खै! कुन विवशताले उनका बुवा मंगलसिंह परियारलाई गाउँ छोड्ने बनायो। तोते बोलीमा ‘बाबा’ भन्न सिक्दै गरेको छोराको सम्झनाले पनि गाउँ नर्फाउने गरी के बिझाएको थियो, गाउँले उनका पिताको छातीमा? सानैमा प्रेम गरेर भित्र्याएकी श्रीमतीको प्रेमले पनि किन बाँधिराख्न सकेन उनको मन?
राजुले यी यावत् प्रश्न न कहिल्यै आमासँग गर्न सके, न पितासँग नै। तर, बाल्यकालमा बाबुको काँध नचढी अग्लिएका राजु परियारको जीवनको एकसुर धुन बेसुर बजिरह्यो जिन्दगीभर।
पतिबिना नै आमा सन्तमायाले गरेको संघर्ष उनका आँखामा आज पनि टिलपिल गरिरहन्छन्। गाउँका अन्य आमाले भोग्नेभन्दा फरक थियो उनकी आमाको दुःखको पाटो। कमै बोल्ने उनकी आमाले कुनै दिन आफूले बाँचेको अँध्यारो जीवनलाई लिएर गुनासो गरिनन् वा उनले जीवनका अरू रङको कल्पनै गरिनन्, त्यो राजुलाई थाहा छैन।
मंगलबार एक मध्यान्ह धुम्म परेर वर्षिन तयार थियो आकाश। आमाका संघर्ष सम्झिएर उसैगरी निथु्रक्क थिए, सिस्नो क्याफेको एक कुनामा राजु परियार। भन्छन्, ‘मेरी आमाको जीवनमा सुखको रङ कस्तो हुन्छ, थाहा छैन्। थाहा छ त दुःख, हैरानी र मात्रै हैरानी।’
आमाको जीवनका निषेधका डायरी पल्टाउँदै जाँदा राजु आफैं पनि त्यही निषेधका पानामा अटाउँछन्। आफ्नै जीवनका पाना पल्टाउँदा उनी तर्सिन्छन्। लामो सुस्केरा फाल्दै भन्छन्, ‘उफ्, कहाँबाट कहाँ आइपुगियो?’
उनकी आमालाई गाउँको धारामा निषेध गरियो, उनलाई स्कुलको। उनकी आमाका नजरमा त्यी ‘स्वाभाविक’ घटनाक्रम थिए।
गाउँको पधेँरामा आमाको पालो सबैभन्दा पुछारमा पर्थ्यो। स्कुलमा राजु गाग्रीभन्दा पर बसेर हात थाप्थे।
समाजको त्यही धमिलो चित्र आफैंले गाएको ‘मान्छेभन्दा ठूलो जात कुन छ र? मैले छुँदा पानी विष हुन्छ र?’ यो गीतमा भेट्छन्, राजु परियार।
बेसुर बाल्यकाल
‘अछुत’ हुनुको पीडाभन्दा ठूलो थियो, बाबुबिनाको हुनुको पीडा। पिताले गाउँ छोडेर हिँड्दा राजु ४ वर्षका थिए। गाउँमा वर्षभरि खान पुग्ने जमिन थिएन। कमाएर ल्याउने बुवा घरमा थिएनन्। उनकी आमाले मेलापात, ज्याला गरेर २ छोराको पालनपोषण गरिन्।
राजुका हजुरबुवा नौमती बाजा बजाउँथे। आमा नाचगान र भजनकी पारखी। उनका आमाबुवाको गीत गाउँदागाउँदै मन साँटिएको थियो। पछि श्रीमानले छोडिहिँडेपछि उनको नाचगान हरायो। मनका घाउ गीतकै भाकामा पोखिरहन्थिन्। राजुले पनि आमाले गाएको वेदनाको लय टपक्क समाते।
आठ–नौ वर्षको उमेरमै राजु संगीतको धुन समात्ने भइसकेका थिए। गाउँले रोधी धुनसँग उनको आत्मीयता निकै पुरानो छ। उनी त्यही रोधी र रत्यौलीलाई आफ्नो संगीतको पहिलो पाठशाला मान्छन्। रोधीले उनलाई गाउन मात्रै सिकाएन, हृदयमा संगीतको वास बसाइदियो।
राजु स्कुलमा गाउन थाले। पुरस्कार पाउने भए। उनका साथीहरूका सफलतामा बाबु आइपुग्थे, धाप मार्न। राजुको मन बुवाको अभावमा पिरोलिन्थ्यो। पुराना दिन सम्झँदै राजु भन्छन्, ‘जिउँदो बाउको टुहुरो छोरोजस्तै भएँ।’
उनका लागि आमा नै भगवान थिइन्। उनी पनि मन्दिरको देउता जस्ती भइदिइन्। जसरी जति बोलाए पनि बोल्दैन मन्दिरको देउता, त्यसैगरी बुवाको बारेमा सोध्दा बोल्दिनथिन् आमा।
लामो समयको अन्तरालमा एक साँझ उनका बुवा घर पुगेका थिए। अनुहार सम्झिने गरी पनि हेर्न पाएनन्। उनी फर्किहाले। एक दिन उनले थाहा पाए, बुवा चितवनमा छन्। बाउले जस्तै गरी उनी पनि घर छोडेर हिँडे पिताको खोजीमा।
गाउँ छोडेको निकै दिनपछि चितवनको पुल्चोकस्थित एउटा होटलमा राजु आगन्तुकका अनुहार हेरिरहेका थिए। उनका बुवालाई चिन्ने एकजना महिला फेला परिन्। बुवालाई चितवनमा ‘अल्के’ भनेर चिन्दा रहेछन्। तिनै महिलाले राजुका बाबुछोराको भेट गराइदिइन्।
त्यतिबेला राजु १४ वर्षका थिए। भेटमा बुवाले आफूले गाउँ छोड्दाको कथा सुनाए। चितवन झरेपछि गरेको घरजमको बेलिबिस्तार लगाए। छोरासँग ‘मैले गल्ती गरेँ’ भनेर माफी मागे।
कान्छी आमाबाट राजुका २ जना भाइ जन्मिसकेका रहेछन्। सबैले राजुलाई माया गरे। त्यसबेलासम्म जिल्ला तथा अञ्चलस्तरीय गायनमा राजुको नाम चलिसकेको थियो। तर बुवाले अर्ती दिए, ‘अरू नै केही काम गर्नू। गीत गाएर भविष्य बन्दैन।’
राजु भविष्य खोज्न होइन, बुवा खोज्न गएका थिए। बुवा भेटे, त्यसैमा खुशी थिए।
बुवा भेटेपछि राजुले आमा सम्झिए। उनले चितवन छोड्ने बेला बुवाले आमालाई भेट्न आउने आश्वासन दिए। त्यही आश्वासन बोकेर राजु गाउँ फर्किए।
उनलाई बुवा भेट्दाको खुशी आमालाई सुनाउनु थियो। राजुलाई लागेको थियो, ‘बुवा भेटेको खबरले आमा खुशीले बहुलाउनेछिन्।’
तर, आमाले यत्ति भनिन्, ‘उसको आफ्नो दुनियाँ छ, तिमी दुई भाइका लागि म छँदै छु नि।’
लाहुरे सपना
गायनमा भिजे पनि राजुको पहिलो सपना ‘गायक’ थिएन। लाहुरे गाउँमा हुर्किएका राजुले पनि लाहुरे बन्ने सपना देखेका थिए। गाउँका सबै लाहुरे थिए। लाहुरे हुने फेसन नै चलेको थियो। लमजुङमा हुँदा घरको आर्थिक अवस्थाका कारण पनि उनले जागिर खानुपर्ने थियो। उनी २०५५ सालको अन्तिमतिर लाहुरे हुन भिड्न गए। तौल पुगेन, घर फर्किए।
त्यसपछि उनको पहिलो एल्बम ‘किसिमकोटमा चरी नाँचेको’ बजारमा आयो। त्यही वर्ष राजुले पुनः लाहुरे बन्ने प्रयास गरे। तौल पनि पुग्यो। तर, मनले संगीत रोज्यो। त्यसपछि उनको लाहुरे बन्ने भूत मनबाट भाग्यो।
भविष्य खोज्दै काठमाडौं
२०५६ सालमा राजु पुनः काठमाडौं आए। यसपल्ट उनी गायनमै भविष्य खोज्न यो बिरानो सहर आएका थिए। गाउँमा बनाएको नाम यहाँ गुमनाम भइदियो। राजुलाई आमा र भाइको न्यास्रोले सताउँथ्यो।
सहरमा टिक्न काम चाहिन्थ्यो। कामको खोजीमा सुन्धारातिर टहलिरहेका राजुको कानमा मादल ताल सुनियो। उनी त्यही तालको बाटो समातेर पुगे, ‘पुकार दोहोरी साँझ।’ ग्राहकका रुपमा पुगेका राजुले अनुमति मागेर गीत गाए। उनलाई याद छैन, कुन गीत गाएका थिए। तर उनले गाइसक्दा आएको तालीको गड्गडाहट सम्झिँदा अहिले पनि उनको छातीमा हर्ष र हडबडाहटको ज्वार एकसाथ चल्छन्।
त्यसपछि दोहोरी साँझका सञ्चालक मुक्त गुरुङले उनलाई त्यहीँ काम गर्न आग्रह गरे। उनलाई पनि ‘ढुंगा खोज्दा देउता मिलेझैँ’ भयो। काम खोजिरहेका उनी गीत नै गाउने काम पाएपछि बेहद खुशी भए।
दोहोरी साँझमा काम गरेवापत मासिक ५ सय ५० रुपैयाँ तलब पाउँथे। तलबभन्दा धेरै टिप्स आउँथ्यो।
पुकारमा तीन वर्ष काम गरेका उनी पछि ठमेलको दोभान दोहोरी साँझमा पुगे। त्यहाँ दुई वर्ष ग्राहकलाई आफ्नो गायकीमा लठ्याए। दोहोरीमा हरेक साँझको साधनाले उनको गायन झन् खारियो।
‘पुकारले बाटो देखायो, दोभानले पब्लिसिटी गरिदियो,’ उनको निष्कर्ष छ।
दोभान दोहोरी साँझमा गाउँदै गर्दा नै राजुले ‘किसिमकोटमा चरी नाचेको’ बजारमा ल्याएका थिए। यस गीतपछि भने राजुको संगीतयात्राले औपचारिकता पायो। त्यसपछि उनको स्वरमा ‘फूलमा भँमरा, मिर्मिरेको घाम, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोइ, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धोको छु, फूलको थुँगामा, वनमा काँडा छ’ लगायतका गीत चर्चित भए।
उनलाई गीत गाउन दिने गीतकार तथा संगीतकारको ठूलो भीड थियो। राजु त्यसताका आफूले दिनकै २० वटासम्म गीत गाएको सुनाउँछन्।
थुप्रैपटक गीत गाउँदा मुटु गाँठो परेको अनुभूति उनीसँग छ। भन्छन्, ‘रुमाल धोको छु, सुनपानी छर्क मायालु’ गाउँदा गीतको रियल हिरो नै मै हुँ जस्तो लाग्थ्यो। शब्दशब्दमा अलमलिन्थेँ।’
म त परीहरूको पनि यार
राजु सांगीतिक मेला महोत्सवमा देश तथा विदेशका थुप्रै स्थानमा पुगे। सुदूरपश्चिममा एउटा कार्यक्रम थियो।
राजुनजिकै आएर एक जना वृद्धले सोधे, ‘बाबु परियार भनेको कुन जात हो?’
राजुले भनिदिए, ‘ब्राम्हणभन्दा पनि माथि हो।’
बाजे एक छिन अलमल परे। अनि प्रश्न गरे, ‘कसरी?’
राजुले भिडमा भएका ब्राम्हणलाई देखाउँदै भने, ‘उहाँले शिरमा लगाएको टोपी कसले सिलाएको?’
‘दमाई’ बाजेले जवाफ दिए।
राजुले फेरि तिनै ब्राम्हणलाई देखाउँदै भने, ‘त्यो टोपी उहाँको शिरभन्दा पनि माथि छ। त्यसैले मेरो जात ब्राम्हणको भन्दा माथिल्लो।’
त्यसपछि बाजे बोलेनन्।
यस्तै अर्को घटना पनि छ उनीसँग।
कुनै एउटा कार्यक्रममै कसैले सोध्यो, ‘परियार भनेको के हो बाबु?’
उनले मुस्कुराउँदै भनिदिए, ‘म त परीहरूको पनि यार हुँ।’
जातका आधारमा गरिने बहुरंगी विभेदसँग जोडिएका यस्ता अनगिन्ती किस्साको भट्टीमा खारिएको छ, राजुको अनुभवयात्रा। भन्छन्, ‘यो एक बसाइमा के सकिएला र? कुनै दिन किताब निकाल्नुपर्ला।’
त्यो गुमनामजस्तै अध्याय
राजुका गीत चलिरहेकै बेला प्रविधि फेरियो। संगीतको स्वाद लिने मञ्च फेरियो। यता प्रविधि फेरियो, उता राजु संगीतबाट टाढिएजस्तै देखिए। रेकर्डिङ स्टुडियो र स्टेज कार्यक्रममा उनको सहभागिता पातलिंदै गयो। त्यही बेला चर्चा चल्यो, ‘राजु परियार त कतार गयो।’
राजुले आफ्नाबारेमा आएका हल्ला सुने तर प्रतिक्रिया जनाएनन्। उनी आफ्नो मान्यतामा दृढ छन्, ‘यो राजु संगीत छोडेर कतै टाढा जान सक्दैन। जसको नसानसामा संगीतको धुन बग्छ, त्यसले कसरी संगीत छाड्न सक्छ?’
उनी पारिवारिक जीवन बाँच्दै गर्दा सांगीतिक बजारमा बाक्लो उपस्थिति जनाउन नसकेको भने स्वीकार गर्छन्। तर, गीत–संगीत चटक्कै छोडेर आफू कतै गएको कुरा स्वीकार गर्न उनी तयार छैनन्।
‘पहिले संख्यात्मक हिसाबमा धेरै गीत आउने र पछिल्लो समय कम गीत आएका कारण पनि श्रोता–दर्शकले हराएको सोचेको हुन सक्छ,’ राजुको ठहर छ, ‘संगीतले मलाई बाँच्न सिकायो। लमजुङको सामान्य परियार ठिटोलाई राजु परियार बनायो। संगीत छाड्न त सास जानुपर्छ।’
प्रतिक्रियाविहीन आमा
आमाले भोगेका जीवनका कथा राजुले थुप्रै गीतमा गाए। उनले गाएका प्रेम–वियोगका गीत हुन् वा छुवाछुतका, सबै गीतकी नायिकाको रूपमा उनी आफ्नै आमालाई देख्छन्। छोराका गीत सुनेर सन्तमायाको मनमा खै के आउँथ्यो कुन्नि, उनीप्रतिक्रियाविहीन बन्थिन्। मुस्किलले भन्थिन्, ‘राम्रो गीत गाइछस्।’
सन्तमाया निकै मिठो गीत गाउँथिन्। हिजोआज उनका कानले गीतको मात्रै होइन, छोराको बोली पनि नसुन्ने भएको छ। यो वर्ष आमाको कानको उपचार गर्ने योजनामा राजु छन्। ‘आमाको श्रवणशक्ति फर्कियो भने उहाँको आवाजमा गीत बनाउने मेरो जीवनको सबैभन्दा ठूलो सपना छ,’ राजु सुनाउँछन्।
यसबीचमा एउटा दुःखद् खबर छ– बुवाको मृत्यु भएको २ वर्ष भयो।
रक्सीको लत
बजारमा राजु परियारको नामसँगै रक्सीको कथा पनि जोडिएर आउँछ। कुनै समय थियो, राजु पानीको सट्टा रक्सी पिउँथे। यसको पनि कथा आफ्नै छ। राजु गुरुङ गाउँमा हुर्किए। रक्सी गुरुङ समाजको संस्कृति हो। यही समाजको प्रभाव आफूमा परेको उनको बुझाइ छ।
रक्सीकै लतका कारण जीवनमा आएका थुप्रै उतारचढाव आफैंमा बाँधेर राख्न चाहन्छन्। भन्छन्, ‘कुनैबेला डाक्टरले ६ महिनाको आयु तोकिदिएको थियो। त्यसले पनि मैले छोड्न सकेको थिइनँ। यस्ता थुप्रै कथा कुनै दिन पक्कै सार्वजनिक हुनेछन्।’
रक्सीलाई राजुले आफ्नै परिभाषा दिएका छन्। उनी अर्थ्याउँछन्, ‘रक्सी हैन, रकसी हो। ‘र’ भनेको रमाइलो, ‘क’ भनेको कसिनी, ‘सी’ भनेको सिद्धिने हो। म ‘सी’सम्म पुगिनँ। ‘क’बाटै फर्किए। यहाँभित्रका पनि थुप्रै कथा छन्। जुन कुनै दिन भनौँला।’
Shares
प्रतिक्रिया