गत पुस २२ को साँझ डा. मुस्कान पोखरेलले एकैपटक दुईवटा खुसीको खबर पाइन्। जागिरका लागि काठमाडौँको रिदम अस्पतालमा अन्तर्वार्ता दिएर फर्किंदै गरेकी उनको मोबाइलमा एकसाथ दुई सन्देश आए।
पहिलो सन्देश थियो– ‘तपाईं द पोयट आइडलको टप १४ मा पर्नुभयो।’
अर्को थियो– ‘भोलिबाट अस्पतालमा काम गर्न आउनुहोस्।’
मुस्कानलाई कुन बाटो रोज्ने भनेर केही समय द्विविधा भयो। आमालाई सोधिन्, ‘आमा म कता जाऊँ?’
आमाले यताउता भनिनन्। उनले भनिन्, ‘तिमी जहाँ जाँदा खुसी हुन्छौ, त्यहीँ जाऊ। तिमी जता हिँडे पनि साथ दिने म छु।’
उनलाई अब कविताकै बाटोमा हिँड्ने हिम्मत आयो। सोचिन्, ‘जागिर त फेरि पनि खाइहाल्छु, यसपालि कविता भन्न जान्छु।’
तर, द्विविधा टरेन। धेरै दिनसम्म धुकचुक भइरह्यो। आमालाई भनिरहन्थिन्, ‘आमा! मैले गलत त गरेकी छैन नि?’
आमा भन्थिन् ‘अहँ छैन।’
मुस्कान सोच्थिन्, आमाकै पनि यस्तै लुकेका रहर हुँदा हुन्। त्यसैले छोरी आफ्नो खुट्टामा बलियोसँग उभिएको हेर्न चाहने आमा पाएको जागिर छोडेर अर्कै बाटो हिँड्न खोज्दा पनि खुसी छिन्। त्यही रहरको बाटो हिँडेकी मुस्कान अहिले ‘द पोयट आइडल’को दोस्रो सिजनकी फाइनलिस्ट भएकी छिन्। जेठ १२ गते प्रतिस्पर्धाको अन्तिम नतिजा घोषणा हुनेछ।
कविताको ‘रियालिटी सो’मा सहभागी हुने योजना उनले अघिल्लो वर्ष मात्र बनाएकी हुन्।
गत वर्ष मध्य भदौको एक मध्यान्ह मुस्कान मोबाइल स्क्रोल गर्दै थिइन्। बंगलादेशमा चिकित्सा अध्ययन र अभ्यास गरिरहेकी मुस्कानका आँखा ‘द पोयट आइडल’को घोषणामा पुगेर रोकिए। ‘आफू विदेशमा थिएँ। देशमा कविताको रियालिटी सो घोषणा भयो। तैपनि, खै किन अर्कै खुसी महसुस भयो,’ मुस्कानले सुनाइन्।
‘पोयट आइडल’को पहिलो सिजनमा मुस्कान त्यसको दर्शक मात्र भइन्। त्यहाँ उनका विदेशी साथी थिए। नेपालीमा भनिएका कविता अंग्रेजीमा उल्था गरेर मुस्कान साथीलाई सुनाउँथिन्। भन्थिन्, ‘हेर त, मेरो देशमा कविताको रियालिटी सो भइरहेको छ। प्रतियोगीहरूले कति राम्रा कविता सुनाइरहेका छन्।’
उनका साथीहरू भन्थे, ‘तँ किन यति खुसी छेस्। जा तँ पनि सहभागी हुन्।’
मुस्कान मधुरो स्वरमा भन्थिन्, ‘सक्छु र मैले?’
पहिलो सिजन सकिँदासम्म उनले अठोट गरिसकेकी थिइन्, ‘दोस्रो सिजन भयो भने भाग लिन्छु।’
बंगलादेशमा चिकित्सा अभ्यास गर्दै गर्दा मुस्कानलाई बिरामीको मानसिक स्वास्थ्यसम्बन्धी विषयले निकै छुन्थ्यो। त्यसैले यो विषयमा उनले थुप्रै कविता लेखिन्। भन्छिन्, ‘म धेरै नबोल्ने तर अरूको दुःखले दुखाइरहन्थ्यो, अनि कविता लेख्थेँ।’
मुस्कान कविता लेख्थिन्, गीत लेख्थिन्। उर्दुभाषी साथीहरूको संगतले सायरी लेख्थिन्। तर, उनलाई लाग्थ्यो, ‘म कहीँ गएर मेरा सिर्जना सुनाउन सक्दिनँ।’
उनी केवल आफ्नो मन शान्त पार्न कविता लेख्थिन्। प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेकी मुस्कान भन्छिन्, ‘उपाधि कसले उचाल्ला थाहा छैन। मलाई यो मञ्चले उपाधिभन्दा ठूलो कुरा दिएको छ। त्यो हो आफैँमाथिको विश्वास।’
आफ्नै परिवारसँग पनि खुलेर नबोल्ने मुस्कानले रियालिटी सोमा आएपछि अर्को परिवार पाइन्। यो परिवार उनलाई सुन्दर लाग्छ।
सुरुमा त मुस्कानलाई लागेको थिएन, द पोयट आइडलको सेटमा लामो यात्रा होला। जहाँसम्म पुगिन्छ खुसीले हिँड्छु भन्नेमा थिइन्। बिस्तारै उनलाई सो छोड्न नपरे हुन्थ्यो भन्ने लाग्न थाल्यो। तर त्यहाँ पाउने नाम र चर्चाको लोभले होइन। मुस्कान भन्छिन्, ‘जित्नु छ, मैले हारेँ भने के हुन्छ भन्ने आएन। सँगैको अर्को साथी शोबाट बाहिरिँदा मन भारी हुन्थ्यो। मलाई यो परिवार छोड्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। आइडल परिवार छोड्न मन नलागेर नै यहीँ बसिरहन मन हुन्थ्यो।’
यो यात्रामा मुस्कानले केही कविता आफूले देख्दै नदेखेको, नभोगेका विषयमा पनि लेखिन्। सुरुवाती दिनमा उनलाई जजहरूले दिएको विषयवस्तुमा बाँधिएर लेख्न सकस भएको थियो। तर बिस्तारै बानी पर्दै गयो। आइडलको अन्त्यमा आइपुग्दा मुस्कानलाई लागेको छ, ‘यति राम्रो अर्को यात्रा कहाँ हुन्छ होला फेरि!’
मुस्कान प्रतियोगिताको अन्त्यतिर आइपुग्दा बटम ४ मा परिन्। उनले ‘आशुकवि’ राउन्डमा रहेर २० मिनेटमा कविता लेखिन्। त्यसपछि उनको टप ४ यात्रा सुरु भएको हो। भन्छिन्, ‘रियालिटी सोमा भोटकै कारण सम्भावना भएको प्रतिभा नबाहिरियोस् भनेर यस्ता राउन्ड राखिएको रहेछ। पैसा लगानी गर्नेले पनि क्षमतामाथि लगानी गर्ने हो।’
मुस्कानले जिन्दगीको धेरै लामो यात्रा त तय गरेकी छैनन्। भर्खर २ दशक उमेर पार गरेकी मुस्कान ७ वर्ष विदेश बसिन्। देशमै पनि कति साथीलाई आफ्नो आमाको नाम थाहै थिएन। छोराछोरीको पहिचानमा बुवाको परिचय गाँसिएर आउने तर आमाको नाम रोज्नु पर्ने अवस्थाले मुस्कानको मन दुखाइरहेको हुन्थ्यो। मुस्कान भने आफ्नी आमाको नामबाट चिनिन चाहन्थिन्।
‘मलाई मेरो ममी इन्दिरा पोखरेलको नामले चिनिन मन थियो। म थोरै भए पनि तपाईंले गर्व गर्नलायक छोरी भएँ होला,’ उनले भनिन्। त्यसपछि मुस्कान बोल्न सकिनन्।
बुधबार भएको भेटमा मुस्कान सुनाइरहेकी थिइन्, आमाका रहर। उनकी आमाले १२ कक्षासम्म पढेकी छिन्। लामो समय अध्यापन गरेकी छिन्। नाच्न र गाउनमा आमाको रुचि छ। तर, कहिल्यै भनिनन्, ‘मेरो यो रहर थियो।’
मुस्कान भन्छिन्, ‘आमा त हामी खुसी भएको हेरेरै खुसी भइरहनु भयो। हाम्रा सपनाका निम्ति दौडिनुभयो। आमाहरू यस्तै हुँदारहेछन्। मेरो जिन्दगीमा बाबाममीको बराबर सपना छन्। तर, मलाई ममीको नामबाटै चिनिनु थियो।’
मुस्कानको यो रहर आजको होइन। तर, यो भन्ने आँट र हिम्मत भने दि पोइट आइडलको यात्राले दिएको मुस्कान बताउँछिन्। मुस्कानलाई यहाँ आउनुअघि आफू कतै भड्किरहेको रहेछु भन्ने लाग्छ। भन्छिन्, ‘यहाँ आएपछि मैले आफूलाई चिन्ने मौका पाएँ। नत्र त म केही गर्न सक्दिनँ भन्ने लागिरहन्थ्यो। मलाई थाहा थिएन, मेरो जन्म किन भएको हो। मैले आफू केका लागि जन्मिएको रहेछु भन्ने कुरा यहीँ आएर बुझेको छु।’
स्थायी ठेगाना झापाको कन्काई १ भए पनि मुस्कानको बाल्यकाल धादिङको सदरमुकाम धादिङबेसीँमा बित्यो। बाबाकाे सरकारी जागिरको सिलसिलामा उनको परिवार त्यहाँ बसेको थियो। त्यहीँको एड्भान्स्ड एकेडेमीमा उनले अध्ययन गरिन्, जहाँ उनकी आमा पनि पढाउँथिन्।
मुस्कानले कविता लेख्न थालेको स्कुलदेखि नै हो। कक्षा ५ तिर पढ्दा हुनुपर्छ, एक दिन उनले आफ्नै कोर्सबुकको कविता ‘परिश्रमी छु म खेतीवाला’ लाई नक्कल गरेर ‘परिश्रमी छु म विद्यावाला’ बनाइन्। यही कविता स्कुलका प्रिन्सिपल गोविन्द बुढाथोकीलाई देखाइन्। स्कुलमा कम्प्युटर साइन्स पढाउने गोविन्द साहित्यमा पनि रुचि राख्थे। उनले भने, ‘यसरी कपी गरेर लेख्नु हुँदैन। म तिमीलाई कविता लेख्न सिकाइदिन्छु।’ गोविन्दले सिकाएपछि मुस्कानले पहिलोपटक आफ्नै मनले ‘गुन्द्रुक’ शीर्षकको कविता लेखिन्।
अहिले मुस्कानलाई थाहा छैन, त्यो कवितामा उनले के लेखेकी थिइन्। तर, त्यसपछि उनले चुपचाप थुप्रै कविता लेखिन्। आफ्ना कुरा प्रस्ट भन्न नसक्ने मुस्कानले कवितामा भावना अभिव्यक्त गरिन्। मुस्कानलाई अहिले हेर्न मन छ, स्कुल पढ्दा कस्तो थियो उनको मन। तर, उनले डायरीभरि लेखेका कविता धादिङबाट काठमाडौँ पस्दा उतै कतै छुट्यो।
कोटेश्वरको सीसीआरसी कलेजबाट १२ कक्षा पास गरेपछि उनी एमबीबीएस पढ्न बंगलादेश गइन्। उनले कविता लेखेको कुरा कहिल्यै बुवा–आमालाई सुनाइनन्। पोयट आइडलमा उनका कविता सुनेर उनका बुवाआमा भन्छन्, ‘यति धेरै कविता लेख्ने रहिछौ, कहिले लेख्छु पनि भनिनौ त!’
पोयट आइडलको यो सिजन सकियो। अब अन्तिम नतिजा घोषणा हुन मात्रै बाँकी छ। मुस्कान उत्कृष्ट ४ मा छिन्। उनीसँगै सुकिता राई, मोहित जोशी र विजय लुइँटेल उपाधि भिडन्तमा छन्।
सिजनको अन्तिम शृंखला सुटिङ हुँदै गर्दा मुस्कानको मन देश छोडेर बंगलादेश जाँदाजस्तै भारी भएको थियो। मुस्कान आफू सन्तुष्ट छिन्, जहाँ पुगेकी छिन्। उनकी आमा झन् खुसी छिन्।
आमाले मुखले तिमीले उपाधि जिते हुन्थ्यो त भनेकी छैनन्, तर मुस्कानले आमाको आँखामा त्यो भाव पढेकी छन्। आफन्त र साथीहरू उत्साहित छन्। मुस्कानलाई लागिरहेको छ, ‘मेरो आगामी यात्राले आफ्नाहरूलाई नदुखाए हुन्थ्यो।’
प्रतियोगितामा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा, कलाकार अनुप बराल र केकी अधिकारी निर्णायक छन्। प्रतियोगिता कवि क्षेत्रप्रताप अधिकारीप्रति समर्पित गरिएको छ।
आइडलको अडिसनमा मुस्कानले सुनाएको कविता :
मेरो मस्तिष्कमा एउटा अदालत छ
मेरो मस्तिष्कमा एउटा अदालत छ
अनि मेरो जिन्दगी त्यहाँ कैदी
हर रात हुन्छ त्यहाँ एउटा बहस
मेरो जीवनलाई उभ्याई कठघरामा
अनि न्यायाधीश बनेको छ मेरो आत्मा
त्यो अदालतमा,
विपक्षमा बोल्ने एउटा आवाज छ
ऊ को हो मलाई थाहा छैन
तर मेरो लागि ऊ एउटा असुर हो,
महिसासुर, भस्मासुर, यस्तै कयौँ
असुरभन्दा अलि भिन्न छ ऊ
ऊ मभित्रको अदालतमा मेरो जीवनलाई दोषी ठहर्याउने हजारौँ सबुत जम्मा गर्छ
अनि अदालतमा पेस गर्छ
अनि म छु,
आफूभित्रको अदालतमा
आफूभित्रकै असुरलाई नकार्दै
आफ्नो जीवनको नाममा लागेको
हर गलत दोषको अगाडि ढाल बनी उभिई
‘ऊ निर्दोष छ जज साहब,
ऊ निर्दोष छ’
भनी रिहाइको लागि कराइरहेको वकिल
असुर भन्छ मेरो जीवन हर कसैको लागि बोझ हो
बोझ बढे कम गराउनु नै न्याय हो
समाजमा तोकिएको आँसुभन्दा ऊ अलि धेरै रुन्छ
समाजले बनाएको हाँसोभन्दा ऊ अलि बढी नै हाँस्छ
हतकडीले पुग्दैन उसलाई
नजरबन्दीको सजाय देऊ
म भन्छु ‘अब्जेक्सन माइलर्ड!’
बोझ जीवन हैन समाजको सोच हो
उसलाई खुलेर आफैमा हाँस्न त देऊ
खोजीमा छ ऊ आफ्नै होसको
एकछिन उसलाई बेहोसीमै भए नि हाँसो चाख्न त देऊ
बगेका आँसुहरुलाई घट्टको समीप पुग्न त देऊ
आफूभित्रको त्यो नकारात्मक उर्जालाई
अलिकति भए पनि बिजुली बन्न त देऊ
असुर भन्छ यो जीवनको अस्तित्व नै श्रापित छ
ऊ जल्छ आफू, जलाई वरिपरिका सबै सहर
कालो रातसँगै ऊ आफ्नै घाइते मनलाई छुन्छ
मलहम लगाउने हातलाई ऊ दुश्मन सोची टोक्छ
जन्मकैदले पुग्दैन उसलाई
मृत्युदण्डको सजाय देऊ
म भन्छु, ‘अब्जेक्सन माइलर्ड!’
उसको अस्तित्व श्राप हैन असुरको आशङ्का हो
वास्तविकतालाई आँखाको पट्टी च्यात्न त देऊ
जल्यो जे त्यो अयोध्या थिएन,
रावणको लङ्का हो
लङ्काका केही विभीषणलाई
कैकेयीसँग तिमी साट्न त देऊ
नाभी खोजी रावणको साहसले
संहार गर्न त देऊ
समाप्ति त सजिलै छ निम्त्याउन तर
निष्पक्ष बनी उसलाई एकैछिन भए नि बाँच्न त देऊ
मेरो मस्तिष्कमा एउटा अदालत छ
अनि मेरो जिन्दगी त्यहाँ कैदी
हर रात हुन्छ त्यहाँ एउटा बहस
मेरो जीवनलाई उभ्याई कठघरामा
अनि न्यायाधीश बनेको छ मेरो आत्मा।
Shares
प्रतिक्रिया