफ खोतल्ने प्रयत्न गरौँ।
यास्किनलाई सिधै कलि नभन्नुको कारण यो हुनसक्छ कि यस पात्रलाई उनले अधर्मी बनाएका छन् तर, सँगसँगै भगवान् शिवसँग समेत जोडेका छन्। सायद उनी शिवभक्तहरूसँग हुनसक्ने अनावश्यक विवादबाट बच्न चाहन्थे। यसले अर्को प्रश्न पक्कै जन्माइसकेको छ। शिवसँगको सम्बन्ध कहाँनेर देखिन्छ? हरेकपटक पर्दामा देखिँदा ऊ ध्यान गरिरहेको भेटिनु र कम्प्लेक्सका विमानहरू ज्योतिर्लिङ्ग आकारमा डिजाइन गरिनुले यास्किनलाई शिवसँग जोड्न खोजिएको बुझिन्छ।
त्यसो त कमसेकम शिवावतार कालभैरव उर्फ भैरवा पनि त उसकै लागि काम गर्छ। उसकै मिसन पूरा गर्न ऊ हिँडिरहेको छ।
महाभारतकालीन कथासँग जोडेर हेर्दा पनि दुर्योधन शिवको पूजा गर्थे र कर्ण जो यतिबेला यास्किनलाई रिझाउँदो भैरवा छ उतिबेला पनि ऊसँग बाँच्नका लागि दुर्योधनलाई खुसी पार्नुको विकल्प थिएन। दुर्योधन दुष्ट थियो तर, शिवभक्त थियो। जसरी अहिले यास्किन अधर्मी छ तर पनि शिवसँग ऊ कसैगरी त जोडिएको छ। तर कसरी? आउनुस्, केही अड्कलबाजी यसरी गरौँ।
यास्किन, शिव, विरूपाक्ष र कलि
जगजाहेर छ भगवान् शिवका अनेक रूपमध्ये एक रूप विरूपाक्षको मानिन्छ। प्राचीन र ऐतिहासिक शिवालयहरूमध्ये काठमाडौँको पाशुपत क्षेत्रको महत्त्व उल्लेखनीय छ। यही पाशुपत क्षेत्रभित्र पशुपति मन्दिरको पूर्वी ढोकाबाट बागमती किनारमा ओर्लिँदा दाहिनेतिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा मूर्ति छ- विरुपाक्षको। जसको आधा शरीर मात्र देख्न सकिन्छ। किराँतेश्वर महादेवसमेत भनिने यस मूर्तिलाई 'कलि'को मूर्ति समेत भन्ने गरिन्छ। कलि युगको अन्त्य जति नजिकिन्छ मूर्तिको शरीर उति नै देखिँदै जान्छ भन्ने जनविश्वास पनि रहिआएको छ।
किरात तथा हिन्दुहरूले विरूपाक्षलाई रूपविहीन आँखा, निराकार आँखा भनेर पनि लिने गरेका छन् र भगवान शिवको जस्तै विरूपाक्षको यस मूर्तिमा पनि निधारमा तेस्रो आँखा देख्न सकिन्छ।
अब यास्किनसँग विरूपाक्षको यस किंवदन्तीहरूलाई जोडेर हेर्ने हो भने फिल्ममा जब सेरम लिएर मानस र वैज्ञानिक यास्किनकहाँ पुग्छन्, एउटा आँखाजस्तो अनौठो वस्तु पहिला आइपुग्छ र लाग्छ त्यही आँखा नै बोलिरहेको छ। मानौँ, त्यही आँखा नै यास्किन हो।
अर्को कुरा विरूपाक्षको आधा शरीर मात्र देखिएजस्तै फिल्मभरि यास्किनको पनि आधा शरीर मात्र देखाइन्छ। तब मात्र उसको पूर्ण शरीर देखाइन्छ जब कल्कीको जन्म अति करिब हुन्छ। अर्थात् कलि युगको अन्त्य अति नजिक हुन्छ।
त्यसो त जापानी मिथकहरूमा पनि विरूपाक्षलाई बडा बडा आँखा भएको अनौठो प्राणी भनिएको छ र त्यस्तै नै हुलिया यास्किनलाई पनि दिइएको छ।
उता तिब्बती बौद्ध ग्रन्थहरूमा पनि विरूपाक्षको बारेमा लेखिएको पाइन्छ। जहाँ विरूपाक्षलाई सर्पको आत्मा बोकेर बाँच्ने अजीब प्राणीहरूको राजा वा नेता भनिएको पाइन्छ। र यो पनि भनिन्छ नागाहरू एक विशेष किसिमको छाला रोगले ग्रसित हुन्छन् र त्यो मानिसमा सजिलै सर्छ। नागाहरूको नेतृत्व गर्ने विरूपाक्षलाई त्यस्तै छाला रोग लागेको हुनसक्छ। यास्किन पनि रोगी देखिन्छ र उसले रोग ठीक गर्न सेरम अर्थात् औषधि पनि त खोजिरहेको छ।
किरातीहरूले किरातेश्वर महादेव भनेर विरूपाक्षलाई पुज्नु र लिच्छविकालीन राजा मानदेवकी रानी भोगिनी, जो नागा जातिकी थिइन्, उनले किरातेश्वर महादेवको मन्दिर स्थापना गर्नुले नागा, विरूपाक्ष र भगवान् शिवलाई फेरि पनि एकै ठाउँमा ल्याएर ठोकाइदिन्छ।
साथै, फिल्मको अन्त्य-अन्त्यतिर शाम्बालाकी विद्रोही मरियमले बोलेको अन्तिम संवादमा गरूडालाई पुकारिएको छ। (जीव) नागाहरूको सिकार गरूड नामको ठूलो चराले गर्ने कुरा पनि हिन्दु पुराणहरूमा भेटिन्छन्। र गरूडलाई भगवान् विष्णुको अवतार समेत मान्ने गरिन्छ। कतै यो भगवान् शिव र भगवान् विष्णुको शक्तिसंघर्षको कथा त होइन? त्यो भने 'कल्की'को आगमनपछि नै थाहा हुनसक्ला।
प्रविधि
प्रविधिमा भीएफएक्सको काम हलिउड साइ-फाइ सिनेमा हेर्दाजत्तिकै उत्कृष्ट नलागे पनि असन्तोष व्यक्त गर्नुपर्ने ठाउँ भेटिने छैन। अश्वत्थामाको अवतारमा बच्चन र हसनलाई प्रविधिमार्फत् पुन: युवा अवस्थामा फर्काइएको कुरा रोचक लाग्छ।
बुज्जीको परिवर्तनशील रूप पनि हेर्न र सम्झनलायक बनेकोमा फिल्मको प्राविधिक पक्ष प्रशंसाको हकदार लाग्छ।
यस्तै फिल्ममा प्रयोग गरिएको ध्वनि पनि सन्तुलित र सन्तोषजनक नै लाग्छ।
सिनेम्याटोग्राफीमा पनि केही सम्झनलायक कामहरू भएका छन्। शाम्बालाका मान्छे बोकेर हिँड्दै गरेको डिस्टोपियन गाडी सुरुमा नपत्याउँदो गरी सानो, काशी पुग्नै लाग्दा ठूलो, अलि ठूलो हुँदै अन्त्यमा पत्यारिलो आकारमा आइपुगेको दृश्य सामान्य लाग्दा लाग्दै पनि सम्मोहनकारी लाग्छ।
लेडी रिबेल कायराको एक्सन पछ्याउने ट्र्याकिङ सट्स, यास्किनलाई लक्ष्य गरिएका जुम सट्स पनि प्रशंसायोग्य लाग्छन्। एक्सनका अधिकांश दृश्यहरूले मज्जा दिनेछन्।
हस्तिनापुर राज्यका लागि महाभारत युद्ध भएको सारवस्तु महसुस हुनेगरी खिचिएको विशाल हातको पतनको दृश्य पनि प्राविधिक र कलात्मक दुवै रूपमा सम्झनलायक लाग्छ।
अभिनय
फिल्मका मुख्य पात्र अश्वत्थामाको भूमिकामा देखिएका अमिताभ बच्चनको काम हेर्दा लाग्छ उनी वास्तवमै अश्वत्थामा हुन्- जो वृद्ध त होलान् तर, उनको शक्ति र ऊर्जा कत्ति पनि घटेको छैन। मानौँ उनलाई युवा रहन वा तन्दुरुस्त रहन कुनै सेरम वा औषधिको जरुरत पर्दैन।
कमल हसनको काम थोरै छ तर, त्यो थोरै कामभित्र उनले प्रभाव यति धेरै छोडेका छन् कि हलबाट बाहिर
निस्किसक्दा पनि दर्शक उनको पात्रलाई आँखामै बोकेर निस्किनेछन्। आँखै आँखाले घेरिएर रहने यास्किनको दुष्ट चरित्रलाई उनले आँखामै राख्न मन लाग्ने अर्थात् लोभलाग्दो गरी निर्वाह गरेका छन्।
प्रभासको काम यहाँ अन्यको भन्दा जटिल छ। उसलाई घरी गल्लीको अल्लारे केटो बन्नु छ। घरी शिवको अवतार कालभैरव त घरी कर्ण! तर, अभिनयका आधारमा हेर्ने हो भने प्रभासले आफ्नो भर्सटायल अभिनय क्षमतालाई एउटै फिल्ममार्फत् देखाउन सक्षम छन्। यद्यपि, उनलाई अघिल्लो भागमा अल्लारे बाउन्टी हन्टरभन्दा पनि एउटा शक्तिशाली योद्धाको रूपमा नै दर्शकहरूले देख्न रुचाउनेछन्।
आमा सुमतीको भूमिकामा दिपिका पादुकोणले दासीको चरित्रलाई सन्तोषजनक रूपमा निर्वाह गरेकी छन्। एउटी दासी जसलाई आफ्नो नाम के हो समेत थाहा छैन। व्यावसायिक फार्ममा बेचिन वा मारिनका लागि निश्चित भोजन खुवाएर पालिने कुखुरा कस्तो हुन्छ? पादुकोणले आफ्ना आँखाहरूबाट त्यही कुखुरीको मनोदशा व्यक्त गरेकी छन्। खैर, आगामी अध्यायमा भने उनलाई निरीह कुखुरीभन्दा पर र माथि देख्न दर्शक लालायित रहनेछन्।
फिल्ममा सबैको अभिनय सन्तोषजनक लागिरहँदा खलपात्र मानसको भूमिकामा देखिएका शाश्वत चाटर्जीले भने कम्प्लेक्स र यास्किनले दिने भय र रहस्यमयी कौतुहल दिन सकेजस्तो लाग्दैन।
जाँदाजाँदै, कल्कीको जन्म हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई जहीँको त्यहीँ छोडेर फिल्मले दोश्रो अध्यायका लागि भूमिका बाँधेर कथाको बिट मारेको छ। शाम्बालामा भर्खर एक झर पानी परेको छ। यो सायद असारको रोपाइँ मात्र हो। भेटिएको गाण्डिव चलाउन अर्जुन (विजय देवराकोन्डा) त जसै आउनु नै छ! जन्मिनेवाला कल्कीलाई अस्त्र प्रशिक्षण दिन परशुराम (अष्ट चिरञ्जीवीमध्ये एक) त आउनु नै छ। त्यसो त, भैरवाले पनि विजय धनुष र आफ्नो सम्बन्धबारे जान्नु नै छ। अथवा भनूँ 'प्रोजेक्ट के' का लागि कथाको 'कम्प्लेक्स' बन्न त बाँकी नै छ। यो त खाली जग खनिएको मात्र थियो।
बरु, त्यो श्याम रङमा देखिएका श्री कृष्ण पो कस्ता थिए होलान्? कल्की आखिर को हुन्? तर, धैर्य गरौँ। कम्प्लेक्स बन्न केही समय त पक्कै लाग्ला।
Shares
प्रतिक्रिया