ad ad

कला


चन्दु च्याम्पियन : सबै देखाएर पनि केही नदेखाउने फिल्म

चन्दु च्याम्पियन : सबै देखाएर पनि केही नदेखाउने फिल्म

श्रीजु सरल
असार १०, २०८१ सोमबार १८:१, काठमाडौँ

बायोपिक सिनेमा हेर्नुको सुन्दर पक्ष के हो भने 'के यस्तो नपत्याउँदो घटना वास्तवमै घटेकै होला त?' जस्तो लाग्दै गर्दा सकारात्मक जवाफ पाइन्छ र जसले एक किसिमको मज्जा दिन्छ जुन फिक्सनले दिँदैन। फिक्सनले दिने मज्जाको चर्चा भने अर्कै बसाइमा। यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा प्रदर्शनरत बलिउड बायोपिक सिनेमा 'चन्दु च्याम्पियन'कै कुरा गरौँ।

चन्दु च्याम्पियन आखिर कसको जीवनमाथि बनेको फिल्म हो त? सुरु यसैबाट गरौँ। यो फिल्म एउटा 'वन्डर ब्वइ'को कथा हो। जसले पटकपटक मृत्युको मुखबाट फुत्किएर भारतका लागि पहिलो पारालिम्पिक स्वर्णपदक दिलाए। यो एक पौडीबाजमाथिको कथा हो। त्यसो त उनलाई पौडीबाज मात्र भन्नु उति न्यायिक हुँदैन। उनी पहलमान हुन्, बक्सर हुन्, टेबल टेनिस प्लेयर समेत हुन्। यो 'वन्डर ब्वइ' उर्फ 'मुरलीकान्त राजाराम पेटकर'को कथा हो जसले घरी ९ गोली खाए त घरी ३० गोली खाएर पनि बाँचे। शरीरको आधा हिस्सा चल्न छोड्दा पनि देशको लागि स्वर्णपदक दिलाउने उनको सपना जारी रह्यो। जुन सपनालाई उनले सन् १९७२ मा यथार्थमा बदलेरै छोडे।  

प्रशान्त सिंहको लेखन र शेखर कपुरको निर्माणमा सुशान्तसिंह राजपुतको मुख्य भूमिका रहने गरी आजभन्दा ८ वर्षअघि सन् २०१६ मा यो फिल्म बनाउने सम्झौता हुँदै गर्दा पेटकर मानौँ गुफाभित्रै थिए। सन् २०१८ मा मात्र उनलाई राज्यले पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो। 'मुरली: द अनसङ हिरो' नामले प्रदर्शन गर्ने तयारी रहेको उक्त बायोपिकको १० देखि १५ प्रतिशत सुटिङ समेत भइसकेको थियो। तर, सन् २०२० मा सुशान्तको आकस्मिक मृत्युपछि पेटकरको जीवनी कार्तिक आर्यनले बाँच्न पाए।

कार्तिकले बाँचेको पेटकरको जीवनकथा भने प्रशान्त सिंहले नभएर फिल्मका निर्देशक कबिर खान स्वयंले लेखेका हुन्। कबिरलाई पटकथा लेखनमा सुदिप्तो सरकार र सुमित अरोराले पनि सघाएका छन्। अब कुरा गरौँ फिल्मको कथा, पटकथा, कथावाचन र अन्य विविध पक्षहरूबारे।

कथा
ओलम्पिकमा रेस्लिङतर्फ कास्यपदक जितेर फर्किँदै गरेका ओलम्पियन च्याम्पियन खाशावा जाधवको स्वागतका लागि उर्लिएको विजय जुलुस देखेर ८ वर्षीय बालक मुरलीको मनमा एउटा सपनाले घर बसाउँछ। आफू पनि ठूलो भएर ओलम्पिकमा जाने र खाशावाले पनि ल्याउन नसकेको सबैभन्दा ठूलो- स्वर्णपदक जितेर च्याम्पियन बन्ने। यही सपना सुनाउँदा उसलाई न परिवारको साथ मिल्छ न त साथीभाइको।

उसलाई 'चन्दु' भन्दै गिज्याएर हाँस्नेहरूलाई 'च्याम्पियन' बनेर देखाउन उसले ८ वर्षको उमेरदेखि गरेको अथक संघर्ष नै फिल्मको कथा हो।

पटकथा
तर, त्यसबीच उसले कहिल्यै हार मानेन त? कहिल्यै अफ्ठ्याराहरू आएनन् त? आए भने कस्ता अफ्ठ्यारा आए र तिनको मुकाबिला उसले कसरी गर्‍यो? त्यस दौरान उसलाई कसैले साथ दियो पनि कि? यी कुराहरू भने फिल्मको पटकथाले क्रमैसँग भन्नेछ।

तीनजना मिलेर लेखेको पटकथा स्वाभाविक रूपमै बहुआयामिक हुने अपेक्षा गर्न सकिन्छ। किनभने, तीनजनाको सोच्ने तरिका तीनै थरी हुन्छ। तर, अपेक्षाका बाबजुद फिल्मको पटकथा एकदम एकोहोरो बगेको छ। कथामा मुख्य पात्रको परिवार छ। तर, परिवारसँग उसको सम्बन्ध कस्तो छ? फिल्मले यो देखाउन सकेको छैन। मुख्य पात्र कसैको बाबु पनि हो तर, ऊ बाबु कसरी बन्यो? यसको कथा त छोडौँ कतै कुनै इसारा समेत छैन। यसलाई खुम्चिएको मान्ने कि नभड्किएको? समस्या मान्ने कि विशेषता? दर्शक घरी यो मन र घरी त्यो मन हुँदै दोमन भइदिन्छन्।

खैर, यसो सोच्ने हो भने यसको कारण छ। त्यो हो यसको कथावाचन।

कथावाचन
सन् १९६५ को भारत-पाकिस्तान युद्धमा एउटा जवान गोली लागेर ढलेको दृश्यबाट फिल्म सुरु हुन्छ। तर, अचानक फिल्म सन् २०१७ मा एउटा वृद्ध भारतीय राष्ट्रपतिविरुद्ध उजुरी दर्ता गराउन पुलिस स्टेसन पुगिदिन्छ। राष्ट्रपतिविरुद्ध किन उजुरी? कसले गर्ने? के का लागि? यावत प्रश्न जन्मिसकेपछि, सन् १९५२ को विजय जुलुसको दृश्यबाट कथा अघि बढ्छ।

यसरी नन-लिनियर शैलीमा अघि-पछि गर्दै कथा सुनाउन फिल्मले कथावाचक चुनेको छ मुख्य पात्रलाई। अर्थात्, मुरलीलाई! मुरलीको कथा मुरलीकै आँखाबाट भनिँदा दर्शकलाई मज्जा पनि आउँछ। तर, यो शैलीको कमजोर पक्ष के हो भने एउटा बिन्दुमा पुगेपछि त्यसले दिने मज्जाको ग्राफ घट्दै जान थाल्छ। चिनी पनि बढी खाए तितो हुन थाल्छ भनेजस्तै मुरलीको आँखाबाट चंदुले च्याम्पियन बन्न गरेको संघर्षको बखान पनि दर्शकलाई एउटा बिन्दुमा पुगेर झिँजो लाग्न थाल्छ।

नन-लिनियर शैलीले फिल्मलाई रोचक त बनाएको छ। तर, (झण्डै साढे दुई घण्टा) लामो फिल्ममा कथावाचक एउटै हुँदा उसले एउटै कुरा पो दोहोर्‍याएको हो कि जस्तो भान हुन्छ। अनि आफ्नो कथा आफै भन्दै गर्दा पात्रले आफूलाई 'चन्दु' भनेर समाजले गिज्याएको कुरा त बारबार गर्छ तर, समाजले आफूलाई चन्दु भनेर गिज्याउनुको कारण के थियो? त्यो भने भन्दैन। थाहा नपाएर या फेरि भन्न नचाहेर। जसले गर्दा बहुआयामिक बन्नसक्ने फिल्म एकोहोरो बन्न पुगेको छ।

सन् २०१७ मा पात्रमाथि खोजी गर्ने पत्रकारले फोन घुमाएको भरमा सबै विवरण प्राप्त गरेको देखाइन्छ। कस्तो हुन्थ्यो होला यदि उसले फोन रिपोर्टिङको साटो फिल्ड रिपोर्टिङ गरेको देखाइएको भए? बाँकी कथा अन्यको नजरबाट पनि आउने थियो कि?

पात्र
बायोपिक सिनेमामा पात्रको पात्र वा चरित्रवृत्तमा लेखकले खेल्ने ठाउँ पर्याप्त हुँदैन। तर, पात्रको यात्रालाई कसरी देखाउने? यो भने लेखक वा निर्देशकको हातमा हुन्छ।

वृद्ध मुरलीमाथि पुलिस स्टेसनमा कोही हाँसिदिन्छ। आफूमाथि हाँसेको देख्दा सेतै केस फुलेको बूढो मुरली झनक्क रिसाउँछ- 'हँस्ता काय को रे?' ऊ बचपनदेखि नै यस्तै रिसाहा र सनकी छ। आफूलाई कसैले केही तलमाथि भनिदिए ढुंगा टिपेर जाइलाग्न परिहाल्ने!

जवानीमा सैनिक जवान भएर ओलम्पिक खेल्दै गर्दा पनि रेस्लिङ रिङभित्र ऊ रिसकै कारण मुक्का खान्छ।

रिसले विवेक गुमाउने, जोसमा होस नहुने उसको बचपनदेखिको बानीले फिल्मको पहिलो गीतले भनेजस्तै 'सत्यानाश' गरिदिन्छ। अघिल्लो दिनसम्म देश-विदेशभरि  'वन्डर ब्वइ'को नामले चर्चामा रहेको उसको गोल्ड मेडल सपना यत्तिकै तुहिन्छ।

र यही हुन्छ सन् १९७२ को पारालिम्पिकको दौरान पनि। जोसमा होस गुमाउँदा घाइते हुनपुग्छ। तर, फरक यत्ति हो यसपटकको जोस उसको सपनाको पक्षमा उभिन्छ।

चाहे ओलम्पिकको मैदानभित्र होस् या दैनिक जीवनको खुलामैदानमा, लेखक/निर्देशकले मुरलीलाई फिल्मको सुरुदेखि अन्त्यसम्म पनि रिसाहा र सनकी चरित्रका रूपमा नै प्रस्तुत गरेका छन्। पात्रले आफ्नो स्वविवेक प्रयोग गरेर, खेलमा अपनाउनुपर्ने टेक्निकको प्रयोग आफ्नै बुद्धिले गरेर गेम जितेको देखाएको छैन।

कतै पुरस्कारमा केही रुपैयाँ पाइने लोभले जोस्सिएर त कतै कुनै युवतीको मन जित्ने रहरले हौसिएर उसले खेल जितेको छ। र कतै त जित्दा पनि अन्तिम अवस्थामा आफ्नो कोचले प्राविधिक सुझाव दिएपछि मात्र जितेको छ।

वास्तविक जीवनमा पनि मुरलीकान्त पेटकरको चरित्र/स्वभाव यस्तै थियो या यो केवल निर्देशकीय प्रस्तुतिले चुनेको उनको व्यक्तित्व हो? दर्शकको मनमा 'वन्डर' अर्थात् 'खुलदुली' पैदा गर्ने अर्को प्रश्न हो यो।

प्रविधि
प्रविधिको कुरा गर्नुपर्दा फिल्मको सिनेम्याटोग्राफी प्रशंसालायक छ। फिल्मको पहिलो गीत 'सत्यानाश'मा ट्रेनभित्र एउटा नृत्य खिचिएको छ। गीतको अन्तिममा जवानहरू कमिलाको ताँतीसरी ट्रेनको टाउकामाथि लस्कर लागेर हिँडिरहेको दृश्य सुदीप चटर्जीले 'वन्डरफुल्ली' खिचेका हुन्। सन्ध्याकालीन आकाशलाई पृष्ठभूमि बनाएर काला कमिलाजस्ता फौजको सिलुयट दर्शकको आँखामा पछिसम्म टाँसिएर बस्नेछ।

यस्तै, युद्धको सेटमा मुख्य पात्र मुरलीले टाइगर अलिलाई कभर गर्दै बचाउन खोजेको दृश्य पनि प्राविधिक रूपमा अब्बल दृश्य हो। क्यामरामा चटर्जी र सम्पादनमा नितिन बैद दुवैको कार्यकौशल यस दृश्यमार्फत् उल्लेखयोग्य साबित हुन्छ।

अभिनय
अभिनयको सन्दर्भमा भने भारतीय सिनेमाका चक्लेटी ब्वइ कार्तिक आर्यनले भारतीय खेल इतिहासका 'वन्डर ब्वइ'को रूपमा बाँचेर आफ्नो कलाको दायरालाई फराकिलो पारेका छन्।

'पति, पत्नी और वह', 'प्यार का पञ्चनामा', 'लभ आजकल', 'लुकाछिपी' जस्ता फिल्महरूमा लभर ब्वइको भूमिका निर्वाह गर्दै आएका कार्तिकले यस फिल्ममार्फत् आफ्नो भर्सटायल अभिनय क्षमताको उदाहरण पेस गरेका छन्। खुसी, ईर्ष्या, उदासी, निराशा, आशा, प्रतिशोध, प्रतिबद्धता लगायतका अनेक संवेदनाले भरपूर जटिल बहुरूपी चरित्रलाई उनको कामले न्याय नै गरेको छ। जसले आउँदा दिनमा थरीथरीका भूमिकामध्येबाट रोजेर आफ्नो मनपर्दो चरित्र निर्वाह गर्न पाउने बाटो उनको लागि खोलिदिएको छ।

यस्तै, अक्सर कमेडी भूमिकामा देखिने विजय राजले पनि यस फिल्ममार्फत् अभिनय क्षेत्रमा आफ्नो स्थान र

परिचयलाई बलियो र फराकिलो बनाएका छन्। थोरै शब्द खर्चिएर धेरै भन्नुपर्दा कार्तिक नामको सिपीभित्र लुकेको मोती हो विजय राज। कमसेकम यस फिल्ममा पात्रले पाएको स्पेसलाई नजरअन्दाज गर्दै अभिनयकै हकमा हेर्ने हो भने फिल्ममा भनिएजस्तै विजय राज 'बडा टाइगर' नै हो।

कर्नेल सिंहको रूपमा भुवन अरोराको काम तारिफयोग्य लाग्छ। टोपाजको रूपमा राजपाल यादवको क्यामियो प्रिजेन्स 'अन द स्पट' छ। प्रहरीको भूमिकामा श्रेयस ताल्पडे र जगन्नाथको भूमिकामा अनिरुद्ध दावेको काम सन्तुलित लाग्छ।

र कार्तिकलाई विजय राजपछि 'छोटा टाइगर' बनाउनसक्ने फिल्ममा अर्को कोही छ भने त्यो हो- मिनी-कार्तिक! बाल कलाकार अयान खानले मुरलीको चरित्रलाई केही मिनेटभित्र नै यसरी स्थापित गरेका छन् कि कार्तिकलाई हरेकपटक फ्रेममा देख्दा दर्शकलाई लाग्न छोड्दैन- यो त बचपनदेखि नै यस्तै हो!

प्रभाव
जम्मा ७ वटा गीत भएको यो फिल्मको पहिलो गीत 'सत्यानाश'को संगीत रणवीर कपुर अभिनित 'जग्गा जासुस'को 'गल्ती से मिस्टेक' बोलको गीतबाट प्रभावित लाग्छ। त्यसो त दुवै गीतका गीतकार (अमिताभ भट्टाचार्य, कम्पोजर (प्रितम चक्रवर्ती) र गायक (अरिजित सिंह) एउटै हुँदा प्रभाव त देखिने नै भइहाल्यो। यद्यपि, डान्स नम्बरका रूपमा रचिएको हिसाबले हेर्ने हो भने दर्शकले 'सत्यानाश'भन्दा अगाडि, अगाडि नै बनेको 'गल्ती से मिस्टेक'लाई नै राख्ने सम्भावना ज्यादा छ। प्रभावकै कुरा गरिरहँदा 'गल्ती से मिस्टेक' आफै पनि मेक्सिकन पप गीत 'इन्टेन्टलो'बाट प्रभावित मानिन्छ।

साँच्चै, गीतमा प्रभाव संगीतको मात्र नभएर सौन्दर्यको पनि हुनसक्दैन र? चन्दु च्याम्पियनको यही गीतको कलात्मक पक्ष 'भाग मिल्खा भाग'को 'हवन करेङ्गे' बोलको गीतबाट प्रभावित देखिन्छ। दुवै गीतमा पात्रहरूमा वस्त्रमार्फत् प्रयोग गरिएको अर्थ-टोन कलर कम्पोजिसन, इन्डोर सेटिङ र हेयर स्टायलको समेत प्रभाव देख्न सकिन्छ।

साथै, गौर गरेर हेर्ने हो भने यी तीनै गीतको एउटा साझा पक्ष हो- मङ्गोल अनुहार! फिल्मको कथामा त्यस अनुहारको उपस्थिति भलै नहोस् तर, गीतको कोरियोग्राफीमा भने ऊ चुम्बकीय पात्र अवश्य बनाइन्छ। तर, किन? अर्को वन्डरेबल प्रश्न!

गीत र प्रभावकै कुरा हुँदै गर्दा फिल्मको एउटा दृश्यमा जब आमा आँसु रोक्न सक्दिन र छोरो रोइदिन सक्दैन तब दर्शक नमज्जासँग दुख्न खोज्दै हुन्छ। तर, त्यो कथार्सिसको प्रक्रियालाई अधकल्चो बनाउँदै अचानक फिल्ममा अर्को गीत बजिदिन्छ। जसले फिल्मकै प्रभावकारिताको नम्बर काटिदिने आत्मघाती काम गरेको छ।

खैर, संवेदनाको हकमा दर्शकलाई हँसाउने र रुवाउने काममा अन्य दृश्यबाट निर्देशक खानले पास हुने नम्बर जोडजाड गर्न भने भ्याएकै छन्।

रिल भर्सेस रियल
त्यसो त सन् १९७२ मा ओलम्पिक गोल्ड मेडल जितेर सन् २०१८ सम्म छायाँमै रहेका पेटकरबारे मिडियाले पर्याप्त जानकारी दिन भ्याइसकेको छैन। यद्यपि, पेटकर स्वयंको नामको वेबसाइटले उनको जन्म सन् १९४४ मा भएको दाबी गर्छ। र फिल्मले सन् १९६३ मा अर्थात् पेटकर १९ वर्षको उमेरमा गाउँबाट भागेर आर्मीमा भर्ती हुन पुगेको बताउँछ।

जब कि पेटकरले मुम्बई मिररका लागि संयुक्ता ऐयरलाई दिएको अन्तर्वार्तामा आफू १२ वर्षको उमेरमा गाउँ छोडेर भागेको कुरा उल्लेख गरेका छन्।

साथै, फिल्मले पेटकरलाई सोझै फौजी तालिमका लागि भर्ती भएको देखाएको छ। तर, यथार्थमा भने उनी भारतीय सेनाको हतियारसम्बन्धित प्रभाग- इन्डियन इलेक्ट्रनिक्स एन्ड मेकानिकल इन्जिनियर्सतर्फ थिए। जसको जिम्मेवारी हतियार तथा मेसिनरी सामग्रीको डिजाइनदेखि निर्माण र नियमन गर्नु हो। तर, फिल्मले पेटकरलाई कुनै पनि दृश्यमा यी कुनै पनि जिम्मेवारी निर्वाह गर्दै गरेको देखाएको छैन। किन? 'वन्डर' अर्थात् 'खोजी' गर्न लायक अर्को विषय।

यथार्थमा १२ वर्षको उमेरमा गाउँ छोडेर भागेका मुरलीलाई १९ वर्षको उमेरमा भागेको देखाउँदा उनको जीवनको महत्त्वपूर्ण ६ वर्षको अन्तराललाई फिल्मले फड्को मारिदिएको छ। जहाँ उनको संघर्षको सुरुवाती अध्याय लुकेको छ। जीवनका हरेक दृश्य र घटना सिनेमाले कैद गर्न अवश्य पनि सक्दैन। तर, ६-६ वर्षको सग्लो अध्याय फड्को मार्ने प्रवृत्तिले बायोपिक जनरालाई कत्तिको न्याय गर्दो हो?

के यो 'वन्डरेबल' अर्थात् 'सोच्नलायक' विषय होइन?

अर्को छुटाउनै नहुने कुरा- अर्जुन अवार्डको अपेक्षा गरिरहेका उनलाई भारतीय सरकारले उनको बारेमा ढिलै सही थाहा पाएर 'वन्डर' अर्थात् 'चकित' परेपछि सन् २०१८ मा देशकै सबैभन्दा गरिमामय पुरस्कार 'पद्मश्री' ले सम्मानित गरेको हो। २८ वर्षको उमेरमा एउटा पारालिम्पिक गोल्ड मेडल जितेकाले मात्रै उनलाई पद्मश्री दिइएको होइन। बरु उनले आफ्नो खेल जीवनभर १२ वटा अन्तर्राष्ट्रिय स्तरका गोल्ड मेडल, ३४ वटा राष्ट्रिय स्तरका गोल्ड मेडल र ४० वटा राज्य स्तरका गोल्ड मेडल जितेका कारण उनी पद्मश्रीका हकदार रहन गए।

जाँदाजाँदै, सार्वजनिक जीवनको चर्चा गर्दा छुटिरहेको उनको व्यक्तिगत जीवनलाई पनि एकैछिन समेटौँ। मुरलीलाई पैसा नकमाएकै कारण बाबुले वचन लगाएको र बेकम्मा भन्दै गाली गरेको फिल्ममा देखाइन्छ। तर, स्वाभाविक रूपमै पनि भारतीय सेनामा प्रवेश गरिसकेपछि त परिवारलाई खबर गर्ने, पैसा पठाउने काम पात्रले छाती चौडा पारेरै गर्नुपर्ने हो! त्यसो नगरेर अस्वाभाविक ढंगले बाँचेको हो भने त्यो अस्वाभाविकपना पात्रमा किन छ? कतै विवाह गरेर आफ्नो छुट्टै घरजम पो गरेका थिए कि? या फेरि आफूमै सकिदिन्थे कमाएको सबै? सक्थे भने कुन शीर्षकमा सक्थे? देखाइनुपर्ने कति कुरा छन् जो फिल्मभरि कतै पनि देखाइँदैन। के वास्तविक जीवनमा पनि पेटकर परिवारसँग सम्पर्कविच्छेदको अवस्थामै रहिरहे? रहे भने किन? बायोपिक सिनेमाबाट कमसेकम दर्शकले यस्ता प्रश्नहरूको जवाफको अपेक्षा गर्छन्।

या फेरि निर्देशक कबिर खानले भारतीय खेल इतिहासमा 'वन्डर ब्वइ' भनेर चिनिने फ्रिस्टायल बक्सर-कम-स्विमर 'मुरलीकान्त राजाराम पेटकर'को निजी जिन्दगीलाई एउटा वन्डर अर्थात् रहस्यका रूपमै राख्न चाहेका त होइनन्?

खैर, पेटकरको निजी जिन्दगी रहस्य रहला नरहला तर, उनको अन्तर्राष्ट्रिय स्तरमै पब्लिक जिन्दगी समेत अज्ञानताको अँध्यारो गुफाभित्रै थियो। त्यसलाई भने यस फिल्मले संसारको उज्यालोमा ल्याइदिएको छ। सैद्धान्तिक कमी कमजोरीका बाबजुद पनि फिल्म रोचक बन्न सक्दोरहेछ? अर्को एउटा 'वन्डरेबल' अर्थात् 'छक्क पर्न लायक' विषय यो पनि त हो!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .